विज्ञ बनियो, आवश्यकताले विद्रोही बनायो, अब नेपाली बन्न खोजिँदैछ

विज्ञ बनियो, आवश्यकताले विद्रोही बनायो, अब नेपाली बन्न खोजिँदैछ


डा. केबी रोकाया भनेर चिनिनुहुने कालीबहादुर रोकाया क्षत्री मानवअधिकारकर्मी, प्रतिष्ठित बुद्धिजीवी एवम् समाजसेवी र एक धार्मिक समुदायसम्बद्ध व्यक्तिका रूपमा चिनिनुहुन्छ । हाइड्रो इन्जिनियरिङमा पिएचडी गर्नुभएका डा. रोकाया आफ्नो विषयगत विद्वताका कारणले भन्दा पछिल्लो समय राजनीतिक सोच–विचार तथा फरक धारणाका कारण चर्चामा हुनुहुन्छ । क्रिश्चियन धर्म अवलम्बन गरेका व्यक्ति भएर पनि उहाँले पछिल्लो समय नेपाल संवैधानिक राजसंस्थासहितको हिन्दूराष्ट्रका रूपमा रहनुपर्ने धारणा चर्कोसँग प्रकट गर्दै आउनुभएको छ । कुनै बेला माओवादी युद्धमा आफ्नै प्रकारको भूमिका निर्वाह गर्नुभएको व्यक्ति आज राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा किन र कसरी उभिन पुग्नुभयो त ? यही जिज्ञासालाई मध्यदृष्टि दिएर डा. रोकायासँग गरिएको विस्तृत कुराकानी प्रस्तुत गरिएको छ ।

० कालीबहादुर रोकाया भन्ने नाम चलेन र ‘केबी रोकाया’ चल्यो या चलाइयो, तपाईंलाई कालीबहादुर भन्ने नाम आफैँलाई मन परेन कि कसो हो यसरी कुरा सुरु गरौँ न ?
– यस्तो खास केही होइन, कसैले मन पराएर या नपराएर पनि होइन, यत्तिकै केबी प्रयोग गर्न थालियो र यही रूपमा चिनिएँ । गाउँ र परिवारमा म कालीबहादुर भनेरै बोलाइन्छु । एसएलसी पास गरी आईए पढ्दासम्म कालीबहादुर नै थिएँ, तर इन्जिनियरिङ पढ्न कलकत्ता गएपछि ‘कालीबहादुर रोकाया क्षेत्री’ नाम निकै लामो हुन गएकोले छोटकरी गर्न यस्तो गरियो र त्यही कायम रह्यो ।

० केबीजी तपाईं माओवादीको सङ्घर्षलाई युद्धकालमा त्यसरी सहयोग गरेको मान्छे, अचानक तपाईंको सोचाइ पछिल्लो समयमा बदलियो, तपाईं धर्मनिरपेक्षताको लागि लड्नुभएको मान्छे अहिले तपाईं धर्मसापेक्ष मुलुकको पक्षमा वकालत गर्न थाल्नुभएको छ, राजसंस्थासहितको हिन्दूराष्ट्र हुँदा नेपालले गौरव गर्ने अवस्था रहन्छ भन्नुभएको छ, यसरी विचार परिवर्तन गर्नुपर्ने अवस्था किन–कसरी आयो ?
– यसको जवाफ अलिक लामो गरी दिनुपर्ने हुन्छ । पहिलो कुरा म एकदमै सामान्य परिवारबाट आएको मान्छे, जाजरकोट जिल्लाको पनि अझै दुर्गम गाउँ, सदरमुकामबाट दुई दिन पैदल हिँड्नुपर्ने मेरो ठाउँ । गाउँमा स्कुल नै नभएकोले पढ्नकै लागि मैले धेरै सङ्घर्ष गर्नुप-यो । धार्मिक आस्थाका हिसाबले पनि मेरो निकै उतारचढावपूर्ण भोगाइ छन् । ०२६ सालको एसएलसी हो मेरो । डा. बाबुराम भट्टराई त्यो सालको बोर्डफस्र्ट, म बोर्ड टेन्थ भएको थिएँ, उहाँ गोर्खाबाट मचाहिँ काठमाडौंको पद्मोदय हाइस्कुलबाट ।

