खेलाडी पार्टीको होइन, राष्ट्रको हुनुपर्छ-श्रीविक्रम भण्डारी

खेलाडी पार्टीको होइन, राष्ट्रको हुनुपर्छ-श्रीविक्रम भण्डारी


यतिबेला बक्सिङ खेलाडी राजु बुढामगरको मृत्युले खेलकुदमा सन्नाटा छाएको छ । नेपालले एक होनहार र उदीयमान खेलाडी गुमाएको छ । नेपाली खेलकुदको इतिहासमा खेल्दाखेल्दै मृत्यु हुने राजु दोस्रो खेलाडी बन्न पुगेका थिए । असीम चाहना र सुनौलो भविष्यको सपना देख्दै राजु बक्सिङतर्फ आकरि्षत भएका थिए । आफ्नो खेलजीवनको मध्याह्नमा पुग्दा राजुको सपना यसरी चकनाचुर होला भनेर कसैले कल्पनासमेत गरेको थिएन । तर, विडम्बना, भयो यस्तै । दैवको अगाडि उनले आत्मर्समर्पण गर्नुपर्‍यो । अहिले हाम्रोसामु उनको सम्झना मात्रै छ । र, पनि राजु नेपाली खेलकुदको इतिहासमा एक अविष्मरणीय पात्र रहिरहने कुरामा सायदै कसैलाई शङ्का होला । ज्यानको बाजी थापेर मुलुकको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उनको सपना अधुरै रहे पनि छोटो समयमा राजुले गरेको उत्कृष्ट प्रदर्शन सबैको मानसपटलमा ताजै रहनेछ ।
मृत्युलाई आत्मसात् गर्नुअघि राजु आफ्नो भविष्यको ढोका खोल्न भिडन्तमा उत्रिएका थिए । अगाडि बढ्नका लागि निकै महत्त्वपूर्ण मानिएको अन्तरनगरपालिका बक्सिङ प्रतियोगिता राजुका लागि निकै चुनौतीपूर्ण बनेको थियो । सफलतालाई लक्ष्य बनाएर बक्सिङ रिङमा उत्रिएका राजु त्यतिबेला विवश भए जब उनी खेल्न नसकी रिङमा ढले । खेलै आपसमा मुक्का वर्षाउने र एकले अर्कालाई ढाल्ने भएकोले विजय पाउनुका लागि यस्तो भिडन्त हुनु स्वाभाविकै थियो । विपक्षी खेलाडीले जित्नका लागि राजुलाई मुक्का प्रहार गरे पनि त्यो खेल राजुको जीवनका लागि अन्तिम खेल बन्दा समग्र खेलकुदलाई शोकाकूल बनाएको छ । हेटौंडामा भएको उक्त प्रतियोगितामा २० वर्षीय राजु ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै थिए । धरानका नवीन लिम्बूसँगको भिडन्तमा राजुको टाउकोमा मुक्का लागेपछि उनी रिङमै बेहोस बनेका थिए । उपचारका लागि तत्कालै स्थानीय अस्पताल, भरतपुर मेडिकल कलेज र काठमाडौंको न्युरो अस्पतालमा पुर्‍याइए पनि राजुको होस आउन सकेन । उनी निद्रादेवीलाई नै आफ्नो यात्राको सहज मार्ग बनाउन पुगेका थिए । यसरी आफ्ना थुप्रै इच्छा, आकाङ्क्षालाई बीचबाटोमै छोड्दै राजु यो धर्तीबाट बिदा भए ।
राजुको मृत्यु खेलकुद क्षेत्रका लागि पीडादायक भए पनि उनको मृत्युपछिको खेलले राजुलाई खेलाडीभन्दा पनि राजनीतिक पार्टीको कार्यकर्ताको रूपमा परिचित गरायो । राजुको राजनीतिक आस्था आफ्नो ठाउँमा जे-जस्तो भए पनि उनी सर्वप्रथम एक प्रतिभाशाली खेलाडी थिए । खेलकुदलाई माध्यम बनाएर राष्ट्रको प्रतिष्ठा अन्तराष्ट्रमा पुर्‍याउने उनको सपना थियो । क्षतिपूर्तिको बहानामा राष्ट्रको खेलाडीलाई पार्टीको खेलाडी बनाएर सङ्कुचित पार्न खोज्नु आफैंमा कति उचित हो त्यसलाई सबैले मनन गर्ने अवस्थाको सिर्जना भएको छ । खेलाडीको हकहितका लागि पार्टीले आवाज उठाउनु स्वाभाविकै भए पनि राजुलाई आमनेपालीको मायाबाट कदापि टाढा राख्न मिल्दैन । राजु खेलाडी मात्रै नभई एक सच्चा नेपाली नागरिक हुन् भन्ने कुरालाई पनि सबैले आत्मसात् गर्नुपर्छ । राजुलाई एक्ल्याउने काम गर्नुभन्दा उनी आमनेपालीका साझा सम्पत्ति थिए भन्ने कुरापट्ट िसबै लाग्नुपर्छ । राजुको आत्मशान्तिका लागि पनि सबै राजनीतिक पार्टीले एउटै स्वरमा उनी नेपालका खेलाडी थिए भन्नुपर्छ ।
