विचारको कुनै देश हुँदैन

विचारको कुनै देश हुँदैन


नेपालका एक राजनैतिक विचारक, समाजवादी आन्दोलनका धरोहर र नेपाली काङ्ग्रेसका आदर्शवादी नेता गोविन्द कँडेलका कान्छा छोरा शेखर कँडेल हाल बेलायत बस्छन् । नेपालमा छँदा उनले पनि विद्यार्थी आन्दोलनमा छुट्टै परिचय बनाइसकेका थिए । विसं २०४५ को आन्दोलनमा त लामो समय जेलसमेत परे । परिवारमा कमाउने कोही थिएनन् । सबै राजनीतिमा होमिए । ब्यवहारले निर्मोही भएर निचोर्दा समेत उनि पार्टी र आन्दोलनमा लागिरहे । धौलागिरिमा बुबाको सहारा नलिइकन चिनिन सक्ने परिचय बनाए । दुई दशकअगाडि युरोप आए । त्यसको तीन वर्षपछि बेल्जियम । जहाँ पुगे जनसम्पर्क समिति बनाउदै हिँडे । कसैले जश दिए कसैले दिएनन् । कतै पदको लागि मरिहत्ते पनि गरेनन् र आफ्नो गुनासो सडकमा सुकाउँदै पनि हिँडेनन् । अघिल्लो हप्ता उनै शेखर अर्थात काङ्ग्रेसको वैचारिक बहसमा तार्किक भूमिका निभाउन सक्ने बाग्लुङे युवा नेतासँग बेल्जियममा भेट भयो । घटना र विचारको लागि बेल्जियममा लिइएको अन्तर्वार्ताको अंश ।

० समाजवादीहरूको आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरूलाई समाजको सार्वजनिक सम्पत्तिको रुपमा फेर्नु हो, नेपाली काङ्ग्रेसले शुरुवात कालमा लिएको समाजवादी नीति पनि त्यहि हो भनिन्छ, के भन्नुहुन्छ ?
– हो, पक्कै हो । हामी के भन्छौं भने समाजवादी आन्दोलनको परिणाम यस्तै हुनेछ । तर त्यसको लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाहरूको जरुरत हुनेछ । तर दुर्भाग्य, पार्टीको यहि समाजवादी नीति, राष्ट्रियतासम्बन्धी रणनीति र प्रजातन्त्रको मुलभूत कुराहरूबारे पार्टी्भित्र अचेल बहस नै हुँदैन । दुःखका साथ भन्नुपर्छ, समाजवादी स्कुलिङलाई बीपीको युगपछि समाप्त पार्दै लगिएको छ ।

० बीपीले जारी गरेका पार्टीको घोषणापत्र केवल नेपाल वा केही त्यस्तै एक–दुईटा देशहरूको लागि मात्र उपयोगी हुनेछन् वा संसारभरि ?
– गज्जबको प्रश्न । यदि तपाईं त्यो बेलाको घोषणापत्र मात्रै पढेर हाम्रो बारेमा नतिजा निकाल्ने प्रयास गर्नुहुन्छ भने म भन्छु– तपाईं हाम्रो सँगठनका गतिविधिहरूको बारेमा केही पनि जान्न सक्नुहुन्न । उद्देश्यको कुरा हो भने संसारभरिका प्रजातान्त्रिक समाजवादीहरूको कार्यदिशामा खास भिन्नता छैन । केहि आफ्ना देशका मौलिक कुराहरू पनि छन् ति कुराबारे बीपीले समेत स्पष्ट पार्नु भएको छ – ‘यस घोषणापत्रका कैयौं कुराहरूको नेपालभन्दा बाहिर कुनै महत्व छैन ।’ युरोप, अमेरिका, ल्याटिन,एसियामा समेत ती देशका आ–आफ्ना विशेष कठिनाइ, त्यसका भिन्न अनुभव र आफ्ना मौलिकताअनुरुप त्यो बेला मोर्चा र संगठनहरू ति देशका मौलिकताअनुरुप बनेका थिए । त्यो हुँदाहुँदै पनि ति सबै औपनिवेशिकताबिरोधि, प्रजातान्त्रिक समाजवादी आन्दोलनसँग समाजवादीहरू बीच अनुपम अन्तरसम्बन्ध थियो । उनीहरू र हामीहरूको सांगाठानिक रुपमा भिन्न मौलिक विशेषताहरू भए पनि उद्देश्यहरूमा समानता थियो । ति उद्देश्यहरूलाई आंशिक रुपमा बाहेक हामीले अझै प्राप्त गर्न सकेका छैनौँ, जुन हामी सबै उद्देश्यहरू प्राप्त गर्न निरन्तर प्रयत्नरत छौँ र हुनुपर्छ ।

