‘उत्तर कोरियासँगको वार्ता खतर्नाक हुन सक्ने’

‘उत्तर कोरियासँगको वार्ता खतर्नाक हुन सक्ने’


अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताएकी छिन् । उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कुटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको अमेरिकाको राष्ट्रपति उम्मेदवार समेत रहिसकेकी क्लिन्टनको तर्क छ ।

पूर्वविदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा व्यक्त गरेअनुसार यदि किम जोङ उनसँग आणविक हतियारका विषयमा अमेरिकाले वार्ता गर्ने हो भने अनुभवी कुटनीतिज्ञको खाँचो छ । वार्तामा सहभागी हुने उत्तर कोरियाली सदस्य विश्वको कानून तथा राजनीतिका ज्ञाता हुनेछन् तर कुन अमेरिकीले उनीहरूको भाषा बुझ्न सक्छ ? उनले सवाल उठाएकी छिन् ।

क्लिन्टनले भनिन्, ‘अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको छ जसका कारण उत्तर कोरियाली विषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ । किनकि धेरै अनुभवी कुटनीतिज्ञले विभाग छोडिसकेका छन् ।’

उनले थपिन्, ‘कुटनीतिज्ञविना वार्तामा निखार ल्याउन सम्भव छैन । यो खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैछैन ।’

क्लिन्टनको भनाई संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत बिल रिचार्डसनले भनेजस्तै उत्तर कोरियासँग वार्ता गर्ने कुरा टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो नभएको भन्ने प्रतिक्रियासँग मिल्ने गरी आएको छ ।

ज्ञातव्य छ, रिचार्डसनले यस सन्दर्भमा भनेका छन् कि यो वास्तविक मौका हो, मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहिनता देखेर दुःख लागेको छ । तर यो ‘तालिम लिने’ वा ‘प्रत्यक्ष टेलिभिजन कार्यक्रम’ होइन । यो एक तरङ्गी नेता, जससँग कम्तिमा २० आणविक हतियार छन् र यसको आडमा अमेरिकालाई धम्की दिइराखिएको छ, सँग गरिने वार्ता हो ।’