विदेशबाट फर्केका युवती भन्छिन्– ‘सूचना नपाउँदा बेचबिखनमा परियो’

विदेशबाट फर्केका युवती भन्छिन्– ‘सूचना नपाउँदा बेचबिखनमा परियो’


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

आर्थिक अभावका कारण उनको घरखर्च चलाउन बाबुलाई निकै धौधौ थियो । पाँच कक्षा पढ्दै गर्दा उमेरले डेढ दशक नपुगेकी उनीमाथि एक्कासि एउटा ‘अफर’ आयो, ‘विदेश गएर पैसा कमाउने ।’

बाटोमा हिँड्दै गर्दा अपरिचित व्यक्तिले उनलाई प्रस्ताव राखे, ‘नानी विदेश जान्छ्यौ ? राम्रै पैसा कमाइन्छ ।’ जीवनमा कहिल्यै काठमाडौंसमेत नदेखेकी उनले विदेश पुगेर पैसा कमाउने सपना देखिन् । अनि घर पुगेर आफ्ना बाबुसँग प्रस्ताव गरिन्, ‘बुबा म विदेश जान्छु अनि पैसा कमाएर ल्याउँछु ।’

उनका बाबुले पनि सहर्ष स्वीकारे, ‘हुन्छ जाऊ, घरमा पनि पैसाको दुःख छ ।’ लहलहैमा बलेफी गाउँपालिकास्थित बिञ्जेलकी पारू (परिवर्तित नाम) दुबई पुगिन् । तर, निकै दुःख पाएर फर्किइन् ।

भारतको बाटो हुँदै दुबई पुगेकी उनले अनेक दुःख पाइन् । विभिन्न शोषणमा परिन् । भाग्यवश सातौँ महिनामा नेपाल फिर्न सफल भइन् । अहिले शक्ति समूहको पुनस्र्थापना केन्द्रमा आश्रित उनी विदेशबारे जानकारी नलिई त्यहाँ पुगेपछि दुःख पाएकोमा पछुतो मान्छिन् ।

उनले आफूले थाहा पाउने गरी राहदानी नै बनाएकी थिइनन् । ‘मलाई विदेश लैजाने मान्छेले नै सबै गरेको हो,’ उनी भन्छिन्, ‘मलाई केही थाहा छैन ।’ उनले विदेश जानका लागि आफूलाई राहदानी बनाउनुपर्छ भन्नेबारेमा जानकारी नै नभएको सुनाइन् ।

‘घरमा दुःख थियो, नचिनेको मान्छेले विदेशमा धेरै पैसा कमाउन सकिन्छ भनेर फकाएपछि बुबाले पनि मञ्जुरी दिनुभयो,’ मिडिया एड्भोकेसी गु्रप (म्याग)द्वारा हालै आयोजित विपद्पछिको असुरक्षित वैदेशिक रोजगारी र मानव बेचबिखन न्यूनीकरणमा सूचनाको हकको प्रयोग विषयक कार्यक्रममा उनले भनिन्, ‘गाउँकै विद्यालयमा पाँच कक्षामा पढ्दै थिएँ । उमेर बढाएर राहदानी लिएपछि भारतको बाटो हुँदै दुबई पुगेर सात महिनापछि मुस्किलले फर्किन पाएँ ।’ उनले कार्यक्रममा आफू जाने देश र कामको बारेमा नबुझी जाँदा विभिन्न यातना र शोषणमा पर्न सक्ने बताइन् ।

‘अरूको विश्वासमा पर्दा नारकीय जीवन भोग्न बाध्य हुनुपर्दो रहेछ,’ आफूले पाएको दुःखबारे बताउँदै उनले भनिन् । शक्ति समूहको पुनस्र्थापना केन्द्रमा रहेका र वैदेशिक रोजगारीका क्रममा विदेश पुगेर फर्केका १६ युवतीले कार्यक्रममा अरूको लहैलहैमा विदेश पुगेर निकै दुःख पाएको सुनाए ।

वैधानिक रूपमा डेढ वर्ष कुवेत बसेर फर्किएकी एक किशोरीले कार्यक्रममा भाषाको समस्याले दुःख पाएको जानकारी गराइन् । घरेलु कामदारले अनिवार्य बुर्का लगाउनुका साथै कठोर परिश्रम गर्नुपर्ने उनले दुःखेसो सुनाइन् । मुस्किलले भागेर नेपाली दूतावासमा २–३ महिना आश्रय लिए पनि त्यहाँ खान र बस्न झनै समस्या भई दयनीय अवस्थामा दिन बिताउनुपरेको बताउँदा सबै स्तब्ध भएका थिए । कार्यक्रममा उपस्थित युवतीमध्ये इराक, किर्गिस्तान र कतार पुग्नेहरू पनि थिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको महत्वको चर्चा गर्दै सूचना नपाउँदाले पनि धेरैले दुःख पाउनुका साथै हरेक सेवा र सुविधाबाट बन्चित हुनुपरेको बताइन् । ‘विदेश गएर आफूले गर्ने काम र त्यहाँको परिवेश, भाषाबारे जानकारी नहुँदा उहाँहरूले शोषण भोग्नुप¥यो,’ जोखिममा परेर नेपाल फिरेका युवतीहरूप्रति लक्षित गर्दै उनले भनिन्, ‘अब तपाईंहरूले अन्य युवतीलाई जोखिममा पर्नबाट जोगाउन विदेश जाँदा के–कस्ता विधि अपनाउनुपर्छ भन्नेबारे जानकारी गराउनुपर्छ ।’

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप (म्याग)की अध्यक्ष बबिता बस्नेतले महिला भएर दुःख पाउनुभन्दा उनीहरू सक्षम नभएकै कारण दुःख भोगिरहेको बताइन् । ‘हामी यहाँका चेलीहरू विदेशमा पुगेर जोखिममा नपरून् भन्ने ध्येयले यहाँ चेतनामूलक कार्यक्रम गर्नेछौँ,’ उनले भनिन्, ‘समुदायस्तरमा पुगेर वैदेशिक रोजगारीबारे सूचना प्रवाह गरी चेलीलाई सुरक्षिक तवरले विदेश जान सक्ने बनाउनेछौँ ।’

जिल्लामा एक वर्षसम्म चल्ने विपद्पछिको असुरक्षित वैदेशिक रोजगारी र मानव बेचबिखन न्यूनीकरणमा सूचनाको हकको प्रयोग कार्यक्रम गाउँ तहसम्म पुग्ने म्यागले जनाएको छ । यो कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा बेचबिखनमा परेका १० युवतीलाई सूचनाको हकबारे जानकारी दिएर गाउँमा प्रशिक्षण चलाइनेछ । समुदायस्तरमा विदेशमा हुने जोखिमबारे युवती तथा महिलालाई जानकारी नहुने हुँदा यो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

जिल्लामा सीपको क्षमता विकास नगरी विदेश जाने महिला प्रसस्त छन् । जसकारण खाडी मुलुकसहित विभिन्न देशमा पुगेर जोखिममा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समय राहदानी सिफारिस लिन आउने महिलाको सङ्ख्या बढेको छ । कुलमध्ये ४० प्रतिशतभन्दा बढी महिला हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।