प्रहरीहरू नै शङ्कामा

प्रहरीहरू नै शङ्कामा


  • वसन्त कुँवर

प्रहरी सङ्गठनमा यस पङ्क्तिकारले झन्डै २४ वर्ष बितायो । दु:ख-सुख जे पाए पनि, धोखा, षड्यन्त्र बद्नाम जे दिलाइए पनि त्यो सङ्गठनबाट मैले जीवनमा धेरै राम्रा कुराहरू सिकेको छु । वास्तवमै त्यस सङ्गठनमा धमिरा भन्ने एक षड्यन्त्रकारीहरूका सानो समूहबाहेक अरूलाई म आफ्नै ठान्दछु । धमिरा भन्नाले त्यस्ता कर्मचारीहरूलाई मान्छु जो प्रहरी सङ्गठनमा बसेर प्रहरी कर्मचारीकै विरुद्धमा षड्यन्त्र गर्छन् । प्रहरी सङ्गठनको कर्मचारीको विरुद्ध झुटा उजुरु हाल्छन् । पछाडि लुकेर आफ्ना प्रतिद्वन्द्वी हटाउन कायरप्रकारको काइते काम गर्छन् । जागिर खाँदा डेरामा बस्ने गरेर अहिले अकुत सम्पत्ति भ्रष्टाचार गरी कमाई बिल्डिङ र गाडी जोड्दै आफूलाई इमान्दार भएको ढोंग गर्छन् ।

आफ्नो प्रगतिका लागि अरूलाई हटाउन र पछिपार्न जस्तोसुकै षड्यन्त्र गर्न पनि ती पछि पर्दैनन् । आफ्नै प्रहरी परिवारको बद्नाम गर्न गलत र भ्रामक समाचार सञ्चारमाध्यमहरूमा प्रेषित गर्न पनि पछि पर्दैनन् ती । प्रहरीमा यस्ता धमिराहरू भाइरस भएर आउँछन् र सम्पूर्ण सङ्गठनलाई आन्तरिक रूपमा र जनताको नजरमा रोगी बनाउँछन् । यस्ता नीच प्रवृत्ति र आपराधिक सोचका प्रहरी कर्मचारीबाहेक बाँकी सम्पूर्ण प्रहरीहरू मलाई हरदम आफ्नै लाग्छ ।

मेरो जीवनसँग चाहेर या नचाहेरै पनि प्रहरी सङ्गठनका घटना-दुर्घटनाहरूले मलाई खुसी या दु:खी बनाउने गर्दछ । कहिलेकाहीँ म सोच्छु कि म त प्रहरीबाट अवकाश दिलाइएको व्यक्ति हुँ, त्यसैले मैले यस क्षेत्रको सरोकार राख्नबाट आफूलाई अलग्याउनुपर्छ । तर, यो चाहेर पनि हुँदोरहेनछ । कुनै घटना घट्छ, पत्रपत्रिकामा प्रहरीविरुद्ध लेखिन्छ, मलाई त्यस अवस्थामा आईजीपीले यसो गरेको भए हुन्थ्यो भन्ने सुझावको लहर पैदा हुन्छ । मेरो हातले अनायसै टेलिफोन उठाउँछ र म आईजी रमेश चन्दज्यूलाई मनको कुरा भनिहाल्छु ।

यसैगरी कहिले आफ्नो विचार कमिस्नर मदन खड्काज्यूसँग सेयर गरिहाल्छु । मेरो कुरामा छलकपट, षड्यन्त्र हुँदैन न व्यक्तिगत अनुरोध नै हुन्छ । म देशको र सङ्गठनको कुरा मात्र गर्छु, यो अवश्य हो कि उहाँहरूले सल्लाह नै नमागी मैले सल्लाह दिएको मन नपराउनुभएको पनि हुनसक्छ, तर पनि प्रहरी सङ्गठनको हरपल सफलता हेर्न खोज्ने व्यक्ति भएकोले सायद म यस्तो क्रियाकलाप गरिरहेको हुन्छु । प्रहरी सङ्गठनको कुराहरू म पत्रपत्रिका वा टेलिभिजनबाट थाहा पाउँछु । सतही रूपमा मैले सुनेका सबै कुराहरू सही नहुन सक्छन् । हालै मैले प्रहरी सङ्गठनको बारेमा सुनेको एक समाचार यस्तो छ ?

