तमलोपाको राजीनामा -श्रीविक्रम भण्डारी

तमलोपाको राजीनामा -श्रीविक्रम भण्डारी


सदस्यसचिवमा मीनकृष्णको चर्चा
कामचलाउ सरकारसँगै डगमगाएको खेलकुदले अहिले विभिन्न आँधीबेहरीको सामना गर्नुपरेको छ । कहिले खेलाडीको विरोध, कहिले प्रशिक्षक विरोध, हुँदाहुँदै आफ्नै कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएपछि राष्ट्रिय खेलकुद परिषद्को प्राणपखेरू मात्रै उड्न बाँकी रहेको छ । अझ वर्तमान माधव नेपालको सरकारबाट तमलोपा बाहिरिएपछि खेलकुदमा अर्को विपत्ति थपिएको छ । युवा तथा खेलकुदमन्त्री गणेश नेपालीको राजीनामापछि खेलकुद पदाधिकारी नाम मात्रैका पदाधिकारी बन्न पुगेका छन् । नैतिकताको प्रश्न उठाउँदै राखेपका सदस्यसचिव हरिबाबु चौधरीको राजीनामा माग्न थालिएको छ । चौधरीले पनि आफ्नो पार्टी सरकारवाट हटिसकेको र पार्टीले बोलाए जुनबेला पनि आफू फिर्ता हुने कुरा सञ्चारमाध्यममा बताइसकेका छन् । यस्तो विपत्को भुमरीमा फसेको खेलकुदरूपी डुङ्गालाई किनारा लगाउन अहिले योग्य व्यक्तिको खोजी हुन थालेको छ । मुलुकमा सहमतिको सरकार निर्माण हुने प्रबल सम्भावना बढ्दै गएको अवस्थामा नेपाली काङ्ग्रेस खेलकुद मन्त्रालयप्रति आकरि्षत हुनु वर्तमान राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनका लागि बरदान सावित हुने पक्का भएको छ ।
यतिबेला खेलकुदमा चलिरहेको भाँडभैलोले खेलकुद निकै गनाउन पुगेको छ । खेलकुद पदाधिकारीहरू खेलकुदको विकासभन्दा आफ्नो स्वार्थसिद्ध गर्नेतर्फ लागेको हुँदा यस्तो अवस्थाको सिर्जना भएको हो । आपसी तालमेलका साथ खेलकुदको रथलाई अगाडि बढाउने जिम्मेवारी पाएकाहरूले विपरीत दिशामा मुख फर्काउनु अहिले खेलकुदका लागि दुर्भाग्य सावित भएको छ । आपसी सहयोगको अभाव, आफ्नै सुर र तालले गर्दा खेलकुदको यस्तो दर्ुगति भएको हो । यसलाई कतिपयले यो खेलकुदको परम्परा भने पनि केहीले भने यो कुराप्रति असहमति प्रकट गरेका छन् । उनीहरूले खेलकुद यसरी अघोगतितर्फ धकेलिनुमा सदस्यसचिव चौधरी जिम्मेवार भएको ठहर गरेका छन् । चौधरीको असफल नेतृत्वले गर्दा खेलकुद चार दोबाटोमा खडा भएको आरोप लगाएका छन् । खेलकुदको कुनै ज्ञान नहुनु र खेलकुदलाई लोकतान्त्रिक ढङ्गले भन्दा मधिसे पाराले विकास गर्न खोज्नुले पनि खेलकुदको यस्तो दुर्दशा भएको उनीहरूले आरोप लगाएका छन् । जुन राजनीतिक हिसाबले सही भए पनि सैद्धान्तिक रूपमा खेलकुदका लागि कदापी सही मान्न सकिँदैन ।
