प्रचण्डचाहिँ चोखै !

प्रचण्डचाहिँ चोखै !


एमाओवादीभित्र भएका भ्रष्टाचारको छानबिन गर्न बनाइएका समितिहरू केवल औपचारिकता मात्र भएको पुष्टि हुन पुगेको छ । गत साउनमा काठमाडौंमा आयोजित विस्तारित बैठकमा लडाकुका नाममा व्यापक भ्रष्टाचार भएको भन्दै सहभागीबाट त्यसको छानबिनको माग भएपछि अमिक शेरचन र पोष्टबहादुर बोगटीको संयोजकत्वमा दुई बेग्लाबेग्लै समिति निर्माण गरिएका थिए । दुईमध्ये बोगटी नेतृत्वको छानबिन समितिले कुनै काम नै अघि बढाउन खोजेको छैन भने शेरचन नेतृत्वको समितिले पनि झारा टार्ने काम मात्र गरेको पाइएको छ । शेरचनले समयसीमा दिई उजुरी गर्न गरिएको सार्वजनिक आह्वानको समयसीमा सकिएको छ । यसबीचमा विभिन्न स्तरका ६५ नेताविरुद्ध उजुरी परेको शेरचनले बताएका छन् । जो–जसका विरुद्ध उजुरी परेका भए पनि पार्टी अध्यक्ष प्रचण्डविरुद्ध कुनै उजुरी नपरेको शेरचन निकटको सूत्रले घटना र विचारलाई जानकारी दिएको छ । ०५२ सालमा युद्ध सुरु गरेयता पार्टीमा हालिमुहाली चलाउँदै आउनुभएका प्रचण्डले पार्टीको ‘मुख्य कोषाध्यक्ष’को भूमिका पनि निर्वाह गरिरहनुभएको छ । विगतमा उठाइएका चन्दा, बैंक तथा अन्य संस्थाहरू लुटेर प्राप्त भएको आम्दानी र लेबीबाट प्राप्त रकममा प्रचण्डबाहेक अरू कसैको पनि नियन्त्रण थिएन र छैन । ०६३ सालमा खुला भएयता लडाकुका नाममा राज्यबाट उपलब्ध अर्बौं रुपैयाँमा पनि प्रचण्डको मात्र नियन्त्रण रहेको थियो । प्रचण्डको जानकारीबिना एक रुपैयाँ तलमाथि गर्ने साहस, क्षमता र हैसियत आज पनि उक्त पार्टीमा अरू कसैसँग छैन । लडाकुको नाममा राज्यबाट लिएको रकम प्रचण्डकै कोषमा मात्र जम्मा हुने गरेको पार्टी पङ्क्तिलाई मात्र नभई आमदेशवासीलाई समेत जानकारी छ । क्यान्टोनमेन्टमा हुँदै नभएका करिब पाँच हजार लडाकुको नाममा राज्यबाट गएको साढे तीन अर्बभन्दा बढी रुपैयाँ प्रचण्डबाट दुरुपयोग भएको अनुमान छ । खुला राजनीतिमा आएपछि उहाँको जीवनशैलीमा भारी परिवर्तन आएको र अजय सुमार्गी, मनोजबहादुर श्रेष्ठ, उपेन्द्र महतो र कृष्ण आचार्यलगायतका व्यापारीहरूमार्फत् प्रचण्डले विभिन्न कम्पनीहरूमा ठूलो लगानी गर्नुभएको विश्वासका आधारमा देशभरि नै चर्चा हुने गरेको छ । तर, तिनै प्रचण्डको विरुद्धमा अमिक शेरचनसमक्ष एउटै उजुरी पनि परेको छैन या पर्न दिइएको छैन । एमाओवादीभित्र मुख्य भ्रष्टाचारीका रूपमा प्रचण्ड रहेको आरोप हालै मात्र विभाजित नेकपा–माओवादीका नेताहरूले लगाएका छन् । प्रचण्डमाथि छानबिन नभएपछि अन्यविरुद्ध उजुरी पर्नु या छानबिन हुनुको कुनै अर्थ नरहने ठानिन्छ । प्रचण्डको ‘नाक जोगाउन’ कसैलाई ‘बलिको बोको’ नै बनाइएछ भने पनि त्यसले भ्रष्टाचार नियन्त्रणमा कुनै योगदान पुर्‍याउने देखिँदैन ।
सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार एमाओवादी नेताहरू वर्षमान पुन अनन्त, हिसिला यमी, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा प्रभाकर, अग्नि सापकोटा, लोकेन्द्र विष्टमगर, चन्द्रबहादुर थापा सागरलगायत नेता तथा केही लडाकु कमान्डरहरूविरुद्ध अमिक शेरचनसमक्ष उजुरी परेको बुझिएको छ ।

राजीनामा नाटक मात्र !
शिविरमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि विभिन्न जिल्लाका सातै डिभिजनका लडाकु कमान्डरहरूले पदबाट सामूहिक राजीनामा दिए पनि उनीहरू डिभिजन कमान्डरको हैसियतमा काम गरिरहेका छन् । गत साउन पहिलो साता राजधानीमा बसेको पार्टीको सातौँ विस्तारित बैठकमा शिविरका कमान्डरहरूले लडाकुका नाममा आएको रकम हिनामिना गरेको भन्दै बैठकमा सहभागी अन्य कमान्डरहरूले चर्को विरोध गरेपछि सबै डिभिजनका लडाकु कमान्डरहरूले जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।
बैठकमा प्रथम डिभिजन इलामका यमबहादुर अधिकारी, द्रोस्रो डिभिजन सिन्धुलीका सुकबहादुर रोका, तेस्रो डिभिजन शक्तिखोर चितवनका धनबहादुर मास्की, चौथो डिभिजन नवलपरासीका तेजबहादुर ओली, छैटौँ डिभिजन सुर्खेतका महेन्द्रबहादुर शाही, सातौँ डिभिजन कैलालीका सन्तु दराईले सामूहिक राजीनामा दिएका थिए । उनीहरूसँगै ती डिभिजनका सहायक कामन्डरहरूले पनि पदबाट राजीनामा दिएका थिए । त्यतिबेला उनीहरूले शिविरभित्र भएको भनिएको आर्थिक अनियमितता आंशिक रूपमा स्वीकार्दै पदबाट राजीनामा दिएका थिए । उनीहरूको राजीनामापछि मात्र आर्थिक अनियमितताका विषयलाई लिएर अवरुद्ध बैठक विस्तारित बैठकले गति लिएको थियो ।
एमाओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले राजीनामा दिएको भनिएका सबै लडाकु कमान्डरहरूले नियमित काम गरिरहेको बताए । उनले भने, ‘लडाकु कमान्डरले राजीनामा दिए पनि पार्टीले उनीहरूको राजीनामा स्वीकृत नगरेकाले नियमित काम गरिरहेका छन् ।’ ‘राजीनामा दिए पनि पार्टीले नै उनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न भनेपछि उनीहरूले काम गरिरहेका हुन्,’ बस्नेतले भने, ‘उनीहरूको कामले छानबिन समितिलाई कुनै असर गर्छ जस्तो लाग्दैन ।’
प्रथम डिभिजनका कमान्डर अधिकारीले पनि आफूहरूले नियमित काम गरिरहेको बताए । उनले भने, ‘पार्टीले हाम्रो राजीनामा स्वीकृत नगरेको र पार्टीले नै काम गर्न भनेपछि नियमित काम गरिरहेको बताए । स्रँेतका अनुसार शिविरमा भएकाले आर्थिक अनियमिततामा केन्द्रीय नेतृत्वको पनि संलग्नता भएकाले कमान्डरहरूले दिएको राजीनामा पार्टीले स्वीकृत नगरी साविककै जिम्मेवारीमा उनीहरूलाई काम गर्न भनेका हुन् । त्यसैगरी पार्टीकै निर्देशनअनुसार शिविरमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न विस्तारित बैठकले सचिव पोष्टबहादुर बोगटी संयोजकत्वको छानबिन समितिले पनि कुनै काम थालेको छैन । समितिका संयोजक बोगटीले आफू व्यस्त रहेकाले यसबारे केही बताउन नसक्ने बताए । उनले भने, ‘म अहिले अन्य काममा व्यस्त रहेकोले लडाकुबारे केही बोल्दिनँ ।’

