पाकिस्तानी प्रधानमन्त्रीको अप्रत्यासित नेपाल भ्रमण

पाकिस्तानी प्रधानमन्त्रीको अप्रत्यासित नेपाल भ्रमण


पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीको अप्रत्यासित नेपाल भ्रमणपछि यहाँ बेग्लै तरङ्ग पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण हुनुलाई अर्थपूर्ण मानिएको छ ।

दुईदिने भ्रमणमा गत सोमबार (फागुन २१ गते) आउनुभएका इस्लामिक देश पाकिस्तानका प्रधानमन्त्रीलाई राजधानीको टुँडिखेल सैनिक मञ्चमा सम्मान दिइएको छ । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘सलामी’ दिने परम्परा रहेकोमा अब विदेशी सरकार या राष्ट्रप्रमुख नेपाल आउँदा टुँडिखेलमै पु¥याएर सलामी दिने परम्परा शुरु भएको सरकारले बताएको छ । तथापि पाकिस्तानी प्रधानमन्त्रीबाट नै यस्तो परम्परा किन शुरु गरियो भन्ने विषयमा सर्वत्र जिज्ञाशा पैदा भएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गर्न र सार्क शिखर सम्मेलनका बारेमा छलफलका निम्ति भएको बताइए पनि यो भ्रमणको गहिरो राजनीतिक अर्थ लगाउन थालिएको छ ।

नेपालमा वामपन्थी कम्युनिष्टहरूको सरकार गठन भएपछि यो सरकारलाई दुई छिमेकी मुलुकहरूमध्ये भारतभन्दा चीनसँग निकट रहने विश्लेषण गर्न थालिएको थियो । पाकिस्तान केही वर्षअघिसम्म अमेरिकासँग निकट रहे पनि उसको चीनसँग समेत घनिष्टता रहेको ठानिन्थ्यो । पाकिस्तानमा कुख्यात आतङ्ककारी बिन लादेनलाई अमेरिकी सेनाले हत्या गरेको घटनापछि पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा न्यानोपन न्यून हुँदै गएको थियो ।

यसैबीच अमेरिका र भारत एक–आपसमा निकट हुँदै गएपछि पाकिस्तानको पनि चीनसँग निकटता बढेको महसुस विश्व राजनीतिमा चासो राख्नेहरूले गर्दै आएका छन् । यतिबेला दक्षिण एसियामा पाकिस्तानलाई चीनको सर्वाधिक घनिष्ट मित्रदेशका रूपमा लिन थालिएको छ । नेपालमा चीनमैत्री सरकार गठन भएपछि पाकिस्तानी प्रधानमन्त्रीबाट नेपालको आकस्मिक भ्रमण हुनु र उनलाई नेपाल सरकारले विशेष स्वागतसत्कार गर्नुले नेपालको आन्तरिक राजनीतिमा र दक्षिण एसियाको कूटनीतिक सन्तुलनमा परिवर्तनको सङ्केत दिएको छ ।

नेपालमा चीनमैत्री सरकार गठन भएपछि पाकिस्तानी प्रधानमन्त्रीबाट नेपालको आकस्मिक भ्रमण हुनु र उनलाई नेपाल सरकारले विशेष स्वागतसत्कार गर्नुले नेपालको आन्तरिक राजनीतिमा र दक्षिण एसियाको कूटनीतिक सन्तुलनमा परिवर्तनको सङ्केत दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालमा गरिएको खातिरदारी भारतका निम्ति सामान्य घटना हुने ठानिएको छैन । तीन दशकअघि तात्कालिक पाकिस्तानी राष्ट्रपति जिया उल हकको नेपाल भ्रमण हुँदा त्यसबेला पनि उनलाई नेपालले विशेष खातिरदारी गरेको थियो । जियालाई अति विशिष्ट पाहुनाको रूपमा राजा वीरेन्द्रले नारायणहिटी राजदरबारमै वासको प्रबन्ध मिलाएका थिए । यस घटनाको केही समयपछि नै नेपाल–भारतबीच खटपट शुरु भएको र त्यसले नेपालको आन्तरिक राजनीतिमै हलचल पैदा गराएको थियो ।

यसपटक भएको पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई पनि भारतले सामान्य रूपमा लिने ठानिएको छैन । त्यसैले यस घटनाले अन्ततः नेपालको आन्तरिक राजनीतिलाई प्रभावित गर्न सक्ने विश्वास र विश्लेषण गर्न थालिएको छ । यद्यपि अहिले भारतले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणप्रति औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

एउटा सार्वभौम मुलुकमा अर्को सार्वभौम मुलुकका सरकारप्रमुखको भ्रमण हुँदा त्यसलाई लिएर औपचारिक रूपमै प्रतिक्रिया जनाउनु उपयुक्त नहुने भएकोले मात्र अहिले भारत मौन रहेको हुन सक्ने ठानिएको छ । नेपालको राजनीतिक परिवर्तनमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण र उनलाई यहाँ गरिएको विशेष स्वागतसत्कारले भारतलाई कतिसम्म दुखाएको हुन सक्छ, यो अहिलेलाई अनुमानको मात्र विषय हो । तर, कालान्तरमा भारतबाट कुनै न कुनै प्रकारले नेपाललाई ‘जवाफ’ मिल्न सक्ने सम्भावना बढेको छ । जसले नेपालको आन्तरिक राजनीतिलाई नै प्रभावित गर्न सक्नेछ ।

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे ख्यातिप्राप्त कूटनीतिज्ञ जयराज आचार्यले घटना र विचारसँग कुरा गर्दै ‘नेपालको आन्तरिक राजनीति र कूटनीतिमा कोल्टे फेर्दै गरेको परिस्थितिको प्रमाण’ भन्नुभएको छ । आचार्यको भनाइ छ, ‘अब्बासीको भ्रमणले नेपालको आन्तरिक राजनीतिलाई प्रभावित गर्न सक्दछ । यस घटनालाई मित्रराष्ट्र भारतले कुन रूपमा लिन्छ, त्यस आधारमा हाम्रो आन्तरिक राजनीति प्रभावित हुन सक्छ ।’ कूटनीतिज्ञ आचार्यको निष्कर्ष छ, ‘नेपालमा चिनियाँ प्रभाव बढेको सङ्केत पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणले दिएको छ । यसले हाम्रो आन्तरिक राजनीतिमा कठिनाइको शुरुवात पनि गर्न सक्छ ।’

पाकिस्तानी प्रधानमन्त्रीलाई यसरी निम्त्याउँदा भारत कसरी तरङ्गित हुन सक्छ भन्ने अनुमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै नगरेको भन्न सकिँदैन । भारत तरङ्गित हुन सक्छ भन्ने जान्दाजान्दै पनि ओलीले पाकिस्तानलाई विशेष महत्व दिनुले ओली आफ्नो जोखिमपूर्ण गन्तव्यप्रति स्पष्ट र दृढ रहेको सङ्केत गर्दछ । यही कारण नेपाली राजनीतिमा पैदा हुन सक्ने तनावको व्यवस्थापन ओलीले कसरी गर्न सक्लान्, प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।