सुशील कोइराला दृढ

सुशील कोइराला दृढ


एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बन्न आग्रह गर्दै संविधानसभा पुनस्र्थापनामा सहमत गराउन गरेको प्रयास असफल भएको छ । गत शनिबार र सोमबार प्रचण्डले कोइरालालाई भेटी सरकारको नेतृत्व लिन प्रस्ताव गर्दै ‘पुनस्र्थापन’मा सहमत हुन आग्रह गरेका थिए । कोइरालाले ‘मेरा लागि प्रधानमन्त्री पदभन्दा प्रजातन्त्र र मुलुक नै ठूलो कुरा हो, मलाई प्रधानमन्त्री चाहिँदैन, बरु तपाईंहरू संविधान निर्माणमा इमानदार भएर मुलुकको सङ्कट मोचनका निम्ति तयार भइदिनुहोस्’ भन्ने जवाफ दिएपछि प्रचण्ड भेटका क्रममा अकमक्क परेका थिए । सभापति कोइरालाले गत जेठ २ गते भएको सम्झौताप्रति इमानदार हुन भन्दै प्रचण्डलाई बोली र व्यवहारमा एकरूपता ल्याउन सुझाव दिएका थिए । कोइरालाको स्पष्ट अडानपछि प्रचण्ड ‘तीन दिनभित्र सहमतिको प्रस्ताव ल्याउँछु’ भन्दै सोमबारको बैठकबाट बाहिरिएका थिए । स्मरणीय छ, प्रचण्डले एमालेका माधव नेपालदेखि काङ्गे्रसका शेरबहादुर देउवा र रामचन्द्र पौडेलसम्मलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बेग्लाबेग्लै भेटी गर्दै आएका छन् । प्रचण्डको प्रस्तावपछि देउवा र पौडेल प्रधानमन्त्री बन्न सुरिँदै संविधानसभा पुनस्र्थापनाका लागि वातावरण बनाउन सक्रिय भएका छन् । तर, कोइराला भने प्रचण्डको भुलभुलैयामा पर्न नहुनेमा स्पष्ट छन् । यस सम्बन्धमा ध्यानाकर्षण गर्दा सभापति कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले भने, ‘प्रचण्ड अझै पनि जालझेलको राजनीतिमै तल्लीन छन् भन्ने भेटवार्ताका क्रममा देखिएको छ, तर सभापतिज्यूले प्रचण्डलाई देश र प्रजातन्त्रप्रति इमानदार भइदिन आग्रह गर्दै आफूले देश, जनता र प्रजातन्त्रका मामिलामा कसैसँग कुनै सम्झौता नगर्ने स्पष्ट जवाफ दिनुभएको छ ।’
यतिबेला प्रचण्डले संविधानसभा पुनस्र्थापित गरेर संविधान जारी गर्ने कुरामा मुख्य जोड दिँदै आएका छन् भने काङ्गे्रसले पहिले संविधान निर्माणका विषयमा टुङ्गो लगाउनुपर्ने अडान लिएको छ । सङ्घीयता र शासकीय स्वरूपबारे सहमति नभएसम्म संविधानसभा पुनस्र्थापनाको कुनै अर्थ नहुने काङ्गे्रस नेतृत्वको ठहर छ । पुनस्र्थापना गरिएमा प्रचण्डले बोली फेर्ने र त्यसले झन् ठूलो सङ्कट निम्त्याउने ठम्याइ काङ्गे्रसको छ । प्रचण्डको जालझेलको विषयमा सभापति सुशील कोइराला स्पष्ट भए पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलका कारण काङ्ग्रेस पार्टीमा र मुलुकमा एकप्रकारको द्विविधा र अन्योल उत्पन्न हुन पुगेको छ । कोइरालाले प्रजातन्त्र र मुलुकका निम्ति प्रधानमन्त्री पद सहजै अस्वीकार गरिदिएका छन् भने पौडेल र देउवा प्रचण्डको भुलभुलैयामा परेर प्रधानमन्त्री पदका लागि प्रजातन्त्र र मुलुक नै दाउमा लगाउने प्रपञ्चमा जुटेका छन् । पार्टी सभापतिको स्वीकृतिबेगर पौडेल र देउवाले गत सोमबार राजधानीमा पूर्वसभासद्हरूको एक भेला राखी संविधानसभा पुनस्र्थापनाका निम्ति वातावरण बनाउने उद्देश्यले छलफल गरेका थिए । त्यसरी पार्टीको अनुमतिबिना जथाभावी बैठक र छलफल कार्यक्रम राखिएकोमा सभापति कोइराला रुष्ट र गम्भीर बनेको बुझिएको छ ।

पुनस्र्थापनामै अड्कियो प्रचण्डको प्राण !