वाईसीएल बेपत्ता
एक समयको सर्वाधिक चर्चित सङ्गठन ‘वाईसीएल’ बेपत्ता भएको छ । विपक्षीहरूलाई आतङ्कित तुल्याउन एमाओवादीले अस्तित्वमा ल्याएको उक्त सङ्गठनका गतिविधि केही समययता शून्यप्राय: हुँदा मुलुकमा तनाव घटेको महसुस त गराएको छ । तर, लडाकु पृष्ठभूमिका व्यक्तिहरूको ठूलो जत्था एकाएक गायवझैं भइदिँदा त्यसले अनेकौँ आशङ्का पैदा गराएको छ । युद्धकालका वास्तविक लडाकुलाई ‘वाईसीएल’का रूपमा ब्यारेकमा राखेर एमाओवादी नेतृत्वले जे–जस्ता उपलब्धि हासिल गर्ने योजना बनाएको भए पनि हिजोका योद्धाहरू अहिले लाखापाखा लाग्ने स्थिति बनेको छ । क्रान्तिका लागि भन्दै ज्यान हत्केलामा राखेका युवाहरूमध्ये केही वैदेशिक रोजगारीमा गएका छन् भने बाँकी अधिकांश आफ्नै निजी जीवनमा फर्केर खेतीपाती र विभिन्न व्यवसायमा लागेका छन् । पार्टी नेतृत्वको भूमिकाले वाईसीएलमा आबद्ध युवाहरू सबैलाई निराश तुल्याएको छ । त्यसैले ०५४ सालदेखि पार्टीमा लागेर ‘वाईसीएल’ बनेका सुदन राईले भने, ‘पार्टीले हामीलाई रस निचोरेको कागतीजस्तै बनाएर छोड्यो ।’
खोटाङ सिम्पानीका पैंतीस वर्षीय राईले भने, ‘अहिले पार्टीको सम्पर्कबाट टाढा रहेर आफ्नो व्यवसायमा लागेको छु ।’ ‘पार्टीले हामीलाई वास्ता नगरेपछि हामी पनि किन पार्टी खोज्दै जाने,’ उनले भने, ‘त्यसैले अहिले पार्टी सम्पर्कभन्दा बाहिर बसी आफ्नै काममा व्यस्त भएका हौँ ।’
पार्टीमा प्रवेश गरेदेखि नै लडाकुका रूपमा पार्टीमा लागे पनि पछि लडाकुबाट वाईसीएल बनेका राईले भने, ‘पार्टी नेताहरूको निर्देशन र सल्लाहमा वाईसीएल भएँ, सुरुमा त फाइदा नै भएजस्तो लागेको थियो, तर बिस्तारै समस्या थपिँदै गए, र हामीलाई पार्टीले टाढा गराउँदै लग्यो ।’
बौद्धमा बस्दै आएका राईले अहिले तरकारी पसल राखेका छन् । ‘यसले बिहान–बेलुकाको खानाको समस्या समाधान गर्न सहयोग पुर्‍याएको छ,’ उनले भने । गाउँका साथीहरूसँग ऋण खोेजेर तरकारी व्यवसाय गरेका राईको भनाइ थियो, ‘जनमुक्ति सेनाबाट वाईसीएल भएका म मात्र होइन, धेरै साथीको हालत मेरोभन्दा नराम्रँे छ । नेताका वरिपरि घुम्ने र उनीहरूकै चाकडी गर्नेहरूले त राजधानीमा राम्रै चकचकी गरेका छन्, नेताको पछि नलागी पार्टी र क्रान्तिमा लागेकाहरूचाहिँ सुकुम्बासीको अवस्थामा छौँ ।’
गुल्मीका पूर्वसभासद् एवम् वाईसीएल नेता चन्द्रबहादुर थापा सागरको नेतृत्वमा वाईसीएलको जिम्मेवारी सम्हाल्दै आएका राईले अहिले सागरले पनि वास्ता गर्न छाडेको बताए । राईले भने, ‘हाम्रो समस्या न वाईसीएलका नेताले सुन्छन् न त पार्टी नेतृत्वले नै, त्यसैले हामी आफैं पार्टीबाट टाढिन बाध्य भएका छौँ ।’ यसरी पार्टीको सम्पर्कबाट टाढा रहेर आफ्नो व्यवसायमा लाग्नेहरू वाईसीएल नेता राई मात्र होइन अन्य धेरै छन् ।
वाईसीएलका ललितपुर जिल्ला प्रमुख विश्वासले पनि वाईसीएलमा लागेका साथीहरूको अवस्था दयनीय भएको बताए । ‘वाईसीएलमा लागेका साथीहरू सम्पर्कमा चाहिँ हुनुहुन्छ, तर, कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जानकारी छैन,’ उनले भने, ‘साथीहरूको अवस्था दयनीय छ, उनीहरूलाई बिहान–बेलुकाको खानेकुरा जोहो गर्दैमा ठीक छ ।’ धेरै साथी पार्टी कामलाई भन्दा पनि आफ्नो दैनिकी चलाउनका लागि व्यापार–व्यवसायमा लागेको जानकारी पाएका छौँ,’ विश्वासले थपे, ‘हामी आफैं पनि समस्यामा रहेकाले पहिलेको जस्तो नियमित सम्पर्क र भेटघाटमा छैनौँ ।’
‘धेरै साथी गाउँ फर्किएर आफ्नो खेती–किसानीमा लागेका छन्, केही राजधानीमै रहेर विभिन्न रोजगारी गरिरहेका छन्,’ उनले भने, ‘आर्थिक सङ्कटका कारण अहिले हामी सबै छिन्नभिन्न भएका छौँ र आ–आफ्नो सोचाइका साथ अघि बढेका छौँ ।’ ‘पार्टीको काम पर्दा सम्पर्कमा आउने, नत्र नआउने गर्छौं,’ उनले भने, ‘सुरुमा पार्टीकै मात्र भरपर्दा अहिले समस्या भएको छ ।
म आफैं पनि आर्थिक अभावका कारण विशेष काम परेको बेलामा मात्र पार्टीको सम्पर्कमा जाने गरेको छु,’ उनले भने, ‘अहिले म अर्गानिक खेतीतिर लागेको छु ।’ ‘पार्टीले केही नहेर्ने भएपछि आर्थिक जोहोका लागि त केही न केही गर्नैपर्‍यो, त्यसैले ललितपुरमा अर्गानिक खेतीको व्यवसाय सुरु गर्न लागेका छौँ,’ उनले थपे । आफ्नो ललितपुर नै कार्यक्षेत्र भएकाले ललितपुरमा तरकारी खेती, च्याउ खेती तथा कुखुरापालनको व्यवसाय सुरु गर्न लागेको उनले बताए ।
ललितपुरमा स्वरोजगारका कार्यक्रमहरू पनि अघि सार्न लगिएको उनले बताए । ‘आर्थिक अभावमा अहिले स्वरोजगारको कार्यक्रम अघि बढाउन सकिएको छैन,’ उनले भने, ‘यसका लागि हामीले विभिन्न ठाउँमा भनिरहेका छौँ, केही सहयोग पाउनेबित्तिकै त्यो कार्यक्रम अघि बढ्छ ।’
भक्तपुरका वाईसीएल इन्चार्ज हेमन्त चौधरी पार्टीको सम्पर्कबाट बिस्तारै टाढिँदै व्यवसायतिर लागेका छन् । उनले भक्तपुरमै कुखुरापालन, च्याउखेती गरेका छन् । स्रोतका अनुसार अन्य आम्दानीमूलक कामलाई पनि उत्तिकै अघि बढाएका छन् । उनी पार्टीको काम गर्दा खान र लाउन समस्या भएको भन्दै पार्टी कामलाई भन्दा पहिले आफ्नो भविष्य बनाउनुपर्ने भन्दै व्यवसायतिर लागेको बताउँछन् । पार्टीलाई नै हामी चाहिँदैन भने हामीलाई किन पार्टी चाहियो भन्दै उनी व्यवसायतिर लागेका हुन् । त्यस्तै, यसअघिका भक्तपुरकै जिल्ला इन्चार्ज एवम् वाईसीएल उपत्यकाका सहइन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा पनि वाईसीएलको पगरीलाई पूरै त्यागेर समाचार दैनिक पत्रिकाको प्रधानसम्पादक बनेका छन् । तर, अहिले आर्थिक अभावको कारण देखाउँदै सो पत्रिका बन्द गरिएको छ । त्यस्तै, काठमाडांैका इन्चार्ज ज्वालाले पनि व्यवसाय नै सञ्चालन गरेका छन् । उनले पनि खेतीपातीकै काममा हात हालेका छन् ।
वाईसीएल नेता सागर पनि वाईसीएलको नेतृत्वबाट टाढा रहँदै एनजीओतिर लागेका छन् । उनी बेरोजगार युवा सङ्घ नेपाल खोली त्यसको अध्यक्ष बनेका छन् । उनले सम्पूर्ण बेरोजगार युवालाई सङ्गठित गर्ने र रोजगारीका लागि राज्यलाई दबाब दिने भन्दै सङ्घ स्थापना गरेका हुन् । रोजगारीका लागि राज्यलाई दबाब दिन आफूहरू त्यस अभियानमा लागेको उनको भनाइ थियो । पहिलेजस्तो अहिले वाईसीएलमै सक्रिय नभएको जानकारी गराउँदै उनले भने, ‘वाईसीएलका साथीहरू सम्पर्कमा छन्, उनीहरू काम पर्दा आउँछन् नत्र आफ्नै काममा व्यस्त रहन्छन् ।’
‘आमनेपाली जसरी नै बसेका छन् वाईसीएलका साथीहरू पनि अहिले त्यसरी नै बसेका छन्,’ सागरले भने, ‘वाईसीएलका पूर्वनेता दीपशिखालाई लक्षित गर्दै वाईसीएलमा लागेको साथीहरूले तपाईंले जे काम गर्नुभएको छ, उनीहरूले पनि त्यस्तै गरेका छन् ।’ उनले सबै वाईसीएलले आफ्नो जोह आफैं गरेको जानकारी गराउँदै भने, ‘साथीहरूले जीविकोपार्जनका लागि विभिन्न व्यवसाय गरिरहेका छन्, यो राम्रो कुरा हो ।’
स्रोतका अनुसार उपत्यकामा खटिएका वाईसीएलका कार्यकर्ताहरू राजधानीका विभिन्न टोलको फोहोर सङ्कलन गर्ने र त्यसबापत घरधनीहरूसँग पैसा लिने गरेका छन् । वाईसीएलका एक नेताले भने, ‘अहिले साथीहरू अत्यन्तै कष्टपूर्ण जीवन बिताइरहेका छन्, र उनीहरू बिस्तारै पार्टीको सम्पर्कबाट टाढिँदै गएका छन् ।’ माओवादी स्रोतका अनुसार उपत्यकामा पार्टीको पूर्णकालीन वाईसीएल कार्यकर्ता तीन सयभन्दा बढी छन् । उनीहरू विभिन्न स्थानमा सामूहिक कोठा लिएर बसेका छन् । कतै आक्रमण गर्न जानुपर्‍यो, कसैको पैसा उठाउनुपर्‍यो, विरोध प्रदर्शन गर्नुपर्‍यो भने ती वाईसीएलका कार्यकर्ता सामूहिक रूपमा जाने गर्छन् । वाईसीएलका एक नेताले भने, ‘पार्टीको होलटाइमर वाईसीएल पनि छन्, तर तिनीहरूलाई कुनै वास्ता नगर्दा अपराधका घटना बढ्न सक्ने सम्भावना देखिएको छ ।’ उनले थपे, ‘यसबारेमा हामीले पार्टी नेतृत्वलाई पनि जानकारी गराएका छौँ तर, कुनै प्रतिक्रिया आएको छैन ।’
एमाओवादीबाट अलग हुँदै वैद्य समूहको नेपाल कम्युनिस्ट पार्टी–माओवादीमा लागेका वाईसीएल नेता तथा कार्यकर्ताचाहिँ नयाँ पार्टीको सङ्गठन विस्तारमा लागेका छन् । वाईसीएलनेतृ उमा भुजेलले भनिन्, ‘वाईसीएलमा लागेका साथीहरूको आर्थिक अवस्था दयनीय भए पनि उनीहरू यतिबेला पार्टीका काममा लागेका छन् ।’ अयोग्य भनिएका लडाकु, स्वेच्छिक अवकाश रोजेका लडाकुहरूलाई सङ्गठित गराउने क्रम जारी रहेको भुजेलको भनाइ थियो ।

