लेखापाल नहुँदा भुक्तानी रोकियो

लेखापाल नहुँदा भुक्तानी रोकियो


म्याग्दीको धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।
म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको कार्यालय करिब दुई महिनादेखि लेखापालविहीन भएको छ । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ ।

कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरि गाउँपालिकामा कार्यरत लेखापाल गुणराज रिजालको पर्वतको जलजला गाउँपालिकामा केही समयअघि सरुवा भएको थियो । रिजालको सरुवा भएपछि अर्का लेखापाल नआएकाले समस्या भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

‘महालेखा नियन्त्रकको कार्यालयले बेनी अस्पतालका लेखापाललाई सरुवा गरेको छ, तर उहाँ दुर्गम भएको कारण देखाउँदै अहिलेसम्म आएनन्’ अध्यक्ष पुनले भने, ‘सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेश्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउनेलगायत सबै आर्थिक कारोबार ठप्प भएको छ ।’

प्रजिअ कृष्णप्रसाद अधिकारीले कोष तथा लेखा नियन्त्रकको कार्यालयसँग समन्वय गरेर गाउँपालिकामा लेखापाल खटाउन पहल गर्ने बताए । म्याग्दीका सदरमुकाम स्थित कार्यालयका कर्मचारी काम नपाएर घाप तापेर दिन बिताइरहेका छन् भने स्थानीय तहमा कर्मचारी नभएर सेवा प्रवाह प्रभावित बनेको छ ।

विशेष गरेर वडा सचिव, कम्प्युटर अपरेटर, इञ्जिनियर, सव इञ्जिनियर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो । कतिपय लेखापालले दुईवटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । राससका अनुसार साविककै दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको हो ।