खेलकुदमा चलिरहेको आँधीबेहरीलाई रोक्न र खेलकुदलाई सही मार्गमा डोहोर्‍याउन अहिले सही नेतृत्व र खेल-व्यक्तित्वको आवश्यकता खड्किएको छ । मीनकृष्ण महर्जन त्यस्तो नाम हो जसले खेलकुदको डुब्न लागेको डुङ्गालाई पार लगाउन सक्छन् । छोटो समयमै खेलाडी, प्रशिक्षक र कर्मचारीहरूका आशाका केन्द्र बनेका महर्जनले खेलकुदमा निभाएको जिम्मेवारपूर्ण भूमिकाले उनी खेलकुदको नायक हुने सङ्केत देखाएको छ । हाल राखेपको कोषाध्यक्षको रूपमा कार्यरत महर्जनले खेलकुदको विकाससँगै खेलाडीहरूको हकहितका लागि लडेर आफ्नो छनक देखाइसकेका छन् । खेलाडीका कुरा खुलारूपमा राख्न सक्ने र लड्ने सक्ने क्षमता भएका महर्जन अहिले खेलकुदमा आफ्नो छुट्टै छवि बनाउन सफल भएका छन् । राजनीतिक आस्थाका कारणले कसैलाई काखा, कसैलाई पाखा लगाउने नीतिका विरुद्धमा सङ्घर्ष गर्दै आएका महर्जनले खेलाडी राष्ट्रका सम्पत्ति हुन् र उनीहरूलाई समान नजरले हर्ेर्नुपर्छ भन्ने मान्यतालेे गर्दा नै आज उनी खेलकुदमा नायक बन्न सफल भएका हुन् । खेलाडीको हकहितका लागि परिआएको अवस्थामा जस्तोसुकै कदम पनि चाल्न पछि नहट्ने महर्जनको यही प्रतिबद्धताले गर्दा खेलकुदले उनीबाट धेरै आशा पनि गरेकोे छ । खेलकुदलाई राजनीतिक पार्टीले निर्देशित गर्नुपर्छ तर हस्तक्षेप गर्नु हुँदैन भन्ने महर्जनले राजनीतिक पार्टीबिना खेलकुद चल्न नसक्ने दाबी पनि गरेका छन् ।
गणेश नेपालीले मन्त्री पदबाट राजीनामा दिएपछि अहिले खेलकुदमा निकै राजनीतिक चलखेल बढेको छ । खेलकुदमा को आउने, को जाने, भन्ने विषयमा खुवै चर्चा चल्न थालेको छ । सो विषयमा केन्द्रित रहेर राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनसँग जिज्ञासा राख्दा उनले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनेमा र खेलकुद मन्त्रालय काङ्ग्रेसको हातमा परेमा आफू सतप्रतिशत सदस्यसचिव हुने ठोकुवा गरेका थिए । पार्टी अध्यक्ष सुशील कोइराला, वरिष्टठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफूलाई सदस्यसचिव बनाउने आश्वासन दिएकोसमेत खुलासा गरेका थिए । काङ्ग्रेस महासमितिको सदस्य, तरुण खेलकुद विभाग प्रमुख, उपत्यका युथ कमिटीको इन्चार्ज र करातेको वरिष्ठ उपाध्यक्ष भएको नाताले पनि नेताहरू आफूप्रति सकारात्मक रहेको बताए । भेटघाटको अवसरमा नेतात्रयले आफूले खेलकुदमा निभाएको भूमिकाप्रति सन्तुष्टि प्रकट गरेको र खेलकुदलाई सही लिकमा ल्याउन पुनः जिम्मेवारी दिने पनि महर्जनले बताए । पार्टीका वरिष्ठ नेताहरूको धाप पाएका महर्जनले आफूले सदस्यसचिवको जिम्मेवारी पाएमा खेलकुदको काँचुली फेर्नेसमेत वाचा गरेका थिए । महर्जनले आफूले खेलकुद बुझेको र कसरी समग्र खेलकुदको विकासलाई अगाडि लान सकिन्छ भन्ने दूरदर्शी योजनासमेत आफूसँग भएको खुलासा गरेका थिए । आफूले खेलकुदमा खेलाडी र पदाधिकारीको रूपमा २५ वर्षदेखि रगतपसिना बगाउँदै आएको र पार्टीले जिम्मेवारी दिएको खण्डमा त्यसलाई अझ अविष्मरणीय बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्मा छोटो