खलनायकहरूलाई कसले कारबाही गर्ने ? -श्रीविक्रम भण्डारी

खलनायकहरूलाई कसले कारबाही गर्ने ? -श्रीविक्रम भण्डारी


ब्रायन एडम्सको लोकप्रियतासँगै दशरथ रंगशालाको भाउ आकासिएको थियो । पहिले एक दिनका लागि पच्चीस हजारमा बुक हुने रंगशाला ब्रायनकै कारणले पाँच लाखमा बिकेको थियो । रंगशालको मूल्य एक्कासि आकासिएपछि खेलकुद पदाधिकारीहरूमा छटपटी हुनु स्वाभाविकै थियो । पहिले एक दिनका लागि बुक गरिएको रंगशालामा कार्यक्रमको तयारीका लागि अरू दुई दिनका लागि आयोजकले माग गरेपछि ती पदाधिकारीहरूलाई ‘के खोज्छस् कानो आँखो’जस्तै भएको थियो । ब्रायनको कन्सर्टका लागि राष्ट्रिय खेलकुद कर्मचारी सङ्घले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर रंगशाला उपभोगको सम्झौता गर्दै भेन्यु पार्टनर बनेको थियो । यसपछि आयोजकले सङ्घसँग सर्म्पर्क गर्दै दुई दिन थप गर्न र त्यसका लागि थप रकम दिने प्रतिबद्धता जाहेर गरेको थियो । सङ्घले सोबारेमा आयोजक र राखेपसँग कुराकानी अगाडि बढाइराखेको अवस्थामा दशरथ रंगशाला घुसकाण्डको पर्दाफास भएको थियो ।
‘पैसा भनेपछि महादेवको पनि तीन नेत्र’ भन्ने उक्तिलाई त्यसपछि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूले हुबहु उतारेका थिए । त्यसमा प्रमुख रोल राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्य समिम मियाँ अन्सारी (बब्लु) ले निभाएका थिए । खेलकुदमा कुनै हैसियत नभएका पीताम्बरले मर्ने बेलामा खेलकुदलाई डुबाएर जाने दुस्साहस गरेका थिए । पीताम्बरले नयाँ खेल खेल्ने क्रममा दशरथ रंगशालालाई बलिको बोका बनाएका थिए । भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने कुरामा पीएचडी गरेका पीताम्बरले त्यसपछि सबैलाई वाइपास गरेर एक्लै रकम हडप्ने सोच बनाएर आयोजकसँग सर्म्पर्क गरेका थिए । उनले रंगशाला मिलाइदिने निहुँमा आयोजकसँग १० लाख मागेर आफू उपाध्यक्ष भएको फुर्तीसमेत लगाए थिए । साथै पीताम्बरले आफूले भनेबमोजिम नभए कन्सर्टसमेत रोकिदिने धम्कीसमेत दिएका थिए ।
यसरी सन्निकट आएको कन्सर्टप्रति काला बादल मडारिन थालेपछि अर्थात् विवाद उत्पन्न हुन थालेपछि आयोजकले यो सबै कुराको जनाकारी भेन्यु पार्टनर राखेप कर्मचारी सङ्घलाई गराएको थियो । त्यसपछि सङ्घका अध्यक्ष नारायणदेव राणाले पत्रकार सम्मेलनको आयोजना गरी पीताम्बर र बब्लुको पोल खोलेका थिए । राणाले पीताम्बरले आयोजकसँग दस लाख र बब्लुले सात लाख घुस मागेको रेकर्डसमेत सार्वजनिक गरेका थिए । यसपछि घुसकाण्डको छताछुल्ल भएको थियो । सार्वजनिक रूपमै सबुत प्रमाणसहित सङ्घले घुस मागेको आरोप लगाएपछि यी दुई पदाधिकारीहरू वास्तवमै खेलकुदका खलनायक सावित भएका थिए । अझ पीताम्बरले एक्लैले सबै रकम झ्वाम पार्न लाग्यो तपार्इं र म मिलेर अगाडि बढ्नुपर्छ भन्ने बब्लुले राणासँग फोनमा गरेको कुराकानीले पनि यो कुरालाई प्रस्ट पार्छ ।