० तपाइको पार्टीको समाजवादी कार्यदिशा भनेको के गरिव वर्गको प्रभुत्व कायम गर्नु हो ?
– होइन, त्यो उद्देश्य भनेको कसैको अधिनायकत्व कायम गर्नु हैन । हाम्रो पार्टीको नीति भनेको मानवतासहितको समाजवादी कार्यक्रम लागु गर्दै स्वतन्त्रतासहितको सामुहिक आर्थिक समृद्धितर्फको अभियान हो । गरिबको प्रभुत्वको नाममा नेतृत्वले तानाशाह जन्माउने परिपाटी त कम्युनिष्टमा हुन्छ । हामीले संवैधानिक राजतन्त्र, गणतन्त्र र संशदीय प्रजातन्त्रभित्र समाजवाद लागु गर्न सकिने विश्वास गर्छौं । जस्तोकि बेल्जियम, निदरल्याण्ड, फ्रान्स, जर्मन भिन्न–भिन्न प्रकारको प्रजातन्त्र भएका समाजवादी मुलुकहरू हुन् ।

नेपालका पेशेवर राजनीतिज्ञहरूमाथि अरु बेसी भरोसा गर्न नसकिने अवस्था देखिएको छ । अहिले पनि पुरानो संरचनाका भ्रष्टहरूकै हालीमुहाली छ । नेताहरू तिनैको घेरान्दीमा परेका छन् । हाम्रो पार्टीको कार्यक्रम अहिले दिग्भ्रमित भएको छ, नीतिगत स्पष्टता देखिएको छैन । कम्युनिस्टहरूको त नीतिगत सवालमा झन् बेहाल छ । यो अलमलबाट पार्टी मुक्त हुन जरुरी छ ।

