जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

जनप्रतिनिधिले नेपाली पोशाक लगाउने


खोटाङका स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् ।

पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

‘पोशाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइयो ।’ उनले भने, ‘झट्ट हेर्दा नै चिन्न सजिलो होस् भनेर कार्यालय समय र औपचारिक कार्यक्रममा अनिवार्य यस्तो पोशाक लगाउने निर्णय गरिएको हो ।’

पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न) समेत अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको प्रमुख चाम्लिङले जानकारी दिए । राससका अनुसार नेपालको राष्ट्रिय झण्डासहितको खोटाङको नक्सा बनाएर उक्त नक्सालाई दुई हातले माथि उचालेको लोगो (चिह्न) बनाउने तयारी गरिएको पनि जनाइएको छ ।

समन्वय समितिले तोकेको पोशाक र लोगो अनिवार्य गर्न नगरपालिका तथा गाउँपालिकाका वडासम्म परिपत्र गरिएको जनाइएको छ । यस्तै, तत्कालीन जिल्ला विकास समितिका सभापतिको तस्वीर संकलन गरेर समन्वय समितिको कार्यालयमा राख्नेसमेत निर्णय गरिएको प्रमुख चाम्लिङले बताए ।