पुनस्र्थापनाको पक्षमा, देउवा उभिनुका तीन कारण
संविधानसभा पुनस्र्थापनालाई कांग्रेसले एउटा विकल्पका रूपमा स्वीकार गरेपछि कांग्रेस नेता शेरबहादुर देउवा सर्वाधिक प्रसन्न हुनुभएको छ । पार्टी सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले बोलाएका बैठकहरूमा अनुपस्थित भएर असन्तुष्टि जनाउने देउवा गत शनिबार कांग्रेस पदाधिकारी तथा अन्य खास नेताहरू सम्मिलित बैठकमा सहभागी हुनुभयो । भदौ २९ गते शुक्रबारको त्यस्तै बैठकमा भने देउवाले भाग लिनुभएको थिएन । सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासस्थानमा शुक्रबार र शनिबार पदाधिकारी तथा राजधानीमा उपलब्ध खास–खास नेताहरूको बैठक आयोजना गरिएको थियो । सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरू डा. रामशरण महत, डा. नारायण खड्का, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि तथा मनोनीत महामन्त्री कृष्ण सिटौलालगायतको उपस्थिति रहेको बैठकमा डा. नारायण खड्काले ‘पार्टी पुनस्र्थापनाको पक्षमा जाने हो कि चुनावमा स्पष्ट हुनुपर्‍यो, सभापतिज्यू चुनावको कुरा गर्ने देउवाजी पुनस्र्थापनाको, के गर्ने हो एउटै स्पष्ट धारणा हुनुपर्‍यो’ भनी भन्नुभएपछि सभापति कोइरालाले देउवालाई टेलिफोन गरी बैठकमा उपस्थित भइदिन आग्रह गर्नुभयो । देउवाले त्यस दिनको बैठकमा आफू आउन नसक्ने बताएपछि सभापति कोइरालाले सदासयता देखाउँदै भोलिपल्ट शनिबार (भदौ ३० गते) पुन: बैठक आयोजना गर्नुभयो । शनिबारको बैठकमा उपस्थित हुनुअघि देउवाले संविधानसभा पुनस्र्थापनाबारे सकारात्मक निर्णय हुनसक्ने या नसक्ने भन्नेबारेमा आफ्ना मान्छेहरूमार्फत बुझेको बताइन्छ । शनिबारको बैठकमा उपस्थित भएर पनि उहाँले अरू केही बोल्नुभएन, बोल्नुभयो, ‘चुनाव हुने स्थिति छैन, संविधानसभा नै पुनस्र्थापित गर्नुपर्छ ।’ सभापति कोइराला ताजा जनादेशको पक्षमा हुनुहुन्छ, उहाँ ‘पुनस्र्थापना’लाई गम्भीर राजनीतिक गल्तीका रूपमा बुझ्नुहुन्छ । तथापि उहाँले यही विषयलाई लिएर विवाद बढाउन चाहनुभएन । अन्तत: गत जेठ २ गते भएको पाँचबुँदे सम्झौतालाई मानेमा संविधानसभा पुनस्र्थापित गर्न सकिने निर्णय उक्त बैठकमा भयो । जब कि पार्टी सभापति सुशील कोइराला र केन्द्रीय समितिका दुईतिहाई बहुमत सदस्य ताजा निर्वाचनमै जानुपर्छ भन्ने पक्षमा छन् । र, कांग्रेसले औपचारिक निर्णय गर्नु परेका दिन निर्वाचनकै पक्षमा जाने निर्णय गर्ने निश्चित छ । पुनस्र्थापना गर्दा पार्टी धोखाधडीको सिकार बन्न सक्नेतर्फ कांग्रेसका अधिकांश नेता सचेत देखिएका छन् । बाह्रबुँदे सम्झौतायता प्रचण्डले सैयौँपटक कांग्रेस नेतृत्वलाई झुक्याइसकेका छन् र क्रमश: कांग्रेसलाई कमजोर बनाउँदै लैजाने प्रचण्ड भूमिकाको चक्रब्युहमा फस्न नहुनेमा कांग्रेसका सबैजसो नेता स्पष्ट छन् । तर, शेरबहादुर देउवा भने पार्टीको भावनाविपरीत संविधानसभा पुनस्र्थापनाको एकोहोरो रट लगाउँदै हुनुहुन्छ । देउवा त्यसरी पुनस्र्थापनाको पक्षमा उभिनुका पछाडि तीनवटा कारण रहेका छन् । पहिलो कारण देउवाले प्रचण्डबाट पुनस्र्थापित भएमा प्रधानमन्त्री बनाइदिने आश्वासन पाउनुभएको छ, दोस्रो कारण नेपालमा इसाईकरण र जातीय राज्यका निम्ति लगानी गरिरहेका केही पश्चिमा मुलुक (जो संविधानसभा पुनस्र्थापित गर्न चाहन्छन्) सँग देउवा परिवारको घनिष्टता रहेको र तिनको चाहना पूरा गर्नुलाई देउवा आफ्नो कर्तव्य ठान्नुहुन्छ, तेस्रो कारण कुनै बेला सुदूरपश्चिममा लोकप्रिय रहेका देउवाले आफ्नो लोकप्रियता गुमाइसक्नुभएको छ, गत निर्वाचनमा झिनो मतले विजयी हुनुभएका देउवाको लोकप्रियता खस्कँदै गइरहेको परिस्थितिमा उहाँलाई निर्वाचनमा विजयी हुनेमा विश्वास छैन । निर्वाचनमा पराजित होइने डरका कारणले पनि देउवाले पुनस्र्थापनामा जोड दिनुभएको बुझिन्छ । संविधानसभा पुनस्र्थापित भएमा प्रचण्डहरूको हात माथि पर्छ र प्रजातान्त्रिक शक्तिहरू नराम्रोसँग किनारा लाग्ने अवस्थामा पुग्नेछन् भन्ने सम्भावित तथ्यप्रति कुनै सरोकार नराखी आफैँलाई केन्द्रबिन्दुमा राखेर धारणा बनाउनाले पार्टीमा देउवाप्रतिको विश्वासमा थप ह्रास आएको छ । स्मरणीय छ, २०५८ सालमा प्रधानमन्त्री भएपछि माओवादीसँगको युद्धविराम गरी पहिलोपटक वार्ता गर्ने पनि शेरबहादुर देउवा नै हुनुहुन्छ । पहिले उज्यालोमा प्रहरीसँग पनि लड्न सक्ने क्षमता नभएका माओवादीले युद्धविरामको उपयोग गर्दै चार महिनापछि नेपाली सेनाको ब्यारेकमै हमला गर्ने शक्ति सङ्ग्रह गरेका थिए । देउवाको उक्त कार्यकालमा माओवादीले प्रहरी, सेनाको तल्लो तहमा मान्छे घुसाउने, राज्यका सूचनाहरू नियमित प्राप्त गर्ने, आर्थिक स्रोतहरूको विस्तार गर्ने, हातहतियारहरूको आवश्यक प्रबन्ध गर्ने र जनसम्पर्क गरी आफ्नो सञ्जाललाई सुदृढ बनाउने काम गरेका थिए । देउवाले उपलब्ध गराएको उक्त मौकाकै कारण माओवादीहरू सेनासँग भिड्ने हैसियतमा पुगेका थिए । अहिले देउवाले भनेझैं संविधानसभा पुनस्र्थापित गरियो भने नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलन महासङ्कटमा पर्ने र आगामी कैयन वर्ष देशले प्रचण्डको अधिनायकवादी सत्ता व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ । कुनै बेला राजालाई ‘कु’ गर्न सहज वातावरणमा बनाइदिने देउवाले माओवादीलाई क्रान्ति सम्पन्न गर्न पनि सहयोग पुर्‍याएर विश्वराजनीतिको इतिहासमा चरम दक्षिणपन्थी र चरम वामपन्थीलाई सहयोग पुर्‍याउने एकै व्यक्तिका रूपमा नयाँ कीर्तिमान राख्न खोज्नुभएको ठानिएको छ ।
देउवाको हठलाई बुझेर पार्टी सभापतिले गत जेठ २ गतेको पाँचबुँदे सम्झौता क्रियाशील गरिएमा पुनस्र्थापित गर्न सकिने निर्णयमा पार्टीलाई पुर्‍याउनुभएको छ । संविधानसभा पुनस्र्थापित हुनेबित्तिकै प्रधानमन्त्री बन्ने विश्वासमा रहेका देउवाले विवाद मच्चाउन चाहेको बुझेर नै सभापति कोइरालाले सर्तसहित पुनस्र्थापनाको एजेण्डालाई विकल्पमा राख्नुभएको भए पनि उहाँ ताजा जनादेशकै पक्षमा दृढतापूर्वक उभिनुभएको निकटवर्तीहरूले बताएका छन् ।

