आज पनि काङ्ग्रेस केन्द्रीय समिति बैठक

आज पनि काङ्ग्रेस केन्द्रीय समिति बैठक


चैत ९ गतेदेखि जारी काङ्ग्रेस केन्द्रीय समितिको बैठकले आज पनि निरन्तरता पाएको छ । नेताहरुले आफ्ना धारणा राख्ने समय नसकिएकोले बैंठकले निरन्तरता पाएको हो ।

तीनै तहको निर्वाचनमा भोगेको अकल्पनीय हारपछि यतिखेर नेपाली काङ्ग्रेस फुर्सदिलो ढंगले केन्द्रीय समितिको वैठकमा केन्द्रित छ । निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न बोलाइएको वैठकमा देखिएको आन्तरिक विवाद र वहसले भने पार्टीको आन्तरिक राजनीतिमा तरंग पैदा गरेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा २३ केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिसकेको र अझै २२ केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नका लागि समय माग गरेकोले बैठक लम्बिने संकेत देखिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सचिव पौडेलका अनुसार सोमबारको बैठकमा शेखर कोइराला, रामकृष्ण यादव, बलबहादुर केसी, बालकृष्ण पाण्डेलगायतका नेताहरुले आफ्ना धारणा राखेका थिए । ‘अधिकांश वक्ताहरुले पार्टी कमजोर भएको र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।’ उनले भने, ‘ठूलो पार्टीमा असन्तुष्टि हुनु स्वभाविक हो ।’

पार्टी नेतृत्वको परिवर्तन र शुद्धीकरणको अभियान संचालन गरि रहेकाहरुले तत्काल अग्रिम महाधिवेशनको माग वैठकमा राख्दै गर्दा संस्थापन पक्ष भने महाधिवेशनको विपक्षमा देखिएको छ । यता, निर्वाचनको पराजयसंगै सुरु भएको नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद दिन प्रतिदिन जटिल बन्दै गएको छ ।

निर्वाचनको समीक्षा गर्न भन्दै निर्वाचन सम्पन्न भएको तीन महिना पछि सुरु भएको केन्द्रीय समिति वैठकमा पार्टी नेतृत्वलाई निशाना बनाइएको छ । निर्वाचनमा भोगेको पराजयको प्रमुख कारण नेतृत्वको असफलता भएको वताउदै वर्तमान नेतृत्वको परिवर्तन गर्नु पर्ने माग समेत बैठ्कमा उठेको छ ।

संसदमा बलियो प्रतिपक्षीको भुमिका खेल्नुपर्ने अवस्थामा काङ्ग्रेस आन्तरिक विवादले थप कमजोर बन्दै जाँदा संसदमा पनि अपेक्षित भूमिका खेल्न सक्ने अवस्था देखिदैन । संसदमा बलियो प्रतिपक्षीको भुमिका निर्बाह गर्नुपर्नें जिम्मेवारी काङ्ग्रेसको काँधमा आइपरेको छ । तर आन्तरिक विवादले काङ्ग्रेस ग्रस्त भएकोले आगामी दिनमा कसरी पार्टी अघि बढ्ला भन्नेमा सबैको कौतुहल्ताको विषय बनेको छ ।