मिडियाले चर्काएपछि श्रीदेवीको निधनबारे विवाद

मिडियाले चर्काएपछि श्रीदेवीको निधनबारे विवाद


दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उनको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन प्रशारण गरेका छन् ।

उनको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।

कतिपय समाचारमा श्रीदेवीले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइए पनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन् । साथै श्रीदेवीका श्रीमान् बोनी कपूरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिइरहेका छन् ।

यद्यपि, सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ । सोमबार नै दुबईबाट मुम्बईबाट लगिने भनिएको श्रीदेवीको शव यस्तै अन्यौलको स्तिथिका कारण मङ्गलबार पनि पूरा हुन सकेन । श्रीदेवीको पार्थिक शरीरलाई भोली बुधबार मात्र भारत लगिने भएको छ । उनको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुम्बईमा पर्खिरहेका छन् ।