‘एक विद्यालय एक पुस्तकालय’को सोच अनुसार विश्वका विभिन्न दातृ निकायको सहयोगमा नेपाल सरकारले पुस्तकालय निर्माणका लागि ६ लाख ५० हजार प्रदान गर्दै आएको छ । अघिल्लो सालबाट शुरु भएको यो कार्यक्रम सम्भवतः अरु चार वर्ष चल्ने छ । दश हजार स्कुलले प्राप्त गर्ने यो पुस्तकालयको रकम लगभग साढे ६ अर्बको हो । यो रकमको ब्यापक दुरुपयोग भइरहेको छ । पुस्तकालयमा पुस्तक नभएर पुस्तकको बिल मात्र पुग्ने गरेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । स्कुललाई सहुलियत दिनुको साटो ‘शक्तिशाली’ पुस्तक प्रकाशकहरू शक्तिकेन्द्रमा धाएर जसरी पनि आफ्ना पुस्तक पार्ने र कति प्रकाशक चाहिँ जिल्ला शिक्षा अधिकारीलाई कमिशन दिएर आफ्नो संस्थाको पुस्तक स्कुलमा लगाउन बाध्य पार्ने जस्ता अनेक विकृति–विसंगतिको चर्चा बढेको छ । यही विषयमा केन्द्रित रहेर ‘यस आइ क्यान’, ‘हजार आशाहरू’, ‘युद्धका डोबहरू’, ‘छापामार’, ‘आइमाई मान्छे’का साथै अन्य दर्जनौँ सफल कृतिका सर्जक प्रसिद्ध साहित्यकार तथा डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईसँग गरिएको कुराकानी ।
० तपाईंको डिकुरा पब्लिकेसनलाई अहिले पुस्तक व्यवसायी र यसका संघले समेत एउटा अभियोग लगाइरहेका छन्, बढी छुट दिएर डिकुराले बजार बिगाऱ्यो, यसरी त पुस्तक व्यवसाय नै ध्वस्त हुन्छ हामी डुब्छौँ आदि, यथार्थ के हो ?
– पुस्तक व्यवसाय नै डुबेपछि म मात्र तैरिने कुरा त आउँदैन होला । यो सबै ‘माफिया’हरूको होहल्ला मात्र हो । पुस्तक व्यवसाय पनि अहिले आएर माफियाबाट नियन्त्रित भएकाले यस्तो विचार आएको हो, तर पुस्तक व्यवसाय केवल पैसा कमाउनका लागि मात्र गरिने व्यवसाय हैन । मजस्ता लेखक नै यो व्यवसायमा आउनुको कारण पुस्तक र पुस्तक पठनको महत्व समाजमा स्थापित गर्नका लागि पनि हो । पैसा मात्र कमाउने हो भने त रियल स्टेट, शेयर मार्केट जस्ता व्यवसायमा लाग्न पनि सकिन्छ । वास्तवमा प्रकाशन व्यवसायमा पनि घटिया र आफै मात्र एकलौटी खाउँ भन्ने सोचका मानिसहरू हावी भएकाले यस्तो धारणा आएको हो । म यो क्षेत्रमा आएको त पैसाका लागि भन्दा पनि ‘पुस्तक कल्चर’का लागि हो । यो देशमा एउटा पनि पुस्तक नभएका लाखौँ घर छन् । एउटा पनि पुस्तकालय नभएका दशौँ हजार स्कुल छन् । बाहिरको त कुरै नगरौँ उपत्याकामा एउटा गतिलो सार्वजनिक लाइब्रेरी छैन, जबकि यति जनसंख्या भएका महानगरमा २०० बन्दा बढी लाइब्रेरी चोक–चोकमा हुनुपथ्र्यो । रत्नपार्कमा कसैलाई पर्खनु परे हाम्रा युवाले पुस्तकालयमा पढ्दै पर्खन पाउनुपथ्र्यो । तर विडम्बना ! सरकारले पुस्तकको महत्व नबुझेका कारण या पैसाको अभावका कारणले यो हुन पाएको छैन । तर म आफ्नो तरिकाले यो अभियानमा लागेको छु । एकदमै न्युन नाफा राखेर बढी छुटमा रुचिकर र पठनीय पुस्तक उपलब्ध गराएर म पाठकलाई आकर्षित गर्न खोजिरहेको छु । पुस्तक पाठक कम छन्, तिनै कमलाई निचोरीहाल्न चाहनेहरूको हुँइया हो यो । पैसा मात्र खोज्ने नाफाखोरहरूले गर्ने व्यवसाय नै हैन यो । पुस्तकको वास्तविक महत्व बुझ्ने र पुस्तकलाई अन्तरहृदयबाटै प्रेम गर्नेहरूले गर्ने व्यवसाय हो यो ।
० फाइदै नभए कसरी व्यवसाय बढाउन सकिन्छ त ?