राजुलाई सहयोगका हातहरू उठिरहेको अवस्थामा उनलाई एक्लाउने काम कतैबाट हुनुहुँदैन । उनलाई पार्टीको लालमोहर लगाएर आमनेपालीको नजरबाट टाढा राख्ने काम गरियो भने राजु खेलाडीभन्दा कार्यकर्ताको रूपमा चिनिने पक्का छ । तर्सथ सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल बक्सिङ सङ्घ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राजुलाई राष्ट्रको खेलाडी भएको प्रमाणित गर्न जरुरी भइसकेको छ । राष्ट्रका लागि रगत पसिना बगाउने खेलाडी एउटा पार्टीको पेवा बन्न नसक्ने सत्यतालाई सबैले बुझेको खण्डमा खेलकुदमा मौलाउँदै गएको राजनीति पनि समाप्त हुनेछ । राजुको मृत्यु खेल्ने क्रममा भएकोले उनको सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था नेपाल सरकार, राखेपलगायत अन्य खेलकुद निकायले गर्नुपर्छ । जसलाई पूर्णता दिन गणतान्त्रिक खेलकुद महासङ्घ मात्र नभई सबै खेलकुदका सङ्घ लाग्नुपर्छ । गणतान्त्रिकको दबाबमा राखेपले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सबैले पहल गर्नुपर्छ ।
राखेप आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दा अर्थात् उपचारको खर्च दिएर मात्रै समस्या टार्न खोज्दा महासङ्घ अगाडि बढ्नुपरेको कहीँबाट छुपेको छैन । महासङ्घ पनि खेलकुद र खेलाडीको हितका लागि स्थापना भएकोले उसको यो जिम्मेवारी पनि थियो । तर, खेलाडीको हकहित र क्षतिपूर्तिका लागि लड्दा महासङ्घले आफ्नो र पराईको खाडललाई चाहिँ बिर्सनुपर्छ । सबै खेलाडीलाई समान दृष्टिकोणले हेर्न सक्नुपर्छ । राजुले क्षतिपूर्ति वा सहयोग राष्ट्रिय खेलाडी भएको नाताले पाउने भएकोले उनलाई सोही विशेषण लगाउँदा उपयुक्त देखिन्छ । महासङ्घको अग्रसरता र भूमिकाका कारणले राजुको पहिचानमा काला बादलहरू मडारिन थाले पनि राजनीतिक आस्थाभन्दा परै राखेर राजुलाई सहयोग गर्न सकिएमा उनीमाथि सच्चा श्रद्धाञ्जली हुने खेलकर्मीहरूको राय छ । राजुलाई सबैले खेलाडीको रूपमा हेरेको र सधैँ खेलाडीको रूपमा हेर्ने वातावरण तयार पार्न स्वयम् महासङ्घले पनि उचित कदम चाल्नुपर्ने भसकेको छ । अन्यथा एउटा खेलाडी भोलि कार्यकर्ताको रूपमा मात्रै सीमित भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी महासङ्घले लिनुपर्नेछ ।