समयमा नै आफ्नो पकड बनाउन सफल भएका महर्जनले यतिबेला खेलकुदमा कुशल नेतृत्वको आवश्यकता रहेको प्रस्ट पार्दै त्यसका लागि आफू योग्य भएको पनि बताए । खेलकुद अहिलेसम्म पनि पञ्चायती र दास संस्कारमा नै चलेको खुलासा गर्दै सर्वप्रथम त्यसलाई निर्मूल पार्ने बताए । खेलकुदको विकासका लागि नयाँ सोच र जागरणको आवश्यकता रहेको बताउँदै खेलकुदमा राष्ट्रिय नीति अपरिहार्य भएको सुनाए । खेलकुदमा राष्ट्रिय नीतिका अभावले गर्दा कुनै पनि कार्य सफल नभएको बताउँदै संविधानमा नै राष्ट्रिय नीतिलाई प्राथमिकताका साथ राख्नुपर्ने माग गरेका थिए । खेलकुदमा एउटा सदस्यसचिवले शुभारम्भ गरेको काममा अर्कोले चासोसमेत नदिने भएकाले खेलकुदका हरेक योजना बीचैमा तुहिने गरेको खुलासासमेत गरेका थिए । महर्जनले यस्तो गलत सोच, गलत परिपाटी र साँधुरो मानसिकतले गर्दा खेलकुद कहिल्यै माथि उठ्न नसकेको पनि दाबी गरेका थिए । राष्ट्रको पहिचान अन्तराष्ट्रमा पुर्‍याउन खेलकुदले महत्त्वपूर्ण भूमिका निभाउँदै आए पनि सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोणमा अहिलेसम्म कुनै परिवर्तन नगर्नु दुर्भाग्य भएको बताए । अब बन्ने संविधानमा सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको र सोही उपलब्धिसँगै नौलो खेलकुदको शुभारम्भ हुने बताए ।

पुटिनकी प्रेमिका अर्धनग्न पोजमा
एलिना कावायेव नाम खेलाडी हुँदा त्यति चर्चामा नआए पनि उनको प्रेम-प्रसङ्गले भने विश्वभरि चर्चा पाएको छ । पूर्वओलम्पिक जिम्न्यास्टिक खेलाडी रहिसकेकी एलिनाको प्रेम-सम्बन्ध रसियाका प्रभावशाली नेता तथा प्रधानमन्त्री भ्लादिमिर पुटिनसँग जोडिएपछि एलिना रातारात चर्चामा आएकी हुन् । विश्वका सम्भ्रान्त परिवारमा मात्र नभई रसियाको राजनीतिमा समेत निकै प्रभाव पारेको एलिना र पुटिनको प्रेम-सम्बन्ध साँचो भएको बताउँदै आएकी छिन् ।
विश्वका चर्चित सञ्चारमाध्यमहरूले पुटिन एलिनाको प्रेममा चुर्लुम्म डुबेको र आफ्नी पत्नीलाई छोड्न लागेको समाचार प्रेषित गरेपछि विश्वभरि तहल्का मच्चिएको थियो । ती सञ्चारमाध्यमहरूले ‘हावा नचली पात हल्लिँदैन’ भन्दै पुटिन र एलिनाको प्रेम-सम्बन्ध साँचो भएको बताएका थिए । आफ्नो निजी जिन्दगी र राजनीति दाउमा लागेपछि पुटिनले यसको खण्डन गरेका थिए । खण्डनमा पुटिनले आफ्नो २७ वर्षीया एलिनासँग कुनै प्रेम-सम्बन्ध नरहेको बताएका थिए । पुटिनले आफूलाई विवादमा ल्याउन कुनै तत्त्वले अफवाह फैलाएको आरोप लगाएका थिए । पुटिनले सत्यता निकट भविष्यमै सार्वजनिक हुने भन्दै एलिनालाई आफूले खेलाडीको रूपमा मात्र चिनेको सफाइ दिएका थिए । आखिर कुरा जे भए पनि एलिनाको विश्वासमा पुटिनको प्रेम झल्किनुले ‘दालमा कालो छ’ भन्दा अतिसयोक्ति नहोला ।