हालका गृहमन्त्री भीम रावलले सबै प्रहरीप्रमुखलाई -नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानकालाई) बोलाई छिटोभन्दा छिटो प्रहरी नियमावली परिवर्तन गर्ने निर्देशन दिँदै गृहमा तारन्तार मिटिङ राख्दै हुनुहुन्छ रे । यही नियमका आडमा अब रावलले भविष्यका सङ्गठनप्रमुखहरूमा आफ्ना क्षेत्रका मान्छेहरू ल्याउन सुनियोजित ढङ्गले घटिया खेल खेल्दै हुनुहुन्छ रे । जसलाई माथि ल्याउन खोज्नुभएको छ ती अधिकृतहरू आपराधिक प्रकृतिका छन् रे । जसलाई प्रहरीमा षड्यन्त्रकारी अधिकृत भनेर तल्ला दर्जासम्मकाले चिन्छन् रे । अहिलेको नियम संशोधनमा दुर्भाग्यको कुरो के छ रे भने तिनै षड्यन्त्रकारी प्रहरी अधिकृतहरूले नै संशोधन हुन लागेको नियमको ड्राफ्ट लेख्दै छन् रे । उनीहरूले यही नयाँ बन्ने नियमको आडमा आफ्ना प्रतिद्वन्द्वीहरू मास्ने तल्लो स्तरको षड्यन्त्रकारी दाउ गर्दै छन् रे । यो संशोधन हुन लागेको नियम नितान्त रूपमा प्रहरी सङ्गठनको भन्दा पनि व्यक्तिगत स्वार्थका लागि मात्र संशोधन हुँदै छ रे । यो नियम संशोधन गर्नुपर्ने अहिले कुनै जरुरत थिएन रे । देशको समस्या एकातिर छ रे तर गृहमन्त्रीज्यू केवल आफ्नो स्वार्थका लागि यसै कामलाई संविधान बनाउनेभन्दा बढी महत्व दिइरहनुभएको छ रे । अब आउन लागेको नियमले प्रहरीमा फेरि राम्रा अधिकृतहरू थप मासिनेछन् रे र प्रहरी सङ्गठनमा धमिरा र षड्यन्त्रकारीहरूको नै बोलवाला हुने निश्चित छ रे, आदि ।

मैले यसबाहेक पनि थुप्रै नकारात्मक कुरा संशोधन हुन लागेको प्रहरी नियमावलीको बारेमा सुनेँ । वास्तवमै प्रहरी नियमावलीहरू संशोधन हुन लागेको हो-होइन ? हुन लागेका हो भने मैले सुनेझैं व्यक्तिगत स्वार्थबाट प्रेरित भएर आउन लागेका हो-होइन ? यो मलाई थाहा छैन तर म यति कुराचाहिँ विश्वास गर्छर्ुुक इतिहासको कुनै मोडमा भगवान्का कृपाले दुई दिनका लागि गृहमन्त्री वा प्रहरीप्रमुख हुन पाएका व्यक्तिहरूले कसैका व्यक्तिगत भलाइका लागि नियम परिवर्तन गरी ठूलो सङ्ख्याका प्रहरी कर्मचारीहरूलाई चिढाएर आफू त्यो पदबाट गइसकेपछि पनि सत्तोश्राप खाने काम पक्कै पनि गर्नुहुने छैन होला ।

