नीर शाहको ठट्यौली -राजन घिमिरे

नीर शाहको ठट्यौली -राजन घिमिरे


निकै रसिक कलाकारको रूपमा चिनिन्छन् नीर शाह । जीवनमा जे-जस्ता आपत्-विपत् परे तापनि कलाकारिता क्षेत्रमा निरन्तरताको बलियो नाम नै हो नीर शाह ।
मिजासिलो र फरासिलो व्यवहारका कारण नै नीर शाह सबै कलाकारका लागि प्रिय पनि बन्न सफल भएका छन् । चलचित्रकर्मीहरूको कुनै भेला होस् या माहोल, त्यो माहोललाई रमाइलो प्रदान गर्ने क्रममा नीर शाह पछाडि पर्दैनन् । सानादेखि ठूला कलाकारसम्मलाई एउटै व्यवहार गर्ने नीर शाहले यो हप्ता सिनेमासम्बन्धी एउटा कार्यक्रममा निकै रमाइलो प्रदान मात्र गरेनन्, सुस्ताएको माहोललाई निकै रौनकता पनि थपिदिए । कार्यक्रम थियो नववर्ष २०६७ सालको शुभकामना आदानप्रदान र बुलेटिन एक्सन/कट विमोचन, विमोचन आयोजक थियो- नेपाल चलचित्र निर्देशक समाज ।
कार्यक्रममा बोल्ने वक्ताहरू सबैले नेपाली सिनेमा उद्योगले भोग्नुपरेका र भोगेका समस्याहरूको बारेमा बोले । कतिले नेपाली सिनेमा उद्योगले २०६६ सालमा फड्को मारेको कुरा गरे भने कतिले फड्को मार्न नसकेको अभिव्यक्ति दिए । यसैगरी माहोल अगाडि बढिरहेकै समयमा अब बोल्ने पालो आयो चलचित्रकर्मी नीर शाहको । कार्यक्रम उद्घोषक चलचित्र निर्देशक विमल पौडेलले नीर शाहलाई शुभकामनाका शब्द बोल्न आग्रह गर्दा शाहको जवाफ थियो, ‘कति बोल्नु – पच्चीसौं वर्षदेखि बोल्दै आइरहेको छु । बरु यसो खानपिनतिर लागौँ न ।’ शाहको यो भनाइसँगै एकछिन हल नै हाँसोले गुञ्जायमान भएको थियो । माहोललाई तताउन र झोक्राएर बसेकालाई तताउन शाहको यो अभिव्यक्तिले महत्वपूर्ण भूमिका खेल्यो । अनि शाहले बोले, ‘२०६६ सालमा नेपाली चलचित्र उद्योगले फड्को मार्‍यो या मारेन थाहा भएन तर एउटी नायिका सञ्चिता लुइँटेलले भने नायक निखिल उप्रेतीलाई पाएर लड्को मारिन् । अर्थात् लड्कीले लड्को मारिन् ।’ फेरि यसपटक भने झनै हाँसोको फोहोरा नै फुट्यो हलमा ।
आफ्नो हरेक शब्दसँगै माहोल तताउन र रमाइलो प्रदान गर्ने मामिलामा अन्य चलचित्रकर्मीभन्दा अगाडि देखिनुभएका नीर शाहको तारिफ कार्यक्रममा थुपै्र चलचित्रकर्मीले खुलेर नै गरे । ‘उहाँलाई मान्नैपर्छ । जस्तो समय, अवस्था र माहोलमा पनि फिट हुन सक्ने गजबको शैली र विशेषता छ उहाँसँग,’ यसै भन्दै थिए चलचित्रकर्मी ।
कार्यक्रमको आयोजना गरेको थियो नेपाल चलचित्र निर्देशक समाजले । समाजको अध्यक्षको पदमा जितेपछि निकै सक्रिय देखिएका केपी पाठक शुभकामना आदान-प्रदानको बहानामा चलचित्रकर्मीको रामै्र जमघट गराउन सफल भए ।