चौतर्फी रूपमा आफ्नो बेइज्जत भएपछि उपाध्यक्ष पीताम्बर र सदस्य समिमले आफूलाई चोख्याउन पत्रकार सम्मेलन गरेर कर्मचारी सङ्घले आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका थिए । उनीहरूले आयोजकलाई अगाडि राखेर आफूहरूले कुनै प्रकारले रकम अर्थात् घुस नमागेको भन्दै सङ्घको आरोपको खण्डन गरेका थिए । विडम्बना, पीताम्बरले घुस मागेको आरोप लगाउने समिम र पीताम्बर एकै थलोमा बसेर यस्तो कुरा गर्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भएको थियो । अहिले यी खेलकुदका दुई खलनायकले आफूलाई ढाकछोप गर्नजस्तो उपायको अवलम्बन गरे पनि त्यो पत्याउन सकिँदैन । किनकि उनीहरू कर्तुत प्रमाणित भइसकेको छ । उनीहरूलाई बचाउन अब इन्द्रको बाजे चन्द्र आए पनि सक्तैन । तर्सथ खेलकुदको चीरहरण गर्ने यी दुवैलाई कारबाही गर्नुपर्छ र मोसे लगाएर नगर परिक्रमा गराउनुपर्छ भन्ने आवाज खेलकुद परिसरमा घन्किन थालेको छ ।
आर्थिक फाइदा कसरी लिन सकिन्छ भन्ने कुरा माहिर अर्थात् मास्टरमाइन्ड मानिएका यी खलनायकहरूले ग्वान्झाउ एसियाडमा बनाएको ग्य्राण्ड डिजाइनबाटै प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । आफूलाई पर्दापछाडिको वादशाहको रूपमा चिनाउँदै आएका यी दुवैले हवाई टिकटमा गरेेको भ्रष्टाचार खेलकुदमा अहिलेसम्म सेलाएको छैन । ३७ हजार पर्ने टिकटलाई एक लाखको बनाएर लाखौँ रुपैयाँ आर्थिक घोटाला गरेको परिषद्कै सदस्य लालकुमार लामाले खुलासा गरेका थिए । लामाले नामै किटेर उपाध्यक्ष पीताम्बर तिम्सिना यसको ग्य्रान्ड डिजाइनर भएको र उसैको निर्देशनमा टिकटकाण्ड भएको सार्वजनिक गरेका थिए । लामाले यति ठूलो आरोप लगाउँदासमेत ‘चुँ’ नगरेका पीताम्बरले अहिले आफूलाई निर्दोष भएको र दूधले नुहाएको भन्न खोज्नु हास्यास्पद भएको छ । यदि उनी सही थिए भने उनले लामामाथि कुनै कारबाही र सफाइ किन दिन सकेनन् अहिले यो प्रश्न अहम् रूपमा तेर्सिएको छ । आफूमाथि आरोप लाग्नासाथ परिषद्मा खुट्टा नटेक्ने घुर्की लगाउने पीताम्बरले अहिले यत्रो भ्रष्टाचारको आरोप लाग्दासमेत खेलकुदमा कसरी खुट्टा टेकिरहेका छन् त्यो खेलप्रेमी र खेलकर्मीका लागि कुतूहलको विषय बनेको छ । मानिसले लाज पोलेर खाएपछि जे पनि गर्छ र भन्छ भन्ने उक्ति अहिले पीताम्बरमाथि सतप्रतिशत लागेको छ । अन्यथा सरकार परिवर्तन भइसकेको अवस्था र आफ्नो दानापानी सकिइसकेको अवस्थामा पनि उनी खेलकुदमा लिसोझैं किन टाँसिइराखेका हुन्- त्यो कसैले बुझ्न सकेको छैन । के आफ्नो स्वार्थसिद्ध नभएको झोकमा सदस्यसचिव हरिबाबु चौधरीमाथि पुन: कुर्सी प्रहार गरेर जाने मनसाय बनाएका छन् कि क्या हो ?
