जियाको रिहाइको पक्षमा बंगलादेशभर प्रदर्शन

जियाको रिहाइको पक्षमा बंगलादेशभर प्रदर्शन


बङ्लादेशको प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको रिहाई गरी स्वच्छ तथा निष्पक्ष निर्वाचनको आह्वान गर्दै उनका हजारौँ समर्थक तथा प्रशंसकले देशका प्रमुख शहरहरूमा प्रदर्शन गरेका छन् ।

मुसलमान बाहुल्य १६ करोड जनसङ्ख्या भएको बंगलादेशमा दुई पटकसम्म प्रधानमन्त्री बनेकी पूर्वप्रधानमन्त्री जियालाई भ्रष्टाचार तथा आर्थिक अपचलन गरेको अभियोगमा गत हप्ता अदालतले दोषी ठहर गरेपछि पक्राउ गरी जेल चलान गरिएको थियो । नेतृ जियालाई पाँच बर्षको जेल सजाय हुनेगरी गत हप्ता यहाँको अदालतले फैसला सुनाएको थियो ।

तर उनका समर्थकले अदालतको उक्त निर्णय राजनीतिक उद्देष्यबाट अभिप्रेरित भएको भनी सो आदेश मान्न नसक्ने भन्दै विरोध जनाएका छन् । बङ्गलादेश नेशनलिष्ट पार्टीले जियाविरुद्ध आएको हालैको फैसलामा पुनरावेदन गर्ने अपेक्षा गरेको छ । तर सो दलले जियाविरुद्ध अदालतबाट आएको उक्त निर्णयले आगामी डिसेम्बरमा हुने गरी तय भएको संसदीय निर्वाचनमा प्रभाव पार्ने देखेको छ ।

बिएनपीसमर्थक हजारौँ नागरिकले ढाकास्थित जेलमा रहेकी जियाको रिहाइको पक्षमा सोमबार देशैभर प्रदर्शन गरेका छन् । बहत्तर बर्षीया जियाको विरुद्धको फैसलामा पुनरावेदन भएमा उहाँ धरौटीमा रिहा हुने अपेक्षा गरिएको छ । तर उनलाई सत्ताधारी दलले अन्य आरोपमा पुनः पक्राउ गरी उनको ख्यातीमा दाग लगाउने खेल हुनसक्ने विपक्षी दलका समर्थकबीच भय पनि जागेको एजेन्सीहरुले जनाएका छन् ।