– काङ्गे्रसलाई कुनै पनि हालतमा सरकारको नेतृत्व दिन सकिँदैन ।
– विगतमा संविधानसभामा ठूलो दलको हैसियतमा रहेको एमाओवादीले नै चुनावी सरकारको नेतृत्व पाउनुपर्छ ।
– राष्ट्रपति पनि काङ्गे्रसको भएकाले प्रधानमन्त्री काङ्गे्रसलाई दिने कुरै आउँदैन ।
– काङ्गे्रस र एमालेको नेतृत्वमा चुनावी सरकार हुन सक्दैन ।
– बरु स्वतन्त्र र निष्पक्ष व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिन्छ ।
बितेका तीन साताभित्र उपरोक्त अभिव्यक्ति दिएर जनसाधारणलाई समेत गुमराहमा पार्दै आएका एमाओवादी अध्यक्ष प्रचण्डले गत शनिबार काङ्गे्रस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन आफू तयार भएको स्वयम् कोइरालासँग बताए । तर, त्यसका निम्ति कोइराला संविधानसभा पुनस्र्थापना गर्न तयार हुनुपर्ने उनको भनाइ थियो । तीन साताअघि मात्र चार दलको संयुक्त बैठकमा संविधानसभा पुनस्र्थापना होइन निर्वाचनमा जान सहमत भएको सार्वजनिक गरिएको थियो । प्रचण्ड पुनस्र्थापनाको पक्षमा भए पनि काङ्गे्रस–एमालेले चुनावमा जान जोड दिएपछि प्रचण्ड त्यसैमा सहमत हुन बाध्य भएका थिए । तर, तीन साता नबित्दै चार पक्षबीचको सहमति तोडेर प्रचण्डले पुनस्र्थापना भए सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताउनुले प्रचण्डको एकसूत्रीय एजेण्डा मृत संविधानसभा ब्युँताउनु मात्र हो भन्ने छर्लङ्ग भएको छ । यसरी संविधानसभा पुनस्र्थापनामा प्रचण्डले प्राण नै अड्काउनुले उनको नियतप्रति झनै बढी आशङ्का उत्पन्न गराएको छ । दिवंगत संविधानसभाका तीन सय सत्र सभासद्को हस्ताक्षरको पोको लिएर बसेका प्रचण्डलाई पुनस्र्थापना भएमा उक्त सङ्ख्या बढेर दुईतिहाईसम्म पुग्न सक्ने विश्वास रहेको बताइन्छ । जनजाति नश्लका र मधेसी मोर्चा सम्बद्धहरूको साथ आफूलाई कायम भएको अवस्थामा दुईतिहाई पुग्ने विश्वास प्रचण्डको हो । करिब चार महिनाअघि मात्र विभाजित भई गठन भएको नेकपा–माओवादीलाई ध्वस्त पार्न र आफैँ सर्वेसर्वा बन्न प्रचण्डलाई संविधानसभा चाहिएकोमा शङ्का नगर्दा हुन्छ । काङ्गे्रस र एमाले सम्बद्धहरूको समेत समर्थन प्राप्त भएमा आफू प्रधानमन्त्री बन्ने मात्र नभई संविधान निर्माण पनि आफैँले चाहेबमोजिम गर्न सकिने प्रचण्डले ठानेका छन् । त्यस क्रममा राष्ट्रपतिसमेत बदल्ने उनको योजना रहेको बुझिएको छ । अहिले सहमतिमै सुशील कोइराला या अरू कसैलाई प्रधानमन्त्री बनाए पनि पुनस्र्थापित भएमा संविधानसभा–संसद् नै सर्वोच्च निकाय हुने र त्यसले तत्कालै सरकारसमेत बदल्न सक्नेमा कुनै द्विविधा राख्नुपर्ने देखिँदैन । संविधाानसभाले लिएको निर्णयलाई चुनौती दिने सामथ्र्य र कानुनी एवम् राजनीतिक हैसियत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई पनि हुने छैन । यो वास्तविकतालाई धेरै राम्रोसँग बुझेका प्रचण्ड जो ‘प्रतिक्रियावादीहरूलाई जतिपटक पनि झुक्याउन मिल्छ’ भन्ने ‘दर्शन’मा विश्वास गर्छन् र सबैलाई छल्दै यहाँसम्म आइपुगेका पनि छन्, तिनले अहिले सुशील कोइरालालाई प्रधानमन्त्री बनाए पनि संविधानसभा पुनस्र्थापित गरेको भोलिपल्टै कोइरालालाई विस्थापित गरी आफैं बन्ने प्रपञ्चमा लागे भने कुनै आश्चर्य हुने छैन । त्यसैले संविधानसभाको पुनस्र्थापना काङ्गे्रस, एमाले र नेकपा–माओवादीलगायतका राजनीतिक शक्तिहरूका निम्ति आत्मघाती बन्ने निश्चित छ । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वचन दिएर पुनस्र्थापनाको पक्षमा उभ्याएका प्रचण्डले यसपटक सभापति कोइरालालाई पनि सोही ‘वचन’ दिएका छन् । तर, पदका निम्ति विचार, दर्शन, सिद्धान्त र मुलुकलाई दाउमा राख्न कदापि मञ्जुर नहुने नेताको छवि बनाएका सुशील कोइरालाले प्रचण्डको प्रस्तावलाई सीधै अस्वीकार गरिदिएका छन् । तथापि गत जेठ २ गते भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न एमाओवादी राजी भएमा भने ‘पुनस्र्थापनामा जान सकिने’ विश्वास कोइरालाले प्रचण्डलाई दिएका छन्, जसको सम्भावना ज्यादै न्यून मात्र मानिन्छ ।
संविधानसभाको ‘देहावसान’पश्चात् प्रचण्डका कार्यनीतिक एवम् रणनीतिक औजारहरू अत्यन्त सीमित भएका छन् । साँच्चै भन्ने हो भने आफ्नो ‘हैसियत सुधार्नका लागि’ प्रचण्डसँग पुनस्र्थापनाबाहेक अर्को कुनै विकल्प देखिँदैन । त्यसैले उनी पुनस्र्थापनामै केन्द्रित भएका हुन् । पुनस्र्थापना गराउनै नसकिने निष्कर्षमा प्रचण्ड पुगे भने उनको कार्यनीतिक विकल्प रक्षात्मक बन्नेछ । रक्षाात्मक अवस्थामा प्रचण्डको पहिलो विकल्प माआवादी पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने देखिन्छ । माओवादी नेतृत्वमा सरकार गठन गर्नै नसक्ने देखिएमा स्वतन्त्र र निष्पक्ष व्यक्तिको नेतृत्वमा सरकार निर्माण गरी निर्वाचनमा जानु प्रचण्डको अन्तिम विकल्प हुने अनुमान गर्न सकिन्छ । दुई साताअघि पुनस्र्थापनाको मुद्दा टुङ्गिएको ठानिएकोमा प्रचण्ड अझै त्यसैमा अल्झँदै छन्, यसबाट उनले पुनस्र्थापनाका निम्ति कुनै न कुनै रूपमा अन्तिम प्रयत्न गर्ने देखिएको छ । उक्त चरण सकिएपछि मात्र एमाओवादी नेतृत्वमै सहमतीय सरकार गठन निमित्तको चरण सुरु हुने र त्यो पनि सफल नभए मात्र निष्पक्ष सरकारको अभ्यास हुने देखिन्छ । त्यसैले तत्कालै दलहरूबीच सहमति बन्ने आशा नराख्नु नै ठीक हुनेछ ।

फेला परे सबभन्दा धनी प्रहरी
‘चोरी गर्ने बानी परेका व्यक्ति एक न एकपटक कानुनको फन्दामा पर्छन्’ भन्ने उक्तिको चरितार्थ वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठको जीवनमा चरितार्थ भएको छ । नेपाल प्रहरीमा सबैभन्दा धनी अधिकृतका रूपमा नाम कमाएका रविराज यसअघि ०५४ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा प्रहरीकै गाडीमा विमानस्थलबाट दुई क्विन्टल सुन राखी सम्बन्धित तस्करसम्म पुर्‍याएपछि निकै चर्चामा आएका थिए । यसपटकसमेत गरी चारपल्ट विमानस्थलमा पोस्टिङ हुने मौका पाएका रविराजले प्रहरी सेवामा प्रवेश गरेदेखि नै कमाउदार मानिएका ठाउँहरूमा मात्र