छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन दिइन्न : प्रधानमन्त्री

छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन दिइन्न : प्रधानमन्त्री


विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्नुभएको छ । काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्देशित रहेको स्पष्ट गर्दै उहाँले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताउनुभयो ।

कहिल्यै बाह्य शाक्तिको नियन्त्रणमा रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भन्दै उहाँले समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पार्नुभयो ।

‘विधिको शासन राज्य सञ्चालनको केन्द्रमा रहने छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो’ – प्रधानमन्त्री ओलीले भन्नुभयो । कुनै पनि गुह्य कार्यसूचीबाट नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर तिनलाई नेपाली जनताको भलाईका निम्ति परास्त गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली समाजमा हिंसाको कुनै स्थान नरहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सम्बन्ध र सद्भावमा खलल पुऱ्याउन खोज्नेलाई प्रश्रय नदिइने दृढता व्यक्त गर्नुभयो । समावेशी शासन व्यवस्था संविधानको मर्म हो भन्दै उहाँले त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । समानतामा आधारित सामाजिक न्यायबिना दिगो शान्ति र समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विविधतायुक्त हाम्रो समाजको सामर्थ्य, स्रोत र पहिचान पनि सामाजिक विविधता भएको दोहो¥याउनुभयो ।

संक्रमणकालीन न्याय प्रक्रिया स्वच्छ एवं निष्पक्ष होस् भन्नेमा नेपाल अडिग रहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले देशभित्र वा बाहिरबाट त्यसमा प्रभाव पारिनुहुन्न भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो । संक्रमणकालीन न्याय सम्पादनका निम्ति दुई वटा आयोग कार्यरत रहेका जानकारी दिँदै उहाँले मानवीय कानून र मानवाधिकार उल्लङ्घनका गम्भीर मुद्दामा कसैलाई पनि आममाफी नहुने दोहो¥याउनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक संस्थामार्फत नेपालबाट प्रभावकारी रुपमा निरन्तर योगदान हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘राष्ट्रसंघको सुधारमा नेपालको समर्थन छ ।’ उहाँले शान्ति, सुरक्षा, विकास, मानवाधिकारलगायत मामिलामा उक्त विश्व संस्थालाई निपूण, प्रभावकारी र उत्तरदायी बनाउनु समयको माग भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यका नाताले मानवाधिकार संरक्षणका खातिर विश्वभर नेपालले आवाज बुलन्द गर्ने र सकारात्मक परिवर्तनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले परिषद्मा नेपालको भूमिका गैरराजनीतिक हुने प्रष्ट गर्नुभयो ।

छिमेकी मुलुकका जायज चासोप्रति सरकार गम्भीर रहेको प्रष्ट गर्दै उहाँले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन नदिने नेपालको अडानलाई दोहो¥याउनुभयो ।

उहाँले छिमेकका साथै सबै मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू लागिपरेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘भारत र चीन नेपालका निकटका छिमेकी हुन्, दुवै देशसँगको हाम्रो सम्बन्ध अति सुमधुर छ । पारस्परिक विश्वास नै हाम्रो सम्बन्धको मुख्य तत्व हो ।’

तस्बिर रासस