त्यसपछि नेपाल सरकारको छात्रवृत्ति (कोलम्बो प्लान)मा इन्जिनियरिङ पढ्न कलकत्ता पुगेँ र पढाइ सकेर पनि आएँ । सकेर आएपछि त्यतिबेलाको नेपाल विद्युत् विभागमा इलेक्ट्रिकल इन्जिनियरको रूपमा काम गर्न थालेँ । तर, समस्या के भने म अलिक विद्रोही खालको मान्छे, सानैदेखि विद्रोह गर्ने, प्रश्न गर्नुपर्ने, इन्टलेक्चुअली कन्भिन्स नभएसम्म कुनै कुरालाई पनि सहज रूपमा स्वीकार नगर्ने स्वभावको मान्छे । धेरै भ्रष्टाचारमा डुबेको उक्त संस्था रहेछ, मचाहिँ भ्रष्टाचार नगर्ने, गर्न नसक्ने होइन कि अरूले गरेको सहनै नसक्ने भएकोले म त्यो संस्थामा अडेर काम गर्ने अवस्थामै रहिनँ । त्यहाँबाट राजीनामा दिएर म पुल्चोक इन्जिनियरिङ क्याम्पस गएँ ।…

० घुस नखाईकन बसेर काम गर्न पनि सकिन्थ्यो होला नि ?
– त्यस्तो सम्भव नै नहुने गजबको घुस केन्द्र रहेछ भनेको ! तलदेखि माथिसम्म सबै त्यस्तै, घुस खाए टिकिने नत्र बस्नै नसकिने । त्यहाँका साथीहरूले के भन्न थाले भने यसरी चल्दैन, रोकाया सर यहीँको वातावरणमा भिज्नुप¥यो कि उत्रिनुप¥यो । म त्यहाँको वातावरणमा भिज्न सकिनँ र छोडेँ र पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउन थालेँ । प्राज्ञिक क्षेत्रमा भ्रष्टाचार हुँदैन होला भन्ने लागेर म त्यहाँ गएको थिएँ । कमसेकम त्यहाँचाहिँ भ्रष्टाचार नगरीकन बस्न सकुँला भनेर गएको थिएँ । हुन पनि धेरै लामो समय, करिब २४–२५ वर्ष मेरो त्यहीँ प्राध्यापन गरेर बित्यो । त्यहाँ रहँदा नै मैले इन्जिनियरिङमा मास्टर्स, अनि पीएचडी गरेँ । उक्त क्याम्पसको क्याम्पस चिफसम्म पनि भएँ । सामान्य परिवारको व्यक्ति हुनुको नाताले परिवारका सदस्यहरूले अपेक्षा गरेका थिए कि इन्जिनियरको रूपमा राम्रो–राम्रो प्रोजेक्ट हात पारेर मैले पैसा कमाओस्, तर म भने परिवारको अपेक्षाविपरीत हिँडिरहेको थिएँ ।

दुर्भाग्यवश त्यो इन्जिनियरिङ क्याम्पसमा समेत भ्रष्टाचारले नछोडेको रहेछ । इन्जिनियरिङ अध्ययन संस्थान जसले राष्ट्रलाई इन्जिनियरिङ तथा प्रविधिको क्षेत्रमा नेतृत्व गर्नुपर्ने ठाउँमा नै आफ्नै भवनहरू बनाउँदाबनाउँदै भत्किन थालेपछि उक्त विकृतिको रहस्योद्घाटन भयो । मलाई लाज लाग्यो । अनि मैले क्याम्पसचिफबाट राजीनामा दिएर पढाउने काममा मात्र सीमित भएँ । पढाएर बसेँ, तर त्यहाँको भ्रष्टाचार उजागर गर्न भने छोडिनँ । डिन, भाइस चान्सलर, युनिभर्सिटीका भीसीदेखि शिक्षामन्त्री र वल्र्ड बैंकसम्म पनि म उजुरी बोकेर पुगेँ । तर, कतैबाट त्यससम्बन्धी आवश्यक चासो दर्शाउने काम भएन ।

