मुनीले खोले प्रचण्ड–बाबुरामको पोल

मुनीले खोले प्रचण्ड–बाबुरामको पोल


ऐतिहासिक तथ्यबारे आफूले लेखेको कुराबारे स्पष्ट गर्न चर्चित भारतीय बुद्धिजीवी एवम् नेपालविज्ञ एसडी मुनी यो साता काठमाडौं आइपुग्नुभएको छ । हिंसात्मक आन्दोलनको समयमा माओवादीका प्रमुख नेताहरू प्रचण्ड र बाबुरामले नयाँदिल्लीमा के–कस्तो कसम खाएका थिए भन्नेबारेमा मुनीले अमेरिकाबाट प्रकाशित ‘नेपाल इन ट्रान्जिसन : फ्रम पिपल्स वार टु फ्रेजाइल पिस’ पुस्तकमा उल्लेख गर्नुभएको छ । ललितपुरस्थित यलमाया केन्द्रमा नेपाली बुद्धिजीवी तथा पत्रकारसमक्ष उपस्थित भएर मुनीले लेखमा उल्लिखित तथ्य विवरण र आफूले त्यसको खुलासा गर्नुको औचित्यबारे स्पष्ट गर्नुभयो । पछिल्लो समयमा बाहेक एकीकृत माओवादीको नेतृत्वले आफ्ना प्रत्येकजसो बैठकमा क्रान्तिको दुश्मन भारत रहेको दाबी गर्दै भारतविरुद्ध आन्दोलनको विकल्प नरहेको उल्लेख गर्ने गरेका थिए । अझ आन्दोलनको सुरुवातमा त भारतीय शासकविरुद्ध आन्दोलन उद्घोष नै गरेको थियो । आफ्ना बैठकहरूबाट उनीहरूले आन्दोलनका कार्यक्रम मात्र सार्वजनिक नगरी आन्दोलन नै गरेका थिए । आन्दोलनका नाममा नेपालका लागि भरतीय राजदूतमाथिसमेत माओवादीले भौतिक रूपमा आक्रमण गरेका थिए र आफूलाई सच्चा राष्ट्रवादी कम्युनिस्ट भएको दाबी गरेका थिए । तर, उनीहरूका बैठकले गरेको निर्णय र आन्दोलनका कार्यक्रमलाई हालै प्रकाशित नेपाल इन ट्रान्जिसन : फ्रम पिपल्स वार टु फ्रेजाइल पिस पुस्तकमा छापिएको एसडी मुनिको लेख ‘ब्रिङगिङ माओइस्टइस्ट फ्रम दि हिल्स् : इन्डियन रोल्स’ शीर्षकको लेखले स्पष्ट पारेको छ, उनीहरूको राष्ट्रवाद र भारतलाई लक्षित गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रमबारे ।
भारतीय प्राध्यापक एसडी मुनिले उक्त पुस्तकमा तत्कालीन हिंसात्मक विद्रोही माओवादीले भारतीय हित प्रतिकूल हुनेगरी कुनै काम नगर्ने लिखित प्रतिबद्धाता जनाएको आफ्नो लेखमा उल्लेख गरेका छन् ।
मुनीले आफ्नो लेखमा भनेका छन्, ‘अमेरिका र भारतबीचमा चलिरहेको खटपटको भेउ पाएर तथा शाही नेपाली सेनालाई प्राप्त भइरहेको अन्तर्राष्ट्रिय सहयोगका कारण जनयुद्ध सञ्चालन गर्न कठिनाइ भइरहेको बुझेर माओवादीले भारतसँग गोप्य राजनीतिक सम्पर्क स्थापना गर्न २००२ को सुरुवाततिर आफ्नो नेता बाबुराम भट्टराईलाई नयाँदिल्ली पठायो । तर, कुनै पनि वरिष्ठ भारतीय नेता, यहाँसम्म कि जवाहरलाल नेहरू विश्वविद्यालयमा डा. भट्टराईका सहपाठी रहेका भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी (भाकपा) का सीताराम येंचुरी, नेसनलिस्ट काङ्ग्रेस पार्टीका डीपी त्रिपाठी र जनता दलका दिग्विजय सिंहले पनि उनीसँग भेट गर्न चाहेनन् । अन्य धेरै काङ्ग्रेस र समाजवादी नेताहरूले झैं पूर्वप्रधानमन्त्री आईके गुजरालले पनि माओवादी नेताहरूसँग भेट्न अनिच्छा देखँए । माओवादीमाथि लागेको आतङ्कवादीको छापा र चर्को भारतविरोधी अडानले गर्दा भारतीय राजनीतिक समुदाय उनीहरू अछुतजस्तै भए ।
अन्तत: दिल्लीमा आफ्ना कुरा राख्ने अवसरका लागि माओवादीले गरेको अनुरोधलाई जुन २००२ मा भारतीय प्रधानमन्त्री कार्यालय पुर्‍याइयो र त्यहाँबाट द्विविधा एवम् सतर्कताका साथ उत्साहबद्र्धक जवाफ आयो । माओवादीलाई आफ्नो दृष्टिकोण लिखित रूपमा राख्न भनियो । जसलाई उसले अनिच्छुक भएर पनि गर्‍यो । सक्दो वाक्पटुताको प्रयोग गरेर लेखिएको पत्रमा माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने कुरामा भारतीय नेताहरूलाई आश्वस्त पारेको थियो । यो पत्रको जवाफ केही महिनापछि आयो– माओवादीहरूमाथि भारतमा हुँदै आएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादीका प्रतिनिधिहरूसँग छलफल गर्‍यो । माओवादीले पुन: लिखित रूपमा आईबीका गुप्तचरसामु आफ्नो दृष्टिकोण प्रस्तुत गरे । त्यसपछि माओवादी र ‘रअ’का बीचमा बढी सम्पर्क र बैठकहरूको क्रम चल्यो । माओवादीले अझ बढी सहजतापूर्ण हिँडडुल गर्न र भारतमा अन्य नेपाली राजनीतिक नेताहरूसँग पनि सम्पर्क बढाउन थाले ।
माओवादी र भारतीय सुरक्षा एजेन्सीहरूबीच आंशिक रूपमा खुल्दै गएको सम्बन्धमा माओवादी नेता सीपी गजुरेलको अगस्ट २००३ मा चेन्नईमा तथा मोहन वैद्य किरणको मार्च २००३ मा सिलिगुडीमा भएको गिरफ्तारीले अवरोध पुर्‍यायो । गिरफ्तारीका लागि जिम्मेवार हुनसक्ने कारणमध्ये एउटा आईबी र ‘रअ’बीच चलेको प्रभाव क्षेत्रको युद्ध थियो । जसमा अघिल्लोले पछिल्लोलाई पछाडि पार्न गिरफ्तार गर्‍यो । नेपालका माओवादी र नक्सलाइटबीच बढ्दो सम्पर्कबारे बारम्बार आइरहने मिडिया रिपोर्टबाट पनि आईबी बढी चिन्तित लाग्दथ्यो । केही रिपोर्टमा त सेप्टेम्बर २००४ मा भनिएको भारतको पिपुल्स् वार ग्रुप (पीडब्ल्यूजी) र माओइस्ट कोअर्डिनेसन कमिटी (एमसीसी)को एकतामा सहजीकरणको श्रेय नेपाली माओवादी प्रचण्डलाई दिएको थियो । तर, भारतका विदेश मन्त्रालयले आईबी र ‘रअ’लाई भारतीय नक्सलाइटलाई नेपालका माओवादीको सहयोगको सही चरित्र के हो भनेर सोध्दा कुनै ठोस प्रमाण प्राप्त भएन । विदेश मन्त्रालयका एक उच्च अधिकारीले लेखकसँगको एक अन्तर्वार्तामा बताएअनुसार स्थानीय तह र वैचारिक रूपमा सम्पर्क भइरहेको हुनसक्थ्यो, तर दुई माओवादी समूहबीच भारत नेपाल सीमा क्षेत्रमा सङ्गठित र संरचनात्मक किसिमको कुनै सहकार्य भएको थिएन ।
उता काठमाडौंबाट नयाँदिल्लीमाथि लुकिछिपी माओवादीलाई सहयोग पुर्‍याइरहेको छ भन्ने लागेर गरेका आरोपको प्रतिवाद गर्न पनि दबाब परिरहेको थियो । भारतमा माओवादी नेताहरूको गिरफ्तारी ती आरोपलाई प्रमाणित गर्ने एउटा उपाय पनि थियो । नेपाली माओवादी केन्द्रीय समितिका केही गिरफ्तार सदस्य सुरेश आलेमगर, मातृका यादव र वामदेव क्षेत्रीलाई राजाको सरकारसमक्ष बुझाइयो । चाखलाग्दो कुरा के हो भने क्षेत्रीबाहेक धेरैजसो नेता माओवादीको कट्टरपन्थी समूहमा आबद्ध थिए, जो बाबुराम भट्टराईको नेतृत्वमा सङ्गठित नरमपन्थीहरूलाई हानि नपुर्‍याउन र नेपाली संसद्वादी दलहरूसँग गठबन्धनको मूलधारको लाइनबाट विचलित नहुन सन्देश दिएको थियो । अतीतलाई हेर्दा, माओवादी नेताहरूको गिरफ्तारीले भारतमाथि माओवादीको आशङ्कालाई गहिरो र स्थायी बनायो र माओवादी दलभित्रका विभिन्न गुटहरूबीच हाल चालू शक्ति सङ्घर्षमा भारतलाई एउटा कारकको रूपमा उभ्यायो ।’