कुनै खास व्यक्ति वा राजनीतिक सोचका लागि प्रहरी नियमावली परिवर्तन गरेर क्याडरिङ पद्धतिलाई बिगानर्ेर्ेेो भने सम्पूर्ण प्रहरी सङ्गठन पतन हुनेछ । जो-जो गृहमन्त्री वा आईजीपीहरूले षड्यन्त्रमूलक ढङ्गले नियम परिवर्तन गरे वा हाकाहाकी शक्तिको मातमा कसैमाथि अन्याय गरे ती मन्त्री तथा आईजीपीहरूलाई अवकाशपछि लुकेर हिँड्नुपर्ने स्थिति आयो । कृष्णप्रसाद सिटौला भन्ने व्यक्ति यसैको एक नमुना बनेका छन् । कुनै समय आफूलाई भगवान्सरह ठान्ने उनी अहिले प्रहरी कार्यालयहरूमा छिर्न डराउँछन् । हेमबहादुर सिंहदेखि थूप्रै प्रहरीप्रमुख आफूले बिगारेको प्रहरी अधिकृतदेखि निहुरिन्छन् र लुक्छन् । मलाई आशा छ- हालका गृहमन्त्री र प्रहरीप्रमुखहरूले यसप्रकारको इतिहासको घटना देखिसक्नुभएको छ । त्यसैले उहाँहरूबाट हाकाहाकी कुनै षड्यन्त्रकारीलाई वा कुनै वर्ग, क्षेत्र वा राजनीतिक सोच मिल्ने अधिकृतहरूका फाइदाका लागि आफ्नो मान-प्रतिष्ठा दाउमा लगाएर कुनै नियम संशोधन होलाजस्तो मलाई लाग्दैन । यदि त्यसो गर्नुभयो भने उहाँका लागि सबैभन्दा घातक शत्रु आफ्नै सङ्गठनका अधिकृतहरू हुनेछन् जो आउने नियमका कारणले आफूलाई अन्याय भएको महसुस गर्नेछन् ।

मैले देखेँ- प्रहरीमा कोही आ-आफ्नो मान्छे हुँदा रहेनछन् । एउटै थालमा भात खाएका एकै ब्याचका साथीहरू एक तह प्रमोशन पाउनका लागि निचभन्दा निच काम गर्न पछि पर्दैनन् । यस्तो अवस्थामा आफ्नो प्रतिद्वन्द्वीलाई हटाउन वा विवादमा पार्न षड्यन्त्रकारी अधिकृतहरू सधैँ अवसरको खोजीमा हुन्छन् । त्यस्तो अवसर उनीहरूले सरकार परिवर्तन भएको अवस्था वा गृहमन्त्री बदलिएको अवस्था वा आईजीपी परिवर्तन भएको अवस्था, कुनै घटना घटेर त्यसमा आरोप लगाउन सक्ने अवस्था वा खास प्रकारको ऐन नियमको परिवर्तन हुने अवस्थामा पाउँछन् ।

षड्यन्त्रकारीहरू जनताका लागि काम गर्दैनन् । ती निच सोचाइ राख्ने अधिकृतहरू केवल प्रतिद्वन्द्वीलाई काइते तरिकाबाट मास्न चाहन्छन् । प्रहरी नियमावलीको परिवर्तन कहिलेकाहीँ जरुरी हुन्छ । तर, गृहमन्त्री तथा प्रहरी महानिरीक्षकहरूले यो परिवर्तनको अवसरलाई काइते, षड्यन्त्रकारी तथा धमिरा अधिकृतहरूले कतै तिनका भलाइका लागि दुरुपयोग त गर्दै छैनन् ? यो कुरा भने बुझ्न बहुत जरुरी हुन्छ । कुनै समय चन्द थरका एक काइते डीआईजीले आफू आईजीपी बन्ने षड्यन्त्रमा लागेर धेरै प्रहरी अधिकृत बिगारे । तर, यससम्बन्धी बद्नामी हेमबहादुर सिंहले पनि बोक्नुपर्‍यो । इतिहास साक्षी छ र हालका गृहमन्त्री र आईजीपीले त्यो इतिहास पक्कै बुझ्नुभएको छ भन्ने पङ्क्तिकारलाई लाग्छ ।