यसपछि मैले के अनुभूति गरेँ भने यो समस्या त पुल्चोक इन्जिनियरिङभित्रको मात्र समस्या रहेनछ, यो नेसनल प्रोब्लम नै पो रहेछ ! डोनरदेखि लिएर सबैको मिलेमतो हुँदोरहेछ भ्रष्टाचारमा भन्ने बोध भयो मलाई । त्यतिबेला शिक्षामन्त्री गोविन्दराज जोशी थिए । त्यतिबेला भर्खर बहुदलीय व्यवस्था आएको, दलहरूले चाहिँ आशाअनुसारको काम गर्न नसकिरहेको अवस्था । म सम्झिरहेछु, यहाँ रातको ११ बजेतिर बहुदल घोषणा हुँदा हामी फिलिपिन्समा थियौँ । त्यहाँबाट यहाँ फर्केर आएपछि एकपछि अर्को सरकार बनेको छ, ढलेको छ, दलका सरकार बन्ने–ढल्ने विभिन्न प्रकारका अभ्यास भइरहे । त्यसबेला मलाई महसुस के भयो भने कुनै पनि दलसँग आबद्धता नभएको नागरिकले त कुनै मौका नै नपाउने । आफूसँग भएको क्षमता उपयोग गरेर देशको सेवा गर्ने मन भए पनि अवसर नै नपाउने परिपाटीको विकास हुँदै गयो । बाहिर सिकेर आएको ज्ञान-सीपलाई आफ्नो राष्ट्र निर्माणमा लगाउने चाहना हामीमा थियो, तर त्यो त्यसै मर्दै गएको थियो । त्यसबेलासम्म म त फगत एक प्राविधिक व्यक्ति थिएँ, राजनीतिप्रति त पटक्कै चासो थिएन, केही थाहा पनि थिएन ।

उदाहरणका लागि, इन्जिनियरिङ क्याम्पसका काङ्ग्रेसी साथीहरूलाई लागेछ कि यो मान्छे इमानदार, राष्ट्रवादी, राष्ट्रलाई काम लाग्ने व्यक्ति हो, तर यसले मौका पाएन, ती साथीहरूले बोलाएर ‘सर तपाईं ऊर्जा इन्जिनियरिङमा पीएचडी गरेको मान्छे, धेरै ठूलो ठाउँमा बसेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने, तर मौका नै पाउनुभएन । त्यसैले हामी तपाईंलाई हाम्रा नेताहरूकहाँ लिएर जान्छौँ ।’ मैले पनि यो पार्टी–ऊ पार्टी मतलब नभएकोले ‘हुन्छ, लैजानुहोस्’ भनेँ । जुन पार्टीको सरकार होस्, जिम्मेवारी दिए इमानदारीसाथ निर्वाह गर्छु भन्ने मात्र मेरो मनमा थियो । नेता भेट्न हामी ट्याक्सीमा जाँदै थियौँ, बीचबाटोमा साथीहरूले भने, ‘सर, तपाईंले नेताहरूकहाँ आफूलाई काङ्ग्रेसी हुँ भन्नुपर्छ है’ भनेर आग्रह गरे । उहाँहरूले इमानसाथ भन्नुभयो कि तपाईं काङ्ग्रेसी हुनुपर्दैन, तर हुँ भनेर भनिदिनुचाहिँ पर्छ । मैले जवाफ दिएँ– मेरो आवश्यकता देशका लागि हो भने जिम्मेवारी दिउन्, तर म काङ्ग्रेसी या अरू कुनै दलको कार्यकर्ता हुँ भनेर भन्नचाहिँ म किमार्थ सक्दिनँ । कुनै पार्टीसँग म आबद्ध नै छैन, राजनीति भनेको के हो मलाई थाहै छैन भने किन त्यसरी दलको कार्यकर्ताको ट्याग भिर्ने भन्ने मलाई लाग्यो । अनि साथीहरूले पनि ‘त्यसो भए त जानु बेकार छ, फर्कौं’ भने, अनि हामी बीचबाटै फर्कियौँ ।