पुटिनकी प्रेमिका भएको कारणले रातारात चर्चामा पुगेकी एलिना अहिले पुनः चर्चामा आएकी छिन् । त्यतिबेला उनी पुटिनकी प्रेमिकाका रूपमा नभई विश्वचर्चित म्यागजिन ‘वोग’को आवरणमा देखिएर चर्चामा आएकी हुन् । ‘वोग’की सम्पादक विक्टोरिया देवीदेवाले एलिना र पुटिनको प्रेम-सम्बन्धका कारणले नै उनलाई ‘कभर गर्ल’ बनााएकी हुन् । नयाँ वर्षको पहिलो महिना जनवरीको अकर्षणको रूपमा एलिनालाई कभर गर्लको रूपमा राखेर उक्त म्यागजिनले पुटिन र एलिनाको प्रेम-सम्बन्धमा अझ हावा झर्ने काम गरेको छ । पत्रिकाले कभर गर्ल बनाउँदा एलिना दङ्ग परे पनि पुटिनका लागि भने टाउको दुःखाइ बनेको छ । पुटिनले अब यो समस्याबाट कसरी छुटकारा पाउँछन् त्यो हेर्न लायक भएको छ । पुटिनलाई आफ्नो प्रेमी भएको दाबी गर्दै विभिन्न हथकण्डा मच्चाइरहेकी एलिना आफ्नो लक्ष्यमा कति सफल हुन्छिन् त्यो भविष्यले बताउने भए पनि वर्तमान अवस्थामा ‘वोग’ म्यागजिनमा छापिएको उनको तस्बिरले विश्वभरि चर्चा पाइसकेको छ । निकै छोटा पहिरन ‘ब्रा र पेन्टी’मा अर्धनग्न शरीर र मधुर मुस्कानका साथ देखिएकी एलिनाले पुटिनको मन पुनः आकरि्षत गर्ने सबैको अड्कल र अनुमान लगाएका छन् । हेरौँ आफ्नो प्रेम-प्रसङ्गलाई र्सार्थक बनाउन एलिना कति हदसम्म सफल हुन्छिन् ।

अर्जेन्टिनाका मेसी उत्कृष्ट खेलाडी
विश्व वर्ष खेलाडीको उपाधि अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले जित्न सफल भएका छन् । उनी आफ्नै सहयात्री एन्ड्रेस इनिस्टा र जाभीलाई पछि पार्दै विश्व वर्ष खेलाडी चुनिन सफल भएका हुन् । मेसी यो उपाधि गत वर्ष पनि जित्न सफल भएका थिए । यसरी लगातार यो पुरस्कार जित्ने मेसी मार्को भान वास्टनपछि दोस्रो खेलाडी बनेका छन् । आफ्नो उपाधिको रक्षा गर्ने क्रममा २३ वर्षीय मेसीले २२.६५ प्रतिशत मत पाएका थिए । त्यस्तै इनिस्टाले १७.३६ र जाभीले १६.४८ मत पाएका थिए । त्यस्तै वेस्ले स्नाडरले १४.४८ अङ्क पाउँदै चौथो स्थान हासिल गरेका थिए । उनको मनोनयन विवादमा पनि परेको थियो । पुरस्कार जितेपछि निकै प्रसन्न देखिएका मेसीले अहिलेसम्म आफूलाई विश्वास नलागेको बताएका थिए । दक्षिण अफ्रिकामा सम्पन्न भएको विश्वकपमा आफ्नो खराब प्रदर्शनले गर्दा यो पुरस्कारको बारेमा आफूले कल्पनासमेत नगरेको बताए । मेसीले गत वर्ष इनिस्टा र जाभीले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरू यो उपाधिको हकदार थिए । विश्वकपमा एउटा पनि गोल गर्न नसकेका मेसी मनोनयनमा पर्ने आशा पनि कसैले गरेको गरेको थिएन । तर, मेसीलाई भाग्यले साथ दियो उनी विश्व वर्ष खेलाडी हुन सफल भएका छन् । यो उपाधिपछि मेसीले आफ्नो राष्ट्र अर्जेन्टिनालाई विश्वकपको उपहार दिने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