हिसिलाले रहर गरेपछि भ्रमण सङ्कटमा
प्रधानमन्त्रीपत्नी हिसिला यमीले पत्रकारहरूको नेतृत्व गर्दै चीन भ्रमणमा जाने रहर गरेपछि भ्रमण सुरु नहुँदै विवाद उत्पन्न भएको छ । चीनले हिसिला यमीको नेतृत्वमा पत्रकारहरू सीताराम अग्रहरि, अजय राणा, अजयभद्र खनाल, कसमस विश्वकर्मा, किशोर नेपाल, सुधीर शर्मा, अखिलेश उपाध्याय किशोर श्रेष्ठ, तीर्थ कोइराला, महेन्द्र विष्ट र शिव गाउँले तथा प्रचण्ड–बाबुरामका फोटो ग्राफर दिनेश श्रेष्ठ र हिसिला यमीकी सहयोगी अरुणा रायमाझीलाई साउन ३२ गतेदेखि दश दिनसम्म चीनको भ्रमण गराउने कार्यक्रम बनाएको छ । हिसिला यमीले आफू ८ मार्च र अंकुश मासिक पत्रिकासँग सम्बद्ध रहेको दाबी गर्दै पत्रकारका रूपमा चीन भ्रमण गर्ने रहर गरेकी हुन् । त्यसरी प्रधानमन्त्रीपत्नी तथा माओवादी नेतृ हिसिलाको नेतृत्वमा चीन भ्रमण गर्ने कार्यप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाउँदै आफूसम्बद्ध पत्रकारहरूलाई त्यस्तो भ्रमणमा सामेल नहुन निर्देशन दिएको छ । यसरी मिडिया सोसाइटीले आपत्ति जनाएपछि पत्रकारहरू अजयभद्र खनाल, कसमस विश्वकर्मा, सुधीर शर्मा, अखिलेश उपाध्याय, तीर्थ कोइराला र महेन्द्र विष्ट भ्रमणमा नजाने सम्भावना बढेको छ । सुधीर शर्मा र अखिलेश उपाध्यायले गत सोमबार चिनियाँ राजदूतावास गई आफूहरू हिसिलाको नेतृत्वमा चीन भ्रमणमा सामेल हुन नसक्ने जानकारी गराएका छन् । उनीहरूले पत्रकारहरूको बेग्लै टोली बनाएको अवस्थामा मात्र चीन जाने जानकारी चिनियाँ दूतावासका अधिकारीहरूलाई दिएका छन् । प्रधानमन्त्रीपत्नी अर्थात् प्रथम महिलाले पत्रकारको रूप धारण गरी विदेश भ्रमण गर्न खोजेको नेपालको इतिहासमा पहिलो घटना हो । हिसिलाको यस्तो प्रयासलाई कूटनीतिक, राजनीतिक र पत्रकारिता क्षेत्रले हास्यास्पद मानेको छ ।

