राष्ट्रपतिको शपथलाई विवादमा ल्याउने प्रयास

राष्ट्रपतिको शपथलाई विवादमा ल्याउने प्रयास


राष्ट्रपति विद्या भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिनुभएको शपथलाई विवादमा तान्ने प्रयास भएको छ । गत फागुन २९ गते राष्ट्रपति भण्डारीले शपथ लिनुभएको थियो । उक्त शपथ पदमुक्त भइसकेको प्रधान न्यायाधिशबाट भएको दाबीसहित सर्वोच्च अदालतमा परेको रीटमाथि यसअघि दरपिठ भएको थियो ।

तर आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दरपिठ बदर गर्ने आदेश दिएपछि उक्त रीटमाथि सुनुवाई प्रारम्भ हुने भएको छ । न्यायाधीश खतिवडाको आदेशले राष्ट्रपतिको शपथलाई विवादमा ल्याउने सम्भावना देखिएको छ ।

तत्कालिक प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिलाई शपथ गराएकै भोलिपल्ट राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको र राष्ट्रपतिले उहाँको राजीनामा स्विकार गरिसक्नुभएको अवस्थामा यसप्रकारको आदेश हुँदा परिस्थिति तरङ्गित हुनपुगेको छ ।

स्मरणीय छ, तत्कालिक प्रधानन्यायाधीश गोपाल पराजुलीको त्रिभुवन विश्वविद्यालयबाट प्राप्त शैक्षिक योग्यताको प्रमाणपत्रमा २०१० वैशाख १६ गते र एसएलसीको चारित्रीक प्रमाणपत्रमा २०११ वैशाख १३ गते उल्लेख गरिएको भए पनि न्यायपरिषदको सचिवले २००९ साल साउन २१ गतेलाई जन्ममिति दाबी गर्दै आश्चर्यजनक ढङ्गबाट पत्राचार गरेका थिए । पराजुलीले नागरिकता लिएको मिति साउन २१ गतेलाई नै सुशीला कार्कीले जन्ममिति बनाइदिएकी थिइन् । त्यसैलाई आधार मानेर न्यायपरिषद्का सचिवले पत्र लेखी सार्वजनिक जानकारीमा ल्याएका थिए ।