जिम्मेवारी पाउँदै आएका छन् । सोलुखुम्बु घर भएका श्रेष्ठले कोटेश्वरनजिकै बंगला बनाएका छन् र राजधानीमा सबैभन्दा महँगो बाथरुम उनकै बङ्लामा रहेको मानिन्छ । विदेशबाट मगाएका सामान मात्र प्रयोग गरी बनाइएको रविराजको बाथरुममा मात्र २१ लाख खर्च भएको चर्चा उतिबेलै प्रहरी सङ्गठनभित्र चलेको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई प्रतिमहिना पचास लाखदेखि एक करोडसम्म बुझाउने सर्तमा रविराज केही महिनाअघि चौथोपटक विमानस्थलमा पोस्टिङ भएका थिए र उनले आफ्नो चालकका रूपमा आफ्ना विश्वासपात्र शोभित कार्कीलाई पनि आफूसँगै त्यहाँ लगेका थिए । विमानस्थलमा गएदेखि नै तस्करीमा संलग्न हुँदै आएका रविराज श्रेष्ठ गत शुक्रबार भने कानुनको फन्दामा परे । विमानमा बम राखिएको हल्ला चलेपछि जाँच गर्ने क्रममा दुबई एयरका यात्रु विनोदकुमार सोनीबाट एक करोड तेइस लाख चालीस हजार तीन सय उनानब्बे नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा फेला परेको थियो । त्यसरी अवैध रूपमा लुकाई लैजान लागेको विदेशी मुद्रा प्रहरीले फेला पारेपछि रविराज श्रेष्ठले आफ्ना चालक शोभित कार्कीलाई पच्चीस लाख रुपैयाँ दिई भारततर्फ भगाएको
बताइन्छ । विमानस्थलमा रविराज श्रेष्ठ पोस्टिङ भई आएपछि तस्करहरू सलबलाएको र तस्करी सुरु भएको भनक डीआईजी नारायण बस्ताकोटीले पनि पाएका थिए । सबुत प्रमाणको अभावमा कुनै कारबाही गर्न नसकिने भएपछि डीआईजी बस्ताकोटीले नै विमानमा बम राखिएको हुनसक्ने भन्दै कडा जाँच गर्न मातहतका प्रहरीलाई आदेश दिएका थिए । बस्ताकोटीकै विशेष अग्रसरताका कारण रविराज श्रेष्ठको कर्तुत खुलासा हुने स्थिति बनेको सम्बद्ध सूत्र बताउँछ ।
जे होस्, बर्दीमा बसेर लामो समयदेखि तस्करी धन्दामा संलग्न रहँदै आएका रविराज श्रेष्ठ यसपटक फेरि तस्करीमा सामेल हुनै नपाउने गरी फसेका छन् । सत्यतथ्य बुझ्न प्रहरीले एक छानबिन समिति गठन गरेको छ र त्यसको प्रतिवेदन आएपछि रविराजले प्रहरी सेवाबाट नै हात धुनुपर्ने अवस्था आउने अनुमान गरिएको छ । रविराज श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्नुपर्ने आवाज प्रहरी सङ्गठनभित्र उठिरहेको छ । उनले विमान कम्पनीदेखि देशका अन्य विभिन्न कम्पनीमा करोडौँ लगानी गरेको बताइन्छ भने उनको अमेरिकामा समेत एक रेस्टुरेन्ट रहेको छ । रेस्टुरेन्ट सञ्चालनको जिम्मेवारी रविराजले आफ्ना एक छोरालाई सुम्पेका छन् । उनका दुवै छोराहरू अमेरिकामा बस्ने गर्दछन् । पैसाको बलमा आईजीपीसम्म बन्ने सपना बुनेका रविराज श्रेष्ठको सपना भताभुङ्ग भएपछि प्रहरी सङ्गठनमा पैसाकै बलमा माथि पुग्न खोज्नेहरूलाई ठूलो सबक सिकाएको महसुस गरिएको छ । स्वच्छ छविका आईजीपी कुवेरसिंह रानाले खुट्टा नकमाईकन रविराज श्रेष्ठमाथि आवश्यक कारबाही गर्न सक्नुभयो भने उहाँको छवि अझ राम्रो हुने र सङ्गठनभित्र छिरेका धमिराहरूबाट सङ्गठनलाई बचाउन पनि सहयोग पुग्ने आशा गरिएको छ ।

रमेशनाथ अर्कैै चक्करमा !
