देवीको हात, झलनाथको गाला र प्रचण्डको माला

देवीको हात, झलनाथको गाला र प्रचण्डको माला


-हरदम कोइराला
केही वर्षयता यो मुलुकमा धेरैले धेरैलाई हात छोडे, तर सुनसरीका देवीप्रसाद रेग्मीजस्तो ठीक गालामा, ठीक मान्छेहरूका अघिल्तिर, ठीक समयमा आफ्नो हातको उपयोग गर्न सक्नेचाहिँ कोही भएनन् । कसैले कसैलाई हात या हतियार प्रयोग गरी शारीरिक रूपमा धक्का पुर्‍याउनु कहिल्यै पनि उचित एवम् प्रशंसनीय कार्य होइन । त्यसरी झलनाथकै भए पनि गालामा थप्पड लगाएबापत देवीप्रसाद रेग्मीले कानुनी कारबाहीको सामना गर्नैपर्ने हुन्छ । उनले त्यसको सामना पनि गरे । तर, यहाँ झलनाथ र देवीप्रसाद दुई नाम हटाएर घटनालाई बुझने हो भने यो देशको एक परिपक्व किसानले प्रमुख राजनीतिक दलको मुख्य नेतालाई गाला चड्काएको भनेर बुझन सकिन्छ । यसलाई देशको विद्यमान परिस्थितिमा उत्पन्न ‘सिम्बोलिक’ घटनाका रूपमा पनि लिन सकिन्छ । मुलुकमा असक्त, निर्धा र गरिबहरूमाथि मात्रै यसअघि आक्रमण हुने गरेकोमा सुनसरी घटनाले नयाँ रर्ेकर्ड कायम गरेको छ । निमुखा, गरिब किसानले शक्तिशाली र धनाढ्य नेताको गालामा धावा बोलेको यो पहिलो घटना हुन पुगेको छ । अर्को कुरा यो घटनाभन्दा अघि बितेको पन्ध्र वर्षयता एउटा मानिसले अर्कोमाथि प्रहार गर्न घातक हातहतियार प्रयोग गर्नेक्रम बढेको थियो, तर देवीले सधैं कुटो-कोदालो मुसारिरहेको कोमल एवम् मामुली हात मात्र झलनाथलाई थप्पड लगाउन प्रयोग गरे । यसबाट उनी हिंसावादी होइनन्, एउटा निशस्त्र र सात्विक चेतावनी दिन मात्र उनी चाहन्थे भन्ने स्पष्ट भएको छ । यसअघि झलनाथको गाला सुन्दर, स्वादिलो र बान्की परेको मानिन्थ्यो, गालाले झलनाथको अनुहारको शोभा पनि निकै बढाउँदै आएको हो । कसैले झलनाथको गाला देख्दा चुप्पा खानलायक छ भन्ने ठान्न सक्थे, तर देवीप्रसादले झलनाथको गाला चुप्पा खानका लागि होइन थप्पड हान्नकै लागि उपयुक्त भएको ठहर गरे र उनले आफ्नो निर्णयको सहजै कार्यान्वयन पनि गरिदिए । सुनसरी घटनापछि झलनाथ र झलनाथहरूका गाला थप्पडका लागि सर्वाधिक उपयुक्त छन् भन्ने प्रमाणित गरेको छ । यस्तो नयाँ आविष्कारका लागि देवीप्रसाद रेग्मी नेपालका नयाँ कोलम्बस भएका छन् ।
देवीप्रसादले विगतमा कुन दलको सदस्यता लिएका थिए या कुन दललाई मतदान गरेका थिए भन्ने कुराले उनको परिचय निर्धारण गर्दैन । उनको वास्तविक परिचय भनेको उनी नेपालका एक साधारण किसान हुन् । र, उनले झलनाथलाई थप्पड हान्नुको कारण झलनाथलगायतका नेताहरूको कार्यक्षमता, योग्यता, कार्यशैली एवम् व्यवहारप्रतिको असन्तुष्टि हो । झलनाथ, जसका कारण मुलुकमा विगत आठ महिनादेखि सरकार गठन हुन सकिरहेको छैन । झलनाथ जसको भूमिकाले माओवादी र सबैखाले अधिनायकवादीहरूलाई प्रोत्साहित र लोकतन्त्रवादीहरूलाई निरुत्साहित गरिरहेको छ । झलनाथ, जसले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद -जबज) को खिल्ली उडाउनेबाहेक अर्को कुनै कार्य गरेका छैनन् । झलनाथ, जो प्रधानमन्त्री पद प्राप्तिका लागि सिद्धान्त छोड्न र पार्टी फोड्न पनि तयार देखिन्छन्, त्यस्ता झलनाथलाई आफ्नै अघिल्तिर पाउँदा देशप्रति अलिकति पनि ममता भएका मानिसको हात थामिन नसक्नुलाई नाजायज भए पनि अस्वाभाविक मान्न सकिन्न । दलका नेताहरू सबैको उस्तै पृष्ठभूमि, समान सोच, व्यवहार र क्षमता छैन । देशको दर्ुगतिका निम्ति क्रियाशील सबै नेतालाई बराबरी जिम्मेवार ठहर्‍याउनु पनि उचित हुन सक्दैन । तर, जनतामा राजनीतिक नेतृत्वको भूमिकाप्रति असन्तुष्टि व्याप्त छ र असन्तुष्टि अब वितृष्णामा रूपान्तरित हुँदै छ ।