– फाइदा हुनुपर्छ र त्यो हामीलाई पनि आवश्यक छ । हामीलाई यस कारणले फाइदा चाहिन्छ ताकि सेवाको गणस्तर बढाउन सकियोस् । तर फाइदाका नाममा लुट मच्चाउन भने पाइँदैन । फाइदा अरुले पनि राखेका छन् तर उनीहरूको कमिशनको खेल ठूलो हुन्छ । विभिन्न हाँगाबिगामा उनीहरूको कमिशन पुग्नुपर्ने हुनाले सिधा पाठकलाई पुग्ने बेलामा त्यो नदेखिने छुट हुन्छ तर हाम्रो सिधा पाठक या बढीमा एक स्टेप मात्र रहने हुनाले हामी आमपाठक या भनौं सिधै उपभोक्तामा पुग्ने भएकाले बढी छुट देखिएको हो । यो पनि होलसेलरले पाउने भन्दा केही कम नै हुन्छ ।
० तपाईंहरू उही पुस्तकको प्राइस पहिलाभन्दा बढी बढाएर बढी छुट दिएको प्रचार गर्नुहुन्छ भन्ने पनि पत्रपत्रिकामा पढ्न पाइन्छ नि, यस्तो समाचार यत्तिकै आयो होला ?
– तपाईंले भर्खरै प्रकाशित ‘शिक्षक’ मासिकको समाचारका आधारमा यसो भन्नु भएको होला सायद । यसलाई प्रष्ट पारौँ । पहिला त यो पत्रिका कसले प्रकाशित गरेको र त्यो पत्रिकाले त्यो लेख लेखेर डिकुरा पब्लिकेसनका पुस्तकको विरोध गर्नुको अन्तर्य के छ बुझ्नु आवश्यक छ । त्यसपछि हामी पुस्तकको मूल्य बढी राखेर बेचेको हो या बजारमा अरु बिक्री भइरहेका पुस्तकका दाँजो मूल्य कम छ बताउँछु ।
० सरकारी रकमको दुरुपयोग नहोस्, विद्यालयमा बढीभन्दा बढी र आवश्यक पुस्तक पुगुन् भनेर नै त्यस्ता समाचार आएका हुन्छन्, होइन र ?
– सीधा हेर्दा त्यस्तै लाग्छ तर भित्री कुरा भने अर्कै छ । हिमाल मिडिया र उसका सिस्टर अर्गनाइजेसनहरू छन् जो पुस्तक बिक्रीमा माफियागिरी गरिरहेछन् । पुस्तकमा मात्र होइन पूरा शिक्षा क्षेत्रमा हाबी हुने यिनीहरूको सोचअन्तर्गत हाम्राविरुद्ध ती खनिएका हुन् । अघिल्लो वर्ष हुनुपर्छ, आठ–दश करोडको एक प्रोजेक्ट आयो । विभिन्न स्कुललाई हुने बालबालिका लागि पुस्तक दिनुपर्ने । त्यो विभिन्न शक्तिकेन्द्रमा धाएर कनकमणि दिक्षितहरूले हात पार्नुभयो र रुम टु रिडले पहिल्यै स्कुलमा पठाएका पुस्तकहरूको राइट लिएर रातारात छापी फेरि तिनै पुस्तक स्कुलमा पुर्याइए । यदि खुला रुपमा माग गरेको भए अरु दर्जनौँ प्रकाशक जो बालसाहित्यका पुस्तक प्रकाशित गरिरहेका छन्, हामीले पनि २०० भन्दा बढी शीर्षकमा बाल साहित्य प्रकाशित गरेका छौँ, सबैका पुस्तक जान्थे तर कनकजीहरूले सबै एक्लै खाने लोभले फेरि उही पुस्तक पुगे । अब यो १० हजार स्कुललाई ६ लाख ५० हजारको लाइब्रेरीको योजना छ, यो ठूलो रुपैयाँको छ । पाँच वर्षमा झण्डै साढे ६ अर्बको । यत्रो ठूलो रकममा उहाँहरूका आँखा नबल्ने कुरै भएन । र, यो पनि शक्ति