रमेशनाथ पाण्डे, एक अनौठा पात्र । यिनको विचार, सिद्धान्त, दर्शन, मूल्य, मान्यता केही नभएको ठानिन्छ, तर यी अत्यन्त महत्वाकाङ्क्षी छन् र टुप्पोमा चलखेल गरेर सत्तामा घुस्ने प्वाल पार्न यिनी माहिर मानिन्छन् । रमेशनाथसँग मुलुक समृद्धिको कुनै सपना–गन्तव्य भएजस्तो अहिलेसम्म देखिएको छैन, उनी आफैँबाट सुरु गर्छन् र उनको गन्तव्य पनि आफैँ मात्र हो । राजनीतिक सतहमा उदाएका शक्ति र पात्रसँग विभिन्न ‘गफ’ दिएर सम्पर्क बनाउने, यताका कुरा उता र उताका यता गर्दै आफू घुस्ने प्वाल (ठाउँ) बनाइहाल्ने यिनको मुख्य विशेषता हो । आफूलाई महत्वपूर्ण देखाउन रमेशनाथ विभिन्न समयमा विभिन्न कारणवश विदेशी नेताहरूसँग सँगै बसेका तस्बिरको ‘इस्तेमाल’ गर्छन् र विश्वका ठूला नेताहरूसँग रामै्र उठबस रहेको ‘इम्प्रेसन’ दिन्छन् । त्यति मात्र होइन, १९५२, ५८ तिरका विदेशी पत्रिकाको नाम लिएर फलानो पृष्ठ यतिमा यस्तो भनिएको छ भन्नेजस्ता ‘पानीमा फुल पार्ने’ कुरा गरेर समीपका व्यक्तिलाई ठूलै मान्छे रहेछन् भन्ने भ्रम यिनले दिने गर्दछन् । यस्तै गफ दिएर राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र मात्र होइन माधव नेपाल, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, प्रचण्डलगायतका नेताहरूलाई समेत रमेशनाथले एकताका आफ्नो घरवरिपरि घुम्ने बनाएका हुन् । अझै पनि कतिपय नेता र कूटनयिकहरू रमेशनाथबारे भ्रम राख्दै छन् । ०६३ को राजनीतिक परिवर्तनपश्चात् रमेशनाथको भूमिका सकिएको सबैले ठानेका हुन् र स्वयम् रमेशनाथले पनि अब ‘चलखेल भूमिका’ निर्वाह नगर्लान् भन्ने अनुमान उनलाई देखी–बुझी जान्नेहरूको थियो र छ । तर, कुनै समय राजतन्त्रको बयान गरी नथाक्ने पाण्डेले त गणतन्त्रमा प्रधानमन्त्री बन्ने सपना पो देखिरहेका रहेछन् ! प्राप्त जानकारीअनुसार दुई साताअघि नेपाली राजनीतिमा रामै्र प्रभाव रहेको एक मुलुकको काठमाडौंस्थित राजदूतावासका राजनीतिक विभाग प्रमुखलाई पाण्डेले आफ्नो घरमा खाना खान बोलाएका थिए । परराष्ट्रमन्त्री भइसकेका व्यक्तिले खाना खान बोलाउनुलाई ती विभागीय प्रमुखले सकारात्मक रूपमा लिनु स्वाभाविक थियो । र, उनी पाण्डेको हाँडीगाउँस्थित घरमा गए पनि । त्यहाँ पाण्डेको कुरा सुनेपछि भने विभागीय प्रमुख छक्क परेको बुझिएको छ । पाण्डेले लामो भूमिका बाँध्दै नेपाललाई यतिबेला एउटा परिपक्व व्यक्तिको नेतृत्व चाहिएको बताए । उनले सबैलाई समेटेर लैजान सक्ने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सर्वपक्षीय सरकार गठन गरिनुपर्ने धारणा राखेपछि विभागीय प्रमुखले स्वाभाविक रूपमा त्यस्ता व्यक्ति को हुन सक्छन् त भनी जिज्ञाशा राखे । जवाफमा पाण्डेले भने, ‘त्यस्तो त मै छु नि ।’ त्यसपछि विभागीय प्रमुखले थप जिज्ञाशा राखे, ‘तपाईं प्रधानमन्त्री बन्ने सोचमा हुनुहुन्छ भने मन्त्रिमण्डल कस्तो बनाउने भन्ने सोच्नुभएको होला ।’ उत्साहित हुँदै पाण्डेले भने, ‘छ, छ, म डा. बाबुराम भट्टराईलाई परराष्ट्रमन्त्री बनाउँछु, रामचन्द्र पौडेल या शेरबहादुर देउवालाई गृहमन्त्री बनाउँछु, एमालेलाई अर्थमन्त्री दिन्छु र मधेसी मोर्चालाई पनि राम्रो मन्त्रालय दिन्छु ।’