टुङ्गियो दशकदेखिको मुद्दा
नेपाल विद्युत् प्राधिकरण र सरकारका निम्ति लामो समयदेखि झमेलाको विषय बनेको एउटा मुद्दा हिजो मंगलबार टुङ्गिएको छ । कालीगण्डकी आयोजनाको निर्माण गर्ने ठेकेदार कम्पनी इम्प्रिजिलोले क्षतिपूर्ति र लागत वृद्धिको समेत गरी अर्बौं रकम माग गरी नेपाल र इटलीमा मुद्दा दायर गरेको थियो । करिब एक दशकदेखि चल्दै आएको मुद्दा मंगलबार पुनरावेदन अदालत पाटनमा मिलापत्र गरेर टुङ्गिएको छ । सम्झौताअनुसार इम्प्रिजिलोलाई साढे आठ मिलियन अमेरिकी डलर अर्थात् ७६ करोड पचास लाख रुपैयाँ मात्र बुझाउने भएको छ । त्यसबापतको कर भने नेपाल विद्युत् प्राधिकरणले नै व्यहोर्ने सम्झौता भएको छ । प्राधिकरण प्रमुखको जिम्मेवारी महेन्द्रलाल श्रेष्ठले पाउनुभएको महिना दिनमै क्रोनिक बनेर रहेको उक्त समस्या समाधान हुनुलाई श्रेष्ठको कार्यकालको ठूलो उपलब्धिका रूपमा लिइएको छ । ज्ञातव्य छ, महेन्द्रलाल श्रेष्ठ विगत डेढ महिनादेखि प्राधिकरणको कामु कार्यकारी निर्देशक हुनुहुन्छ ।

पूर्वराजालाई बेल्जियममा निम्ता
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र करिब तीन साता लामो विदेश भ्रमण गरी साउन २० गते स्वदेश फर्कनुहुने भएको छ । युरोप भ्रमणका लागि गत १ गते उहाँ नेपालबाट प्रस्थान गर्नुभएको थियो । उहाँ कतारको दोहा हुँदै साउन ३ गते फ्रान्सको राजधानी पेरिस पुग्नुभएको थियो । पेरिसमा दश दिन बिताउनुहुँदा पूर्वराजाले स्पेन, जर्मनी, बेलायत, पोर्चुगल र बेल्जियमबाट आएका नेपालीसँग भेटघाट तथा छलफल गर्नुभएको थियो । उक्त अवसरमा नेपालीले नेपालको वर्तमान झन् सङ्कटग्रस्त हुँदै गएकोमा चिन्ता प्रकट गर्दै नेपालमा कुनै न कुनै रूपको राजसंस्था रहनुपर्ने धारणा व्यक्त गरेका थिए । छलफलका क्रममा नेपालीले बेल्जियममा बृहत् भेला आयोजना गर्न लागेको जानकारी पूर्वराजालाई गराएका थिए । आगामी अक्टोबरमा बेल्जियमको राजधानी ब्रसेल्समा हुने भेलामा मुख्य अतिथिका रूपमा सहभागी भइदिन उनीहरूले पूर्वराजालाई निमन्त्रणा दिएका छन् । दश दिन पेरिसमा बिताएपछि उहाँ साउन १३ गते दुबई पुग्नुभएको छ । दुबईमा पनि त्यहाँ रहेका नेपालीसँग उहाँले भेटघाट तथा छलफल गर्नुभएको बुझिएको छ । दुबईबाट उहाँ दोहा जानुहुने र दुई दिन दोहामा बसेर साउन २० गते काठमाडौं फर्कनुहुने जानकारी सम्बद्ध सूत्रले दिएको छ ।
यसअघि पूर्वराजा दोहा पुग्नुहँुदा उहाँको स्वागत तथा खातिरदारीका लागि कतार सरकारले एक प्रोटोकल अधिकृत खटाएको थियो । ती अधिकृतले पूर्वराजा ज्ञानेन्द्रलाई दोहा विमानस्थलमा स्वागत तथा बिदाइ गरेका थिए ।