० के नेपालका समाजवादी काङ्ग्रेसीहरू युरोपियन प्रजातान्त्रिक समाजवादी आन्दोलनलाई महत्वपूर्ण मान्दछन् ?
– हो, हाम्रा आदर्श समाजवादी राज्य नर्वे, डेनमार्क, जर्मन लगायत युरोपियन भूमिमा अहिले फुलिरहेका छन् । जहाँ संसारका असंख्य आप्रवासीहरू पेटको आगो निभाउन रित्तो थाल थापेर डगारिरहेका छौँ । यहाँ यिनैले दिएको पापड खाएर यहि ठाउँमा बिष्ट्याउँदै यिनैलाई गालि गर्ने पनि युरोपभित्र छिरेका छौँ भने समर्थन गर्ने पनि मिलेर बसेका छौँ । युरोपको रेनेशा, औद्योगिक क्रान्ति, मजदूर र नारीमुक्ती आन्दोलनहरू र यहाका देशहरूले अँगालेका समाजवादी राजनैतिक कार्यदिशा नै यी देशको विकासको आधार हो । के पनि भनिन्छ भने संसारभरिका समाजवादी आन्दोलनका भ्रुणहरू बेलायत र फ्रान्सबाट ल्याइएको हो । आजभन्दा २०० वर्ष अगाडि जब बेलायतमा मजदुर आन्दोलनको रुप जुझारु हुन थालेको थियो, तब यहाँ पनि प्रजातान्त्रिक समानतालाई प्रस्थानबिन्दु मानिएको थियो । यो कुरा समाजवादको चर्चा हुन थाल्नुभन्दा अगावैको कुरा हो । अमेरिकामा सन् १८५७ देखि नै मजदुर आन्दोलन प्रभावशाली हुन लागेको हो । त्यसपछि मजदुर यूनियनहरू फल्न–फुल्न थाले । त्यसपछि त्यस्ता मजदुरसभाहरूको निर्माण हुन थाल्यो, जसबाट विभिन्न उद्योगहरूमा काम गर्ने मजदुरहरूबीच एकता कायम भयो । र, अन्त्यमा राष्ट्रिय मजदुर संघको स्थापना भयो । यदि तपाईंले यो क्रमिक विकासमाथि ध्यान दिनुभयो भने तपाईंलाई थाहा हुनेछ– आन्तरिक आवश्यकताले नै सुरुमा फ्रान्समा समाजवाद पैदा भयो र त्यो पुँजीको केन्द्रीकरण तथा मजदुर एवं मालिकको बदलिँदो मानवीय सम्बन्धका कारण सम्भव भयो ।

० अब यो बताइदिनुस कि तपाईंको पार्टीले अँगालेको समाजवादले अहिलेसम्म के–के गर्यो ?

– दुईवटै कुरा भएका छन् । समाजवादीहरूले पुँजी र श्रमको समान पहुँच स्थापित गर्न व्यापक संघर्षको बाटो देखाएका छन् । अर्थात्, त्यसलाई विश्वव्यापी बनाएका छन् । यसैको फलस्वरुप संसारभरका राष्ट्रिय पुँजीपति, किसान र मजदुरहरूबीच एकताको विचार जन्मिएको छ । र, विचार अहिले अरु बेसी आवश्यक भएको छ, किनकि पुँजीपतिहरूले मजदुरको बहालीका लागि संसारभरका मजदुरहरूमाथि आँखा लाउन थालेका छन् । एक खालले सम्झौता गर्न थालेका छन् । अमेरिकामा मात्रै होइन, बेलायत, फ्रान्स, र जर्मनीका कम्पनीका मालिकहरूले समेत स्वदेशी मजदुरहरू सँगसँगै विदेशी मजदुरहरूलाई उपयोग गर्न थालेका छन् । यो सताब्दी ग्लोबलाइजेसनको हो । अब स्थानीय समस्याले पनि अन्तर्राष्ट्रिय रुपमा प्रभाव पार्छ । यसबाट के सावित हुन्छ भने समाजवाद कुनै स्थानीय रूपमा समस्याको हल होइन रहेछ । यो त अन्तर्राष्ट्रिय राजनैतिक समाधानको नाम हो । यो त आफ्नो मौलिक रुपमा जहापानी लागु गर्न सकिने रहेछ । यहि कुरा त्यो बेला नै बुझेर बीपीले प्रजातन्त्र सहितको समाजवादमा जोड दिनु भो, विचारको बहस स्वतन्त्रता, निजि मौलिक क्षमता, मानवअधिकार र मौलिक हक सहितको समाजवादी आन्दोलनलाई पार्टीको नीति बनाउनु भयो । यसको अन्तराष्ट्रिय महत्व कहिल्यै समाप्त हुँदैन । हामीलाई आफ्नो मौलिक विशेषता र महत्वसहितको समाजवादी आन्दोलनका उद्देश्यहरूको बारेमा मुर्त ज्ञान नहुँदानहुँदै पनि प्रजातान्त्रिक समाजवादी आन्दोलन स्वतःस्फुर्त रुपमा लगातार अगाडि बढिरहेको छ ।