राजुलाई उचित क्षतिपूर्ति दिलाउन गत साता मृतक दाजु दीपक बुढामगर र आयोजक समितिका प्रतिनिधि सविन भट्टाचार्य, नेपाल बक्सिङ सङ्घका अध्यक्ष रविराज थापा, काठमाडौं नगरपालिकाका प्रतिनिधि शङ्करराज कँडेल र राखेपका सदस्यसचिव हरिबाबु चौधरीबीच एक सम्झौता भएको थियो । उक्त सझौताअनुरूप राजुलाई क्षतिपूर्तिस्वरूप १५ दिनभित्र १० लाख रुपैयाँ दिने भएको छ । साथै मृतकलाई सहिद घोषणा गर्न, उनको नाममा अक्षय कोष खडा गर्न र घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रस्ताव लाने सहमति पनि भएको छ । नेपालको खेलकुद इतिहासमा अकल्पनीय रूपमा घटेको यो घटनालेे अहिले सम्बन्धित निकायको ध्यान आकर्षण गरे पनि जबसम्म खेलकुदको विधानमा यसको बारेमा स्पष्ट रूपमा व्यवस्था गरिँदैन तबसम्म ढुक्क हुने अवस्थाचाहिँ छैन । तर्सथ राजुको दुःखद निधनको घटनालाई आत्मसात् गर्दै सम्बन्धित निकायले समयमै उचित व्यवस्था गरेको खण्डमा सम्पूर्ण खेलाडीको कल्याण हुनेमा दुईमत छैन ।

गोर्खाली तेक्वान्दो विकासमा गोर्खालीझैं भिड्ने
त्यतिबेला मार्शल आर्टस्को चहलपहल बल्ल शुभारम्भ भएको थियो । टिनएजको बेला चञ्चल मनले मार्ग पहिल्याउन नसकेको बेलामा उनको जम्काभेट डा. सुदासेन मल्लसँग भएको थियो । मल्लले नै त्यतिबेलाका प्रमुख मार्शल आर्टस्का खेलहरू तेक्वान्दो, सितोरियो कराते र क्योकिसिनमध्ये आफूलाई तेक्वान्दो खेल्ने सल्लाह दिएपछि उहाँ अर्थात् लव गोर्खाली तेक्वान्दो खेलतर्फ आकरि्षत भएका थिए । १८ वर्षको उमेरमा ०४० सालबाट तेक्वान्दो खेल्न थालेका गोर्खालीले खेलाडीको रूपमा कुनैै चमत्कार देखाउन नसके पनि तेक्वान्दोलाई भने पूर्णरूपमा आत्मसात् गर्न सफल भएका थिए । उनको यही लगावले गर्दा ०४४ सालमा ब्ल्याकबेल्ट लिँदै तेक्वान्दोको सहायक प्रशिक्षक बन्न सफल भएका थिए । त्यतिबेला मार्शल आर्टस् सङ्घको अध्यक्ष शरदचन्द्र शाह थिए ।
कोरियन मास्टर जेके सिनको प्रत्यक्ष निगरानीमा तेक्वान्दो सिक्न पाएका गोर्खाली आफ्नो आदर्श पनि उनलाई नै मान्छन् । पञ्चायतकालको लामो प्रतिबन्धपछि वैधानिकता पाएको मार्शल आर्टस्लाई देशव्यापी रूपमा विकास गर्ने क्रममा गोर्खालीलाई कर्णाली अञ्चलको जिम्मेवारी सुम्पिएको थियो । त्यतिबेला कर्णाली अञ्चलको जुम्लामा गएर प्रशिक्षण गराउनु भनेको फलामको चिउरा चपाउनुजस्तै थियो । विकट ठाउँ, कहालीलाग्दो बाटोका बाबजुद पनि ०४४ सालमा उनी प्रशिक्षणका लागि जुम्ला गएका थिए । उनी प्रशिक्षक भएर जुम्ला पुग्दा खेलाडी त परै जाओस् खेलको नामसमेत सुनेको कोही भेट्टाएनन् । तर पनि उनले हिम्मत हारेनन् । ‘तँ आँट म पुर्‍याउँछु’ भन्ने उक्तिलाई आत्मसात् गर्दै केही स्थानीय युवालाई भेला गराएर खेलको बारेमा जानकारी गराउन थाले । यसरी थुप्रै दिन बितेपछि केही युवायुवती तेक्वान्दो खेलतर्फ आकरि्षत भएको घटना गोर्खालीको मानसपटलमा अझै ताजै छ । यसरी दुई महिनाको छोटो प्रशिक्षणमा ३५ जना खेलाडी जन्माएका गोर्खाली चारजना खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन सफल भएका थिए ।