के छ पाँचबुँदे सहमतिमा ?
गत जेठ २ गते राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन गर्न एमाओवादी सहमत भए संविधानसभा पुनस्र्थापनामा जान नेपाली कांग्रेस र एमाले सहमत भएका छन् । पाँचबुँदे उक्त सहमति कार्यान्वयन भए मुलुकमा एघार प्रदेशको सङ्घीय राज्य खडा हुनेछ भने संसद्को सर्वोच्चता हुने शासकीय प्रणाली लागू हुनेछ । उक्त सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेतृत्वमा सहमतिको सरकार गठन गर्न पनि दलहरूबीच आन्तरिक सहमति भएको थियो । अहिले सो सम्झौता कार्यान्वयन गर्ने पक्षमा एमाओवादी छैन, उनीहरूले अर्कै सम्झौता गरी अगाडि जानुपर्छ भन्ने धारणा बनाएका छन् । एमाओवादी उक्त सम्झौताप्रति इमानदार भएमा बाबुराम भट्टराईले तत्काल प्रधानमन्त्री पद त्याग गर्नुपर्नेछ र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरिनेछ । तर डा. भट्टराई अहिलेसम्म पद त्याग गर्ने मानसिकतामा छैनन् र त्यसबेलाको सहमतिप्रति एमाओवादी अहिले विमति राख्दछ । त्यस्तै, मधेसी मोर्चाको पनि पाँचबुँदे सहमतिप्रति असहमति रहेको छ । के छ त पाँचबुँदे सहमतिमा ? पाठकहरूको जानकारीका लागि सहमतिको पूर्ण विवरण पुन: प्रकाशित गरिएको छ ।

यसरी जिल्लिए गच्छदार
आफूले चाहेको व्यक्तिलाई आईजीपी नियुक्त गर्न नपाए सरकार छोड्छु भनेर धम्की दिनुहुने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उनको रोजाइका व्यक्ति भीष्म प्रसाईंलाई आईजीपी बनाउन सकेनन्, तर उनले सरकार पनि छोडेनन् । गच्छदारको प्रयास कसरी असफल भयो र आईजीपी चयन गर्न नपाए पनि किन उनले सरकार छोडेनन् भन्ने सर्वत्र चासो र जिज्ञाशा उत्पन्न भएको छ । प्राप्त जानकारीअनुसार गच्छदारले पहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रसाईंका पक्षमा कन्भिन्स गर्न प्रयास गरेका थिए । कुनै हालतमा पनि प्रधानमन्त्री कन्भिन्स हुने नदेखिएपछि गच्छदारले प्रधानमन्त्रीलाई सरकार छोड्छु भनेर धम्क्याउन थाले । त्यसरी एकातिर प्रधानमन्त्रीलाई धम्क्याएर गच्छदारले एमाओवादी अध्यक्ष प्रचण्डलाई भने अर्का एआईजीपी नवराज ढकाललाई आईजीपी बनाउन प्रस्ताव गरे र प्रचण्ड गच्छदारको कुरामा सहमत पनि भए । प्रचण्डले प्रधानमन्त्री भट्टराईलाई सम्पर्क गरी ढकाललाई आईजीपी बनाउन ‘निर्देशन’ दिएका थिए । पार्टी अध्यक्षको ‘निर्देशन’पश्चात् प्रधानमन्त्री पनि ढकाललाई नै आईजीपी बनाउने निष्कर्षमा पुगेका थिए । तर, विभिन्न व्यक्तिहरूसँगको छलफलपश्चात् प्रधानमन्त्रीले ढकाललाई आईजीपी बनाउने कुरा फिर्ता लिए र पुन: कुवेरसिंह रानाकै पक्षमा उभिए । उता गच्छदारले मधेसी मोर्चाभित्र महन्थ ठाकुरलगायतलाई कुवेरका विरुद्ध कन्भिन्स गर्ने प्रयास गरेका थिए । तर, आर्थिक लेनदेनका आधारमा गच्छदारले आईजीपी बनाउन प्रयास गरेको र बाह्र करोड रुपैयाँको डिल भएको चर्चाका कारण मधेसी मोर्चा सम्बद्ध नेताहरू पनि गच्छदारलाई साथ नदिने निष्कर्षमा पुगेका थिए । प्रत्यक्ष रूपमा मोर्चाका नेताहरूले गच्छदारका विरुद्ध कुनै अभिव्यक्ति नदिए पनि भित्रभित्रै उनीहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै साथ दिने वचन दिइसकेका थिए । यसरी प्रधानमन्त्री आफ्नै अडानमा दृढ र मोर्चाका नेताहरूसमेत आफ्नो पक्षमा खुलेर नलागेको महसुस गरेपछि विजय गच्छदार हेरेको हेर्‍यै भएको र प्रधानमन्त्रीको अग्रसरतामा कुवेर रानालाई आईजीपी नियुक्त गर्ने कार्य सम्पन्न भएको थियो ।
विजय गच्छदारले कुनै हालतमा सत्ता छोड्न नसक्ने अनुमान प्रधानमन्त्रीलगायत सबैले पहिले नै गरेका थिए । नभन्दै उनले सरकार छोड्न सकेनन् । अहिले गच्छदार आईजीपी कुवेर रानासँग सीधा आँखाले हेर्न सक्ने अवस्थामा पनि छैनन्, तर आफूले नचाहेको व्यक्ति प्रहरी प्रमुख भएर आएपछि गच्छदारले आफ्नै मातहतको प्रहरी सङ्गठन कसरी परिचालन गर्न सक्लान्, जिज्ञाशाको विषय बनेको छ ।