यसपछि मलाई लाग्न थाल्यो कि बहुदलीय प्रजातान्त्रिक व्यवस्था आयो भनेको यो कस्तो व्यवस्था आएछ ? बल्ल मलाई थोरै राजनीतिप्रति चासो जागेर आयो । त्यसैबेला एमालेको सडक आन्दोलन सुरु भयो । नौमहिने एमालेको सरकार पनि बन्यो । एमाले सरकारले त केही गर्ला, हामीजस्ता बुद्धिजीवीलाई काम देला अब भन्ने मलाई लाग्यो । किनकि, जनताबीचबाट सङ्घर्ष गरेर आएको पार्टी भनेर एमालेका नेता–कार्यकर्ताले दाबी गरेका थिए । मकै-भटमास खाएर आएका कार्यकर्ताबाट बनेको पार्टीले केही गर्ला भनी आस राख्नु मेरा निम्ति स्वाभाविक नै थियो । उनीहरूले अपार ऊर्जास्रोतको सदुपयोग गरेर मुलुकलाई अघि बढाउने कुरा गरेका थिए । मैले ठानेँ कि ऊर्जाको विकास कसरी गर्ने भनेर एमाले सरकारले विज्ञ–विशेषज्ञको खोजी गर्नेछ, त्यसबेला म त पक्कै खोजीमा परिहाल्नेछु ।

कहीँ-कसैको चाकडीमा जानु त के म यस्तो सुनाउनु पनि पर्दैन होला, मजस्तोलाई सरकारले नै खोजेर आइहाल्ला । अब आज फोन आउँछ कि भोलि आउँछ भन्दै म लाटो पाराले ढुकेर बस्न थालेँ । तर, एमाले सरकार बनेको सायद तेस्रो दिनमा जस्तो लाग्छ, टीभीमा न्युज देखेँ मैले कि एकजना सिभिल इन्जिनियर साथीलाई सरकारले विद्युत् विशेषज्ञमा नियुक्त ग-यो । ती साथी राम्रा मान्छे हुन्, मलाई उनीप्रति केही भन्नु छैन, तर उनको विशेषज्ञताको कदर गर्नु थियो त उहाँ-सम्बन्धित कुनै क्षेत्रमा लगेर जिम्मेवारी दिएको भए हुन्थ्यो नि, के ताल हो यो सरकारको भन्ने लाग्यो । भोलिपल्ट क्याम्पस गएँ, त्यहाँ अर्का विद्युत् विशेषज्ञ सर भेट हुनुभयो, उहाँले भन्नुभयो, ‘सर, अब हामी एउटा क्लिनिक खोलौँ । नामको अगाडि डाक्टर छँदै छ, हामीले क्लिनिक खोले पनि चल्नेरहेछ यो देशमा ।’ सरकारले जे गरे पनि हुनेरहेछ भन्ने अर्थमा उहाँको यो व्यङ्ग्य थियो ।

एमाले सरकारले प्रशासनलाई यस्तरी गिजोलिदियो कि यताको उता, उताको कता, को विज्ञ, को के, आफ्ना कार्यकर्ता र नातेदार, चाकडीवाजलाई छानी-छानी राम्रो ठाउँ दिएको छ, पूर्वाग्रही बनेर विरोधी विचारका भनिएकालाई जथाभावी सरुवा गरिदिएको छ । यसरी मनपरी ग¥यो सरकारले । अनि अब यो सरकारबाट पनि केही हुँदैन भन्ने लाग्यो मलाई ।

त्यसको केही दिनपछि जाजरकोटका एक एमालेआबद्ध साथी, मेरा विद्यार्थी नै पनि हुन्, उनी मेरो घरमै आए । उनले पनि ‘सर, हाम्रो सरकार बनेको छ, मैले त पहिलेदेखि नै सरलाई हाम्रो पार्टीका मिटिङहरूमा आउनुस्, सम्पर्क बनाउनुस् भनेको मान्नुभएन, तैपनि एकपटक कोसिस गर्नैपर्छ, तपाईं ठूलो जिम्मेवारी लिनपर्ने मान्छे’ भन्दै त्यतिबेलाका एक राष्ट्रिय योजना आयोगका सदस्यसँग भेट्न टाइम मिलाए । मैले आयोगका ती एमाले-सदस्यलाई भेटेर देशको ऊर्जाको अवस्था यस्तो छ, हामी यसरी जानुपर्छ भन्दै ऊर्जा क्षेत्रको विकासका लागि गर्नुपर्ने र गर्न सकिने विषयमा मैले प्रस्ट्याइदिएँ । मैले त्यसरी राष्ट्र निर्माणमा ऊर्जाको महत्वबारे बुझाइरहेकै बेला ती साथीले ‘होइन मैले त पार्टीको बैठकमा तपाईंलाई कहिल्यै देखेको छैन नि त’ भनी प्वाक्क भन्नुभयो ।

