जारी छ मधेसमा सम्मान कार्यक्रम

जारी छ मधेसमा सम्मान कार्यक्रम


– हेमशंकर सिंह

राजविराज । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको पनि ४ महिना बितिसकेको छ । तर, जननिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम सप्तरीमा अझै जारी छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विजयादशमी, दीपावली र छठको शुभकामना आदानप्रदानको नाममा शुरु भएको यस्ता सम्मान कार्यक्रम गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि फागुन पुर्णिमा (होली) पर्वको नाममा चल्यो भने यतिबेला नयाँ वर्ष आउन लाग्दा त्यसकै नाममा पनि सम्मान कार्यक्रमहरु जारी नै रहेका छन् ।

झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको वाम गठबन्धन र मधेशवादी दलहरुको तर्फबाट यस्ता सम्मान कार्यक्रमले निरन्तरता पाएको हो । वामगठबन्धन मध्ये पनि नेकपा एमालेको तर्फबाट महिनैपिच्छे यस्ता कार्यक्रमहरुको आयोजना हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको सप्तकोशी र कंचनरुप दुई नगरपालिका जितेको नेकपा एमालेले भने प्रदेशसभातर्फ पनि दुई सिट जितेका हुन् ।

प्रतिनिधिसभामा खाता खोल्न नसकेको वाम गठबन्धनले राष्ट्रिय सभामा प्रदेश नं. २ बाट नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल र्निविरोध र्निवाचित भएपछि सम्मान कार्यक्रमले अझै बढी निरन्तरता पाएको हो ।

हिजो शनिबार मात्र पनि यस्तै एक कार्यक्रमको आयोजना गरियो । सन्दर्भ थियो पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय उदघाटन तथा नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदानसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा बधाई कार्यक्रम । यसअघि सप्तरीमा केही वर्षअघि मदन भण्डारी फाउण्डेशन स्थापना भएपनि उक्त संस्थाको तर्फबाट भने कुनै गतिविधि अगाडि नबढिरहेकै बेला पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय उदघाटनले एमाले र माओवादी केन्द्र एकीकृत हुन लागे पनि एमालेभित्र एउटा बेग्लै नयाँ गुटको निर्माण हुन लागेको हो कि भन्ने विश्लेषण उक्त कार्यक्रमका एक वक्ताले गरे ।

नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्वमन्त्री, नेकपा एमाले प्रदेश नं. २ कमिटीका संयोजक तथा प्रदेश नं. २ मा नेकपा एमाले संसदिय दलका नेता सत्यनारायण चाहिँ उक्त कार्यक्रममा अनुपस्थित थिए । कार्यक्रमका मुख्य अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल थिए ।

आफ्नो उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि प्याकुरेलले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकिकरणमा प्राविधिक रुपमा ढिलाई भएपनि भावनात्मक रुपमा एकीकृत भइसकेको र यस एकतालाई नेपाली जनताले अनुमोदन गरिसकेको दाबी गरे । फरक चिन्ह र विभाजनका कारण प्रतिक्रियावादीहरुले विगतमा फाइदा लुटे, एकीकरणपछि पनि ती तत्वहरुले नाजायज लाभ उठाउन सक्ने भन्दै प्याकुरेलले इतिहासकै सबल केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको विश्वास पुरा गर्न नसके नेपालको कम्यूनिष्ट आन्दोलनमै ठुलो धक्का पुग्ने तर्कका साथ जनचाहना पुरा गर्न सके मात्र दुई कम्युनिष्ट पार्टीको एकीकरणले सफलता प्राप्त गर्नेमा जोड दिए ।

आफूलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्न आग्रह गरे पनि आफूले तत्कालका लागि उक्त पदमा बस्न नमानेको दाबीसमेत उनले गरे । उनले भने– मैले अध्यक्षजीलाई भनेँ कि पहिलोपल्ट संसदीय अभ्यासमा आएको छु । मलाई संसदीय अभ्यास सिक्न दिनुस् तत्काल ६ महिना वर्षदिन म मन्त्री बन्दिनँ भनेपछि पार्टी अध्यक्ष छक्क पर्दै भन्नुभयो, यहाँ मन्त्री बन्न सांसदहरु लामबद्ध छन्, तपाईंलाई अवसर दिन खोज्दा पनि लिन मान्नुहुन्न ।