प्रचण्डको ‘सिङ्गल एजेण्डा’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सरकारको निरन्तरतालाई र कांग्रेस–एमालेले सरकार परिवर्तनलाई मुख्य एजेण्डा बनाएका भए पनि एमाओवादी अध्यक्ष प्रचण्डले भने आफ्नो बेग्लै एक सूत्रीय एजेण्डा बनाउनुभएको छ । प्रचण्डनिकटको सूत्रले जनाएअनुसार उहाँको एउटै मात्र एजेण्डा संविधानसभाको पुनस्र्थापना हो । संविधानसभा पुनस्र्थापनाको पक्षमा अन्य दलहरू सहमत भए प्रचण्ड सङ्घीयताको एजेण्डालाई समेत तत्कालका लागि छोड्न तत्पर हुनुभएको छ । संविधानसभा पुनस्र्थापित भएमा तत्काल आफ्नो पक्षमा दुईतिहाई सभासद् उभिने विश्वास प्रचण्डले गर्नुभएको छ । त्यस्तो अवस्थामा सरकारको नेतृत्वसमेत आफ्नो हातमा आउने प्रचण्डको ठम्याइ छ । दुईतिहाई बहुमत जुटेमा संविधान संशोधन गर्ने र राष्ट्रपतिलाई महाभियोग लगाई हटाएर नयाँ राष्ट्रपति चयन गर्ने पनि प्रचण्डको योजना रहेको छ । त्यसैले यसअघि एमाओवादीले लिँदै आएको कुनै पनि एजेण्डालाई थाती राख्न प्रचण्ड तत्पर हुनुभएको छ । दलहरूबीचको सहमतिलाई संविधानसभाको बहुमत या दुईतिहाई सदस्यहरूले सजिलै परिवर्तन गर्न/गराउन सक्ने भएकोले दलहरूको बैठकमा उदारतापूर्वक प्रस्तुत हुने काम उहाँले गर्दै आउनुभएको छ । कांग्रेस–एमालेले भनेझैं अहिले सरकार परिवर्तन गरी कांग्रेसकै नेतृत्वमा सरकार गठन भए पनि त्यस्तो सरकार संविधानसभाको बहुमतले तत्कालै हटाउन सक्नेछ । संविधानसभाले लिएका निर्णयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि शक्तिले हलचल गर्न नसक्ने र त्यसपछिको राजनीति आफूले चाहेबमोजिम अघि बढ्ने भएकोले पुनस्र्थापनाको अगाडि अन्य सबै एजेण्डा प्रचण्डका निम्ति गौण बन्न पुगेका छन् । कांग्रेस सभापति सुशील कोइराला र एमालेका वरिष्ठ नेता केपी ओलीबाहेक अरू कसैले पनि प्रचण्डको खोटो नियतबारे पत्तो पाउन सकेका छैनन् । कदाचित प्रचण्डको भुलभुलैयामा परेर कांग्रेस–एमालेले पुनस्र्थापनामा सहमति जनाए भने यो उनीहरूका निम्ति आत्मघाती बन्ने र प्रचण्डका निम्ति बरदान सावित हुने निश्चित छ ।

मोरबाटै पूर्वराजा
पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र असोज ४ गते पृथ्वीराजमार्ग हुँदै पोखरा जानुहुने भएको छ । जनतासँग प्रत्यक्ष सम्पर्क र देवी–देवताका मन्दिरहरूमा पूजाआजाको उद्देश्य लिएर गण्डकी अञ्चलका ६ जिल्लाहरूको भ्रमणका निम्ति पोखरा जान लाग्नुभएका उहाँ असोज ११ गते राजधानी फर्कनुहुने जानकारी प्राप्त भएको छ । सम्वद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार पूर्वराजा ५ गते म्याग्दी, ६ गते पर्वत र बागलुङ, ७ गते स्याङ्जा, ८ गते तनहुँ, ९ गते कास्कीको विभिन्न स्थानमा जानुहुने कार्यक्रम छ । १० गते पोखरामै आराम परेपछि उहाँ ११ गते काठमाडौं फर्कनुहुने बताइएको छ । गण्डकी अञ्चलका लमजुङ र गोरखाका बासिन्दाबाट आमन्त्रण नभएकोले उल्लिखित दुई जिल्लामा भने उहाँ यसपटक नजानुहुने जनाइएको छ ।

थापाको नयाँ पत्रिका आउने
कान्तिपुर पब्लिकेशन्सका निर्देशक रामेश्वर थापाले आगामी वैशाखदेखि नयाँ पत्रिका प्रकाशन गर्ने भएका छन् । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासित विवाद भएपछि थापाले नयाँ पत्रिका प्रकाशनको तयारी गरेका हुन् ।
अर्काे प्रकाशनका लागि उद्योगपति राजेन्द्र खेतानलगायत अन्य केही चर्चित उद्यँेगपतिहरूसित कुराकानी भइरहेको बुझिएको छ । पत्रिकाको नाम ‘कीर्तिपुर’ वा अन्य यस्तै ऐतिहासिकतासित जोडिएको नामको खोजी भइरहेको छ ।
नयाँ पत्रिका प्रकाशनबारे थापाले कान्तिपुरका केही पत्रकार र अन्य नाम चलेका सम्पादकहरूसित छलफललाई तीव्र बनाएका छन् । ठूला मिडियामा माओवादीको लगानी बढेको स्वयम् काङ्ग्रेस र एमालेका नेताहरूबाट गुनासो आइरहेका बेला थापाले प्रकाशन गर्ने पत्रिकाले लोकतन्त्र र मानवअधिकारको पहरेदारी गर्ने बताइएको छ ।
कान्तिपुरका अध्यक्ष सिरोहियाले थापालाई झन्डै ६१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । थापा कान्तिपुर पब्लिकेशन्सका २५ प्रतिशतका हिस्सेदार हुन् । २५ प्रतिशतका दरले त्यसबेला उनको लगानी ३७ करोड रुपैयाँ थियो ।

त्रिवि मानविकी डिनमा डा. पोखरेल
त्रिविमा लामो समयदेखि रिक्त रहेको मानविकी तथा सामाजिक अध्ययन संस्थानको डिनमा वरिष्ठ मानवशास्त्री प्राध्यापक एवम् प्रजातन्त्रवादी प्राध्यापक सङ्घका महासचिव प्राध्यापक डा. चिन्तामणि पोखरेल नियुक्त हुनुभएको छ ।
आजभन्दा पाँच दशकअगाडि सिरहामा जन्मिएर सीताको जन्मभूमि एवम् राजा जनकको राज्य भएको जनकपुरधाममा अवस्थित रामस्वरूप–रामसागर बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक र मानवशास्त्र विषयमा त्रिविबाट मास्टर्स उत्तीर्ण गरी मित्रराष्ट्र भारतको नर्थ बंगाल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएका डा. पोखरेलको नियुक्तिलाई सम्बन्धित क्षेत्रमा सकारात्मक रूपमा लिइएको छ । नवनियुक्त डिन पोखरेलबाट यसै महिनाभित्र मानविकी सङ्कायमा परिवर्तन देखिनेखालको ऐतिहासिक घोषणा हुने विश्वास त्रिविअन्तर्गतका प्राध्यापकले लिएका छन् । उहाँका घोषणामा पीएचडी कार्यक्रममा विश्वविद्यालयमा सेवारत फुलटाइम टिचरहरूले बाह्रै महिना एप्लाई गर्न पाउने, आफूले चाहेको योग्यता पुगेका टिचरलाई सुपरभाइजर राख्न पाउने, विश्वविद्यालय सेवामा कार्यरत टिचरहरूका लागि पीएचडी कार्यक्रममा पचास प्रतिशत छुट हुने तथा रिटायर्ड टिचरलाई पनि पीएचडी सुपरभाइजर राख्न पाइने, एप्लाई गरेको तीन महिनाभित्र एकैचोटि पीएचडी स्थायी दर्ता हुनेजस्ता कुराहरू पर्ने विश्वास सम्बद्ध टिचर (प्राध्यापक)हरूले लिएका छन् ।
आफ्ना विश्वविद्यालयमा प्राध्यापनमा संलग्न सबै प्राध्यापकले पीएचडी गर्नुपर्छ भन्ने मान्यता राख्ने प्राध्यापक डा. पोखरेलले पीएचडी कार्यक्रमलाई बढीभन्दा बढी प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विश्वास आमनेपाली प्राध्यापकले लिएका छन् ।

