यसकारण गरिँदैछ अनेरास्ववियूको पुनर्गठन

यसकारण गरिँदैछ अनेरास्ववियूको पुनर्गठन


एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको पुनर्गठन गरिने भएको छ । अनेरास्ववियूकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोले संगठनको पुनर्गठन गर्ने अवस्था आएको हो । लामा एमालेको समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्। एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् ।

नेकपा (माओवादी केन्द्र)सँग नेकपा (एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलालाई उद्धृत गर्दै राससले जनाएको छ ।

‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वाचित हुनुभएको छ’ उपाध्यक्ष बर्तौलाले भने, ‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।’

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् ।

विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२औँ राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहेका छन् ।