हामीहरूले बुझ्नुपर्छ- ०१२ सालभन्दाअघि प्रहरी सेनाबाट चल्थ्यो । रामदलदेखि मुक्तिसेनासम्मको यसमा प्रवेश थियो । ०१२ सालमा भारतबाट एक कमिसन आयो र त्यो कमिसनले पुलिसमा केही सुधार गरी ऐन-नियम पनि निकाल्यो । समय-समयमा त्यो ऐन-नियम दरबारको स्वार्थका कारण पनि संशोधन भए । तर, ०४८ सालपछि मोतीलाल बोहोराले आईजी रत्नशमशेरलाई हटाउन नियम संशोधन गरे । दुर्भाग्यवश त्यस समय गृहमन्त्री र आईजीपी सुदूरपश्चिमबाटै थिए र अहिले पनि त्यहीँबाटै छन् । शेरबहादुर देउवा र मोतीलाल बोहोराको त्यो कदम प्रहरी सङ्गठनको इतिहासहरूमा कालो घटनाको रूपमा सधैं याद गरिनेछ । अहिले कतै पुन: त्यस्तै कालो घटनाको जन्म त हुँदै छैन – अधिकांश उच्च प्रहरी अधिकृतलाई आशङ्का रहेछ । मैले आफूले पनि अनुभव गरेँ कुनै खास समयमा शक्तिमा पुगेका गृहमन्त्री तथा प्रहरीप्रमुखले तल्ला कर्मचारीको भावना नबुझी ऐन-नियम परिवर्तन गर्दा सङ्गठनलाई दूरगामी असर पर्छ र प्रहरीको क्याडरिङमा पनि गम्भीर असर पर्दछ । ३० वर्षो नियम ल्याएर प्रहरीका धेरै होनाहार अधिकृत मासिएकै हुन् ।

अन्तमा गृहमन्त्रीलगायत सम्बन्धित पक्षलाई पङ्क्तिकारको के अनुरोध छ भने नेपालमा आगामी जेठमा संविधान बन्नुपर्नेछ । अलि ढिला भए पनि बन्नैपर्ला । संविधानपछि राज्यसंरचना कस्तो हुन्छ त्यसैअनुसारको राज्य र राज्यको प्रहरी पनि होला । मूल कानुनको आधारमै अरू नियम-कानुन बन्ला । अहिले नेपालमा चोर पक्रन, गुण्डा पक्रन तराईका हतियारधारी पक्रन, उत्तेजित मित्र शान्त गर्न, अपहरणकारी समात्न पुरानो प्रहरी नियम-कानुनले कतै बाधा हालेको छ भने त्यस्तो बाधा फुकाउनुपर्छ तर षड्यन्त्रमूलक ढङ्गले कसैको फाइदा वा बेफाइदाका लागि यो ऐन-नियम परिवर्तन गर्न लागिएको छ भने त्यो कदम मन्त्री, प्रहरीप्रमुख र राष्ट्रकै लागि घातक हुनेछ । मन्त्रीज्यूको मुख्य काम अहिले प्रहरी नियम संशोधनभन्दा पनि संविधान निर्माण हो । मूल कुरामा त्यता ध्यान जान जरुरी छ । जहाँसम्म ३० वर्षो नियम संशोधनको कुरा छ त्यो षड्यन्त्रबाट जन्मिएको एक नियम भएकोले त्यसको परिवर्तन हुन जरुरी छ ।

पङ्क्तिकारमाथि प्रश्न उठ्न सक्छ- यो अवकाश भएको व्यक्तिलाई प्रहरीबारे किन यसरी टाउको दु:खेको होला – जवाफ सोझो छ, किनकि म प्रहरी सङ्गठन र सरोकारवाला निकायलाई माया गर्छु, त्यसैले सरोकार पनि राख्न खोज्छु । योचाहिँ हेक्का राखौँ कि संशोधन गर्न लागिएको प्रहरी नियमको सम्बन्धमा प्रहरीहरू नै शङ्कामा छन् ।