त्यस्तै मन्त्री र सदस्यसचिवको आडमा खेलकुदमा ताण्डव गर्दै आएका समिम मियाँ अन्सारीले दशरथ रंगशाला घुसकाण्डमा आफूलाई प्रमुख खलनायकको रूपमा उतारेपछि उनी खेलकुदमा आउनुको उद्देश्य प्रस्ट भएको थियो । घुस खान र भ्रष्टाचार गर्नमा मिनरल वाटरका बोटलदेखि जारसमेतलाई बाँकी नराखेका समिमले दशरथ रंगशालालाई बाँकी राख्ने त कुरै आउँदैन । मर्ने बेलामा हरियो काँक्रोको रूपमा देखिएको ब्रायनको कन्सर्ट उनका लागि वसन्त बहार भएर आएको थियो । हड्डी देखेपछि कुकुरको झैं र्‍यार चुहाएका समिमले अवसरको फाइदा उठाउन छक्का हान्न कोसिस गरेका थिए । तर, समिमको यो उद्देश्यलाई कर्मचारी सङ्घका अध्यक्ष राणाले क्लिन बोल्ड गरिदिएपछि उनको सपना भताभुङ्ग भएको थियो । अहिले उनी ‘उडायो सपना सबै हुरीले’ भन्ने चर्चित गीत गाउँदै छाती पिट्दै बसेको स्रोतले बताएको छ ।
भाग्ने बेलामा खेलकुदलाई लँगौटी लगाउन खोज्ने यी दुई खलनायकको अहिले हरिबिजोक भएको छ । हिजोसम्म खेलकुदको विकासको ठूलाठूला कुरा गर्नेलाई अहिले खेलकुदमा मुख देखाउन गाह्रो भएको छ । उनीहरूको कुरा पत्याउने अहिले खेलकुदमा एकजना पनि भेटिँदैन । अझ हरिबाबु चौधरीले आफूले कर्मचारी कल्याण कोषका लागि सांस्कृतिक कार्यक्रम गर्न एक दिन रंगशाला भाडामा दिएको र आफूलाई दस लाख र सात लाखको बारेमा केही थाहा नभएको बताएपछि यी दुई खलनायकले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न यस्तो कर्तुत गरेका हुन् भन्ने प्रस्ट देखिएको छ । तर्सथ अहिले खेलकुदमा एउटा आवाज घन्किराखेको छ- यी भ्रष्टाचारी, घुसखोरीलाई सिन्दुर-जात्रा गरेर नगर परिक्रमा गराउने । हेरौँ, भ्रष्टाचार गरेको र भ्रष्टाचार गर्न खोजेको आरोप लागेका यी खलनायकलाई खेलकुदले कसरी बिदा गर्छ ?

खेलकुदका लागि कि मरिन्छ कि मारिन्छ मीनकृष्ण महर्जन -(कोषाध्यक्ष राखेप)
० दशरथ रंगशाला घुसकाण्डलाई कसरी हेर्नुभएको छ ?
– यो एकदमै लाजमर्दो कुरा हो । खेलकुद पदाधिकारीहरूको जघन्य अपराध हो । उनीहरूको यो हर्कतले सम्पूर्ण खेलजगत्लाई लज्जित पारेको छ । उनीहरूको यो कर्तुतले मेरो पनि शिर निहुरिएको छ । खेलकुदमा मुख देखाउने आँटसमेत गर्न सकेको छैन ।
० उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्य समिम मियाँ अन्सारीले यसरी खुलेआम घुस माग्नुलाई कसको कमजोरी ठान्नुहुन्छ ?