चलचित्रकर्मी माझ ओलीको बोली

अहिलेसम्म धेरै भएको छ चलचित्रसम्बन्धी गोष्ठी, अन्तरक्रिया र छलफल । तर, यस्तो कार्यक्रमहरूको खासै उपलब्धि र कार्यान्वयन भने हुन सकिरहेको छैन । ‘अरू के भयो मलाई थाहा छैन, तर यो कार्यक्रमबाट उठेका छलफल, विषय र विचारलाई सम्बन्धित ठाउँमा पुर्‍याएर कार्यान्वयन गराएरै छाड्छौँ,’ चलचित्र विकास बोर्डका सदस्य एवम् जनपक्षीय चलचत्रिकर्मी सपन घिमिरेले दाबी गरे । यसै साता सम्पन्न चलचित्रसम्बन्धी एक कार्यक्रममा नेता र अभिनेतादेखि चलचित्रकर्मीहरूको रामै्र जमघट थियो । यो जमघटलाई मिलाइदिएको थियो जनपक्षीय चलचित्रकर्मी सङ्घले ।
मञ्च पाएको समयमा केही चलचित्रकर्मीहरूले त सास पनि नफेरी बोले भने चलचित्रको सेन्सर गरिने नियमलाई हटाउनुपर्नेतर्फ जोड दिए । तर, नेकपा एमालेका नेता केपी ओलीको भनाइ भने यस्तो थियो । ‘सेन्सर त गरिनु नै पर्छ । ताण्डवनृत्यको जमात बढिरहेको अवस्थामा मुलुकविरुद्ध बन्ने र बन्न सक्ने सिनेमाको त सेन्सर गरिनु नै पर्छ नि,’ ओलीको तर्क थियो । आफ्नै पार्टीको नेतृत्वको सरकारको नाजुक अवस्थाको बारेमा पनि खुलेरै नै बोले ओली, ‘टीबी रोगले ग्रस्त भएको मान्छेसँग मसलको आशा गर्नु बेकार छ । त्यसैले अहिलेको सरकार त्यस्तै भएका कारण सिनेकर्मीहरूले धेरै माग राख्नु राम्रो होइन ।’ ओलीको यो भनाइ सकिने नपाउँदै सिनेकर्मीहरू गाइँगुइँ गर्न थालिहाले- ‘हो रहेछ । ओलीको बोली अलि गतिलै हुँदोरहेछ ।’
यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष अमरराज गिरीले पहिले बोर्ड स्वायत्त हुनुपर्ने कुरा राखेका थिए । ‘चलचित्र उद्योगको विकास र विस्तारका लागि त म आफ्नोतर्फबाट जे पनि गर्न तयार छु,’ गिरीको भनाइ थियो ।
त्यसो त, चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक र निर्माता सङ्घका अध्यक्ष राजकुमार राई भने अलि बढी नै जङ्गिएका थिए । ‘राष्ट्रिय स्वाधीनताको विषयलाई उठाइएको सिनेमाहरूमा सेन्सर लगाइयो भने सेन्सर बोर्डका सदस्यलाई नै लछारपछार गर्न हामी बाध्य हुने छौँ,’ पाठकको आक्रोश थियो ।