० तपाई नेपाली काङ्ग्रेसका गतिविधिबाट सन्तुष्ट हुनुहुन्छ ?
– प्रजातान्रिक समाजवादीहरूको दृष्टिकोणमा नेपालको वर्तमान ऐतिहासिक अवस्थामा क्रान्तिको तत्व अझै विद्यमान छ । युरोपमा साम्यवादीहरूसँगको राजनैतिक प्रतिस्पर्धा र भ्रष्ट क्याथोलिक शासनलाई उखलेर फालेपछि समाजवादीहरूले आफ्नो सम्पुर्ण शक्ति देशको आर्थिक रुपान्तरण गर्न लगाए । कन्जरभेटिभ र साम्यवादीहरूसँग मत भिन्नता भएपनि देश निर्माणमा एक देखिए । युरोपले भ्रष्टाचार र अनियमिततालाई सुन्य सहनशीलतापुर्वक न्युनतम रुपमा झार्न सफल भए । तर नेपालको सन्दर्भ भर्खर संक्रमणकालबाट गुज्रेको छ । यहाँ पेशेवर राजनीतिज्ञहरूमाथि अरु बेसी भरोसा गर्न नसकिने अवस्था देखिएको छ । अहिले पनि पुरानो संरचनाका भ्रष्टहरूकै हालीमुहाली छ । नेताहरू तिनैको घेरान्दीमा परेका छन् । हाम्रो पार्टीको कार्यक्रम अहिले दिग्भ्रमित भएको छ, नीतिगत स्पष्टता देखिएको छैन । कम्युनिस्टहरूको त नीतिगत सवालमा झन् बेहाल छ । यो अलमलबाट पार्टी मुक्त हुन जरुरी छ । बल्ल देशभर पार्टीको कार्यक्रम लिएर लागु गर्ने वातावरण बन्ला कि भनेर आश गर्न सकिएला । अहिलेको नेपालको राजनैतिक अवस्थालाई नढाँटिभन्दा पार्टी नेता र सांसदहरू गूटवाजीको शिकार भएका छन् र संसद त्यस्तैको अखडा भएको छ । राजनीति व्यबसाय भएको छ । यो दशा नेपाल मात्र होइन, दक्षिण एसियाको हालत पनि यस्तै छ । फरक के मात्रै हो भने नेपालीहरूको तुलनामा भारतीय जनता केही बेसी सावधान र बढी अनुभवी छन् । नेपालमा सबै नीतिगत योजनाहरूको रहस्य तुरुन्तै खुल्छ, तर भारतको ब्युरोक्र्याटसको योजना सफलता पछि मात्र थाहा हुन्छ ।

० तपाइँ किन युरोप पलायन हुनुभयो ?
– यसको प्रमुख कारण तपाईंलगायत धेरै नेपालीलाई थाहा छ । यो विषयमा बढी नसोध्नुस् ।