बाबुरामजी प्रधानमन्त्री हुनुहुन्छ, तपाईंको मातहतमा परराष्ट्रमन्त्री बन्न आउलान् त भनी विभागीय प्रमुखले थप प्रश्न राख्दा पाण्डेले विश्वासका साथ भने, ‘किन नबन्नु ? बन्छन्, बाबुरामजीसँग मेरो धेरै पुरानो सम्बन्ध हो ।’ यसरी पाण्डेले आफू प्रधानमन्त्री बन्ने र बाबुराम भट्टराईलाई परराष्ट्रमन्त्री बनाउने भनी भनेको कुरा यतिबेला सम्बन्धित राजदूतावासमा चर्चा र हाँसोको विषय बन्ने गरेको बुझिएको छ ।
त्यस अवसरमा पाण्डेले पूर्वराजा ज्ञानेन्द्रको आलोचना गर्न बाँकी राखेनन् । उनले पारसलाई पनि नालायक करार दिए । तर, उनले ‘पूर्वयुवराज्ञी हिमानी भने अति तीक्ष्ण र योग्य भएकीले उनको सन्तान हृदयेन्द्र पनि पक्कै तीक्ष्ण हुनेछन्, हिमानीलाई संरक्षक बनाएर हृदयेन्द्रलाई राष्ट्रप्रमुखको भूमिकामा राख्दा राम्रो हुन्छ’ भन्ने ‘सुझाव’ दिएका थिए ।

दिवाकर मरे कि मारिए
नेपालको आर्थिक तथा अन्य विकासका सन्दर्भमा विभिन्न पुस्तक लेखेर अन्तर्राष्ट्रिय रूपमै नाम कमाएका सामाजिक कार्यकर्ता तथा एक समयका चर्चित व्यक्ति दिवाकर चन्दको रहस्यमय मृत्यु भएको छ । लामो समयदेखि एक्लो जीवन बिताउँदै आएका चन्द धोबीघाटस्थित फ्ल्याटमा असोज १८ गते शुक्रबार मृत अवस्थामा फेलापरेका थिए । पूरै घरमा एकजना मात्रै बस्ने भएका कारण उनको मृत्यु कसरी भयो भन्ने यकिन हुन सकेको छैन । तर, उनको कोठाको स्थिति र घाँटीमा देखिएको नीलो डामका कारण घाँटी थिचेर उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ ।
प्रहरीका अनुसार, घटनाबारे जानकारी भएकै दिनदेखि अनुसन्धान सुरु भएको छ । घटनाका केही आधार फेला परेकाले चाँडै नै सत्यतथ्य बाहिर आउने विश्वास गरिएको छ । धोबीघाटस्थित भाडाको फ्ल्याटमा बस्दै आएका उनी मृत अवस्थामा फेलापरेकाले घटना कहिले भएको थियो भन्ने किटान गर्न सकिएको छैन । भुइँमा लडिरहेको उनको लास गन्हाएको अवस्थामा घर सफा गर्न आउने सहयोगीले थाहा पाएर घरधनीलाई खबर गरेका थिए । प्राप्त जानकारीअनुसार, उक्त घरमा पहिला रेस्टुरेन्ट र कार्यालयसमेत रहेको थियो, तर केही समयअघि ती दुवै हटेका कारण घरका दुईवटा फ्ल्याट खाली थिए । घरको माथिल्लो तलामा बस्दै आएका चन्द अत्यन्त साधारण तरिकाले बसेको भेटिएको छ, यतिसम्म कि उनको फ्ल्याटमा सुत्ने सामान्य पलङसम्म पनि थिएन । कुनै बेलाका निकै प्रभावशाली व्यक्तिको वासस्थानको अवस्था देखेर त्यहाँ पुग्नेहरू आश्चर्यचकित भएका थिए ।
होम नेट र दक्षिण एसियाली गृह श्रमिकहरूको संस्था सवा नेपालका संस्थापक अध्यक्ष दिवाकर चन्दको नेपाली गृह श्रमिक महिलाको जीवन उकास्ने सवालमा महत्वपूर्ण भूमिका रहेको छ । नेपालको आर्थिक, सामाजिक र पर्यटन विकासका सम्बन्धमा उनले डेभलपमेन्ट थ्रु नन गभर्मेन्टल अर्गनाइजेसन इन नेपाल, इकोनोमिक डेभलेपमेन्ट अफ नेपाललगायतका ६ वटा पुस्तक लेखेका छन् । नेपाललगायत अन्तर्राष्ट्रिय बजारमा उनका पुस्तकले राम्रै ठाउँ पाएका छन् । दिवाकर विश्व हिन्दू महासङ्घका उपाध्यक्ष र स्किल सेयर नेपालका सल्लाहकार पनि थिए । समाज कल्याण परिषद्का पूर्वसदस्यसचिब चन्द पछिल्लो चरणमा नेपालको सङ्क्रमणकालीन नयाँ परिवेशमा राज्य संयन्त्रहरू कमजोर भएकोले राष्ट्रलाई बलियो बनाउन केही काम गर्नुपर्छ भनेर लागिपरेका थिए ।

सातथरी तत्वको चाहना एउटै
संविधानसभा पुनस्र्थापनाको बहस अचानक पुनः सुरु भएको छ । पुनस्र्थापन हुनुपर्छ भन्ने पक्षमा एकथरी लागेका छन् भने मुलुकको ठूलो हिस्सा ताजा जनादेशकै पक्षमा उभिएको छ । पुनस्र्थापनाको पक्षमा देखिएकाहरूको विश्लेषण गर्दा प्रजातन्त्र र देशप्रति कम सरोकार राख्नेहरू रहेको पाइएको छ । संविधानसभा पुनस्र्थापन गर्नुपर्छ भन्ने सात किसिमका तत्वहरुको विवरण यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