झरनाविरुद्ध उनकै सहकर्मी

गत हप्ता एउटा सनसनी फैलियो नेपाली चलचित्र बजारमा- नम्बर वन नायिका बन्नका लागि नायिका झरना थापाले मिडियाहरूलाई पैसाको खोलो नै बगाइन् । बजारमा फेरि अर्को कुरा आयो- जसरी भए पनि २०६६ सालको नम्बर वन नायिका झरना थापा नै हुनुपर्‍यो । यो चर्चाले यस्तो व्यापकता छायो कि अब नेपाली कलाकारिता क्षेत्रमा पनि नामका लागि पैसाको खेल सुरु भएछ । त्यसो त, नायिकाहरूबीच आपसी समझदारी, नजिकको सम्बन्ध र राम्रो व्यवहार नहुनाले झरना थापाको बारेमा चलेको चर्चालाई असत्य भन्नेहरूको सङ्ख्या लामो भने थिएन । ‘होइन भन्न सकिन्न । हावा नलागीकन पात हल्लिन्छ र भन्या,’ सिनेमाका जानकारहरूको भनाइ यस्तो थियो ।
तर नायिका झरना थापाले भने यो कुरा अस्वीकार गरिन् । ‘म पैसाको खहरेसम्म त बगाउन सक्दिनँ भने कहाँबाट आयो खोला नै बगाउने कुरा,’ उनले प्रत्रि्रश्न गरिन् । यस्तो जवाफ दिँदैमा उनी उम्कन पाउने थिइनन् । फेरि घटना र विचारले झरनालाई सोध्यो- हावा नलागीकन पात हल्लन्छ ? ‘यहाँ त जबर्जस्ती पनि रूख हल्लाउन खोजिन्छ । तर, त्यसरी जबर्जस्ती रूख हल्लाउन खोज्नेले बुझनुपर्‍यो कि सधैंभरि त्यसरी जबर्जस्ती चल्दैन,’ राम्री झरनाले यसपटक भने मुख नराम्रैसँग बिगारेर जवाफ फर्काइन् ।
केही मिडियाका साथीहरूसँग राम्रो सम्बन्ध भएको कुरा भने स्वीकारिन् उनले । ‘यसो भन्दैमा सबै सम्बन्धलाई पैसामा नै दाँज्न त मिल्दैन नि । यो सब मेरो प्रगति देख्न नसक्नेहरूले चलाएको हल्ला हो,’ यो जवाफमा भने झरना झनै रिसाइन् । झरनाले बुझेकी रहिछिन् कि उनीविरुद्ध उनकै सहकर्मी अर्की नायिका लागेकी छिन रे । उसो भए तिनीहरू को हुन् त ? हाम्रो जिज्ञासालाई त्यति चित्तबुझदो जवाफ भने उनले दिइनन् । ‘म तिनको नाम लिन्नँ । पछाडिबाट आक्रमण गर्ने सधैं लाछी हुन्छन् भन्ने कुरा सबैले बुझेका छन् । एउटै क्षेत्रमा बसेर दुश्मनी मोल्नेको के कुरा गर्नु ?’ उनको आक्रोश थियो । झरनाको भनाइ छ- फलानोले नम्बर वन बन्न खर्च गर्‍यो भनेर मेरोविरुद्ध कुरा काटेर समय खेर फाग्नुभन्दा राम्रो काम गरे हुन्थ्यो नि ।

अचम्मलाग्दो प्रतिभा
प्रतिभालाई उमेरले छेक्दैन । पारिवारिक वातावरण र सहयोगी हातहरू भएमा त्यस्ता प्रतिभाले चाँडै प्रस्फुटन हुने अवसर पाउँछन् । यसको गतिलो उदाहरण बनेकी छन् सात वर्षीया उष्ना केसी र ३ वर्षीया अतिथि केसी । यी दुवै गायक एवम् शिक्षा प्रवर्द्धक उद्धव केसीका छोरी हुन् ।
राम्रोसँग बोली पनि स्पष्ट हुन नसक्ने उमेरमा निकै उत्साहित र अरूहरूलाई नै तीनछक पार्ने गरी यी दुई बालगायिका गत हप्ता नेपाल टेलिभिजनको शुभारम्भ कार्यक्रममा प्रस्तुत हुँदा निकै वाहवाही र तालीको गडगडाहट पाए उनीहरूले । आफ्ना यी दुई छोरीलाई साथ दिएका थिए उद्धव केसीले ।
केवल सुनेको भरमा मात्र र कुनै औपचारिक ज्ञानबिना नै गीत गाउन सफल उषा र अतिथिको प्रतिभा देखेर उनका पिता गायक उद्धव केसी खुसी व्यक्त गर्छन्, ‘साँच्चै सबै स्यावासी दिन्छन् यिनीहरूलाई । विश्वासै गर्न नसकिने प्रतिभा देखेपछि सबै तीनछक परेका छन् ।’
नेपाल टेलिभिजनको शुभारम्भ कार्यक्रममा प्रत्यक्ष रूपमा गीत गाउन स्टेजमा आउँदा उष्ना र अतिथिमाथि कसैले पनि विश्वास गरेका थिएनन् । जब यी दुईले कलिलो र मायालाग्दो आवाजमा गीत गाए तब दर्खकर्दीघाबाट गजवकै समर्थन आयो । यी दुईले
‘जस्तो बसायो त्यस्तै
बस्छ मानिसको बानी
बानीभित्र बसेको हुन्छ
सुख, दु:खको खानी…
अमेरिकामा लामो समयदेखि कानुन पेसामा संलग्न हुँदै आएका विनोद रोक्काले लेखेको गीत हो यो । आफ्ना छोरीको यो प्रतिभा देखेर निकै हौसिएका उद्धव केसी अब चाँडै छोरीको नाम र स्वरमा एल्बम पनि निकाल्ने तयारीमा छन् ।