जीवनको उतारचढावमा थुप्रै लेक, बेसी, भञ्ज्याङ र चौतारीमा बास बसिसकेका लव गोर्खालीले आफ्नो दोस्रो इनिङको सुरुवात बाग्लुङबाट गरेका थिए । त्यहाँ दुई वर्ष बस्दा गोर्खालीले सिनियर र जुनियरतर्फ उत्कृष्ट खेलाडी जन्माएर राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडलसमेत जिताउन सफल भएका थिए । त्यसपछि ०४६ सालको आन्दोलनले गर्दा राखेपले जिल्लामा बस्न नदिई काठमाडौं फिर्ता बोलाएको थियो । फुलकोच भएपछि ०५२ सालमा पुन: लुम्बिनी अञ्चलको जिम्मेवारी पाएका गोर्खालीले त्यहाँ तीन वर्ष बस्दै तेक्वान्दो खेलको समग्र विकासमा अहम् भूमिका निभाएका थिए । जिल्लामा गरेको उत्कृष्ट प्रशिक्षणले गर्दा पुरस्कारस्वरूप काठमाडौंमा पनि गोर्खालीले प्रशिक्षकको जिम्मेवारी पाएका थिए । सन् १९९८ मा अस्टे्रलियामा भएको एसियन च्याम्पियनसिपमा संगीना वैद्यले स्वर्ण पदक जित्दा गोर्खालीले महिला प्रशिक्षकको भूमिका निभाएका थिए । आफ्नो प्रशिक्षणमा संगीनाले स्वर्ण पदक जित्दा संगीनाको वाहवाही भए पनि आफ्नो भूमिकाको कसैले कदर नगरेकोप्रति उनले आक्रोश पोखेेका थिए । सन १९९९ को बैंकक एसियाड र सोही वर्ष भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा गोर्खालीले पर्यवेक्षकको भूमिका निभाएका थिए । यसरी तेक्वान्दो विकासमा अहोरात खट्दा पनि गोर्खालीको कुनै मूल्याङ्कन भएपछि उनी निराश हुँदै विदेश भासिन बाध्य भएका थिए ।
अस्ट्रेलियाको नौ महिना बसाइपछि तेक्वान्दोका संस्थापक गुरु जेके सिनले ‘मास्टर इन्स्टक्टर एन्ड म्यानेजमेन्ट’को कोर्स गर्न गोर्खालीलाई अमेरिका बोलाएका थिए । दुईहप्ते कोर्स सफलताका साथ सम्पन्न गरेपछि गोर्खाली मास्टर डान -दिवाकर महर्जन) को सर्म्पर्कमा पुगेका थिए । तत्कालीन नेपालको अवस्थालाई राम्रोसँग बुझेका गोर्खालीले समयको सदुपयोग गर्दै अमेरिकामा तेक्वान्दोको प्रशिक्षण दिएका थिए । भाग्यले साथ दियो भने डोकामा पनि दूध अडिन्छ भनेझैं उनको जीवनमा पनि यही कुरा लागू भयोे । डेढ वर्षको अमेरिका बसाइका क्रममा ग्रिनकार्डको लागि अप्लाई गरेकै अवस्थामा डीभी परेपछि उनी पुन: नेपाल फर्किएर सपरिवार अमेरिकातर्फ लागेका थिए । स्वदेश होस् या विदेश जहाँ बसे पनि तेक्वान्दोको विकासमा निरन्तर लागेका कारणले सन् २००५ मा गठन भएको इन्टरनेसनल तेक्वान्दो युनियन -इन्टु) को अध्यक्ष बन्न सफल भएका थिए । २३ जना प्रवासी नेपाली खेलाडीको मिहिनेतले स्थापना भएको उक्त संस्थाको अर्को कार्यकालको जिम्मेवारी पनि हालै गोर्खालीले पाएका छन् ।
विदेशमा बसेर पनि नेपाली तेक्वान्दोे खेलको समग्र विकासको जिम्मेवारी पाएका गोर्खाली अहिले निकै हौसिएका छन् । स्वदेश र विदेशमा रहेका तेक्वान्दो खेलाडीप्रति आफ्नो उक्तिकै जिम्मेवारी रहेको वताउँदै गोर्खालीले केही समयपश्चात् नै नेपालमा हाइअल्टिच्युट टे्रनिङ सेन्टर र छात्राबास बनाउने बताए । उनले यो निकै गाह्रो र आर्थिक रूपमा खर्चिलो भए पनि सहयोगका लागि विश्व तेक्वान्दो महासङ्घसम्मको ढोका घचघच्याउने खुलासा गरेका थिए । शुभारम्भमा सम्पूर्ण साथीभाइसँग एक-एक लाख रुपैयाँ उठाउने र अपुग रकम तेक्वान्दोलाई माया गर्ने संस्थाबाट जुटाउने बताएका थिए । त्यस्तै तेक्वान्दोको विकासमा अहम् भूमिका निर्वाह गरी यस धर्तीबाट बिदा भएका अग्रजहरूको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष खडा गरी प्रत्येक वर्ष तेक्वान्दोका खेलाडी, प्रशिक्षक र डोजाङलाई पुरस्कृत र सम्मान