ड्ड वैधानिक कसरत गर्दै राज्य संरचनालाई प्रयोग र उपयोग गरी देशमा अधिनायकवादी शासनको आधार तयार गर्न लालायित प्रचण्डलगायतका व्यक्तिहरू ।
ड्ड मुलुकलाई इसाईकरण गर्न यत्नशील केही युरोपेली मुलुक तथा नेपालमा इसाई सम्बद्ध गैरसरकारी संस्थाहरू ।
ड्ड नेपाललाई जातीय आधारमा विखण्डन गरी देशको अस्तित्व नै समाप्त गर्न क्रियाशील केही जातिवादी साम्प्रदायिक व्यक्ति र समूहहरू ।
ड्ड पुनस्र्थापना भए आफू प्रधानमन्त्री बन्छु भन्ने आशामा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायतका नेताहरू ।
ड्ड पुनस्र्थापना हुँदा सभाध्यक्ष पदको पनि पुनर्वहाली हुने लोभमा परेका सुवासचन्द्र नेम्वाङ ।
ड्ड संविधानसभाको स्वाभाविक मृत्यु भएपछि बेरोजगार हुन पुगेका तात्कालिक सभासद्हरू पुनस्र्थापना भएमा रोजगारी पुनः प्राप्ति हुने आशा गर्दै पुनस्र्थापना अभियानमा सक्रिय ।
ड्ड संविधान र कानुनको अवमूल्यन गर्न चाहनेहरू ।

प्रधानमन्त्री रामचन्द्र नै हो ः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री पदका स्थायी दाबेदार रहँदै आउनुभएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबका प्रधानमन्त्री रामचन्द्र पौडेल भएको बताउनुभएको छ । गत सोमबार धादिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा देउवाले उक्त धारणा प्रकट गर्नुभएको हो । बीपी कोइराला नेतृत्व विकास मञ्चले आयोजना गरेको कार्यक्रममा भाग लिन गत आइतबार काङ्गे्रस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवा धादिङ जानुभएको थियो । आइतबारको उद्घाटन कार्यक्रममा त्यस सम्बन्धमा केही नबोल्नुभएका देउवाले धादिङमा २२ गते सोमबार ‘यसअघि सत्रपटकसम्म पराजित हुनुभएका पौडेल नै प्रधानमन्त्रीका हकदार भएको’ बताउनु र सोही दिन पौडेलले राजधानीमा पूर्वसभासद्हरूको भेला गरी संविधानसभा पुनस्र्थापनाको पक्षमा वातावरण बनाउन छलफल गर्नुलाई संयोग मात्र मानिएको छैन । देउवाको उक्त अभिव्यक्तिलाई कतिपयले रहस्यमयी भनी टिप्पणी गरेका छन् । तत्काल काङ्गे्रसलाई सरकारको नेतृत्व गर्ने अवसर नआउने बुझेपछि देउवाले पार्टीभित्रको सन्तुलनमा प्रभाव पार्न रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’ भनिदिएको जानिफकारहरूको भनाइ छ ।
देशभरिका महिला विद्यार्थी प्रतिनिधिहरूलाई भेला गरी बीपी कोइराला नेतृत्व विकास मञ्चले तीनदिने प्रशिक्षण दिएको छ । उक्त प्रशिक्षणको उद्घाटनका निम्ति जानुभएका नेतात्रयलाई नौबिसेदेखि सयभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरेका थिए । मलेखुस्थित पुलमा पुगेपछि थप पाँच मोटरसाइकल र चारवटा कारले स्कर्टिङ गर्ने व्यवस्था धादिङ काङ्गे्रसका सभापति रामनाथ अधिकारीले गर्नुभएको थियो । त्यस्तै बीचबाटोमा पर्ने कालिदहबाट धादिङ काङ्गे्रसका जुझारू नेता रमेश धमलाले थप साठी मोटरसाइकलबाट स्कर्टिङ गराई नेतात्रयलाई भव्य स्वागतका साथ धादिङ पुर्‍याइएको थियो । तर, स्वागत जति भव्य थियो धादिङको उद्घाटन समारोह भने त्यति भव्य हुन नसकेको सहभागीको भनाइ छ । मञ्चमा आसनग्रहण गराउने क्रममा धादिङ काङ्गे्रसका लोकप्रिय नेता हरि अधिकारीलाई अपमानजनक व्यवहार गरेपछि