नेपाल प्रथम गराउन लमजुङको ९ स्वर्ण

नेपाल प्रथम गराउन लमजुङको ९ स्वर्ण


राजधानी काठमाडौंमा आयोजित ८ औँ अन्तराष्ट्रिय सेमिनार तथा छैटौँ अन्तराष्ट्रिय कराँते च्याम्पियनसीप २०१८ मा लमजुङले इतिहास रचेको छ ।

नेपाल प्रथम भएको उक्त प्रतियोगितामा लमजुङको महत्वपूर्ण भूमिका रह्यो । खेलाडीहरु जापान गोजुरियो कराँते डो केन्वोकाई नेपाल लमजुङ शाखाबाट सहभागि थिए । नेपाललाई प्रथम बनाउन लमजुङका तर्फबाट प्रतिनिधित्व गरेका खेलाडीले सवैभन्दा बढी ९ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्न सफल भएको प्रशिक्षक प्रकाश गुरुङले बताए । इतिहासमै पहिलो पटक लमजुङले यतिका धेरै स्वर्ण पदक र नतिजा ल्याउन सफल भएको उनले दावी गरे ।

कुमुतेतर्फ ९–१० बर्ष समूहमा खेम तामाङले कास्य, १०–११ बर्ष समूहमा असिम गुरुङले स्वर्ण, ११–१२ समूह समूहमा प्रतीक बिसुरालले रजत पदक, १२–१३ बर्ष उमेर समूहमा सुनिल गुरुङले रजत पदक प्राप्त गरेका थिए ।

यस्तै, ५० केजी समूहमा सम्पूर्ण आलेले कास्य, ५५ केजीमा जेम्स तामाङले कास्य, ६० केजीमा अंकित गुरुङ प्रथम र पदम गुरुङ दोस्रा भएका थिए । फाइनलमा दुवैजना भिडेका थिए । यसैगरी कातातर्फ ८–९ बर्ष उमेर समूहमा उमेश गुरुङ प्रथम, ९–१० बर्ष उमेर समूहमा असिम गुरुङ दोस्रो, ११–१२ समूहमा प्रतीक बिसुराल प्रथम, जुनियर बोइज समूहमा सुनिल गुरुङ प्रथम, सिनियर बोइज समूहमा प्रशिक्षक प्रकाश गुरुङ दोस्रो भएका छन् । समूह कातातर्फ प्रतीक बिसुराल, असिम गुरुङ, सुनिल गुरुङले स्वर्णपदक प्राप्त गरेको छ ।

काठमाडौंको वनस्थलीमा पुस १८ गतेदेखि २२ गतेसम्म भएको उक्त च्याम्पियनसिम प्रतियोगितामा नेपाल, भारत, जापान र बंगलादेशका खेलाडी सहभागि थिए । नेपालका लागि लमजुङका अलावा चितवन, दोलखा, रुपन्देही, पाल्पा, धादिङ र काठमाडौंका खेलाडी सहभागि थिए ।

प्रतियोगितामा नेपाल प्रथम, भारत दोस्रो र जापान तेस्रो भएको थियो । लमजुङमा कराँते खेल विस्तार हुँदै गएपनि सम्बन्धित निकायले ध्यान पु¥याउन नसकेको प्रशिक्षक गुरुङले बताए । कराँते खेललाई उचित विकास गर्न सके जिल्लामै थुप्रैै खेलाडी उत्पादन हुने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म सक्षम खेलाडी उत्पादन गर्न सकिने उनको भनाई छ ।

बेसीशहरमा उचित कवर्ड हलको ब्यवस्था नहुँदा खेलाडीहरुले हरेक बिहान फुलबारी मञ्चमा तयारी गर्दै आएका छन् । सन २००६ मा स्थापना भएको जापान गोजुरियो कराँते डो केन्वोकाई नेपाल लमजुङ शाखाले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।