२०६३ मा लोकतन्त्र बहाल हुँदा नेपाली जनताले आफ्नो दुःखका दिन विर्सर्जित हुने विश्वास गरेका थिए । प्रजातन्त्र पुनर्स्थापनासँगै मुलुकमा माओवादी समस्याको पनि समाधान हुने र शान्ति एवम् समृद्धिको प्रस्थान मार्ग प्रशस्त हुने ठानिएको थियो । प्रचण्डलाई ठाउँ-कुठाउँ अनेकौँ धार्नीका माला पहिर्‍याइनुका पछाडि जनताको त्यही आशा र विश्वासले अभिप्रेरित गरेको थियो । प्रचण्डलाई ‘किलोका किलो’ फूलमाला पहिर्‍याइनुको कारण उनको अगुवाइमा हजारौँ नागरिकको इहलीला समाप्त गरिएकोले र देशमा अस्तव्यस्तताको स्थिति सिर्जना गरिएकोले पनि थिएन । राजा र राजाहरूको शासनकालमा भन्दा हरेक क्षेत्र हरेक दृष्टिले समृद्ध हुने र प्रचण्डको अगुवाइमा नेपाली हुनुको गौरव विश्वव्यापी बन्ने एउटा अघोषित विश्वासले प्रचण्डलाई बढे आकार-प्रकारका माला पहिर्‍याउन नेपाली जनतालाई पे्ररित गरेको थियो । तर, बितेका पाँच वर्षभित्रको कार्य-व्यवहारले राजनीतिक नेतृत्वप्रतिको जनविश्वास असिना गतिमा ओरालो लागेको छ, मानिसमा राजनीतिप्रति नै आस्था घट्ने स्थिति बनेको छ । विगतको तुलनामा हाम्रो सार्वभौमिक स्वतन्त्रता दर्ुबल भएको छ, राष्ट्रिय एकता रुग्ण बनेको छ, राष्ट्रिय अखण्डता धरापमा परेको छ, सामाजिक, जातीय एवम् क्षेत्रीय सद्भाव फेरि सम्हाल्नै नसकिने गरी खलबलिएको छ, जनताको जीवनयापन थप कष्टकर र तनावयुक्त बनेको छ, राजनीतिसँग जनसम्बन्धको दूरी पुनः स्थापित नहुने गरी बढेको छ, लोकतन्त्र जसको सुरक्षा र सुधारका लागि जनताले सात दशकभित्र पटकपटक सङ्घर्ष गरेका थिए आज त्यही लोकतन्त्र सर्वाधिक सङ्कटमा परेको महसुस गरिँदै छ । यस्तो अवस्थामा जनाक्रोश नेताको गालामा अभिव्यक्त हुनुलाई कुनै पनि अर्थमा अस्वाभाविक भन्न सकिँदैन । ०५२ सालमा देश यति अस्तव्यस्तता र अराजकताको भुमरीमा परेको थिएन, देशमा शान्ति-सुव्यवस्था पनि अपेक्षाकृत उन्नत थियो र राजनीतिक क्षेत्रको व्यवहार वर्तमानको जस्तो गैरजिम्मेवार तथा आत्मकेन्द्रित पनि थिएन । तथापि माओवादीले ‘देश बर्बाद भएको’ कारण दर्शाउँदै आफूलाई हिंसात्मक सङ्घर्षमा उतार्‍यो । विद्यमान बर्बादीको मुख्य स्रोत माओवादी बनिरहेको सर्न्दर्भमा हतियार उठाउन अरू कुनै ‘वादी’ अघि सरेका छैनन्, तर जनाक्रोशचाहिँ २०५२ ताकको भन्दा कैयन गुणा बढी देखिँदै छ । प्रचण्ड र प्रचण्डहरूलाई माला लगाउने हातहरू अब झलनाथहरूको गालामा विष्मयकारी ढङ्गले बज्रिन थालेका छन् । यस्तो घटनाले केही नेताहरूलाई दुःखी तुल्याएको छ र उहाँहरू दुःखी हुनु स्वाभाविक पनि छ, तर देवीप्रसाद रेग्मी एकजनालाई हिरासतमा लिएर मुद्दा चलाउँदैमा जनआक्रोशको मुहान सुक्ने आशा राख्नु र्व्यर्थ छ । जनआक्रोश असङ्गठित भएकोले राजनीतिक क्षेत्र सुरक्षित रहिआएको हो । देवीप्रसाद जसको शालिक अब कुनै दिन इटहरीमै बन्ने विश्वास गर्न सकिन्छ, उनले जनभावनाको प्रतिनिधित्व गर्दै आफ्नो हात झलनाथको गालासम्म पुर्‍याएका हुन्, अब देवीप्रसादहरूका सहश्र हातहरू प्रचण्डहरूका मालासम्म पुग्ने दिन पनि नजिकिएको महसुस गर्न थालिएको छ । जनता उठेका दिन देवीप्रसाद थुनिनुपरेको खोरमा को हुनेछन् यस प्रश्नमा अब बहस गरिरहनुपर्ने ठानिँदैन ।