२ नं. प्रदेश सामन्तवादले ग्रसित प्रदेश रहनुका साथै समाजको हरेक तहमा सामन्तको प्रभाव रहेको भन्दै प्याकुरलेले २ नं. प्रदेशलाई सामन्तवादबाट मुक्त गर्न कानूनी राज्य र विधिको शासन कायम गर्नुपर्नेमा समेत जोड दिए । आउँदो ३–४ महिनाभित्र दुई चारवटा नमुना काम जिल्लामा गर्न नसकिए अब हुने निर्वाचनमा कम्यूनिष्टहरुले मत माग्ने आधार समेत गुम्ने तर्क उनले गरे ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट निर्वाचिन पूर्व सांसद जगदिश साहले पुष्पलालको विचार लागु भए मात्र उहाँको सपना पुुरा हुने भन्दै पार्टी पुनः गुटउपगुटमा विभक्त भए पुष्पलालको विचार अगाडी बढ्न नसक्ने आशंका प्रकट गरे ।

नेकपा एमाले सप्तरीका जिल्ला अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले समाजवादउन्मुख पूँजीवाद स्थापनाको दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै प्रतिव्यक्ति आय नबढेसम्म भौतिक पूर्वाधारको विकास मात्रले साँच्चिकै विकासको गणना गर्न नसकिनेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री उमेश यादवले भारतले आफ्नो संविधानमा समावादको किटानी नै गरे पनि त्यहाँको एक प्रतिशत धनाढ्यको हातको ८२ प्रतिशत सम्पत्ति रहेको भन्दै नेपालमा पनि ०.०४ प्रतिशत ढनाढ्यको हातमा सम्पत्ति रहेकाले समाजवाद त्यति चाँडो आउन नसक्ने दाबी गरे । मधेशमा निषेधको राजनीति गरेर केही व्यक्ति र पार्टीले व्यक्तिगत स्वार्थ सिद्धि गरेकाले तिनीहरुप्रति सजग रहन समेत उनले आग्रह गरे ।

आफू मन्त्री भएको बेला उच्च बाँध निर्माणका लागि टनेल किन्न अमेरिकी राजदुत स्वयंले आएर आग्रह गरेको खुलासा गर्दै पूर्वमन्त्री यादवले भने नेपालको ब्यूरोक्रेसी घोर सम्प्रदायिक छ, यिनीहरु मधेशको नाममा बजेट दिन चाहँदैनन् भन्दै उनले राजनीतिक क्षेत्रभन्दा पनि बढी सामप्रदायिक कर्मचारीतन्त्र रहेको आरोप लगाए ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य कमानन्द देव, नेपाल निजामती कर्मचारी संगठनका केन्दिय उपाध्यक्ष भागवत यादव, मदन भण्डारी फाउण्डेका जयप्रकाश ठाकुर, शहरी अभियन्त विश्वनाथ मण्डल, नेकपा एमाले २ नं. प्रदेश कमिटीका सदस्य शैलेन्द्रचन्द्र झा, नेकपा माओबादी केन्द्रका प्रदेशसभा सदस्य रुबी कर्ण,नेकपा माओबादी केन्द्रका सप्तरी इन्चार्ज अशोक कुमार मण्डल लगायतले सम्बोधन गरे ।

यसैक्रममा राजपा नेपालले राजविराजमा गाउँतह देखि प्रदेशतहका सांसदसम्मलाई भेला गरी सम्मान गरेको छ । सदभावना पपार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको ८९ औँ जन्मजयन्तिको अवसरमा आइतबार सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

ज्ञातव्य छ, मधेसमा सम्मान कार्यक्रममा प्रयोग गरिने फूलका माला सुतली धागोमा उन्ने गरेको पाइएको छ । यसरी सुतलीले उनेकै कारण सम्मानका लागि लगाइदिएको माला समेत पहिरिन हिच्किचाउने गरेका छन् ।