देशको भविष्यको नाममा पुटिनले मागे मत

देशको भविष्यको नाममा पुटिनले मागे मत


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविष्य निर्माणका लागि मतदात गर्न सबै रुसी नागरिकलाई आग्रह गरेका छन् । रुसमा आगामी आइतबार हुन लागेको राष्ट्रपतीय निर्वाचनको संघारमा पुटिनले देशको भविष्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र मतदान गर्नु भन्ने निर्देश जारी गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिनका अलावा अरु सातजना उम्मेदवार रहेका छन् । मतदाताहरुलाई शुक्रबार गरिएको एक विशेष सम्बोधनका क्रममा पुटिनले भने– ‘प्रिय रुसी नागरिकहरु, म रुसको राष्ट्रपतिको हैसियतले यो आग्रह गर्दछु कि तपाइहरु आगामी आइतबार निर्वाचन केन्द्रमा जानुस र हाम्रो प्यारो देश रुसको भविश्य निर्माणका लागि मतदान गर्नुहोस् ।’

उनले समग्र रुसी नागरिकलाई निर्धक्क एवम् सुरक्षित मनले मतदान गर्न पनि सोही सम्बोधनका क्रममा आग्रह गरेका समाचारमा जनाइएको छ ।

पुटिनले रुसको संविधानले शक्तिको स्रोत जनतालाई नै मानेको छ भन्दै रुस, यहाँका बालबालिका र सबै नागरिकको भविष्य पनि उनीहरुको इच्छाशक्तिमा नै भरपर्दछ भनेका छन् ।

यसैबीच अर्को एक सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास विगतका वर्षहरुको तुलनामा लगभग दोब्बर भएको दाबी गरेका छन् । ‘देशको ठूलो उपलब्धि भनेको यस अवधिमा देशको अर्थतन्त्रमा वृद्धि गर्नु पनि हो र यसलाई रुसी जनताले प्रत्यक्ष अनूभूति गरेका छन् भन्ने हामीले ठानेका छौँ,’ पुटिनको भनाई छ।

रुसको सरकारले देशमा गरिबी कम गर्नका लागि गरिब र धनीबीचको अन्तर पनि घटाउने काममा सरकार लागिपरेको सो सम्बोधनका क्रममा उनले बताए ।