केन्द्रमा धाएर अनेक प्रलोभन दिएर उहाँहरूले आफ्नै हातमा पार्न खोज्नुभयो । सबै पुस्तक हामी नै दिन्छौँ भनेर यो ६ अर्ब ५० करोडको प्रोजेक्टका लागि शिक्षा मन्त्रालय प्रधानमन्त्री कार्यालय र अरु अनेक ठाउँमा उहाँहरूको एजेन्ट खटिए, तर त्यो बेला खड्ग ओली प्रधानमन्त्री भएका कारणले उहाँहरूको यो आर्थिक खेलको दुश्चक्र सफल भएन । बजेट जिल्लामा नै जाने भयो ।
अब जिल्लामा त्यो पनि सीधा स्कुलले नै आफ्नो स्वविवेकको प्रयोग गरेर पुस्तक खरिद गर्न सक्ने भएपछि उहाँहरूले शक्ति केन्द्रको आडमा जिल्ला शिक्षा अधिकारीहरूलाई नै प्रभावमा पारेर आफ्ना मात्र पुस्तक दिन कनकजीहरूका मात्र होइन नाम चलेका अन्य पब्लिकेसनका एजेन्टहरू समेत खटिरहेका छन् । केही महिनादेखि कनकजीहरूकै मार्केटिङ म्यानेजरहरू देश दौडाहमा हुनुहुन्छ । यसरी बाहिर स्कुल घुमेपछि उहाँहरूले के थाहा पाउनुभयो भने डिकुरा पब्लिकेसनसँग स्कुलका लागि चाहिने सबै खालका पुस्तकहरू छन् । बालसाहित्य २०० भन्दा बढी पुस्तक १५० भन्दा बढी जीवनी र आत्मकथाका पुस्तक, प्रेरक साहित्य, धार्मिक र स्वस्थका, बाल मनोविज्ञानका पुस्तक, कला साहित्यमा उपन्यास, कथा, कविता निबन्धका साथै विश्वका दुर्लभ साहित्यको नेपालीमा अनुवाद समेत देखेपछि र तिनै पुस्तकमा विद्यालयले रुचि देखाएको पाएपछि उहाँहरूले यो खेलबाट हामीलाई बाहिर निकाल्ने षडयन्त्रअन्तर्गत नै आएको हो हाम्रा विरुद्धका लेख–समाचार ।
० तर तपाईंहरूको पुस्तक महँगा छन् भन्ने कुरा छ नि ?
– यस्तो कुप्रचार यस्तै माफियागिरी गर्ने प्रकाशन र तिनीहरूका एजेण्टबाट भएका हुन् । यो देशमा सबैभन्दा महँगा पुस्तक नै जगदम्बा पब्लिकेसनका छन् । विदेशबाट पुस्तक छापेर फ्रि कपिज बाँड्ने भनेको पुस्तकको समेत उनीहरू चर्को मूल्य राखेर बेच्ने गर्छन् । उपभोक्ताको ढाड सेक्ने गरी चर्को मूल्य लिएपछि त्यो राम्रोमा प्रमाणित हुन्छ भन्ने उनीहरूको सोच छ । चाहे त्यो रातो बंगलाको चर्को फि होस् या पुस्तक । उदाहरणका लागि शिक्षक मासिकले प्रकाशित गरेको पुस्तक लिउँ, ‘दिवास्वप्न’ भन्ने गिजुभाइको एउटा पुस्तक छ १२३ पेजको, मूल्य छ २०० रुपैयाँ, अर्को लिउँ सोही टिमको गिजुभाइकै पुस्तक ‘हामी आमाबाबु’, जुन ११६ पेजको छ मूल्य छ २२५ रुपैयाँ । अब हाम्रो चे ग्वेभारा जुन उनीहरू महँगोमा बेच्यो भनेर पत्रिकामा लेखिरहेछन् ५४४ पेजको पुस्तक छ, मूल्य छ ६९५ । उनीहरूको हिसाबले मूल्य राख्ने हो भने यस पुस्तकको मूल्य एक हजार हुन्थ्यो । अरुका पुस्तकका मूल्य पनि हेरौं ‘यार’ भन्ने नयनजीको पुस्तक