कर्मचारीहरू आक्रोशित, देउवाभन्दा बाबुराम अगाडि
सत्ता गठबन्धनका घटकहरू माओवादी र मधेसी मोर्चाबीच कसले बढी कनिष्ट व्यक्तिलाई मुख्यसचिव बनाउने भनी सुरु भएको प्रतिस्पर्धामा प्रधानमन्त्री डा. बाबुराम भट्टराई विजयी हुनुभएको छ । मधेसी मोर्चासम्बद्ध मन्त्रीहरूले उमाकान्त झालाई मुख्यसचिव बनाउन माग गरेका थिए भने प्रचण्ड–बाबुरामचाहिँ धेरै अघिदेखि नै लीलामणि पौडेललाई मुख्यसचिव बनाउने कसरतमा रहेको बताइन्छ । प्रधानमन्त्री भट्टराईले माधव घिमिरे मुख्यसचिव हुँदाहुँदै विगत केही महिनाअघिदेखि नै लीलामणि पौडेलमार्फत काम गराउने गर्नुभएको थियो । विद्यार्थीकालमा वामपन्थी राजनीतिमा लागेका लीलामणि पौडेललाई नेकपा एमालेले आफ्नो मान्छे ठानेर पर्यटन मन्त्रालयको सचिव बनाएको थियो । र, त्यसबेला पौडेल एमाले नेताहरूसँग साँच्चै निकट पनि थिए । तर, संविधानसभाको निर्वाचनमा माओवादी ठूलो दलको हैसियतमा पुगेपछि लीलामणि क्रमश: माओवादीको नजिक हुँदै गएका थिए । कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका शङ्करप्रसाद कोइरालालाई हटाई लीलामणि पौडेललाई लगिएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि गृह मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा पुर्‍याइएका सचिव पौडेलले प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डलाई प्रशन्न तुल्याउने काम गरे । वैचारिक रूपले नै आफू माओवादीसँग रहेको विश्वास बाबुराम–प्रचण्डलाई दिलाउन सफल भएपछि पौडेल मुख्यसचिव बन्ने हैसियतमा पुगेका हुन् ।
लीलामणि पौडेल वामपन्थी या माओवादी जे भए पनि उनी एक इमानदार, देशभक्त र क्रियाशील व्यक्तिका रूपमा चिनिन्छन् । व्यक्तिगत रूपमा लीलामणिलाई खराब भन्ने ठाउँहरू कमै होलान्, तर बरियताक्रममा सबैभन्दा अगाडि रहेका शङ्कर कोइरालालाई पन्छाएर आठौँ नम्बरका लीलामणिलाई मुख्यसचिव बनाउँदा प्रशासनमा राम्रोभन्दा पनि कसैको मान्छे बन्नुपर्ने मान्यता स्थापित हुन पुगेको छ । शङ्कर कोइराला ज्येष्ठता क्रममा मात्र अगाडि होइनन् उनको निर्णय लिने क्षमता, सकारात्मक दृष्टिकोण, क्रियाशीलता र इमानदारीलाई पनि मानिसहरू उच्चकोटिको मान्छन् । तर, बाबुराम भट्टराईलाई रिझाउने मौका नपाएको र पृष्ठभूमि पनि वामपन्थी नभएका कारण कोइरालाले मुख्यसचिव बन्ने मौका पाएनन् । सत्तापक्षभित्र ‘को योग्यलाई बढुवा गर्ने’ भन्दा पनि आफ्नो मान्छेलाई बनाउने प्रतिस्पर्धा चल्यो । दुवै पक्षले कनिष्ट व्यक्तिलाई बोकेर हिँड्दा ‘बाबुराम भट्टराईकै कनिष्ट’ले मुख्यसचिव बन्ने मौका पाएका छन् । यस घटनाले प्रशासनिक क्षेत्रमा कामभन्दा चाकडी गर्नुपर्छ भन्ने सन्देश गएको छ । माओवादी अध्यक्ष प्रचण्डले मुख्यसचिवमा लीलामणि पौडेलको नियुक्ति नभए सत्ता गठबन्धन नै टुट्ने चेतावनी मधेसी मोर्चाका नेताहरूलाई दिएपछि मधेसी नेताहरू लीलामणिलाई स्वीकार गर्न बाध्य भएका थिए । यसको सट्टा अन्य महत्वपूर्ण नियुक्ति मधेसी मोर्चालाई दिने आश्वासन प्रचण्डले मोर्चाका नेताहरूलाई दिएका छन् । तर, कुन पदमा मोर्चालाई ‘नियुक्ति’ दिने हो सो भने स्पष्ट हुन सकेको छैन ।
लीलामणिलाई मुख्यसचिव बनाइएपछि वरिष्ठतम् सचिव शङ्कर कोइराला, सुशीलजंग राणा, अवनिन्द्रकुमार श्रेष्ठ, त्रिलोचन उपे्रती र श्याम मैनालीले पदबाट राजीनामा दिएका छन् । सरकारको कुनै निर्णयसँग असहमति जनाउँदै यति ठूलो सङ्ख्यामा सचिवहरूले राजीनामा दिएको यो पहिलो घटना हो । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफ्नी पत्नीका खास मित्र बिमल कोइरालालाई मुख्यसचिव बनाएका कारण त्यसबेलाका वरिष्ठ सचिव श्रीकान्त रेग्मीले राजीनामा दिनुभएको थियो । माधव नेपाल प्रधानमन्त्री हुँदा एमाले समर्थक खोज्ने क्रममा माधव घिमिरेलाई मुख्यसचिव बनाइएपछि वरिष्ठतम् सचिव डा. जनकराज जोशी र उमेश मैनालीले राजीनामा दिएका थिए । तर, यसपटक भने बाबुरामको निर्णयप्रति असहमति जनाउँदै सचिवहरूले राजीनामा दिने लहर नै चलेको छ । मन्त्रिमण्डलको आकारमा समेत देउवालाई माथ गरेका बाबुरामले मुख्यसचिव नियुक्ति प्रकरणमा पनि देउवालाई उछिनेको देखिएको छ ।

सञ्चारहस्तीहरूको निधनमा शोक
नेपालको प्रसारण पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्व वरिष्ठ सञ्चारकर्मी प्रवीण गिरीको क्यान्सर रोगबाट ६२ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनमा वरिष्ठ समाचारवाचकका रूपमा लामो समय योगदान गर्नुभएका गिरी पछिल्लो समयमा हिमालय टेलिभिजनमा समाचार प्रमुखका रूपमा रही अस्वस्थ अवस्थाका बाबजुद सो टेलिभिजनमा सल्लाहकारको भूमिका निर्वाह गरिरहनुभएको थियो । उहाँको निधनबाट नेपाली पत्रकारिताले अपूरणीय क्षति व्यहोर्नुपरेको भन्दै सञ्चरसम्बन्धी विभिन्न सङ्घसंस्थाले शोक व्यक्त गरेका छन् ।
टेलिभिजन एडिटर्स गिल्ड प्रसारण पत्रकारितामा उहाँले पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहने विश्वास व्यक्त गर्दै स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
यसैगरी नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउनुभएका वरिष्ठ पत्रकार चन्द्रलाल झाको ७४ वर्षको उमेरमा साउन १२ गते निधन भएको छ । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक युगको अन्त्य भएको भन्दै टेलिभिजन एडिटर्स गिल्डले नेपाली पत्रकारितामा झाले पुर्‍याउनुभएको विशिष्ट योगदान सदा स्मरणीय रहने विश्वास व्यक्त गर्दै स्वर्गीय झाप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
यसैबीच, टेलिभिजन पत्रकार जगदीश खरेलकी माता श्रीमती मदनकुमारी खरेलको हृदयाघातबाट ५७ वर्षको उमेरमा दु:खद् निधन भएकोप्रति पनि गिल्डले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको अध्यक्ष महेन्द्र विष्टले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