मैले सरल भाषामा ‘म त कुनै दलको सदस्य होइन, अनि बैठकमा जाने कुरै भएन, तपाईंले देख्ने सवाल नै रहेन नि’ भनी जवाफ फर्काएँ । त्यो सुन्नेबित्तिकै उनले ‘त्यसो हो भने त लौ कुराकानी स्टप गरौँ, तपाईंको बारेमा केही हुन सक्दैन’ भनेर ठाडै भनिदिए । म पनि त्यत्तिकै फर्किएँ, तर मलाई देशको राजनीतिप्रति झन् कुतूहल बढेर गयो । अचम्ममा परेँ म ।

त्यसपछि काङ्ग्रेस र राप्रपाको संयुक्त सरकार बन्यो । सायद प्रधानमन्त्री थिए देउवाजी । राष्ट्रिय योजना आयोगमा जम्मा सदस्य हुन्छन् ६ जना, त्यसका लागि चारजना काङ्ग्रेस र दुईजना राप्रपाको भागबन्डा मिलाइएछ । रुकुम, हुम्ला–जुम्लातिरका काङ्ग्रेसी सांसद साथीहरूले मकहाँ आएर हामी सरलाई काङ्ग्रेसको कोटाबाट योजना आयोगको सदस्य बनाउन पहल गर्छौं भनी भन्न थाले । नेपालको राजनीतिको त्यो तालप्रति म गजब मानिरहेको थिएँ, ‘इन्ट्रेस्ट’ लागेर हेरौँ न त तपाईंहरूको पनि पाइन भन्ने भाषामा स्वीकृति जनाएँ । राजनीति अझै बुझ्नुप-यो भन्ने अर्थमा मैले सहमति दिएको थिएँ । उहाँहरूले काङ्ग्रेसका नेताहरू खुमबहादुर खड्का, सुशील कोइराला हुँदै गिरिजाप्रसाद कोइराला र बालुवाटारमा शेरबहादुर देउवालाई पनि भेट गराउनुभयो । म पनि जहाँ–जहाँ लग्यो त्यहीँ-त्यहीँ गइदिएँ । मलाई रमाइलो भइरहेको थियो । नेताहरू मेराबारेमा सोध्थे, म आफ्नो योग्यता–क्षमता बताइदिन्थेँ, त्यो सुनेर उहाँहरू राष्ट्रलाई चाहिने मान्छे हुनुहुँदोरहेछ भन्ने प्रतिक्रिया दिनुहुन्थ्यो ।

यस क्रममा राप्रपाले आफ्नो कोटाबाट एकजना सदस्य दिनै सकेन, राप्रपामा तीनजना मुख्य नेता योजना आयोगमा सदस्य कोटाचाहिँ दुईवटा मात्र पाएकोले नेताहरूबीच आफ्ना मान्छे नियुक्ति गर्ने कुरामा भाग नपुगेर झगडा परेको रहेछ र एकजना तेरो कि मेरो भन्दाभन्दै खाली रहन पुगेको बुझियो । आयोगलाई लामो समयसम्म पूर्णता दिन नसकेपछि काङ्ग्रेसले अब त लाजै भयो सरकारको भन्दै आफ्ना चारजना मान्छे मात्रै राखेर आयोग गठन ग-यो । योजना आयोगबिना बजेट बनाएर पास गरेको नेपालको इतिहासमा त्यही एक वर्ष मात्रै होला भन्ने लाग्छ मलाई । त्यो चारजनामा एकचाहिँ मेरो नाम पर्छ भनेर मेरा साथीहरूले भनेका थिए, तर नाम आउँदा मेरो नाम थिएन र उहाँहरूले मसँग सरी मागेर पन्छिनुभयो ।

