काङ्ग्रेसभित्र यसरी ‘विकल्प’ बने प्रकाशमान

काङ्ग्रेसभित्र यसरी ‘विकल्प’ बने प्रकाशमान


काङ्ग्रेस संसदीय दलमा शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका प्रकाशमान सिंहको मत पूर्वअनुमान गरिएभन्दा कम आएपछि उनीमाथि धोखा भएको ठानिएको छ । पार्टीमा देउवा पक्ष र अर्को पक्षका सांसदहरू गणना गर्दा प्रकाशमान सिंहलाई कम्तीमा २४ मत प्राप्त हुने विश्वास गरिएको थियो । तर, पूर्वानुमान गरिएकोभन्दा पाँच मत कम (१९) आएपछि आफ्नै भनिएको समूहबाट सिंहलाई धोखा भएको ठानिएको हो । यसरी अपेक्षा गरिएभन्दा कम मत आएपछि सिंहलाई क–कसले धोखा दिएको हुन सक्छ भन्ने अनुमानबाजी शुरु भएको छ ।

यसक्रममा कतिपयले भीमसेनदास प्रधान, गगन थापा, सुजाता कोइराला र डा. शशाङ्क कोइरालाबाट धोखाधडी भएको अनुमान गरेका छन् । कृष्णप्रसाद सिटौला देउवाविरुद्ध भएको विश्वासका आधारमा भीमसेनदास प्रधान र गगन थापाको मत प्रकाशमानतिर जाने अनुमान गरिएको थियो । तर, उनीहरूले प्रकाशमानसँगको दूरीका कारण देउवालाई मतदान गरेको बताइएको छ ।

कोइरालाहरू देउवापछि अरू कसैलाई स्थापित गर्ने पक्षमा नरहेको हुँदा शशाङ्क र सुजाताले प्रकाशमानलाई मतदान नगरेको ठानिन्छ । यसरी कोइराला पक्षले प्रकाशमानलाई मतदान नगरेको भए पनि अब काङ्ग्रेसमा देउवाको विकल्पका रूपमा प्रकाशमान सिंहलाई नै लिइने स्थिति बनेको छ । पहिले काङ्ग्रेसमा कोइराला पक्ष र देउवा पक्ष भनी दुई खेमामा नेता तथा कार्यकर्ताहरू विभाजित थिए ।

गत महाधिवेशनमा देउवाविरुद्ध रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि पौडेल पक्ष र देउवा पक्ष भनी दुई खेमालाई बुझ्न थालिएको थियो । निर्वाचनमा पराजित भएपछि पौडेलको प्रभावमा ह्रास आएको छ । संसदीय दलको नेताका लागि भएको निर्वाचनमा देउवाविरुद्ध प्रकाशमानले उम्मेदवारी दिएपछि काङ्ग्रेस संसदीय दलमा देउवा र सिंहको समर्थकका रूपमा सांसदहरू चिनिने स्थिति बनेको छ । यसरी देउवासँग ठूलो मतान्तरले पराजित भए पनि देउवाको विकल्पका रूपमा प्रकाशमान सिंहलाई लिने स्थिति भने बनेको छ ।