मातृदासलाई राष्ट्रिय गौरव साहित्य सम्मान
काठमाडौं । गोधूलि साहित्यिक प्रतिष्ठानअन्तर्गत ‘अर्को आँखा साप्ताहिक’ पत्रिकाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा नौजनालाई प्रतिभाहरूलाई सम्मान गर्ने भएको छ । सो पत्रिकाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर नेपाली भाषा, साहित्य, सङ्गीत र पत्रकारिताको क्षेत्रमा निरन्तर सेवा र योगदान पुर्‍याउँदै आइरहनुभएका जागरुक नेपाली प्रतिभालाई विभिन्न सम्मानले सम्मानित गर्ने भएको छ ।
जसअन्तर्गत ‘दीर्घ साहित्य सेवा सम्मान’ प्राज्ञ श्यामदास वैष्णवलाई दिने निर्णय गरेको छ भने ‘राष्ट्रिय गौरव साहित्य सम्मान’ रामेश्वर राउत मातृदासलाई, प्रतिभा पहिचान साहित्य सम्मान वसन्तप्रकाश उपाध्यायलाई, सङ्गीत साधना सम्मान बुलु मुकारुङलाई, युवा सिर्जनशील सम्मान पशुपति दंगाललाई, अशोक धिताल र सुमन श्रापितलाई दिने निर्णय गरेको छ । त्यस्तै पत्रिकामा रहेर निरन्तर सेवा गरेबापत कमल विम्बलाई निरन्तर सेवा सम्मान प्रदान गरिने निर्णय भएको छ । त्यस्तै चेतना प्रवद्र्धन सेवा सम्मान हरिकुमार श्रेष्ठलाई दिने निर्णय गरेको छ । आयोजक अर्को आँखा साप्ताहिकका प्रधानसम्पादक प्रकाश समीरका अनुसार सो सम्मान आगामी साउन २७ गते शनिबार प्रदान गरिनेछ ।

युद्ध–दिग्गजहरूलाई गतिशीलता उपकरण हस्तान्तरण
गोर्खा सिपाहीको बहादुरी तथा युद्धमा उनीहरूले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै उनीहरूको हेरचाह र कदरस्वरूप छिमेकी मित्रराष्ट्र भारतले विभिन्न सहयोग तथा सुविधा उपलब्ध गराउँदै आएको छ । यसैलाई निरन्तरता प्रदान गर्दै युद्धमा हातखुट्टा गुमाएका दुई युद्ध दिग्गजहरूलाई हिँडडुल गर्ने उपकरणहरू हस्तान्तरण गरिएको छ ।
गत साता चितवन भरतपुरमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत जयन्तप्रसादले युद्धमा हातखुट्टा गुमाएका दुईजना युद्ध दिग्गजहरूलाई भारत सरकारले उपलब्ध गराएको हिँडडुल गर्ने उपकरणहरू हस्तान्तरण गर्नुभयो ।
भरतपुरस्थित करिब पाँच हजार सेवा–निवृत्तहरूले निवृत्तिभरण बुझ्ने जिल्ला सैनिक बोर्डमा सञ्चालित पेन्सन क्याम्पमा आयोजित भूपूहरूको र्‍यालीको अध्यक्षता तथा दिग्गजहरूसँग अन्तरक्रिया गर्दै राजदूत जयन्तले भारत सरकारले निवृत्तहरूलाई प्रदान गर्दै आएको विभिन्न कल्याणकारी योजनाअन्तर्गतका अनुदानसमेत वितरण गर्नुभएको थियो ।
युद्ध कारबाहीहरूमा जीवन आहुति गर्ने सिपाहीका बालबालिकाहरूको शिक्षादीक्षामा लाग्ने खर्चसमेत भारत सरकारले व्यहोर्दै आएको छ । उक्त अवसरमा राजदूतले त्यस्तै दुईजना सिपाहीका सन्तानलाई सहयोग हस्तान्तरण गर्नुभयो । सो अवसरमा राजदूत जयन्तले हालै प्रदान गरिएको भूपू स्वास्थ्य योजनाबारे उल्लेख गर्दै उक्त योजनाअन्तर्गत नेपालभरिका अस्पतालमा भूपूहरूको नि:शुल्क उपचारको ग्यारेन्टी गरिने जानकारी दिनुभएको थियो । सो अवसरमा गतिशीलता उपकरण प्राप्त गर्ने युद्धदिग्गज लालबहादुर थापाले भारतीय सेनामा सेवा गर्न पाएकोमा गर्व अनुभूति भएको बताउँदै आफूहरू सेवानिवृत्त भएपछि पनि विशेष किसिमले हेरचाह गरिरहने भारत सरकारको नीतिको प्रशंसा गरे । युद्ध दिग्गजहरूलाई चिकित्सा सेवा प्रदान गर्न भारतीय सैनिक चिकित्साका तीनजनाको विशेषज्ञ टोलीसमेत भरतपुर क्याम्पमा स्थापना गरिएको थियो ।
स्मरण रहोस्, निवृत्तिभरण वितरण टोलीले आफ्नो अद्वितीय प्रयासस्वरूप सन् १९५९ देखि वृद्ध तथा शारीरिक रूपमा अशक्त तर उत्प्रेरित भूपूहरूलाई निवृत्तिभरण वितरण गर्न उनीहरू बसोबास गर्ने दुर्गम स्थानहरूमा कार्यालयहरू स्थापना गर्छन् । यस्ता शिविर सञ्चालनको क्रममा नेपाल सरकारका अधिकारीहरूसँग अन्तरक्रिया गरी निवृत्तहरूका चाहना वा चासोलाई उजागर र समाधान गरिन्छ । काठमाडौं, पोखरा र धरानस्थित तीनवटा पेन्सन वितरण कार्यालयले वर्षमा दुईपटक अस्थायी पेन्सन वितरण शिविर सञ्चालन गर्दै आएका छन् भने भारत सरकारले नेपालमा करिब एक लाख २५ हजार सेवानिवृत्त सैनिकलाई वार्षिक करिब बीस अर्ब पेन्सन तथा अन्य सुविधा वितरण गर्दछ ।