– यो सबै राष्ट्रिय खेलकुद परिषद्को कमजोरी हो । राखेपमा खेलकुद नबुभ\mने पदाधिकारीहरूको जमातका कारणले यस्तो अवस्थाको सिर्जना भएको हो । खेलकुदको सर्वोच्च निकाय राखेप छँदाछँदै व्यक्तिगत रूपमा कोही हावी हुन्छ भने त्यसको जिम्मेवारी पनि राखेपले लिनुपर्छ । पीताम्बर र समिमले यही कमजोरीको फाइदा उठाउँदै घुस मागेका हुन् जुन अहिले प्रमाणितसमेत भइसकेको छ ।
० अहिले घुस मागेको प्रमाणित भइसकेको कुरा गर्नुभयो, अब उनीहरूउपर कस्तो कारबाही हुन्छ त ?
– जब मैले राखेपका पदाधिकारीहरूले घुस मागेको मोबाइल रेकर्ड सुने त्यसपछि सारा कुरा प्रस्ट भयो । उनीहरूले राखेपको लागि नभई आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न १० लाख र सात लाख मागेका हुन् । पीताम्बरले विषम राजनीतिक अवस्थाको फाइदा उठाउँदै १० लाख मागेको हो भने समिमले पीताम्बरलाई पाखा लगाउन आफ्नै स्वार्थका लागि मागेको हो । जहाँसम्म कारबाहीको कुरा छ, दुवैले घुस मागेको प्रमाणित भइसकेकोले सम्बन्धित निकाय राखेपले कारबाहीका लागि कदम अगाडि बढाउनुपर्छ । मन्त्रालय र सरकारसमक्ष यो कुरा जोडदारसँग उठाउनुपर्छ ।
० समिमले राखेपका लागि र पीताम्बर रकम नै नमागेको स्पष्टीकरण दिएका छन्, यसमा तपार्इंको राय के छ ?
– चोरले कहिल्यै आफूलाई चोर हुँ भन्छ ? उनीहरूले गरेको कुरा यही हो । वास्तविक रूपमा भन्नुपर्दा दुवैले झुटो बोलेका हुन् । समिमले सात लाख र पीताम्बरले पनि १० लाख आफ्नै लागि मागेको हो । यो विषयमा परिषद्मा कहिल्यै छलफल भएको छैन । भएको भए म कोषाध्यक्षको नाताले पनि थाहा पाउनुपर्ने हो । घुसखोरीमा मुछिएपछि दुवैले परिषद्लाई ढाल मात्रै बनाएका हुन् । दुवै आसय परिषद्लाई बाइपास गरेर रकम असुल्ने मात्रै थियो । त्यो उनीहरूको क्रियाकलापले पनि स्पष्ट पारेको छ ।
० यो घुसकाण्डले गर्दा खेलकुद निकै बद्नाम भयो नि, के भन्नुहुन्छ ?
– तपाईंले एकदमै सही कुरा गर्नुभयो । यो घुसकाण्डले त्यसै त गन्हाएको खेलकुद झन् गन्हाउन पुगेको छ । तर्सथ यस्ता घुस्याहाहरूलाई खेलकुदबाट निकाल्दा नै बेस हुन्छ । यिनीहरूलाई खेलकुदबाट निकाल्दा सर्वप्रथम बहिस्कार गर्नुपर्छ, त्यसपछि नाङ्गेझार पार्नुपर्छ र अन्त्यमा जुत्ताको माला लगाई मोसो दलेर नगर परिक्रमा गराउनुपर्छ ।
० के यो कुरा सम्भव छ त ?
