प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट शुरु हुने

प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट शुरु हुने


दक्षिणतर्फको छिमेकी देश भारतसमक्ष लिएका केही अडानका कारण एकाएक राष्ट्रवादी छवि बनाएका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण अन्ततः सबभन्दा नजिकको छिमेकी भारतबाटै हुने भएको छ । यही चैतको अन्तिम साता भारत भ्रमण गर्ने तयारी प्रधानमन्त्री ओलीले शुरु गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चैतको अन्तिम साता भारत भ्रमणको तयारी भइरहेको खुलासा गरेका छन् ।

चैतभित्रै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भए पनि मिति भने टुंगो लागिनसकेको बालुवाटारनिकट स्रोत बताउँछ । सम्बद्ध निकायमा प्रधानमनत्रीको भ्रमणबारे आवश्यक छलफल र तयारीका प्रारम्भिक काम भइरहेका छन्, चाँडै नै औपचारिक विवरण सार्वजनिक गरिने छ, स्रोत बताउँछ ।

पटक पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट भ्रमणको निम्तो पाएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण गर्ने देशको रुपमा भारतलाई रोजेर कुटनीतिक हिसाबले विवेकपूर्ण निर्णय गरेका कुटनीतिक क्षेत्रमा चर्चा शुरु भएको छ ।