भट्टराईले रक्षा गर्न नसकेपछि मजदुर नेता धमाधम पलायन
एकीकृत माओवादीभित्र बढिरहेको आन्तरिक सङ्घर्ष र द्वन्द्वका कारण उक्त पार्टीका मजदुर नेताहरूमाथि एकपछि अर्को धम्की बढ्न थालेपछि उनीहरू धमाधम पलायन हुन थालेको बुझिएको छ । पार्टी फुट्नुअघि काठमाडौंको बबरमहलमा माओवादीका मजदुर नेता शालिकराम जमकट्टेलमाथि भएको आक्रमणको मुद्दामा तान्न खोजिएपछि प्रधानमन्त्री बाबुराम भट्टराईपक्षीय माओवादी मजदुर नेताहरू पलायन हुन बाध्य भएको सो सङ्गठनसम्बद्ध एक नेताले बताए ।
‘जमकट्टेल–घटनामा तेरो संलग्नता छ’ भन्दै प्रधानमन्त्री भट्टराईपक्षीय मजदुर नेताहरूलाई माओवादीकै जनक बर्तौला र कल्पदीप राईलगायतले धम्की दिन थालेपछि होटल मजदुर सङ्घका केन्द्रीय अध्यक्ष रमेश पन्त विस्थापित भएका छन् भने उनीसँगै भट्टराईपक्षीय मजदुर नेताहरू होम सुवेदी, नरबहादुर लामिछाने, भुवन श्रेष्ठ, ऋषिराम तिवारी, मुक्ति दाहाल पनि असुरक्षित महसुस गर्दै खुला राजनीतिमा हिँड्न नसकेको दाबी गरिएको छ । आफूहरूमाथि एकपछि अर्को गर्दै धम्की आउने क्रम बढेपछि मजदुर नेता शम्भु कटुवाल भट्टराई पक्ष छोडेर वैद्यको अध्यक्षतामा नयाँ खुलेको नेकपा–माओवादीतिर लागेका छन् ।
बताइएअनुसार आफू र परिवारमाथि निरन्तर धम्की बढेपछि मजदुर नेताहरूले सुरक्षाका लागि प्रधानमन्त्री भट्टराईलाई भेटेरै सुरक्षित वातावरण बनाउन आग्रह गरेका थिए । तर, भट्टराईले आश्वासनबाहेक अरू केही नदिएपछि उनीहरूमध्ये धेरैजना पलायन हुन बाध्य भएका छन् । जमकट्टेल–घटनामा आफू र आफ्नो परिवारलाई अनावश्यक लाञ्छना लगाई जबर्जस्ती मुछ्न र फसाउन खोजेको भन्दै मजदुर नेता रमेश पन्त परिवारसहित नै विस्थापित भएका छन् । उनले जीवनरक्षाका लागि प्रधानमन्त्री भट्टराईलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनीनिकट स्रोतको दाबी छ । त्यस्तै होटेल मजदुर सङ्घका केन्द्रीय सदस्य ऋषिराम तिवारीलाई पनि निरन्तर धम्की आउन थालेपछि उनी जीवनरक्षाका लागि विस्थापित भएको उनीनिकटका मजदुर नेताहरूले बताए । ०५४ सालदेखि पार्टीमा लागेका र शान्तिप्रक्रिया सुरु भएपछि क्यासिनो मल्लमा सुपरभाइजर पदमा काम गर्दै आएका उनलाई भट्टराई पक्षतिर लागेको आरोपमा दुई वर्षअघि नै मोटरसाइकलबाट घर जाँदै गर्दा अपरिचित व्यक्तिहरूले आक्रमण गरी घाइते बनाएका थिए । भट्टराईलाई सहयोग गरेको आरोपमा पछि उनलाई क्यासिनोको जागिर छोड्न बाध्य पारिएको र निरन्तर ज्यान मार्ने धम्की आउन थालेपछि उनी हाल विस्थापित भएका छन् । केही पहिले भट्टराईपक्षीय मजदुर नेता लालध्वज नेम्वाङलाई पाटन औद्योगिक क्षेत्रभित्र बोलाएर प्रचण्डपक्षीय मजदुरहरूले मरणासन्न हुने गरी कुटेका थिए । त्यसलगत्तै अन्ना क्यासिनोमा काम गर्दै आएका भट्टराईपक्षीय नेता ज्ञानमान डङ्गोललाई मरणाशन्न हुनेगरी दाहालपक्षीय मजदुर नेताहरूले कुटेका थिए ।
बाबुरामको विचारको सहयोग नगर्न सुरुदेखि नै आफूहरूलाई धम्की आउने गरे पनि विचार बोक्ने अधिकार सबैलाई हुन्छ भनेर भट्टराईपक्षीय मजदुर नेताहरूले आफ्नो अडान छोड्न नमानेपछि मजदुर नेताहरूलाई निरन्तर धम्की आइरहेको बताइन्छ ।
स्मरण रहोस्, एकीकृत माओवादीको जारी विस्तारित बैठकमा यही साउन ५ गतेका दिन दाहालपक्षीय नेताहरूले प्रधानमन्त्रीसमेत रहेका भट्टराईमाथि हातपातको प्रयास गरेका थिए । प्रधानमन्त्री नै असुरक्षित बन्दै गएको र एमाओवादीभित्र गुटको राजनीति झ्याङ्गिँदै गएको अवस्थामा उनीहरूबीच आपसी विवाद र झडप बढ्नुलाई अस्वाभाविक रूपमा भने हेरिएको छैन ।

समानुपातिक विज्ञापन प्रणालीको माग
सञ्चारमाध्यमलाई सक्षम बनाउन समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्नेमा धनकुटाका सञ्चारमाध्यमका प्रमुख तथा स्थानीय सञ्चारकर्मीले जोड दिएका छन् । सम्पादक मञ्च धनकुटाद्वारा धनकुटाबाट प्रसारण तथा प्रकाशित हुने सञ्चार संस्थाका प्रमुख तथा पत्रकारको छलफल कार्यक्रममा उनीहरूले समानुपातिक विज्ञापन वितरण प्रणालीको माग गरेका हुन् ।
सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव विजयसन्तोषी राईले सरकारले केन्द्रदेखि जिल्लासम्म विज्ञापन वितरणका समिति बनाई मन्त्रालयदेखि जिल्लास्तरका कार्यालयसम्मका विज्ञापन राजधानीदेखि मोफसलसम्मका सञ्चारमाध्यमलाई समानुपातिक ढङ्गले वितरण गर्न माग गरे । रेडियो मकालुका स्टेसन म्यानेजर नैन विश्वकर्माले सञ्चारमाध्यमका लागि सरकारले कर वृद्धि गर्ने तर सुविधा नदिने गरेकाले सञ्चारमाध्यमहरू सङ्कटमा परेको भन्दै सञ्चारमाध्यमलाई सक्षम बनाउन राज्य अग्रसर हुनुपर्नेमा जोड दिए ।
सम्पादक मञ्च धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा रेडियो लालीगुराँसका स्टेसन म्यानेजर विदुर खवास, जनविश्वास साप्ताहिकका कार्यकारी सम्पादक हिमा चेम्जोङ, तेस्रो साप्ताहिकका प्रधानसम्पादक मणिकुमार श्रेष्ठलगायतले समानुपातिक विज्ञापन वितरण भए मात्र सञ्चारमाध्यमहरूसक्षम हुने धारणा प्रस्तुत गरेका थिए ।
यसैगरी, आन्दोलनरत धनकुटाका पत्रकारहरूले पत्रपत्रिका हुलाक दर्ता शुल्क र निजी एफएमहरूमा आम्दानीको दुई प्रतिशत सरकारले लिने व्यवस्था खारेज नभएसम्म आन्दोलनबाट पछि नहट्ने जानकारी दिएका छन् । – शान्ता भुसाल

