अब्बासीको आकस्मिक भ्रमण किन ?

अब्बासीको आकस्मिक भ्रमण किन ?


वाम गठबन्धनलाई चुनावमा हासिल भएको सफलतापछि गठन भएको शक्तिशाली ‘ओली सरकार’को पहिलो विदेशी विशिष्ट पाहुना बनेर आतिथ्य ग्रहण गर्ने अवसर पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई जुरेको छ । आकस्मिक रूपमा नेपाल आई करिब २० घन्टा बिताएर पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किएका छन्, जुन यतिबेला विशेष चासो र चर्चाको सन्दर्भ बनेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे विशेष चर्चा चल्नु र जिज्ञासा जागृत हुनुमा उक्त मुलुकबाट नेपालमा २४ वर्षपछि यस तहको भ्रमण भएकोले मात्र होइन । नयाँ प्रधानमन्त्रीलाई बधाई दिने बहानामा अचानक प्रधानमन्त्री अब्बासीको नेपाल आगमनले सचेत तप्कामा जिज्ञासा जगाएको मात्र नभई आशङ्कासमेत उत्पन्न गराएको छ । के आफ्ना समकक्षीलाई बधाई दिनका लागि बत्तीसजनाको जम्मो टोली लिएर एक रातका लागि यहाँसम्म धाइरहनुपर्छ ? टेलिफोन, इन्टरनेट तथा सामाजिक सञ्जालका अनेक विकल्पको व्यापक विकास र विस्तार भएको आजको परिवेशमा नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई व्यक्त गर्नकै लागि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आएका हुन् भन्ने ठान्नु अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक मामलामा रत्तिभर ज्ञान नहुनुको द्योतक मात्र हुनेछ ।

कुनै पनि बाह्य मुलुकका प्रधानमन्त्री तहको भ्रमणअघि दुई पक्षबीच छलफल हुन्छ, तिथि–मिति तोकिन्छ, भ्रमणको उद्देश्य वा एजेण्डा तय गरिन्छ, सम्बद्ध पक्षबीच आवश्यक तयारीसँगै विभिन्न विचार–धारणाहरू आदानप्रदान हुन्छन्, र यसका लागि कम्तीमा पनि महिना–दुई महिनाको समय त लाग्छ नै । तर, पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण सन्दर्भमा यस्तो केही भएन, या भए पनि सार्वजनिक गरिएन । जिज्ञासा र आशङ्का पैदा हुनुको कारण पनि यही हो ।

अमेरिकी साथ छुट्दै जाँदा क्षेत्रीय स्तरमा भारतसँग प्रतिस्पर्धा गर्ने पाकिस्तानको आत्मविश्वास टुट्दै गएको विश्लेषण गरिन थालिएका छन्, जो तथ्यपरक नै लाग्दछन् । यसरी टुट्दै गएको आफ्नो आत्मविश्वास र अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै जानुपरेको परिस्थितिलाई सम्हाल्न पाकिस्तान क्रमशः चीनको पोल्टामा पस्रिँदै गएको छ ।

त्यसो त पाकिस्तानी विदेश मन्त्रालयले प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणबारे प्रस्ट्याउने उद्देश्यले जारी गरेको विज्ञप्तिमा ‘क्षेत्रीय देशहरूसँग सम्बन्ध बढाउने दिशातर्फको पहलकदमी’ भनिएको छ । सोही विज्ञप्तिमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई कसरी बलियो र महत्वपूर्ण क्षेत्रीय सङ्गठन बनाउने भन्नेबारे छलफलका लागि प्रधानमन्त्री आब्बासीबाट नेपाल भ्रमण गरिएको भन्ने पनि उल्लेख गरिएको छ । यसका अलावा नेपालसँग व्यापार, शिक्षा, पर्यटन, रक्षा र जनसम्पर्कजस्ता विषयमा पनि छलफल गर्ने पाकिस्तानी विदेश मन्त्रालयको भनाइ सार्वजनिक भएको छ । तर, भ्रमणका यी कथित एजेण्डा प्रधानमन्त्री अब्बासीको भ्रमणको एक दिनअघि (गत आइतबार) मात्र प्रकाशमा ल्याइएको थियो । जब कि नेपाली पक्षबाट यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन ।

अन्तर्राष्ट्रिय मामलाका जानकारहरू पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल भ्रमणलाई सामान्य अर्थमा मात्र बुझ्न नसकिने बताउँछन् । सतही रूपमा बुझ्नुपर्दा करिब दुई वर्षअघि नै सार्कको अध्यक्षता लिनुपर्ने ‘पोजिसन’मा रहेको पाकिस्तान नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले भारतसमक्ष सार्कको रोकिएको शिखर सम्मेलनबारे कुरा राखिदिऊन् भन्ने चाहन्छ । किनकि, वाम गठबन्धनका नेता एवम् प्रधानमन्त्री ओली भारतसँग कुनै पनि मामलामा खुलेर कुरा राख्ने हैसियत राख्छन् भन्ने पाकिस्तानी बुझाइ हुन सक्छ । यसरी भारतसँग निर्धक्क कुरा राख्न सक्ने शक्तिशाली प्रधानमन्त्री नेपालमा रहेको अवसरको उपयोग गर्न खोजेको हुन सक्छ पाकिस्तानले । तर, गहिरिएर बुझ्न खोज्ने हो भने यस भ्रमणको निहितार्थ विशेष नै हुन सक्छ भन्दा अत्युक्ति सायदै ठहरिएला ।

यतिबेला पाकिस्तानलाई विश्वमै एक्लिँदै गएको मुलुकका रूपमा समेत हेरिन्छ । आतङ्कवादी समूहहरू वा तिनका क्रियाकलापलाई सघाउने मात्र नभई यस्ता समूह जन्माउने एवम् पक्षपोषणसमेत गर्ने गरेको आरोप उसमाथि लाग्दै आएको सन्दर्भमा अमेरिकाजस्तो सहयोगी देशले समेत पाकिस्तानलाई बिस्तारै पन्छाउँदै गरेको आभास मिल्दछ । पाकिस्तानले आफ्नो कट्टर र जन्मजात दुश्मन मान्दै आएको भारतसँगको सम्बन्धलाई अमेरिकाले थप घनीभूत बनाउँदै लगेको देखिन्छ । खासगरी डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएयता पाकिस्तानसँगको उसको सम्बन्धमा चिसोपन बढेको र भारतसँगको सम्बन्धलाई जोड दिइएको दुनियाँसामु छर्लङ्ग छ ।

यसरी अमेरिकी साथ छुट्दै जाँदा क्षेत्रीय स्तरमा भारतसँग प्रतिस्पर्धा गर्ने पाकिस्तानको आत्मविश्वास टुट्दै गएको विश्लेषण गरिन थालिएका छन्, जो तथ्यपरक नै लाग्दछन् । यसरी टुट्दै गएको आफ्नो आत्मविश्वास र अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै जानुपरेको परिस्थितिलाई सम्हाल्न पाकिस्तान क्रमशः चीनको पोल्टामा पस्रिँदै गएको छ । पाकिस्तानमा ठूला परियोजनाहरू सञ्चालन गर्दै रहेको चीन पनि आफ्नो लगानी सुरक्षित गर्नका लागि पाकिस्तानले आफ्ना छिमेकी तथा बाह्य मुलुकसँग गर्ने व्यवहारप्रति चनाखो भएर हेरिरहेको छ । यी र यस्तै परिवेशबीच भएको पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल भ्रमणले कुनै खास उद्देश्य बोकेकै ठहर गर्न सकिन्छ, जसको खुलासा समयक्रममा हुने नै छ ।