उहाँ कार्यक्रमस्थलबाटै बाहिरिनुभएको थियो । त्यसरी नेता अधिकारीलाई अपमानजनक व्यवहार गरेपछि क्षेत्र नं. ३ का नेता तथा कार्यकर्ताले सभापति रामनाथ अधिकारीलाई घेरी आक्रोश प्रकट गरेका थिए । नौबिसे काङ्गे्रस सभापति दीपेन्द्र पाठक, धुषा काङ्गे्रसका सभापति दीपकान्त थपलिया, जीवनपुरका सभापति एकराज गजुरेल (कुवेर), बैरेनीका सभापति गोपी रिमाल, बेनिघाटका सभापति ऋषिनाथ त्रिपाठी र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शरद अधिकारीलगायतले सभापति रामनाथ अधिकारीसँग त्यस विषयमा प्रश्न गरेपछि उनी ‘गल्ती भयो’ भन्दै पन्छिएका थिए । अपमानित गरिएकै कारण अर्का नेता रमेश धमला मञ्चमा आसनग्रहण गर्न जानुभएन भने क्षेत्र नं. ३ का महासमिति सदस्य देवप्रकाश त्रिपाठी कार्यक्रममा सहभागी नै हुनुभएको थिएन । धादिङमा एकैपटक तीन शीर्ष नेताहरूको स्वागत गर्ने अवसर बीपी कोइराला नेतृत्व विकास मञ्चकी अध्यक्ष उर्मिला थपलियाले दिलाउनुभएको थियो । तर, उक्त कार्यक्रम जति भव्य रूपमा सम्पन्न हुनसक्थ्यो त्यति नभएको धादिङका काङ्गे्रस कार्यकर्ताहरूको भनाइ छ । भव्य स्वागतबाट उत्साहित भएका नेतात्रय धादिङमा आयोजित कार्यक्रममा सहभागीहरूको सङ्ख्या देखेर निराश बनेका थिए । कैयन वर्षदेखि रामनाथ अधिकारीलाई सहयोग गर्दै आउनुभएका नेता हरि अधिकारीलाई अपमान गरिनुलाई स्थानीय नेता तथा कार्यकर्ताले अस्वाभाविक र नाजायज ठानेका छन् ।

नेपाली पत्रकार भारतमा
नेपाली पत्रकारहरू करिब दुई साताव्यापी भ्रमणका निम्ति भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । नेपालस्थित भारतीय राजदूतावासको संयोजनमा भारत सरकारद्वारा आयोजित उक्त भ्रमणमा नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालका वरिष्ठ उपाध्यक्ष एवम् दृष्टिका सम्पादक शम्भु श्रेष्ठ, सञ्जालका कोषाध्यक्ष तथा साँघुका सम्पादक गोपाल बुढाथोकी, सचिव एवम् तरुणका सम्पादक परशुराम घिमिरे, देशान्तरका सम्पादक कविर राणा, राजधानी दैनिकका सम्पादक राजन शर्मा, सञ्जालका मध्यमाञ्चल उपाध्यक्ष एवम् नयाँ विकल्पका सम्पादक दामोदर दवाडी, घटना र विचारका कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठी, पोखराका पत्रकार राजबहादुर गुरुङ, पवर्तकी मायाकुमारी अधिकारी, धरानकी मनिता चाम्लिङ, जनधारणाका सम्पादक निमकान्त पाण्डे, मधेशवाणीका सम्पादक राजेश झा, पुनर्जागरणका माथवरसिंह बस्नेत तथा एफएम सम्बद्ध पत्रकार विष्णुहरि ढकाल, उज्ज्जल चौलागाईं, गोपाल झा, रमेश जोशी, राधिका भट्ट, गोपाल पौडेल, मृगेन्द्र शेरचन, राज श्रेष्ठ, रेशम चौधरी, राजेशकुमार कर्ण, रीता लिम्बू, राज श्रेष्ठ, गौरी कठायत, असिक अन्सारी, सोमनाथ बास्तोला, पुष्पलाल खड्का, विश्वनाथ ठाकुर र झुमादेवी मैनालीलगायतको सहभागिता छ । असोज २१ गते नयाँदिल्ली प्रस्थान गरेको उक्त टोली आगामी कात्तिक ४ गते स्वदेश फर्कने बुझिएको छ । शम्भु श्रेष्ठको नेतृत्वमा भ्रमणमा रहेको उक्त टोलीले भारतमा रहँदा त्यहाँका सरकारी उच्च अधिकारी तथा भारतीय पत्रकारहरूसँग विशेष भेटघाट तथा छलफल गर्ने र पत्रकारितासम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ । भ्रमणका सम्बन्धमा भारतीय राजदूतावासका प्रेस तथा सूचना प्रमुख पियुष श्रीवास्तवसँग सम्पर्क गर्दा उनले नेपाली पत्रकारहरूको यो भ्रमण निकै उपयोगी हुने बताएका छन् ।