आजीवन सुविधा नदिन अन्तरिम आदेश
नागरिक समाजको तिब्र विरोधपछि केही पुर्वविशिष्टहरुले सरकारले दिएको सुविधा फर्काउने निर्णय गरे पनि अधिकांशले आमविरोधलाई सुनेकोनसुन्यै गरी सुविधा उपभोग गर्ने नै मनस्थिति बनाएको अनुभूति गरिएको छ । तर, जनताले रगत पसिना बगाएर तिरेको करबाट ऐशआरामको जिन्दगी काटौंला भन्नेहरुलाई सर्वोच्च अदालतको मंगलबारको फैसलाले नराम्रो धक्का पु¥याएको छ ।
हो, आममानसको भावनाअनुकुल सर्वोच्च अदालतले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले मुद्दाको अन्तिम टुङगो नलाग्दासम्म प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । साथै राष्ट्रपति र प्रधानमन्त्रीलाई १५ दिनभित्र लिखित जवाफ लिन समेत भनेको छ । अन्तरिम संविधान विपरित सुविधा दिने अध्यादेश जारी भएको जिकीर गर्दै अधिवक्ता भरत जंगमले खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

कहाँ छ वास्तविक सुन्दरता ?
भनिन्छ सुन्दरता हेर्नेको आँखामा हुन्छ । सुन्दरतालाई परिभाषित र वर्गीकरण गर्न पनि कठिन हुन्छ । किनभने, एउटालाई सुन्दर लागेको वस्तु अर्कालाई सुन्दर नलाग्न पनि सक्छ । तर पनि संसार सुन्दरतामै लोभिन्छ र पग्लिन्छ । पछिल्ला वर्षहरूमा सुन्दर बन्नका लागि लाखौँ खर्चिनेको कमी छैन यस काठमाडौं नगरीमा । सुन्दरताको खोजीमा संसार चहार्नेको कमी छंन यस धर्तीमा । किनकि, मानिसलाई सुन्दर विचारभन्दा सुन्दर आँखा नै बढी प्यारा लाग्छन्, सुसंस्कृत व्यवहारभन्दा सुन्दर अनुहार नै बढी मन पर्छन् ।
मानवीय स्वभाव नै हो आवरणमा सुन्दर बन्ने चाहना कसलाई हुँदैन र ? काठमाडौं रेडन कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्रा मनीषा पण्डितलाई पनि आफ््नो घुम्रिएको कपाल देखेर साह्रै रिस उठ्छ । त्यसैले उनले कपाल स्टेट गरेर आफ्नो सुन्दर बन्ने चाहना पूरा गरेकी छिन् । सुन्दरता के हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘जसलाई देख्दा, सुन्दा अथवा महसुस गर्दा मन आनन्दित हुन्छ त्यो नै सुन्दरता हो ।’ त्यसैगरी पब्लिक युथ कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र आशिष अधिकारीले पनि सुन्दर बन्नका लागि आफ्नो कपाल रङ्ग्याएका छन् । उनी भन्छन्, ‘संसारै सुन्दरतामा झुम्मिन्छ भने आफू पनि किन कम बन्ने ?’ सुन्दर बन्ने चाहना बोकेर उनी कपाल काट्न सधैं निल डेबिडको सैलुनमा पुग्छन् । केही वर्षअगाडिसम्म सुन्दर बन्ने रहर केवल केटीहरूलाई मात्र हुन्छ भन्ने मान्यता अहिले फेरिएको छ । यस सवालमा केटीहरूकै लाइनमा केटाहरूसमेत आइपुगेका छन् । केटीहरूजस्तै केटाहरू पनि हेयरस्टाइल, ड्रेसअपमा बढी नै संवेदनशील बन्न थालेका छन् । केही वर्षअगाडिसम्म आफूले लगाउने पोसाकमा केही ध्यान नदिने प्रेम केसी अचेल त्यसमा विशेष ध्यान दिन थालेका छन् । उनी भन्छन्, ‘जमाना नै फेयर एन्ड लभ्लीको छ, हेर्दा जो सुन्दर उसको दुवै हातमा लड्डु ।’ उनको भनाइसँग त्रिचन्द्र कलेजमा अध्यनरत छात्र निर्मल अधिकारी पनि सहमत छन् । त्यसैले उनी आफूलाई सुन्दर बनाउन ब्रान्डेड जिन्स र टिसर्ट लगाउँछन् ।
सुन्दरता मापन गर्न वा जोख्न नसके पनि केही वर्षयता सुन्दरतासम्बन्धी धेरै प्रतियोगिता आयोजना हुन थालेका छन् । मिस नेपाल, मिस टिन, मिस नेवाः जस्ता थुप्रै प्रतियोगिता वर्षेनी सम्पन्न भइरहेका छन् । हालै मिस नेवाः प्रतियोगितामा भाग लिएकी काठमाडौं मोडल कलेजकी छात्रा लुनिभा श्रेष्ठका विचारमा यस्ता प्रतियोगिताले कुनै पनि व्यक्तिको व्यक्तित्व विकासमा सहयोग पु¥याउँछ । उनको भनाइमा यस्ता प्रतियोगिताले भित्री र बाहिरी दुवै सौन्दर्यलाई मापन गर्छ ।
सौन्दर्यताका कडी व्यक्तिपिच्छे फरक हुन्छन् । कसैलाई कालो छाला मनपर्छ त कसैलाई गोरो, कसैलाई लामो नाक मनपर्छ त कसैलाई थेप्चो । मानवीय स्वभावअनुसार प्रत्येक व्यक्तिले आफूलाई भने राम्रो नै ठान्छ । ऐना हेर्दा सबैभन्दा सुन्दर व्यक्ति आफूलाई नै ठान्छ । बागमती मोडर्न कलेजका प्राचार्य दीपक सापकोटालाई पनि ऐना हेर्दा सबैभन्दा सुन्दर व्यक्ति आफैं लाग्दोरहेछ । तर पनि कोभन्दा को सुन्दर भन्ने होडबाजी सधैं चलिरहन्छ । त्यही सुन्दर बन्ने होडबाजीकै लागि त विश्वसुन्दरी, ब्रह्माण्ड सुन्दरीजस्ता प्रतियोगिता आयोजना हुन्छन् ।
तथापि, सुन्दरता केवल सुन्दर शरीर मात्र होइन । यसो विचार गर्दा सुन्दर अनुहार चाहुरी पर्ला, गुलाफी ओठहरू काला होलान् तर मानवमा हुने सुन्दर विचार–व्यवहारहरू कहिल्यै नास हुँदैनन् । भित्री सौन्दर्यलाई रोगरूपी किटाणुले नास गर्न सक्दैन । सायद त्यसैमा पो वास्तविक सुन्दरता लुकेको छ कि ?
– निर्जला अधिकारी (प्रशिक्षार्थी)

