अवैधानिक निर्णयका बारे अब पार्टी सभापतिसँग छलफल गरिन्छ

अवैधानिक निर्णयका बारे अब पार्टी सभापतिसँग छलफल गरिन्छ


नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था हो । नेपालको इतिहासमा राणाशासन समाप्तिदेखि पञ्चायतको अन्त्य र संविधानसभाबाट संविधान निर्माणसम्मको प्रमुख जिम्मेवारी काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भयो । पछिल्लो समय मुलुकमा देखिएको वाम धुब्रीकरण र नेपाली काङ्ग्रेसको नेतृत्वले गरेका गल्तीका कारण काङ्ग्रेस प्रतिनिधि र प्रदेश सभामा दोस्रो स्थानमा खुम्चिन पुगेको छ । यतिबेला काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टीभित्र तीव्र आलोचना भइरहेको छ । यस्तै, काङ्ग्रेसको भ्रातृ संस्था नेविसंघमा पनि संघका अध्यक्ष नैनसिंह महरको कार्यशैलीको सहकर्मी तथा पदाधिकारीहरूबाटै तीव्र आलोचना हुँदै आएको छ । निर्वाचन भएको १७ महिनासम्म पनि संघलाई विधानअनुसार चलाउन नसकेको आरोपबीच विभिन्न गुटबाट कार्यक्रम हुँदै आएका छन् । नेविसंघलाई अध्यक्ष नैनसिंह महरले संस्थागत ढंगले चलाउन नसकेको आरोपका साथ उपाध्यक्ष रामप्रसाद अधिकारीले विभिन्न अवसर पारेर सङ्गठनलाई जीवन्त राख्न आफ्नो पहलमा विभिन्न प्रशिक्षण कार्यक्रम गर्दै आएको दाबी गरेका छन् । विसं २०५२ मा अस्कल क्याम्पसको इकाई सदस्य, ०५६ मा इकाई अध्यक्ष, ०५९ मा केन्द्रीय कार्यालयको मुख्यसचिव, ०६४ सालमा केन्द्रीय सदस्य हुँदै २०७२ सालमा नेविसंघको उपाध्यक्ष भएर संस्था चलाउने अनुभव प्राप्त गरेका विद्यार्थी नेता अधिकारीसँग नेविसंघभित्रको विवाद र अबको बाटोबारे गरिएको कुराकानीको सम्पादित अंश ।

० नेपाल विद्यार्थी संघमा चलिरहेको विवाद वास्तवमा के हो ?
– नेपाल विद्यार्थी संघका अध्यक्ष गैरजिम्मेवार बनेर विधानसम्मत नचलिदिँदा विवादको सुत्रपात भएको हो । अध्यक्ष विधान र नियमावलीअनुसार चल्ने र सबै केन्द्रिय समितिका पदाधिकारी एवं केन्द्रिय समितिका साथिहरूसँग छलफल गरेर अगाडि बढेको भए यस्तो परिस्थिति सिर्जना हुने थिएन । ११औँ अधिवेशन सम्पन्न भयो, निर्देशन समितिले अधिवेशन सम्पन्न गर्दैगर्दा जुन जिम्मेवारी केन्द्रिय समितिलाई दिएको थियो, त्यो जिम्मेवारी १७ महिना बितिसक्दा पनि मुकदर्शक मात्र भएर हामी बस्यौँ । केन्द्रिय समितिको पहिलो बैठकमा हामीलाई निर्देशन समितिले ११ जिल्ला, विवादित १३ जिल्ला र जिल्ला क्याम्पसहरूमा अधिवेशन सम्पन्न गर्न र समस्या समाधान गर्न जिम्मेवारी दिएको थियो, अध्यक्षलाई पटक–पटक आग्रह गर्दा पनि उहाँले केही गर्न चाहनुभएन । त्यसै १७ महिना बित्यो । पटक–पटक संगठनलाई चलायमान र गतिशील बनाउन आग्रह गर्यौँ तर उहाँले केही गर्नुभएन, अझ भनौँ चाहनुभएन । अध्यक्षज्यूले जसरी संगठनमा सबैसँग समन्वय गरेर अगाडी बढ्नुपर्ने हो त्यो उहाँले चाहनुभएन, नितान्त गुटगत रुपमा प्रस्तुत हुनुभयो ।