यसपछि पनि राप्रपाका मान्छेहरू मेरो पछि लागे । काङ्ग्रेसकाहरूले कोसिस गरेर नभएको भन्ने थाहा पाएर उनीहरू मकहाँ आएका रहेछन् । एउटा योग्य मान्छे नियुक्त गरेर ‘क्रेडिट’ लिने हिसाबले उनीहरू त्यसरी आएका रहेछन् । आफ्नो जिल्लामा राम्रा योजनाहरू पार्ने ध्येय बोकेका पनि हुन सक्छन् । उहाँहरूले पनि हामी गर्छौं भन्दै लोकेन्द्रबहादुर चन्दकहाँ लिएर जानुभयो । उहाँहरूले मेराबारेमा परिचय दिँदै हाम्रो पश्चिम क्षेत्रकै पहिलो पीएचडी, जाजरकोटका पहिलो मास्टर, विज्ञ आदित्यादि भन्दै कन्भिन्स गर्न खोजे । फेरि हाँडीगाउँस्थित सूर्यबहादुर थापाको घरमा मलाई लगियो । राजेश्वर देवकोटाकहाँ पनि पु-याए । यति सबै भएपछि राप्रपाले आफ्नो पार्टीका तर्फबाट नाम बुझाएको कुरा आयो, तर त्यसमा पनि म परिनँ ।

यसरी मैले सबै पार्टीको सरकार र दलका नेताहरूको चालढाल हेरेँ, बुझेँ । यसरी त पक्कै देश बन्नेवाला छैन, देश विकास हुँदैन, जनताले सुख पाउँदैनन्, यस्तो व्यवस्था काम छैन भन्ने निचोडमा पनि म पुगेँ । सत्तासीन दलसँग आबद्धता नभईकन विज्ञ–विशेषज्ञले पङ्गु बनेर बस्नुपर्ने सिस्टमको के अर्थ ? भन्ने लाग्यो ।

ठ्याक्क त्यही प्वाइन्टमा नेपालका बुद्धिजीवीहरूमा एउटा ट्रेन्ड देखाप-यो । मजस्तै अन्य स्वतन्त्र बुद्धिजीवीहरू, जो विदेशमा पाएको राम्रा अवसर छोडेर देशमै केही गर्न सकिन्छ भनी आशावादी थिए, अमेरिका, बेलायत, जापान, क्यानडा, फिलिपिन्स, भारत आदि देशमा पाएको अवसर त्यागेर देश बनाउन आएका साथीहरूमै एक खालको ट्रेन्ड के देखेँ भने उहाँहरूमा पनि अब वर्गीकरण सुरु भएछ । चार–पाँचवटा वर्गमा बुद्धिजीवीहरू विभाजित हुनुभयो । एउटा वर्गले नेपालमा आफ्नो भविष्य देखेन र विदेश पलायनकै बाटो रोज्यो । आज मेरा साथीहरू कोही अस्ट्रेलियामा, कोही क्यानडा र कोही जापानमा काम गरेर व्यक्तिगत जीवन सुखमय ढङ्गले गुजारिरहेका छन् । यसरी देशै छोडेर एक तप्का हिँड्यो । अर्को समूहचाहिँ एक किसिमले निराशा जाग्न थालेपछि आध्यात्मिक चिन्तनतिर लाग्यो । जिन्दगी यस्तै रहेछ भन्दै उनीहरू कोही ओशोतिर, कोही यस्तै अर्कोतिर लागेर ध्यान गर्न थाले । राजनीति, सिद्धान्त पनि यहाँ केही काम रहेनछ भनी उनीहरू आध्यात्मिक चिन्तनतिर लागेका थिए । यतिसम्म त ठीकै भनौँ, तेस्रो समूहको कथा पीडादायी छ ।