प्राध्यापकहरूले बढाए नेपालको गौरव
एसियाकै व्यवस्थापन क्षेत्रका अग्रणी र अद्वितीय भनेर चिनिनुभएका वरिष्ठ प्राध्यापक डा. पुष्कर बज्राचार्यले केही समयअगाडि गर्नुभएको संयुक्त अधिराज्य बेलायत र क्यानडाको भ्रमणलाई नेपालमा ग्रामीण विकास शिक्षाका परिकल्पनाकार एवम् पहिलो स्थायी प्राध्यापक उमेशप्रसाद आचार्यले ऐतिहासिक र गौरवपूर्ण भएको बताउनुभएको छ । डा. बज्राचार्यले बेलायतका अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठित केही विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा काम गरी त्रिविको गौरव बढाउनुभएको र त्यहाँका प्राध्यापक तथा नागरिक समाजसँग समेत सम्बन्ध राखेर नेपाल र बेलायतबीचको सम्बन्ध, प्राज्ञिक स्तर, विश्वविद्यालयस्तर र नागरिक समाजका बीचमा सुमधुर बनाउनुभएको कुरा आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी प्राध्यापक बज्राचार्यले क्यानडामा रहेका विश्वविद्यालय, प्राज्ञिक स्तर र नागरिक समाजसँग गर्नुभएको भ्रमण पनि नेपाल र खासगरी त्रिविका सन्दर्भमा विशेष महत्वपूर्ण भएको बौद्धिक जगत्को ठहर रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ केन्द्रीय कोषाध्यक्ष प्राध्यापक जगत तिमिल्सिनाले हालै तीन साताव्यापी गर्नुभएको चीनको भ्रमण पनि त्यत्तिकै महत्वपूर्ण रहेको प्राज्ञिक क्षेत्रमा चर्चा छ । उहाँले चीनमा रहँदा त्यहाँका विश्वविद्यालयहरू, प्राध्यापकहरू र नागरिक समाजसँग सम्बन्ध राखेर नेपाल र चीनको मित्रतालाई जनस्तरमा अगाडि बढाउन विशेष भूमिका खेल्नुभएको कुरा विशेष प्रशंसनीय छ भन्दै आचार्यद्वारा जारी विज्ञप्तिमा प्राध्यापक तिमिल्सिनाको भ्रमण ऐतिहासिक, सांस्कृतिक, शैक्षिक दृष्टिले विशेष महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
– हेमराज लम्साल

गाउँमा सूचना प्रविधि भित्याउँदै छ सीआईटी
विगत एक दशकदेखि सूचना तथा सञ्चार प्रविधिको पहुँचलाई ग्रामीण क्षेत्रसम्म पु¥याई ग्रामीण विकासका लागि विविध किसिमबाट सहयोग गर्दै आएको सूचना प्रविधि केन्द्र (सीआईटी) ले ग्रामीण विकासका लागि सूचना तथा सञ्चार प्रविधि विषयक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
तालिमका सहभागीलाई विज्ञान तथा प्रविधिमन्त्री डा. केशवमान शाक्यले प्रमाणपत्र वितरण गर्दै सरकारले सूचना प्रविधिका क्षेत्रमा केही नवीनतम् कामहरू गर्ने जानकारी दिए । मन्त्री शाक्यले हालै मन्त्रालयमा आईटी विभागको स्थापना स्वीकृति दिइसकेकोले अबका दिनमा सो विभागले सूचना र प्रविधिका क्षेत्रमा बृहत्तर कार्य गर्दै जाने पनि बताए । सो कार्यक्रममा सीआईटी नेपालसँग आबद्ध रही सहकार्य गर्दै आएको विनरककी मोना शर्मा, हेल्प नेपाल नेटवर्कका अरुणसिंंह बस्नेत, मिडासका छत्रहरि कार्की, क्यानका प्रतिनिधिलगायतले सीआईटीका कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए भने सीआईटीका अध्यक्ष विमल शर्माले सीआईटीबारे बताएका थिए ।
सीआईटीले द्वन्द्वकालमा रुकुम र बर्दियाबाट ग्रामीण विकासका लागि सूचना तथा सञ्चार प्रविधि पहुँचका लागि काम सुरु गरेको थियो । अहिले सो अभियान महोत्तरी, दाङ, कास्की, अर्घाखाँची, तथा सिरहामा पनि विस्तारित भइसकेको छ । ती जिल्लाका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पहुँच विस्तार गर्ने र आर्थिक समुन्नति, रोजगारीको वृद्धि एवम् पर्यटन विकासका लागि पनि योगदान पु¥याउने काम सीआईटीले गर्दै आएको छ । सीआईटीले इतिहासका क्षेत्रमा कामसमेत गर्दै आएको छ । विगतका दिनमा पर्यटकीय विकासमा लागि पनि क्रियाशील सूचना प्रविधि केन्द्र सीआईटी नेपालले पर्यटकीय र पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिएको क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच बढाउने काम गर्दै आएको छ । यसै वर्ष केन्द्रले थप पाँच जिल्लाका १० सामूदायिक विद्यालयलाई सहयोग गर्ने योजना तयार गरेको छ । केन्द्रका अध्यक्ष विमल शर्माले निजी क्षेत्रबाट सूचना प्रविधिका क्षेत्रमा केही गतिला काम भए पनि राज्यको तर्फबाट खासै उपलब्धिमूलक कामहरू हुन नसकेको बताउँदै सरकारले पनि केही गर्नुपर्नेतर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।