पशुपति र पूजालाई उपाधि
सातौँ कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र महिला एकलतर्फको उपाधि कैलालीका पशुपति पनेरू र एपीएफकी पूजा श्रेष्ठले जित्न सफल भएका छन् । पनेरूले फाइनलमा एपीएफका रत्नजित तामाङलाई सोझो सेटमा पराजित गरेका थिए । निकै कडा प्रतिस्पर्धा भएको उक्त फाइनल खेलमा पनेरूले तामाङलाई २१-१७ र २१-१८ ले पाखा लगाएका थिए । त्यस्तै महिला एकलको फाइनलमा अनुभवी पूजाका अगाडि नङ्शलादेवी निरीह सावित देखिइन् । पूजाले सहज जित हासिल गर्ने क्रममा नङ्शलादेवीलाई २१-७ र २१- १३ ले पराजित गरेकी थिइन् । त्यस्तै पुरुष युगलको उपाधि नेपाल पुलिसका विकास श्रेष्ठ र विवेक श्रेष्ठको जोडीले हात पार्न सफल भयो । महिला युगलको उपाधि पूजा र नङ्शलादेवीले जितेका थिए । उनीहरूले फाइनलमा क्रमस राजीव दाहाल र विशाल श्रेष्ठ र सम्झना खालिङ र सविना पन्थीको जोडीलाई पराजित गरेका थिए । मिक्स डबल्सतर्फको फाइनल खेलमा रत्नजित तामाङ र नङ्शलादेवीको जोडीले गणेश चन्द र विना तुलाचनको जोडीमाथि विजय हासिल गरेको थियो ।
गत सातादेखि सञ्चालन भएको नेपालको नम्बर एक ब्याडमिन्टन प्रतयोगिताको १७ वर्षमुनि केटा र केटीको फाइनल प्रतिस्पर्धामा दीपेश धामी र शिक्षा श्रेष्ठले आ-आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै उपाधि जित्न सफल भएका थिए । त्यस्तै ३५ वर्षको मास्टर युगलतर्फ अशोक सिंह र यादवप्रसाद चौधरी, ४५ वर्ष मास्टर युगलतर्फ विष्णुलाल श्रेष्ठ र राजकुमार चौहान र ५५ वर्षमाथिको भेट्रानतर्फ रमेश श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठको जोडीले विजय हासिल गरेका थिए । २० वटा जिल्ला ब्याडमिन्टन सङ्घ, सात खेलकुद विकास समिति, तीन क्लब, तीन विद्यालय र चारवटा सरकारी टिमले प्रतिस्पर्धा गरेका थिए ।

यू- १९ टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ क्यानले हालै यू- १९ क्रिकेट टोलीको घोषणा गरेको छ । सङ्घले पृथु बास्कोटाको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यो टोलीले बंगलादेशमा तीन अभ्यास खेलसहित आगामी फेब्रुअरीमा थाइल्यान्डमा १ देखि १० सम्म आयोजना हुने इलाइट कपमा प्रतिस्पर्धा गर्नेछ । खेलाडी छनोटको बारेमा नेपाल क्रिकेट सङ्घका अध्यक्ष विनयराज पाण्डे यसपटक नियमहरू परिवर्तन गरिएको बताउँदै राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् अभ्यास खेल खेलाएर खेलाडी छनोट गरिएको बताए । नेपाली टोलीमा कप्तान पृथु बास्कोटासँगै उपकप्तान राहुल विश्वकर्मा, प्रदीप ऐरी, सुवास खकुरेल, राजेश पुलामी, राहुलप्रताप सिंह, विवेक दली, अविनाश कर्ण, मोहम्द हासिम, सागर पुन, कृष्ण कार्की, फैजल खान र भुवन कार्की रहेका छन् ।