नेपालका खस जाति : एक सामान्य परिचय

नेपालका खस जाति : एक सामान्य परिचय


—इन्द्रबहादुर बराल
खस जातिका बारेमा धार्मिक, पौराणिक ग्रन्थहरू जस्तै महाभारत, रामायण आदिमा खस जातिलाई ब्रात्य, पापी, यक्ष र म्लेच्छजस्ता तुच्छ कोटिको जाति भनी चिनाउने प्रयास गरिएको पाइन्छ भने मनुस्मृतिमा संस्कार खस्केको या तल झारिएको जाति पनि भनेको साथै ब्रतबन्ध संस्कारका लागि अयोग्य तथा गायत्री मन्त्र जप गर्न नजान्ने भ्रष्ट क्षत्रीहरूलाई ब्रात्य पनि भनिएको छ । संस्कृतका पण्डित वा धार्मिक एवम् पौराणिक ग्रन्थमा खस जातिका बारेमा जे–जस्तो दुराग्रहपूर्ण र मनगढन्ते अर्थ लगाए पनि मानवशास्त्रीले दुनियाँमा थुपै्र मानवीय जात भए तापनि खास गरेर मुख्य तीन जात भएको उल्लेख गरेका छन् । ती तीन जातलाई शरीरको बनोट र रंगको आधारमा विभाजन गरेको पाइन्छ । जस्तो छोटो कद, थेप्चे नाक र चिम्रे (सानो) आँखा भएकालाई मंगोललाइट (मंगोलियन), कालो रंग (छाला), घुम्रिएको कालो कपाल र लेप्रिएका ओठ भएकालाई नेग्रोआइट (हब्सी) र दुब्लो, पातलो, अग्लो र चुच्चे नाक भएकालाई ककेसाइट (ककेसियन) जातिका रूपमा व्याख्या गरेका छन् ।
धेरै प्रकारका उप–समूहहरू विभिन्न कालखण्ड या संसारका अनेकन भूखण्डमा छरिन पुगेका हुन् । उक्त तीन जातिमध्ये ककेसाइट जातिको एउटा हाँगो पश्चिम एसियाबाट वैदिक सोच विकास गर्नुभन्दा पहिलेदेखि नै नेपालको पश्चिम हिमाली वा पहाडी क्षेत्रमा बसोबास गर्दै आएको जातिलाई खस जाति भनिन्छ । नेपालका खस क्षत्री १२औँ शताब्दीभन्दा हजारौँ वर्ष पहिलेदेखि नेपालको भूमिमा रहँदासम्म ‘खस’ जातिकै नामले परिचित थिए । नेपालका खस क्षत्री १२औँ शताब्दीदेखि मात्र वर्णव्यवस्था अपनाई क्षत्री बनेका हुन् । त्यसभन्दा पहिले उनीहरूमा बौद्धधर्मको प्रभाव थियो भन्ने भनाइ खस साम्राज्यको इतिहासमा प्रा.डा. सूर्यमणि अधिकारीले लेख्नुभएको छ । यति धेरै प्राचीन (आदिम) र गौरवशाली इतिहास बोकेको र नेपालको भूमिसँगको अन्योन्याश्रित सम्बन्ध भएको जातिलाई अन्यथा बुझी उनीहरूको पहिचानलाई इन्कार गर्दा र भ्रामक रूपले बुझिदिँदा त्यस्ता भूमिपुत्रमाथि अन्याय भएको ठहर्छ । त्यसकारण क्षत्री मात्र भनेर पूर्ण परिचय नहुने हुँदा खस क्षत्री नै भन्नुपर्ने हुन्छ । क्षत्री शब्दले वर्ण व्यवस्थाको वर्ण वा जात मात्र बुझाउने र खस शब्दले यहाँको (नेपाल) भूमिको रैथाने समुदाय (जात) अर्थात् आदिवासी बुझाउने भएकाले समूहगत अस्तित्व र पहिचानका लागि पनि खस क्षत्री भन्नु नै उपयुक्त हुन्छ । खस जातिका सम्बन्धमा डा. केशवमान शाक्यले (हालका मन्त्री) कर्णाली भेकका खसहरू आदिवासी हुन् भने किराँत भेकका खसहरूलाई जनजाति हिसाबले बुझ्न–बुझाउन एउटा नयाँ बहसको प्रारम्भ गराउन खोजेजस्तो देखिनुहुन्छ तर त्यस्तो मतसँग कोही विद्वान् सहमत देखिँदैनन् । साथै डा. शाक्य भन्नुहुन्छ– खस जातिको सही पहिचान छुट्याउन कर्णाली क्षेत्रको खस साम्राज्यको इतिहास सबैभन्दा महत्वपूर्ण हुन्छ । खसहरूको उद्गम थलोको बारेमा विचार राख्नेहरूले पश्चिम इरानको खसिस्तान, ककेसस पर्वत, क्यास्पियन सागर, अफगानिस्तानको खस पृष्ठभूमि, खस नदी, वाल्हिक प्रवेशको बडा खसान, हिन्दुकुश पर्वत, कासगर, कास्मिर, कुमाउँ–गडवालको खसमण्डल हुँदै नेपालको पश्चिममा रहेको कर्णाली प्रसवण क्षेत्रमा रहेको खस राज्यसम्म देखाएका छन् । त्यसकै आधारमा नेपाली खसहरूको ऐतिहासिक थातथलो कर्णाली क्षेत्र हो । खस राज्यको पतनपछि २२ से राज्यमा टुक्रिएपश्चात् केही चतुर उच्चजातिले खस जातिमध्येका टाठाबाठालाई जनै लगाई ठकुरी र क्षत्री