महेन्द्रनारायण निधि मेमोरियल फाउन्डेसनको सहयोगार्थ महायज्ञ
काठमाडौं/ पहिलो संसद्का उपसभामुख स्वर्गीय महेन्द्रनारायण निधिको नाममा राजधानीको गौशालामा सञ्चालित अस्पतालको सहयोगार्थ राजधानीकै बसुन्धारामा महायज्ञ हुने भएको छ । यही असोज ६ देखि १३ गतेसम्म हुने श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञका लागि आन्तरिक तयारी तीव्र पारिएको महेन्द्रनारायण निधि फाउन्डेसनका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए ।
वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने महायज्ञका लागि काङ्ग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायको संयोजकत्वमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजक मूल समारोह समिति र अन्य विभिन्न समितिहरू पनि गठन गरिएको दाहालले बताए ।
महायज्ञ आयोजक मूल समितिले असोज ६ गते बिहान साढे १० बजे पशुपतिनाथ मन्दिरपरिसर र पाटन कृष्णमन्दिर परिसरबाट कलश–शोभायात्रा निकाल्ने कार्यक्रम तय गरेको छ । करिब दुई घन्टाको कलश–यात्रापछि साढे ११ बजे उद्घाटन कार्यक्रम र ४ बजे उद्घाटन कार्यक्रमको समापन गरिने तालिका आयोजकले बनाएको छ ।
प्रत्येक दिन बिहान ९ बजे कथा वाचन सुरु भई साढे पाँच बजे आरतीसहित समापन गरिने अध्यक्ष दाहालले जानकारी दिए ।
गौशालाको प्रहरी बिटनजिकै रहेको अस्पताल अहिले भाडाको घरमा रहेकाले बसुन्धारामा पनि प्रहरी बिटनजिकै जग्गा किनेर भवन बनाउन लागिएकाले आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भानुभक्त ढकालको भनाइ छ । उहाँका अनुसार महायज्ञमार्फत कम्तीमा पाँच करोड रुपैयाँ दानदक्षिणा सङ्कलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दानदक्षिणा गर्नेहरूलाई विभिन्न तरिकाले सम्मान गर्ने योजना बनाइएको पनि उनले जानकारी दिए ।

सद्भावले गर्‍यो विद्यार्थीको सम्मान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री रामशरण महतले सहकारी संस्थाले कृषि क्षेत्रमा काम गरेर किसानलाई आर्थिक रूपमा सम्पन्न गराउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेता महतले सद्भाव बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ साधारणसभाको उद्घाटन गर्दा उक्त कुरा बताउनुभएको हो ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको सामग्री उपभोक्ताले अत्यधिक महँगोमा खरिद गरे पनि त्यो रकम किसानले नपाएर बीचमा शोषण हुने गरेकोले अब सहकारी संस्थाले बीचमा बसेर किसान र उपभोक्तालाई शोषण गर्नेहरूलाई निरुत्साहित पार्न विशेष योजना बनाउनसमेत नेता महतले आग्रह गर्नुभयो । सहकारीले किसानलाई लक्ष्य बनाएर कार्यक्रम लागू गर्ने हो भने ग्रामीण किसान उपभोक्ता र सहकारी तिनै संस्थालाई लाभ पुग्ने उहाँको धारणा थियो ।
नेता महतले सहकारी संस्थाले हिजो द्वन्द्वका समयमा पनि गाउँबस्तीमै बसेर जनतालाई राहत दिएको स्मरण गर्दै जसरी त्यसबेला ठूला वाणिज्य बैंकहरू विस्थापित भएर हिँडे त्यसबेला सहकारी मात्र जनताको साथी बनेको बताउनुभयो । सहकारी निम्न वर्गका जनताको आर्थिक उन्नतिको वैशाखी भएकोले सद्भाव सहकारीले पनि त्यही निकायलाई सहारा दिनेमा आफू पूर्ण आशावादी रहेको नेता महतको कथन थियो । सद्भावको प्रस्तुत प्रतिवेदनप्रति खुसी व्यक्त गर्दै उहाँले सेयरहोल्डरलाई अझ बढी व्यवस्थित गर्दै आफ्नो ठाउँबाट गरिबी निवारणमा सद्भावको योगदान रहनेमा आफू ढुक्क रहेको दोहोर्‍याउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णबहादुर क्षत्रीको सभापतित्वमा सम्पन्न, उद्घाटन समारोहमा, पूर्वसांसद होमराज दाहाल, नरेन्द्र खतिवडा, कृष्णराज हमाल, पुष्पराज कुँवरलगायतका वक्ताले संस्थाको प्रगतिका लागि शुभकामना दिनुभएको थियो । उद्घाटन सत्रपछि भएको बन्दसत्रमा संस्थाका सचिव शान्तिकृष्ण अधिकारीले भावी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष श्यामकाजी श्रेष्ठले आयव्यय प्रस्तुत गर्नुभएको थियो । सभापतिको आशनबाट अध्यक्ष कृष्णबहादुर केसी संस्थाको विगतदेखि वर्तमानसम्म बताउँदै टोलमा ५९ जना समाजसेवीको सक्रियतामा स्थापित संस्थामा हाल दुई सय ७१ जना सेयर सदस्य भएको बताउनुभयो । संस्था छैटौं वर्षमा प्रवेश गर्दै गर्दा सेयर पुँजी एक करोड पाँच लाख ९७ हजार पाँच सय पुगेको छ भने विभिन्न प्रकृतिका निक्षेपमा एक करोड २९ लाख ३३ हजार नौ सय ८४ रहेको र सोमध्ये दुई करोड ३६ लाख ७४ हजार दुई सय ९८ कर्जा लगानी भएको अध्यक्ष केसीले बताउनुभयो । साधारणसभाले कृष्णबहादुर केसीको अध्यक्षतामा नयाँ नेतृत्वको समेत चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा नरेन्द्र खतिवडा, सचिव शान्तिकृष्ण अधिकारी, सहसचिव ठाकुरप्रसाद न्यौपाने, कोषाध्यक्ष श्यामकाजी श्रेष्ठ रहेका छन् । संस्थाका सदस्यहरूमा भूमिकुमार न्यौपाने, हर्कला काफ्ले, कोमलसुन्दर श्रेष्ठ, रवीन्द्र थापा अमी, राममणि अधिकारी, पवनकुमार भट्टराई रहेका छन् भने ऋण समितिको संयोजक हरिप्रसाद भण्डारी र सदस्य धनप्रसाद भट्टराई, लक्ष्मण केसी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पूर्वमन्त्री महतले ०६८ सालको एसएलसी परीक्षामा सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालय कोटेश्वरबाट सर्वोत्कृष्ट अङ्क ल्याउने ऋतिका लामिछाने र हीरालाल चौधरीलाई जनही रु. पाँच हजारसहित कदर पत्र दिएर सम्मान गर्नुभएको थियो । राजधानीमा च्याउसरह उमे्रका सहकारी संस्थाले वित्तीय कारोबार गरी नाफामुखी कामबाहेक अन्य कार्य नगरिरहेको अवस्थामा कोटेश्वरमा रहेको सद्भावले भने किरियापुत्री भवन निर्माणकार्यमा नेतृत्वदायी भूमिका गर्नेदेखि विद्यार्थीको मनोबल उकास्ने काम गरेर प्रशंसनीय काम गरेको छ ।