कोठामा बसेर निर्णय गर्ने, अनाधिकृत तवरबाट केन्द्रिय समितिका पदाधिकारी एवं सदस्य साथिहरूलाई जानकारी नै नदिई जुन कार्य गर्नुभयो, त्यसले संगठनमा विवाद सिर्जना गर्यो । हामीले पटक–पटक अध्यक्षलाई सबैको अध्यक्ष हुनुहोस्, गुट वा झुण्डको होइन भनी आग्रह ग¥यौँ । तर उहाँ गुटगत रुपमा त अगाडी बढ्नुभयो, अझ संगठनलाई विधानविपरीत आमन्त्रित केन्द्रिय सदस्यको मनोनय लगायतको काम विधि-विधानविपरीत गर्दै अगाडि बढ्नुभयो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत नेविसंघलाई झोलामा सीमित गराइयो । नेविसंघलाई अझ चलायमान बनाउनको निम्ति हामीले योजना लिएर जाँदा उहाँ नीति होइन नेताको बोली र आश्वासनको पछि लाग्नुभयो । देशभरका साथीहरूको आग्रहमा संगठनको विधान र नियमावली बमोजिम चलायमान बनाउँदै हामीले आफ्नो गतिविधि गर्दा अध्यक्षलाई मन परेन भन्दैमा विधानविपरीत भन्न पाइन्छ र ?

० नेविसंघलाई पहिलेको अवस्थामा लैजान अब के गर्नुपर्ने देख्नुृहुन्छ त ?
– गर्नुपर्ने त धेरै छन् । नेविसंघलाई सशक्त र प्रभावकारी बनाउनकै लागि प्रदेश नं ३ को समितिका साथीहरूसँग सल्लाह र छलफल गरी अध्यक्षको राय लिएर पार्टीका युवा नेताहरूचन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतको उपस्थितिमा अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा काङ्ग्रेस पुनर्जागरण अभियान सञ्चालन ग¥यौँ । यस्तै प्रदेश नं ३ को प्रशिक्षण कार्यक्रम हालै धादिङबेशीमा सम्पन्न ग¥यौँ । यसरी नेविसंघलाई पहिलेको अवस्थामा फर्काउनका लागि हामीले विभिन्न कार्यक्रम अघिसार्दै गर्दा अध्यक्षज्यू कोठेबैठक र गुट–उपगुट बनाउने काममा व्यस्त हुनुभयो । उहाँले विधानविपरीतको काम गरेकाले अनुशासन समितिको संयोजक राजेश रौनीयारले अनुशासनविपरीत काम गरेकाले अध्यक्षसँग नै स्पष्टिकरण सोध्नुपर्ने अवस्था आयो । मेरो बुझाईमा अध्यक्ष यसरी नै चल्ने हो भने उहाँबाट नेविसंघ अगाडि बढ्न सक्दैन ।

० नेविसंघमा देखिएको समस्यालाई कसरी समाधान गर्नै त ?
– गुटभन्दा माथि उठेर अध्यक्षले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्न इमानदार र विश्वाशिलो प्रयत्न गर्नुपर्छ । गुटको होइन सबैको अध्यक्ष बन्न खोज्नुपर्छ । निर्वाचित पदाधिकारी र साथीहरुसँग संगठन अगाडि बढाउने बारेमा छलफल गर्नुपर्छ । विधान नियमावलीमा टेकेर निर्णय लिनुपर्छ । संगठनको हितविपरीतका निर्णयहरू फिर्ता लिनुपर्छ ।

० अहिलेको अवस्थामा तपाई अध्यक्षसँग वार्ता गर्न तयार हुनुहुन्छ ?
हामी अध्यक्षसँग वार्ता गर्न तयार छैनौँ । आफ्नो पाराले संगठनलाई अगाडि लैजाने अध्यक्षसँग हामी वार्ता गर्दैनौँ । हामी पार्टी सभापतिलाई भेटेर अध्यक्षले गरेका कुराहरू राख्छौँ । विधानभन्दा बाहिर गएर गरेका निर्णयका बारेमा हामी पार्टी सभापतिसँग छलफल गर्ने मानसिकतामा पुगेका छौँ ।