गोविन्द केसीका पछि लाग्नेहरु माइतीघरमा

गोविन्द केसीका पछि लाग्नेहरु माइतीघरमा


त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको समर्थनमा केही ब्यक्तिहरु माइतीघरमा जम्मा भएका छन् ।

हिजो डा. केसीसँगै हिंड्ने राजनैतिक दलका नेता, तिनका कार्यकर्ता तथा आफूलाई नागरिक समाजका अगुवा भन्न रुचाउनेहरु केसी पक्राउको विरोधमा ऐक्यवद्धता जनाउन माइतीघरमा आइपुगेका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली र अदालतप्रति गाली बेइज्जती गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अदालतको मानहानी मुद्दामा सर्वोच्चले उनलाई पक्राउ आदेश दिएको थियो ।

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै अपरान्हदेखि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका गोविन्द केसीलाई सर्वोच्चको आदेशमा सोमबार नै पक्राउ गरिएपछि त्यसको विरोधमा स्वतस्फूर्त रुपले ऐक्यवद्धता जनाइएको हो ।

माइतीघर मण्डलामा भएको ऐक्यवद्धतामा नेपाली काँग्रेसका नेता गगनकुमार थापा, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक मण्डलका रविन्द्र मिश्रसहित नागरिक सामाजका अगुवाहरुसमेत उपस्थित भइ ऐक्यवद्ध भएका छन् ।

जनस्तरमा डा केसीले आफूलाई न्यायालभन्दा माथि राखेको भन्दै उनको विरोध सर्बत्र रुपमा भइरहेको छ । विगतमा उनले चिकित्सा क्षेत्रमा उठाएका मागहरु जायज भएको भन्दै पछिल्लो समय न्यायालयप्रति मानहानी गर्न थालेको उनका शुभचिन्तकहरु बताउँछन् ।

केसीको पक्राउबारे गृहमन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी नभएपछि स्थिति थप गम्भीर बनेको छ । केसीलाई मंगलबार बिहान ९ बजे उपस्थित गराउन सर्वोच्चले आदेश दिएको थियो ।