छ फाइनप्रिन्टले निकालेको पेज २४० मूल्य ४७५ अर्थात् पेजको दोब्बर त्यो हिसाबले डिकुराले प्रकाशन गरेको मैले लेखेको ‘युद्धका डोबहरू’ ४०० पेजको पुस्तकको मूल्य मैले ८०० राख्नु पथ्र्यो तर ५०० मात्र छ । यस्तै उनीहरूले भनेको हिटलरको जीवनी र आत्मकथाको पेज र मूल्य उनीहरूले राखेको मूल्यभन्दा निकै नै सस्तो पर्छ पाठकलाई । हाम्रो अर्को पुस्तक हेरौं, १२५ जनाको जीवनी भएको ६०८ पेजको पुस्तक उनीहरूकै अनुसार मूल्य राख्ने हो भने मैले यस पुस्तकको मूल्य १२०० नभए पनि ११०० राखे हुने हो । तर हामी उनीहरूले जस्तो शक्तिको आडमा उपभोक्तालाई ठग्दैनौँ । हाम्रा कुनै पनि पुस्तकको मूल्य नेपालमा अहिलेका चलिरहेका पुस्तकको दाँजोमा बढी छैन र बरु कम छ र गणस्तर कसैको भन्दा कम छैन । भन्छन् नि मान्छे आप्mनो आङमा भैंसी बोकेर अर्काको जुम्रा देखाएर जिस्काउँछ ।
० त्यसो भए यति धेरै छुट तपाईंहरू कसरी दिइरहन सक्नु भएको छ त ?
– मैले पहिला पनि भनेको छु हामी कम मार्जिनमा काम गर्छौं । हामी आजको भोलि नै नाफा कमाइहालेर भोलि अन्त लाग्न आएका हैनौँ । हामी पठन संस्कृतिको विकास गरेर पुस्तक व्यवसायलाई दिगो बनाउन आएका हौं । पुस्तकको दुनियाँलाई उपयोगी बनाउन र पुस्तक कल्चरको विकास गर्नमा हामीसँग धेरै राम्रा–राम्रा योजनाहरू छन् जुन अब हामी चाँडै नै त्यसमा प्रयोग शुरु गर्ने छौँ । हामी अनेक शक्तिकेन्द्रलाई कमिसन खुवाउने चक्कर नगरेर सिधै स्कुल र उपभोक्ता अनि पाठकलाई सम्मान गर्ने विक्रेतालाई बढी छुट दिनेछौँ ।
० तर धेरै प्रकाशक त भनिरहेका छन् पुस्तकमा त्यत्रो फाइदा नै हुँदैन कसरी बढी छुट दिन सकिन्छ ?
फाइदा नहुन्थ्यो भने तिनीहरू महल बनाइरहेका चाहिं कुन पुख्र्यौली सम्पत्ति ल्याएर हो नि ? उपभोक्तालाई चुस्ने बानी परेकाहरूले बोल्ने भाषा हो यो । उपभोक्तालाई छुट दिनुको साटो कमिशन बाँड्न पल्केकाले बोल्छन् यो भाषा । हामी विभिन्न ठाउँमा पुस्तक प्रदर्शन गर्दै पाठकलाई आकर्षित गर्न केही बढी छुट दिँदा यस्ता कमिशन खोरहरू जुलुस लिएर समेत विरोधमा उत्रेका थिए । म पुस्तक प्रकाशन र लेखनमा २४ वर्षदेखि छु । डिकुरा २४ वर्षको लक्का जवान भइसकेको छ । त्यसैले हामीलाई विश्वास छ अब पाठकले हामीलाई बुझेका छन् । पठन संस्कृतिको विकासमा यो देशमा हाम्रो भूमिकालाई कम आँक्न खोजेर, हाम्रो बदनाम गर्न खोजेर अब आम पाठकले विश्वास गर्दैनन् भन्ने हाम्रो ठम्याइ छ ।
० तपाईं कतै स्कुलमा सिधै जानु हुन्न कसैलाई कमिशन पनि खुवाउनु हुन्न तर कसरी स्कुलहरू तपाईंकोमा पुस्तक लिन आइपुग्छन् ?