– किन नहुनु, अवश्य सम्भव छ । गल्ती गर्नेलाई कारबाही नगरे कसलाई गर्ने त ? चोर, डाँका र फटाहालाई खोरमा नछिराए कसलाई छिराउने त ? यिनीहरूलाई यसै छोडियो भने अझ विकृति बढ्छ, त्यसैले यिनीहरूलाई जसरी भए पनि कारबाही गर्नैपर्छ । म तरुण दल खेलकुद विभागको अध्यक्ष तथा राखेपको कोषाध्यक्ष भएको नाताले पनि पार्टीसँग छलफल गरेर आफ्नै नेतृत्वमा यी दुईलाई कारबाही गरेरै छोड्छु । यसका लागि परिषद्का कर्मचारीदेखि लिएर सम्पूर्ण खेलाडीलाई पनि उतार्नेछु ।
० तपाईंले भनेको मान्छन् त कर्मचारी र खेलाडीले ?
– कस्तो कुरा गर्नुभएको ? कर्मचारीको कोषका लागि एक दिन रंगशाला भाडामा दिँदा उनीहरू कर्मचारीको विरुद्धमा उठ्छन्, कर्मचारीलाई बाइपास गरेर आफैं पैसा खान खोज्छन् भने तपाईं आफैं अनुमान लगाउन सक्नुहुन्छ कर्मचारीले कसलाई साथ दिन्छन् भनेर । अझ कर्मचारीहरू नै उनीहरूलाई कारबाही गर्नुपर्छ, खेलकुदबाट लखेट्नुपर्छ भनेर लागिरहेको अवस्थामा मेरो साथले उनीहरूलाई अझ बलियो बनाउनेछ । साथै भ्रष्ट पदाधिकारीहरूको विरुद्धमा खेलाडीहरू पनि खुलेर लाग्ने मैले विश्वास गरेको छु ।
० अहिले तपाईं निकै जोसिलो ढङ्गले प्रस्तुत भइरहनुभएको छ, कुरो र कुलोको त विश्वास हुँदैन भन्छन् नि ?
– यहाँ कुरा ‘कुरो र कुलो’को भन्दा पनि खेलकुदको प्रतिष्ठाको भएको छ । खेलकुदको प्रतिष्ठा दाउमा लागेको बेलामा चुप लागेर बस्न त सकिँदैन । खेलकुदका लागि कि मरिन्छ कि मारिन्छ । तर्सथ वास्तविक रूपमा भन्नुपर्दा खेलकुदमा मेरो कार्यकाल विवादै-विवादमा सकिएको छ । कहिले पदाधिकारी, कहिले कर्मचारी र कहिले खेलाडीको झगडाले खेलकुदमा कहिल्यै रचनात्मक काम गर्न पाइएन । अहिले अवसर प्राप्त भएको छ, त्यो म गरेर देखाउँछु । यी घुसखोरीलाई खेलकुदबाट लखेटेरै छोडछु । यसका लागि जस्तोसुकै चुनौती आए पनि सामना गर्न तयार छु ।
० खेलकुदको समग्र विकासका लागि के गर्नुपर्ला जस्तो लाग्छ ?
– मैले खेलकुदमा तीन दशक बिताउँदा थुप्रै रगत-पसिना बगाइसकेको छु । यसको उकाली, ओराली र देउराली सबै मलाई थाहा छ । तर्सथ खेलकुदको समग्र विकासका लागि खेलकुद बुझेको व्यक्तिको राखेपमा नियुक्ति हुनु जरुरी छ । यदि त्यस्तो व्यक्तिको हातमा खेलकुद पर्‍यो भने खेलकुदले अवश्य काँचुली फेर्नेछ ।
० तपाईं त्यो व्यक्तिमा आफूलाई कक्तिको योग्य ठान्नुहुन्छ ?
– म आफूलाई सतप्रतिशत योग्य ठान्छु । म खेलकुदमा रगत-पसिना बगाएर आएको व्यक्ति भएकोले पनि म योग्य छु । यदि मलाई भविष्यमा पार्टीले खेलकुद चलाउने जिम्मेवारी दियो भने त्यसबेला मैले आफ्नो योग्यता पक्कै देखाउनेछु । प्रतीक्षा गर्नुहोस्- त्यो दिन धेरै टाढा छैन ।