जातमा जातन्नोति गरेको पाइन्छ । त्यसपछि राज्यसत्ता प्राप्त गर्ने खसहरू ठकुरी बने भने अन्य राज्यशक्तिमा भागीदारहरू क्षत्री हुन गए । तर, सामान्य खेतीकिसान गर्नेहरू मतवाली क्षत्री भएर मदिरा पिउने, जनै नलगाउनेमै बाँकी रहेका छन् जुन अद्यावधि कर्णाली भेकमा पाइन्छन् जसलाई मतवाली खस अर्थात् पावै खस भनेर चिनिन्छन् । अब आर्य र खस जातिको बारेमा नेपालको सन्दर्भमा ब्राह्मणहरूले आफूलाई आर्य जाति भन्न गर्व गर्दछन्, आर्यहरूको उद्गम हालको इरान, इराक, अरब, सिरिया क्षेत्रबाट दक्षिण पाकिस्तानको बाटो हुँदै सिन्धु नदीको मैदान र गंगा नदीको समतल भूमितिर सर्दै आएका जाति हुन् भने खसहरू पश्चिमी हिमाली (पहाडी) क्षेत्रमा फैलिएका जाति भएकाले के प्रस्ट हुन्छ भने खस र आर्यहरूको मूल प्रवाह एउटै होइन भन्दछन् डा. केशवमान शाक्य ।
खस भाषा र संस्कृतिबारे डा. जगमान गुरुङ लेख्नुहुन्छ– अहिले नेपाल या जुन भाषालाई राष्ट्रभाषा भनिन्छ वास्तवमा उक्त भाषा खस भाषाको विकसित रूप हो । नेपालमा जुन संस्कृतिलाई आर्य संस्कृति भनिएको छ, उक्त संस्कृति पनि खस संस्कृतिबाट विकसित संस्कृति हो । साथै डा. गुरुङ भारतीय आर्य र नेपाली आर्य संस्कृतिको विधामा पनि केही भिन्नता देख्नुहुन्छ र लेख्नुहुन्छ– त्यति भिन्नता नै नेपाली आर्य संस्कृतिको विशेषता र खसपना हो । धर्मका सम्बन्धमा पनि डा. गुरुङ भन्नुहुन्छ– खसानका खसहरूमा बौद्धमत प्रचलित थियो तर मल्ल राज्यको अन्त्य भएपश्चात् खसानका खसहरू हिन्दूधर्म र संस्कृतितर्फ उन्मुख हुँदै गएका छन् । यसरी कर्णाली प्रदेशको पहाडी इलाकाको खसानमा उद्भव भएको खस भाषा र संस्कृति गण्डकी प्रदेशको पहाडी इलाकाको मगरातमा विकास भई पूर्वतिर सम्प्रेषित भएको खस भाषा र संस्कृतिको विकास भएको गण्डकी प्रदेशको पहाडी इलाकाको मगरातलाई खसान्तको संज्ञा दिएका छन् । खसहरू गण्डकी प्रदेशमा प्रवेश गरेपछि आफूजस्तै गुण र कर्म भएका यहाँका लडाका जाति मगर र गुरुङसँग खसहरूको सम्बन्ध स्थापित भयो र यस सम्बन्धले नेपालको राष्ट्र निर्माण र नेपाली राष्ट्रियताको विकासलाई अझ बढी सबल बनाउन सहायकसिद्ध भएको हो भनी डा. जगमान गुरुङ भन्नुहुन्छ । तत्कालीन खस साम्राज्यकालको जात र थरबारे प्रा.डा. दिलबहादुर क्षत्री लेख्नुहुन्छ– जात र थरको उत्पत्ति र स्थान (ठाउँ) र कर्म (काम) विशेषको आधारमा भएको हुँदा जातजातिका हकमा कोही ठूलो–सानो होइन । इमानदार र सोझो जातिका रूपमा परिचित खस जातिलाई उक्साएर उचनिचको भावना फैलाएर विभेदको खाडल गहिर्‍याएर केही छट्टु र चतुर जातिले नाजायज फाइदा लिनेहरूसँग असन्तुष्ट देखिनुहुन्छ प्रा.डा. क्षत्री र वर्तमान राजनीतिक क्षितिजमा देखिएको अन्योल तत्कालीन खस राज्यमा गरिएका विभाजन र षड्यन्त्रमा संलग्न छट्टु र चतुरको संलग्नता वर्तमानमा पनि हुबहु मेल खाँदा प्रा.डा. क्षत्रीको विश्लेषण सत्य सावित हुँदैन र ?
अन्त्यमा खस जाति भनेको अत्यन्त सत्जन, सोझा लडाकु स्वभावका इमानदार, अन्याय नगर्ने र अन्याय भएको देखिनसक्ने न्यायिक स्वभाव र विभेद पनि नगर्ने तथा विभेद गर्नेलाई निरुत्साहित गर्ने एउटा ऐतिहासिक वीर जातिको रूपमा बुझ्नु उनीहरू (खस) प्रति न्याय भएको ठहर्छ । तर, यदाकदा खस जातिबारे अध्ययन नगरेका आफूलाई उच्च जातिको रूपमा स्थापित गराउनेबाट जुन तल्लो तहका गालीगलौजको भाषामा बुझ्ने गरेका छन् तिनीहरूले अब नेपालको खस जातिका सम्बन्धमा अध्ययन–अनुसन्धान गरी ती जातिको भाषा, धर्म, संस्कृति तथा परम्पराको ऐतिहासिक तथ्य र प्रमाणको आधारमा सही र यथार्थ जानकारी हुनु अनिवार्य छ ।