गर्ने बताए । नेपालबाहिर रहेका प्रभावशाली तेक्वान्दो खेलाडीलाई नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि छनोट खेलमा अवसर प्रदान गर्ने व्यवस्था मिलाउने गोर्खालीले बताए । तेक्वान्दो विकासका लागि खेलकुद सामग्री, अन्तर्राष्ट्रिय प्रशिक्षक र खेलाडीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य र उद्देश्य राखेको इन्टुले आफ्नो पहिलोेेेे कदमको रूपमा हालै यानकुमारी चौलागाईंलाई ६० हजारको छात्रवृत्ति प्रदान गरेर आफ्नो प्रतिबद्धतामा खरो उत्रिने प्रयास गरिसकेको छ । गोर्खालीले प्रत्येक वर्ष हरेक खेलाडीलाई यसरी नै प्रोत्साहन गरिने बताउँदै आफू पछाडि परे पनि आगामी पुस्तालाई खेलकुदमा लाग्न सजिलो होस् र नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा योभन्दा बढी सफलता पाओस् भन्ने उद्देश्यले आफूहरू यो अभियानमा लागेको सुनाएका थिए ।

बालाजु डोजोको उत्कृष्ट प्रदर्शन
मलेसियामा सम्पन्न चौथो एसियन कोइ ओपन कराते च्याम्पियनमा बालाजु डोजोका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उक्त प्रतियोगितामा सिनियर र जुनियरतर्फ आठजना खेलाडीले सहभागिता जनाएकोमा सातजना खेलाडी पदक जित्न सफल भएका थिए । १४ वर्षमुनिको समूहमा राजकुमार रसाइली उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण पदकको नजिक पुगे उनी फाइनलमा इन्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए । उनले यो प्रतियोगितामा बालाजु डोजोलाई एक मात्र रजत पदक दिलाएका थिए । त्यस्तै उक्त प्रतियोगितामा बालाजुलाई मल्लिका थापाले तीन कास्य पदक दिलाएकी थिइन् । मल्लिकाले १८ वर्षको उमेर समूह, सिनियर ४८ केजी र टिम फाइटमा कास्य पदक जितेकी थिइन् । सोही प्रतियोगिताको महिला १४ वर्षमुनिको एकल कातामा विमला तामाङ, १२ वर्षमुनिको उमेर समूहमा मनिष थापा र ६० केजी समूहमा लक्ष्मी भट्टले कास्य पदक जित्न सफल भएका थिए । स्वर्ण पदकको आशा गरिएका ११औँ सागका स्वर्ण पदक विजेता स्वर्ण लामा प्रिक्वाटरमा पराजित भएका थिए ।
उक्त प्रतियोगितमा पदक जित्ने खेलाडीलाई हालै बालाजु डोजोले एक लाख सात हजार पाँच सय रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरेको छ । प्रतियोगितामा रजत पदक जित्ने राजकुमार रसाइलीले २५ हजार, तेहोरो कास्य पदक जित्ने मल्लिका थापाले ३० हजार, लक्ष्मी भट्टले १७ हजार पाँच सय, मनिष थापा र विमला तामाङले समान १२ हजार पाँच सय र मीना पाठक र अनुपमा मगरले समान समान पाँच हजार प्राप्त गरेका थिए । विजयी खेलाडीलाई बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष ध्रुवविक्रम मल्ल, कराते महासङ्घका संस्थापक सदस्य महेश श्रेष्ठ, प्रशिक्षक राजेन्द्र कपाली, बंगलादेश करातेे महासङ्घका उपाध्यक्ष जियल र महासचिव अहिल हसनले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा अध्यक्ष मल्लले अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा बढाउने खेलाडीबाट भविष्यमा डोजोले अझ आशा गरेको बताए ।