उनीहरूचाहिँ अति फ्रस्टेटेड भएर जीवनबाटै पलायन हुने पथमा पनि लागे । बोर्डफस्र्ट आएका मेरो कति साथीले मृत्यु नै अँगालेको पनि अनुभूति मसँग छ । कोही सुसाइड गरेर मरे, कोही रक्सीमा डुबेर बिस्तारै मरे । बुद्धिजीवीको चौथो समूहले चाहिँ यो सिद्धान्त र स्वाभिमानको कुरा यस्तै रहेछ, जीवन अघि बढाउन सम्झौताको बाटो किन नअँगाल्ने भन्दै एमाले आए एमाले, काङ्ग्रेस आए काङ्ग्रेसका रूपमा आफूलाई बदल्दै लाभ उठाउने बाटो समाते । यसैगरी पाँचौँ समूह यस्तो देखियो कि पलायन भएर, विदेश गएर नेपालको समस्या समाधान हुँदैन, म पागल भएर, मरेर यहाँको समस्या समाधान हुँदैन, मैले सैद्धान्तिक कम्प्रोमाइज गरेर झन् समस्या समाधान हुँदैन, आध्यात्मिक चिन्तन गरी ध्यानमा डुबेर पनि देश त बन्दैन, नेपालको जुन परिस्थितिले हामीजस्तालाई बिदेसिन बाध्य पार्दै छ यस परिवेशलाई बदल्नुपर्छ अब हामीले, हामीले चाहेजस्तो वातावरण मुलुकमा आफँै आउँदोरहेनछ, हामीले बनाउनुपर्ने रहेछ, विद्रोहकै बाटो समात्नुपर्ने रहेछ भन्ने लाग्यो । त्यहीबेला तत्कालीन जनमोर्चाले परिवर्तनको नारा दिएर विद्रोहको राजनीति सुरु ग¥यो । डा. बाबुराम भट्टराईको तीन घन्टा लामो भाषण मैले थापाथली क्याम्पसमा सुनेँ । मलाई गजब राम्रो लाग्यो, कन्भिन्स भएँ ।

किनकि, आफ्नो भोगाइको अनुभवबाट म त्यही बिन्दुमा पुगेको थिएँ । राजनीतिक अनुभव शून्य थियो, तर भोगाइले मलाई त्यहाँनेर पु¥याएको थियो । उहाँहरूचाहिँ राजनीतिक विश्लेषणको आधारमा त्यहाँ पुग्नुभएको थियो । उहाँसँग बेग्लै भेट भयो, अब यही हो बाटो भन्नेमा पुगेँ । हिसिलाजी पनि पुल्चोकमा पढाउनुहुन्थ्यो, १५-१६ वर्ष हामी सँगै काम पनि गरेका । पुल्चोक क्याम्पसमा मैले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा उहाँले सपोर्ट पनि गरेको । यसरी हिसिलाजी, बाबुरामजी, विष्णुपुकार श्रेष्ठजी आदि साथीहरूसँगको सङ्गतले माओवादी विद्रोहसँग जोडिन पुगियो । यो देशमा आमूल परिवर्तनको खाँचो छ भन्ने निचोडमा त म आफैँ पुगेकै थिएँ, यसरी उहाँहरूसँगको सङ्गतले मैले माओवादी आन्दोलनलाई आफ्नो कोणबाट सक्दो सहयोग पु-याएँ । त्यतिबेला माओवादीका नेता साथीहरू हामीलाई किन व्यक्तिगत घर–जग्गा चाहियो ? किन गाडी चाहियो ? सबै छोडेर देशका लागि समर्पित हुने हो, मुलुक परिवर्तन गर्ने हो भन्नुहुन्थ्यो । यसबाट प्रभावित भएर मैले पनि ०५७ सालमा क्याम्पसबाट राजीनामा दिएँ, आन्दोलनमा सघाएर मुलुक परिवर्तन गर्नका लागि । त्यसबेला एउटा इन्टरनेसनल संस्थाको कन्ट्री डाइरेक्टर पनि थिएँ म, तीन-चार लाख जागिर थियो मेरो, त्यो सुविधा पनि क्रान्तिका लागि मैले छोडेँ । एक किसिमको माओवादी होलटाइमर नै भएँ म ।

