अघि बढ्यो अमेरिका उत्तर कोरिया वार्ता

अघि बढ्यो अमेरिका उत्तर कोरिया वार्ता


संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।

सोही वार्ता प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्ने त्यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ । साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि आइपुग्नुहुने समाचारहरुमा जनाइएको छ ।

उनीहरुबीच आइतबारै साँझ यहाँ अनौपचारिक भेटघाट रहेको यहाँको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ ।

यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ । उक्त दैनिकका अनुसार विदेशमन्त्रालयले यी दुई अधिकारीहरुको भेटवार्ताको चाँजो मिलाएको छ । फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ ।

फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गरे । साथै उनले यस वार्ता अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको पनि जनाएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका गएका थिए । उनको सो भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो । प्रस्ताव स्वीकार गर्दै उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको राष्ट्रपति ट्रम्पले बताएका थिए ।