काङ्ग्रेसका तीन शीर्ष नेताबाट विभिन्न प्रतिभा सम्मानित
विभिन्न क्षेत्रमा योगदान गरेका करिब दुई दर्जन व्यक्तित्व नेपाली काङ्ग्रेसका तीन शीर्ष नेताका हातबाट अभिनन्दित भएका छन् । स्वर्गीय बीपी कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा नेपाल साँस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष पत्रकार ऋषि धमलासहित संयुक्त रूपमा विभिन्न क्षेत्रका प्रतिभाको अभिनन्दन गरेका हुन् । ‘देशमा शान्ति, सुशासन, लोकतान्त्रिक पद्धति, प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणका लागि र रिपोर्टर्स क्लब नेपालले जनआन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै देशकै उत्कृष्ट पत्रकारको रूपमा सम्मानसहित अभिनन्दन’ भनेर अभिनन्दित धमलालाई प्रदान गरिएको ताम्रपत्रमा उल्लेख छ ।
नेपाल साँस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित हुनेहरूमा रिपब्लिकाका प्रभाकर धिमिरे, गोरखापत्रका राजेन्द्र चित्रकार, राजधानी दैनिकका दिवाकर मैनाली, तराई टेलिभिजनका नरेश भट्टराई, नेपाल टेलिभिजनका जीवनाथ धमला, नयाँ पत्रिकाका लक्ष्मण सुवेदी, रेडियो नेपालका नवराज लम्साल पनि छन् । त्यसैगरी कलाकार गरिमा पन्त, सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक रामकृष्ण ढकाल, कलाकार सुनिल थापा, मदनदास श्रेष्ठ, जितु नेपाल, कृष्ण मल्ल, झरना थापालाई पनि कार्यक्रममा अभिनन्दित गरिएको थियो ।

चुच्चेपाटीमा थेरापी उपचार
भनिन्छ सेवा नै धर्म हो, स्वास्थ्य नै धन हो । पछिल्लो समयमा स्वस्थ रहनका लागि व्यायाम सबैभन्दा अचुक औषधि भएको महसुस गरी नयाँ र पुराना पुस्ता व्यायामतिर आकर्षित भइरहेका छन् । हाम्रा अग्रजहरूले खेतीकिसान गर्दा बगाएको पसिना नै स्वस्थ रहनका लागि महत्वपूर्ण औषधि रहेछ भन्ने कुराको ज्ञान अहिले आएर हुन थालेको छ ।
गाउँघरमा अझै पनि खेती–किसानी गरेरै पसिना बगाइन्छ भने सहरमा व्यायाम गरेर । पछिल्ला पुस्ताका सहरियाहरूमा योगा, व्यायाम गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । काठमाडौंमा त मर्निङवाक र व्यायाम गर्नेको जन्ती नै देखिन्छ । पानी–झरीमा व्यायाम गर्न नपाएर दिनभर आलस्य महसुस गर्ने राजधानीवासीलाई मध्यनजर राख्दै काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा म्याजिक फिटनेस एन्ड थेरापी सेन्टर स्थापना भएको छ ।
आफू जर्मन बस्दा देखेको क्लब स्वदेशमा गएर केही लगानी गरेर सेवा दिने सोच जागृत भएअनुसार थेरापी सेन्टर खोलेको सञ्चालक दीपक दवाडी बताउँछन् । सुगर, मानसिक तनाव, वाथ, ग्यास्ट्रिक, दमलगायतका विविध रोगलाई कन्ट्रोल गर्न अचुक औषधिका रूपमा प्रयोग हुने विभिन्न विद्युतीय मेसिन विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त भएको उनको दाबी छ । भाटभटेनी सुपरमार्केटको साइडमा ४० लाख लगानीमा खोलिएको थेरापी सेन्टरमा अत्यन्तै न्यून शुल्क लिएर सेवा दिने गरिएको सञ्चालक दवाडी बताउँछन् । रनिङका लागि विशेष प्रकारका टे«डमिल छन् भने क्रसटे«नर मेसिनले शरीरको विभिन्न अङ्गलाई सक्रिय तुल्याउने काम गर्ने उनी बताउँछन् । यस्तै अन्य अत्याधुनिक व्यायाम मेसिनहरू सो सेन्टरमा रहेका छन् ।
सहरीयाहरू यतिखेर पेट बढेर चिन्तित रहेका छन्, उनीहरूका लागि एमकस्टर मेसिन राखिएको छ । थेरापी सेन्टरमा प्राकृतिक उपचारतर्फ स्टिमवाथ, मसाज, थेरापी, चेयरमसाजसमेत राखिएको छ । मासिक एक हजारमा सदस्यता दिइने सेन्टरमा यतिखेर १४ वर्षका बालकदेखि ७३ वर्षका वृद्धसम्म सदस्य रहेका छन् ।
बीसीएम मेसिनदेखि प्राकृतिक चिकित्सासम्मको सेवा दिइएको थेरापी सेन्टरमा भीमसेनगोलाका ७३ वर्षीय गणेशप्रसाद पाण्डे शरीरको तौल वृद्धि भएर दम बढ्न थालेपछि त्यहाँको सदस्य बनेका रहेछन् । ७३ वर्षीय पाण्डे २० वर्षीय जवानले जस्तै व्यायाम गर्छन् भने आफ्नो तौल साइजमा आएको र दम रोकिएको उनी बताउँछन् । त्यस्तै बौद्धका बाबुराम ढकालको थेरापी सेन्टरमा आउनुपूर्व सुगर अत्यधिक थियो, अहिले त्यहाँ आएर व्यायाम गरेपछि सुगर स्वाट्टै घटेको उनीे बताउँछन् । अत्यन्तै कडा औषधि सेवन गरेका ढकाल यतिखेर औषधि छाडेर थेरापी सेन्टरमा व्यायाम गरिरहेका छन् ।
त्यस्तै चाबहिलकी सरस्वतीको सुगर पनि त्यहाँ आउनुपूर्व चार सय थियो, तर त्यहाँ आएर व्यायाम गर्न थालेपछि उनको सुगर एक सय १६ मा झरेको छ । थेरापी सेन्टरमा आउने अर्का सदस्यले आफूले यहाँ आएर व्यायाम गर्न थालेपछि मानसिक तनावसमेत कम भएको बताए । साइक्लिङ आफूलाई मन परेको उनको भनाइ छ । साइक्लिङबारे डा. आनन्द जिसी भन्छन्, ‘हेल्थ मन्दिरमा राखिएको साइकिल स्वास्थ्यका लागि अत्यन्त लाभदायक छ, साइकल चलाउने मान्छेलाई मुटुसम्बन्धी समस्या हुँदैन । त्यस्तै मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला पनि व्यायाम मानिसको सबैभन्दा ठूलो औषधि भएको बताउनुहुन्छ । मानिसको समय र स्थान दुवै नभएका बेला विभिन्न ठाउँमा खुलेका व्यायाम मन्दिरले मान्छेलाई स्वस्थ रहन एउटा इँटा थप गरेको उहाँको भनाइ छ ।
यस्तै, लामो समयदेखि बीसीएम मेसिन प्रयोग गरेका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले यो मेसिनले शरीरमा भएको रगतलाई राम्रोसँग सुर्कलेसन गराई नसा खुलाउने हुँदा धेरै रोग ठीक गर्ने दाबी गर्नुहुन्छ ।
म्याजिकल फिटनेसका सञ्चालक दीपक दवाडीले हेल्थ क्लबलाई सेवामुखी बनाउन चाहेको बताए । अहिले न्यून सङ्ख्या सदस्य भए पनि बिस्तारै बढ्दै जाने उनको विश्वास छ । राजधानीमा अहिले जिम गर्ने युवाको सङ्ख्यालाई समेत मध्यनजर राखी उनले त्यहाँ १६ आइटम जिम गर्ने मेसिन राखेका छन् ।
समयको कमी हुने र सुरक्षित स्थानको कमीले रोग भित्रभित्रै पालेर बसेका मान्छेलाई यो थेरापी सेन्टर एउटा बरदान सावित हुने त्यहाँ आउने सदस्यहरू बताउँछन् ।