एसियन कपको घम्साघम्सी सुरु
एएफसी एसियन कपको १५औँ संस्करण हालै शुभारम्भ भएको छ । कतारमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा एसियाका उत्कृष्ट १६ देशको सहभागिता रहेको छ । चार समूहमा विभाजन गराएर खेलाएको उक्त प्रतियोगिताको समूह ‘ए’मा चीन, कुवेत, कतार र उज्वेकिस्तान रहेका छन् । समूह ‘बी’ मा जापान, जोर्डन, सरिया र साउदी अरेविया परेका छन् । त्यस्तै समूह ‘सी’मा अस्ट्रेलिया, बहराइन, भारत र दक्षिण कोरिया रहेका छन् भने समूह ‘डी’ मा दक्षिण कोरिया, इरान, इराक र युनाइटेड अरब इमिरेट्स रहेका छन् । आगामी माघ १५ गतेसम्म चल्ने एसिया कपको अहिले लिग खेलहरू सञ्चालन भइरहेका छन् । विगत एक दशकदेखि विश्व फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएका एसियाली राष्ट्रहरूको यो प्रतियोगिता निकै सनसनीपूर्ण हुने अड्कल काटिएको छ । एसियन कपको इतिहासलाई पल्टाउँदा यो प्रतियोगितामा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाको वर्चश्व रहे पनि गत संस्करणमा इराकले हासिल गरेको सनसनीपूर्ण विजयलाई कसैले बिर्सिएका छैनन् । गृहयुद्धको चपेटामा परेर पनि इराकले पहिलोपटक एसिया कप जित्न सफल भएको थियो । यो पटकको प्रमुख दाबेदारको रूपमा दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई राखिए पनि त्यसै भन्न सकिने अवस्थाचाहिँ छैन । अहिलेसम्म अड्कल र अनुमानकै भरमा दाबेदारीको रूपमा प्रस्तुत गरिए पनि सबै टिम समान भएकाले केही समय पर्खनु उपयुक्त हुनेछ ।

भूपेशको ह्याटि्रक, ज्योति र प्रतिभालाई स्वर्ण
नेपाल क्योकुसिन कराते डो सङ्घद्वारा आयोजित १६औँ पुरुष तथा नवौं महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता हालै सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले उद्घाटन गरेको उक्त प्रतियोगितामा खुलातर्फ बागमतीका भूपेश शाक्य लगातार तीनपटक स्वर्ण पदक जितेर ह्याटि्रक गर्न सफल भएका छन् । उनले फाइनलमा महाकालीका वीरेन्द्र ओलीलाई पराजित गर्दै उक्त कीर्तिमान बनाएका हुन् । विजयसँगै भूपेशले ३० हजार नगद प्राप्त गरेका थिए । यसैगरी सोही समूहमा बागमतीका वीरमान लामा तेस्रो र नारायणीका कान्छालाल वाइवा चौथो भएका थिए । त्यस्तै महिलातर्फको खुला समूहमा बागमतीकी ज्योति लामाले बागमतीकै सुनिता गुरुङलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सो समूहमा कोसीका शिवानी लामा र जनकपुरका मेनुका गिरी क्रमश: तेस्रो स्थानमा रहेका थिए । त्यस्तै ५५ केजीमुनिको फाइनलमा बागमतीकी प्रतिभा माझीले बागमतीकै सविता श्रेष्ठलाई पराजित गरेर स्वर्ण पदक जितिन् । सो समूहमा नारायणीका मनीषा लामा र यामकुमारी गाहा क्रमश: तेस्रो र चौथो भएका थिए । विजयी खेलाडीलाई जापानी राजदूत तात्सुओ मिजोरोले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा ग्वान्झाउ एसियाडमा कास्य पदक विजेता दीपक महर्जनलाई संस्थापक जगत गौचनले ब्ल्याकबेल्ट पहिलो डान र नगद ४५ हजार प्रदान गरेका थिए । स्मरण छ, दीपक पूर्वक्योकुसिन खेलाडी हुन् ।