– हामी स्कुलमा पुस्तक पठाउनु अघि बडो संवेदनशील बन्छौं । पुस्तक लिन आउनुहुने टिचरहरूलाई सबै किसिमका पुस्तकहरू देखाउँछौं । यहाँनेर अवगत गराउँ, सरहरू काठमाडौ सिधै हाम्रा पुस्तक लिन आउनुहुन्न । तिनै शक्तिकेन्द्रले पठाएका ठाउँमा पुग्नुहुन्छ । स्कुलका सरहरू भनेको पढेको विद्वान मान्छे हुने हो उहाँहरूको चेतना यहाँ काठमाडांैमा बसेर आपूmलाई महान् ठान्नेको भन्दा कति पनि कम छैन । यहाँ आइसकेपछि सबै कुरा थाहा हुँदै जान्छ । उहाँहरू हाम्रा बारेमा पनि सुन्नुहुन्छ र आइपुग्नु हुन्छ । हाम्रा पुस्तकहरू देखेपछि उहाँहरू चकित पर्नुहुन्छ स्कुलका लागि अति नै उपयोगी पुस्तक देखेर । अनि उहाँहरू हाम्रा पुस्तक छान्नु हुन्छ । तीस प्रतिशत चाहिं दिनुहोस् है भनेर अनुरोध गर्नुहुन्छ तर हामी उहाँहरूलाई ४० प्रतिशत दिन्छौं । यसपछि उहाँहरू त्यो बढी छुटको पनि फेरि पुस्तक नै थप्नु हुन्छ । र, एक ठाउँको स्कुलमा पुस्तक पुगेपछि त्यो स्कुलमा पुस्तक हेरेर अन्य स्कुलबाट पनि सरहरू आउनु हुन्छ । यसरी हाम्रो सेवा र गुणस्तरले पाठकलाई आकर्षित गरिरहेछ भन्ने हाम्रो विश्वास हो जुन पुस्तकमा दलाली गर्ने बानी परेकालाई पाच्य छैन ।
० बढी छुट चाहिं किन ? कम छुटमै बेचे पनि हुने नि ?
– यसको खास कारण त स्कुलमा बढी पुस्तक पुगुन् भन्ने नै हो । अर्को कुरा नेपालमा स्कुल यस्ता ठाउँमा समेत छन् जहाँ पुस्तक खच्चरमा बोकाएर लानु पर्छ । जुन पुस्तक किन्नुभन्दा महँगो पर्छ । यदि राम्रो छुट नपाउने हो भने उहाँहरूले स्कुलमा पुस्तक लानै सक्नुहुन्न । हामीले दिएको त्यो थप छुटले उहाँहरूलाई पुस्तक लान अलिक सहज भएको छ । अर्को कुरा बचेको पैसाले स्कुलमा पुस्तक राख्न थप र्याक पनि बनाउन सकियो । अझ अर्को कुरा जुन स्कुलका सरहरू पुस्तक नलगी बिल मात्र किनेर पैसा खाने दाउ गरिरहेका हुन्छन् उनीहरूलाई पनि बिल किन्नुभन्दा त त्यो पैसाले पुस्तक नै आउने भएकाले पुस्तक किन्न प्रेरणा मिल्ने भयो । यो थप छुटले भ्रष्टचार पनि रोकिरहेको छ । तर हाम्रो यो पवित्र भावनालाई पनि बग्याएर लेखेको छ शिक्षक मासिकले । मिडियालाई केही माफियाहरूले आफ्नो नीजि स्वार्थमा प्रयोग गर्दा अनुसन्धानको नाममा यस्ता अर्काको चरित्रहत्या गर्नेसम्मको स्तरमा गिर्छ । फेरि चरित्रहत्या गर्ने आलेख बनाउनेहरू आफू मिडियाकर्मी हुँ भन्ने बिर्सन्छन् र आफूलाई प्रकाशकरुपी बोसको कारिन्दाको रुपमा प्रस्तुत गर्छन्, किनकि उनीहरू योग्यताले नभएर यस्तै बोस खुसी पारेर काम पाउँछन् ।
प्रतिक्रिया