रक्तदान कार्यक्रम सम्पन्न
विश्वप्रसिद्ध राजनीतिज्ञ बीपी कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस महोत्तरी काठमाडौं सम्पर्क समिति तथा समाज डेन्टल अस्पताल बानेश्वरको संयुक्त आयोजनामा रक्तदान तथा नि:शुल्क दन्तपरीक्षण कार्यक्रमको आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय समिति सदस्य रामचन्द्र तिवारी, पूर्वसभासद् किरण यादव, नेका महोत्तरी जिल्लाका पूर्वअध्यक्ष सीताराम भण्डारी, निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) का अध्यक्ष डा. बाबुराम पोखरेल, श्याम घिमिरेले बीपी कोइरालाका सम्बन्धमा आफ्ना धारणा राखेका थिए । शान्तिनगरस्थित निसहाय सेवा समिति परिसरमा आयोजित कार्यक्रम समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए भने निसहाय सेवा केन्द्रमा आश्रित वृद्धवृद्धालगायत अन्य व्यक्तिहरूले दन्तपरीक्षण गराएका थिए ।

जागरणका सारथि पुस्तकमा
नयाँ पुस्ताले एनडीप्रकाश चटौतबारे कम जानकारी राख्छ भने त्यो अस्वाभाविक होइन, तर हरेकले स्मरणमा राख्नैपर्ने एउटा नाम हो एनडी ‘प्रकाश’ चटौत । कुल २७ वर्ष मात्र धरामा क्रियाशील रहने मौका पाएका एनडी प्रकाशले सानो उमेरमै ठूलो छाप छोड्ने काम गरेका थिए । एक समाजसुधारक, प्रजातन्त्रवादी र विलक्षण प्रतिभाका धनी एनडीप्रकाशका बारेमा लेखिएका रचनाको सङ्ग्रह पुस्तकका रूपमा बजारमा आएको छ ।
‘जागरणका सारथि एनडी ‘प्रकाश’ चटौत’ नाममा प्रकाशित चार सय ८० पृष्ठको पुस्तकमा ४५ विद्वान् लेखक तथा राजनीतिकर्मीले ‘प्रकाश’का बारेमा लेखेका छन् । एउटै व्यक्तिलाई केन्द्र बनाएर लेखिएको भए पनि सबै लेख पठनीय र रोचक छन् । प्रदीप नेपाल, लोकेन्द्रबहादुर चन्द, मोदनाथ प्रश्रित, दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, प्रदीप ज्ञवाली, अर्जुननरसिंह केसी, हरिहर विरही, डा. डीपी भण्डारी, नरहरि आचार्य, बागेश्वरीदत्त चटौत, विश्वबन्धु थापा र मैयादेवी श्रेष्ठदेखि खेमराज भट्ट मायालुसमेतले एनडीप्रकाशका बारेमा जे–जस्ता धारणा प्रस्तुत गरेका छन् त्यसले एनडीको उचाइ उजागर गरेको महसुस गर्न सकिन्छ ।
उहाँको विचार र व्यवहारमा रहेको परिपक्वतालाई लेखकहरूले रोचक ढङ्गले प्रस्तुत गरेका छन्, लाग्छ– केही गर्न चाहनेलाई उमेरले छेक्दो रहेनछ । एनडीप्रकाश आमयुवाको निम्ति पे्ररणास्रोत बन्न सक्ने एक अभेद्य दृष्टान्त हुन् भन्ने कुराको पुष्टि प्रकाशित पुस्तकले गरेको छ । नेपालको इतिहासले कहिल्यै बिर्सन नमिल्ने र नसक्ने व्यक्तित्व एनडीप्रकाश चटौतबारे प्रकाशित उक्त पुस्तकको संयोजन तथा सम्पादनको भूमिका बागिश्वरीदत्त चटौत ‘वागीश’ले र सहयोगी सम्पादकको बारेमा आरडी ‘प्रभास’ चटौत, डा. जयराज आचार्य र हरिहर विरहीले भूमिका निर्वाह गर्नुभएको हो । एनडी ‘प्रकाश’ चटौत स्मृति प्रतिष्ठान महेन्द्रनगर, कञ्चनपुरद्वारा प्रकाशित पुस्तकको मूल्य रु. ५०० (व्यक्तिगत) र रु. १,००० (संस्थागत) रहेको छ ।

तीन वर्षअघि बितेकाको नाममा पनि भत्ता
लमजुङ । जिल्लामा कार्यरत एक गाविससचिवले सरकारद्वारा वितरण हुने सामाजिक भत्ता वितरणमा अनियमितता गरेको खुलासा भएको छ ।
उत्तरी लमजुङको खुदी गाउँ विकास समितिका सचिव एवम् अध्यक्ष गोविन्दबहादुर राउतले सरकारद्वारा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको भन्दै स्थानीय राजनीतिक दल, नागरिक समाज तथा उद्योग व्यवसायीहरूले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । सचिव राउतले सरकारद्वारा प्रदान गर्ने ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला र दलित बालबालिकाको पोषण भत्ता लक्षित वर्गसम्म नपुर्‍याई किर्ते भरपाई पेस गरी रकम हिनामिना गरेको बताइएको छ । स्थानीयहरूले सचिवले किर्ते गरी रकम हिनामिना गरेकाले आवश्यक खोज अनुसन्धान गरी कारबाही प्रक्रिया
अगाडि बढाउन जिल्ला प्रशासनसँग अनुरोध गरेका छन् ।
ती सचिवले ०६७ सालमा मृत्यु भएका वीरबहादुर तामाङको नाममा अझै पनि भत्ता बुझेर लिने गरेको स्थानीयवासीको कथन छ । यसैगरी मीनबहादुर तामाङ, बिलबहादुर गुरुङ, गौसरी गुरुङ, पूर्णकुमारी गुरुङलगायतको नाममा दोहोरो भत्ता बुझेको र टेकबहादुर तामाङ, जगमाया गुरुङ, सोमबहादुर गुरुङको भर्पाई गरी थप रकम बुझे पनि गाविसमा भने उनीहरूको नाम नभेटिएको बताइएको छ ।
यस्तैगरी दलित बालबालिकाहरू समीर सार्की, समीक्षा सार्की, यविना मिजार, भुवन मिजारलगायत २३ जनाको पोषणभत्ता नदिई सचिवले अनियमितता गरेको स्थानीयहरूले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले सचिवका विषयमा उजुरी परेकाले सत्यतथ्यबारे छानबिन गर्ने बताउँदै प्रजिअ भण्डारीले यदि सचिवले अनियमितता गरेको
पुष्टि भएमा कानुनी कारबाही गरिने बताएका छन् ।
यता स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले आवश्यक छानबिन गरी बद्मासी गरेको पाइएमा नियम–कानुनबमोजिम कारबाही गरिने बताए पनि सचिव राउतले भने ठूलो गाविस भएको र कार्यालय सहायक पनि नभएकोले सबै काम आफू एक्लै गर्नुपर्ने भएकोले भत्ता वितरणमा ढिलाइ भएको र जिविसबाट ल्याएको सामाजिक भत्ता वितरण गर्न बाँकी रहेको भन्दै उम्कने चाल चलिरहेको बुझिएको छ ।– छविलाल बगाले

हास्यकलाकार खेम सम्मानित
ललितपुर कला संस्कृति प्रतिष्ठान (लाका) ले हास्यकलाकार खेम शर्मालाई शनिबार एक समारोहबीच सम्मान गरेको छ । विगत तीन दशकदेखि नाटक, टेलिफिल्म र फिल्ममा हास्य अभिनयमा क्रियाशील रहँदै आएका कलाकार खेम शर्मालाई नेपाल सङ्गीत नाटक प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लले सम्मानपत्र प्रदान गरेका थिए । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीले शर्मालाई दोसल्ला ओढाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड मल्लले खेम शर्मालाई आफू निर्देशित नाटक सहनशीला सुशीलामा अभिनय गराएको स्मरण गर्दै हास्य कलाकारहरूले समाजका लागि उल्लेख्य कार्य गर्दै आएको बताए । चलचित्रकर्मी चेतन कार्कीले हाँसोका पात्र त अहिलेका राजनीतिज्ञहरू भएको भनेर व्यङ्ग्य गर्दै लाकाले पुराना हास्य कलाकारहरूलाई सम्मान गर्दै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा खेम शर्माबारे कलाकारहरू राजाराम पौडेल र प्रभाकर शर्माले बताएका थिए भने कवि सोमनाथ सुवेदी, प्रकाश धिताल, विनित ठाकुरले हास्य कविता वाचन गरेका थिए ।
लाकाले वसुन्धरा भुसाल, गोपालराज मैनाली (मरणोपरान्त), मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बेखानारायण, राजपाल थापा, धु्रव हाडा, सन्तोष पन्तलगायत १६ जना हास्य कलाकार तथा रंगस्रष्टाहरूलाई सम्मानित गरिसकेको छ ।