० यसको मतलब तपाईं माओवाद, माक्र्सवाद बुझेरैचाहिँ माओवादी आन्दोलनमा लागेको होइन ?
– होइन–होइन, मैले त केही बुझेकै थिइनँ त्यहाँ जोडिएको बेला पनि । त्यहाँ जोडिँदा पनि म त धार्मिक मान्छे नै थिएँ, उहाँहरू सबै कुरा अब नयाँ हुन्छ भन्नुहुन्थ्यो, म त्यसैमा आशावादी हुन्थेँ ।

० माओवादी आन्दोलनमा जोडिएपछि कस्तो जिम्मेवारी पाउनुभयो तपाईंले ?
– मलाई मानवअधिकार सेक्टरतर्फको जिम्मेवारी दिइएको थियो । वास्तवमा भन्ने हो भने जनयुद्ध सुरु हुनुअगाडि माघ महिनामा अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको मौका पारेर उहाँहरूले एउटा मानवाधिकारवादी संस्था गठन गर्नुपर्छ भनेर भन्नुभएको थियो । उहाँहरूको चाल अर्कै रहेछ, सोझो मान्छे मैले बुझ्ने कुरै भएन । भोलि जनयुद्धका क्रममा अन्तर्राष्ट्रिय निकाय गुहार्न या उहाँहरूलाई प्रोटेक्ट गर्न मानवअधिकारवादी कोणबाट वकालत गर्ने संस्था चाहिन्छ भन्ने रणनीतिअनुसार त्यसो गरिएको रहेछ पछि बुझ्दा । एउटा मिटिङमा मलाई पनि बोलाउनुभयो, एउटा स्वतन्त्र व्यक्तिको नेतृत्वमा मानवाधिकारवादी संस्था गठन गर्नुप-यो भन्दै प्रस्ताव गरेपछि मलाई अध्यक्ष बनाएर ‘जनअधिकार सरोकार अभियान नेपाल’ नामक संस्था गठन गरियो । त्यो संस्थाले किलो शेरा टु अपरेसनको बेला धेरै प्रभावकारी काम पनि ग-यो । अरू कुनै पनि मानवाधिकारवादी सङ्गठन जिल्लामा जान नसक्ने बेला हामी जिल्ला–जिल्ला जान सक्थ्यौँ । मानवअधिकारको एउटा नयाँ सिद्धान्त पनि स्थापित गर्न सफल भयौँ जस्तो लाग्छ, त्यो के भने मानवअधिकारको हनन राज्यबाट मात्र हुन्छ भन्ने मान्यता स्थापित गरायौँ हामीले त्यो बेला । पछि माओवादीलाई आतङ्ककारी घोषणा गरियो, अनि त माओवादीसँग आबद्ध संस्था कुन–कुन हुन् त भनी खोजेर राज्यले हाम्रो संस्थालाई पनि आतङ्कवादी घोषणा गरिदियो ।

त्यसपछि त्यसले काम गर्न सकेन र त्यत्तिकै बिलाएर गयो । आईटीडीजी भन्ने ब्रिटिस आईएनजीओबाट मैले राजीनामा गरिसकेको थिइनँ । त्यसको कन्ट्री डाइरेक्टर थिएँ । कार्यालय हरिहर भवनमा थियो । आर्मीको एउटा ठूलो ट्रक एक दिन त्यहीँ आयो, हतियारसहित आर्मीहरू कार्यालयमै प्रवेश गरे । कार्यालय पूरै घेरेर हामीलाई स्ट्यान्डबाइ राखे । तीन घन्टा लगाएर कार्यालय सर्च गरियो । माओवादीका ठुल्ठूला डकुमेन्ट त्यहाँ पाइन्छ भन्ने सेनाले सोचेको रहेछ । तर, केही नपाएपछि सेना फर्कियो । त्यसबेलाचाहिँ थोरै भूमिगतजस्तो हुनुपरेको थियो मलाई ।

(अन्तर्वार्ताको रोचक अङ्श अर्को भागमा)

डा.केबी रोकायाले गरे कथित जनयुद्वको सनसनीपूर्ण खुलासा….

 

 
यो पनि हेर्नुहोस्-

अब देशको पहिचान जोगाउन जाग्ने हो : डा. केबी रोकाया