उर्जामन्त्रीले भने, ‘म गार्जियन पनि, साथी पनि !’

उर्जामन्त्रीले भने, ‘म गार्जियन पनि, साथी पनि !’


बदलिएको परिस्थतिअनुसार काम गर्न उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागीय प्रस्तुतीकरण कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै उर्जामन्त्री पुनले देश सङ्घीय संरचनामा गइसकेको भन्दै खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘तपाईंहरुलाई कही अप्ठेरो परेको छ भने राज्यले हेर्छ, तर बदलिएको परिस्थितिलाई भने तपाईंहरुले आत्मसात गर्नुपर्छ, फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस्’, मन्त्री पुनले सम्बोधनमा भने ।

मन्त्री पुनले आफु मन्त्री मात्र नभएर सबैको गार्जेन भएको बताए । उनले मन्त्रालयको लिडर र गार्जेनको रुपमा आफुले काम गर्ने तर आफुलाई पनि त्यसको बदलामा परिणामुखी काम चाहिने भएकाले कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशन दिए । ‘म तपाईंहरुको साथी हो, गार्जेन पनि हो, तपाईंहरुलाई काम पुगेको छैन, अन्याय भएको छ भने म हेर्छु, काम पनि दिन्छु । तर मलाई तपाईंहरुले जिम्मा दिएअनुसारको परिणाम दिनुपर्छ ।’– मन्त्री पुनले भने ।

माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पुनले सरकारी सम्पतीको दुरुपयोग नगर्न समेत चेतावनी दिए । ‘जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठुलो अपराधसरह हुन्छ, त्यसैले तपाईंहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस्,’ मन्त्री पुनले भने ।

मन्त्री पुनले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राम्रो काम गरेर देखाउने चुनौती भएको भन्दै त्यसका लागि कार्यक्षेत्रमा इमान्दारितापुर्वक लाग्न निर्देशन समेत दिए । उनले जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागि खरो रुपमा उत्रनुपर्ने बताए ।

उनले जलवायु परिवर्तनको क्षेत्रमा ठुला–ठुला चुनौती रहेको भन्दै त्यसका लागि तयार रहेर बस्न समेत जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका कर्मचारीलाई निर्देशन दिए ।