राष्ट्रपति भण्डरीद्वारा उम्मेदवारी दर्ता, शहीदपुत्री लक्ष्मी राई कांग्रेसको उम्मेदवार

राष्ट्रपति भण्डरीद्वारा उम्मेदवारी दर्ता, शहीदपुत्री लक्ष्मी राई कांग्रेसको उम्मेदवार


एमाले नेतृत्वको वाम गठबन्धन सरकारका तर्फबाट भावी राष्ट्रपतिको उम्मेदवारको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सत्तारुढ नेकपा (एमाले)को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ ।

यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार खडा गर्ने भएको छ । राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय आज बिहानको कांग्रेस कार्यसमिति बैठकले गरेको हो । बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । लक्ष्मी राई कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुनुहुन्छ ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।