सिद्धान्त, निष्ठा र आदर्शबाट कांग्रेस सञ्चालन गर्न सुझाव

सिद्धान्त, निष्ठा र आदर्शबाट कांग्रेस सञ्चालन गर्न सुझाव


नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको जारी बैठकमा नेताहरुले पार्टी सिद्धान्तबाट सञ्चालन हुनुपर्ने धारणा प्रखर रुपमा अघिसारेका छन् । चुनावी समीक्षालाई मूल मुद्दा बनाएर शुरु भएको बैठकमा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको धारणा प्रकट गर्ने केन्द्रीय सदस्यहरु पनि रहेका छन् ।

गत शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा तीनै तहका निर्वाचनको चुनावी समीक्षा र आगामी दिनमा कांग्रेसले लिने रणनीतिका बारेमा आज बोल्ने केन्द्रीय सदस्यहरुले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई आगामी दिनमा अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

विशेषगरी प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले आन्तरिक कारणले धेरै सिट गुमाउनुपरेको धारणा बैठकमा राख्दै आगामी दिनमा पार्टीलाई जीवन्त बनाइराख्न संगठन र कार्यशैली परिवर्तन गर्नुपर्ने खाँचो नेताहरुले औंल्याएका छन् ।

बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचनमा प्राविधिक रुपमा पार्टीले पराजय भोगे पनि लोकप्रिय मतमा अग्रस्थानमै रहेको जिकीर गरे भने इयूको प्रतिवेदनविरुद्ध पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पनि उनले सुझाव दिए ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीभित्रको एकतालाई अझ बलियो बनाउँदै पार्टीको सिद्धान्त र व्यवहारमा फरक हुन नहुने तर्क गरे भने लक्ष्मी परियार र डिला सङ्ग्रौलाले अगामी दिनमा पार्टीलाई गतिशील बनाउन नेतृत्वको ध्यानाकर्षण गराए ।

नेका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी छन् ।

तस्बिर रासस