० बेल्जियम आएपछि जनसम्पर्क समिति बनाउनुभएछ, किन ?
– आस्था हो नि मुख्य कुरा ! यहि थाल थापेर थालमा रोटि दिनेहरूलाई सराप्नेहरूको बिगबिगी थियो त्यो बेला । उनीहरूसँग हाम्रो बैचारिक मिलन सम्भव नै थिएन नि । त्यो बेलाका माओवादी क्या, बुझ्नु भो नि । अर्को कुरा, संगठन बनाएर हामीले अपराध नै गरेका हैनौ नि । हेर्नु न इतिहासमा, महात्मा गान्धीले दक्षिण अफ्रिकामा ब्रिटिस मालिकहरूले गरेको अत्याचार देखेर औपनिवेशिक दासताबाट भारतलाई मुक्त गर्ने सपना देखे । कम्युनिष्ट नेता होचिमिन्हले फ्रान्सबाट राजनीति शुरु गरे । पछि भियतनाम गएर क्रान्ती नै गरे । म त भन्छु, कुनै पनि देशमा बसेर त्यो देशको सार्वभौमिकतामा खलल पर्ने, त्यो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र कसैलाई अनावश्यक रुपमा प्रयोग गर्नु अपराध हो । त्यसो गर्नु हुँदैन । तर आस्थाका विचार मिल्नेहरू संगठित हुनु, आफ्नो देशको प्रजातन्त्र, मानावधिकार र समृद्धिको बारेमा बहस गर्नु–गराउनु, परोपकारी कार्यमा सहयोग पुर्याउनु र कर्मभुमिका पार्टीबाट विकसित विचार वा पद्दतिको सिको गर्नु कुनै अपराध हैन । भनिन्छ, विचारको कुनै देश हुँदैन । त्यहि सोचेर सन् २००० अगाडीबाट नै ध्रुव पौडेललाई संस्थापक नेता मानेर जनसम्पर्क समिति बनाउने गृहकार्य गर्यौं । त्यो बेला समिति बनाउन पुग्ने साथी समेत थिएनौँ । भएका पनि लुकेर बस्यौँ । पछि गंगाजी, सीताजी, गोपालजी, इन्द्रजी, राम दाई, गोविन्दजी, सुवास भाइ लागायत एउटा छिरलिएको टिम संगठित भयो । प्रारम्भिक कालमा संस्थापक सल्लाहकार भूमिका सकेको निभाएँ । त्यो बेलामा केहि रेडिकल साथिहरूबाट ममाथि गरिएका झोसपोल र असजिला कुकृत्य पनि गरीए । विचारमा असहमत हुनु भनेको दुश्मन हुनु त हैन नि । जो हुनु भैसक्यो, त्यसको के कुरा गर्नु ।

० तपाईं नेतृत्वमा आउनुभएन, हराउनु भयो त ?

– बच्चाहरूलाई अंग्रेजी पढाईप्रतिको मेरो मोहले पछि बेलायत बसाइसराइ भयो । त्यहाँको जनसम्पर्क समितिको सह–महामन्त्री भएर पनि एक कार्यकाल चलाएँ । त्यहाँ पनि नीतिगत कुरामा भन्दा साथीहरू कसलाई कसरी सिध्याउने र आफु अगाडी जाने भन्ने कुरामा असहिष्णु बहस हुन थाल्यो । सम्झिँदा निरास हुन मन लाग्छ कहिलेकाहीं । बेल्जियममा पनि त्यस्तै देख्छु, सुन्छु । बिरक्त लाग्छ । एक समयमा एउटा भेगकै आन्दोलन हाँकेका विद्यार्थी नेताहरू छन् बेल्जियममा पनि । गंगाजी, सीताजी, ध्रुव दाइ, माधव भाइ, बलिरामजी जस्ता नेता भएको ठाउमा सङ्गठन युरोपको नमुना हुनुपर्ने हो । स्वस्थ बहसको लागि बेल्जियम युरोपको नमुना हुनुपर्ने हो, अराजकताको र अनुशासनविहीनाताको अवस्था नहुनुपर्ने हो । अग्रजहरूलाई सम्मानसहित ब्यवस्थापन पनि गरिनुपर्ने हो । तर सबै साथिहरूसँग सङ्गठनका गुनासाहरू मात्र छन्, सबै साथीहरू दुःखी देखिन्छन्, यो सब दुर्भाग्य हो । त्यहि कारण अहिले अलिक निस्क्रिय त हैन तर विक्षिप्त जस्तो छु ।

० नेपालतिर स्थायी रुपमा फर्कने सोच हो ?
– त्यो कुरा परिस्थितिले निर्धारण गर्ने कुरा हो । मन फर्किने छ, भावना पनि उतै उड्छ र सपना पनि उतैको देख्ने गर्छु । हेरौँ पछिको कुरा के हुन्छ ।

प्रस्तुति : डिल्लीराम अम्माई