फेरि ठुल्दाइले छिर्के हान्यो -श्रीविक्रम भण्डारी

फेरि ठुल्दाइले छिर्के हान्यो -श्रीविक्रम भण्डारी


नेपाली फुटबलमा अहिले महिला फुटबलबाट थुप्रै आशा गरिन थालेको छ । छोटो समयमा महिला फुटबलले अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शन त्यसको मूल कारण हो । बङ्गलादेशमा सम्पन्न एघारौँ सागमा महिला टोलीले रजतपदक जितेपछि उसको नेप्से एक्कासि बढेको थियो । एघारौँ सागको फाइनलमा भारतसँग उत्कृष्ट प्रदर्शन गरेपछि महिला टोली एकाएक चर्चामा आएको थियो । सागअघि राष्ट्रियस्तरमै सीमित रहेको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक निश्चित पारेपछि महिला फुटबलतर्फ सबैको ध्यानाकर्षण भएको थियो । सीमित साधन स्रोत र प्रशिक्षणका बाबजुद पनि महिला टोलीले फाइनलमा पुगेर सबैको मन जित्न सफल भएको थियो । निरन्तर प्रशिक्षणको अभावमा पनि स्वर्ण पदकको सम्भावनालाई कायम राखेको महिला टोली अहिले फुटबलमा नयाँ आशा जगाएको छ । अन्तर्राष्ट्रियस्तरमा पुरुष फुटबलतर्फ नेपालको प्रदर्शन लाजमर्दो रहे पनि महिला टोली भने उक्त साखलाई बचाउने कोसिसमा लागेको छ ।
एक वर्ष अगाडिसम्म नेपालमा महिला फुटबलको अस्तित्व एकादेशको कथाजस्तै थियो । सम्बन्धित निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला फुटबललाई आत्मसात् गरेको थिएन । एन्फाले पुरुष फुटबललाई मात्र फुटबलको रूपमा हेरेका कारण महिला फुटबल छायामा परेको थियो । जसोतसो आफ्नो अस्तित्वलाई बचाउन सफल भएको महिला फुटबलले एघारौँ सागमा उत्कृष्ट प्रदर्शन गरेपछि एन्फाको नजरमा परेको थियो । डेढ दशकभन्दा बढी समयदेखि गणेश थापाले फुटबलको वागडोर सम्हाले पनि अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय स्तरमा कुनै उपाधि जित्न सकेको छैन । नेपाली फुटबलको विकासको स्तर वृद्धिका लागि थापाले गरेको योगदान ऐतिहासिक भए पनि कुनै उपाधि नजित्नु उनका लागि दर्ुभाग्य बनेको छ । यसरी सधैं हात लाग्यो फुस्साकै भरमा अगाडि बढ्दै गएको नेपाली फुटबल टोलीको भविष्यमा पनि कुनै आशा र विश्वास गरिएको छैन । यसरी नेपाली फुटबल अधोगतितर्फ उन्मुख भइरहेको अवस्थामा महिला फुटबलले फुटबलको साख बचाउन अहम् भूमिका निभाइरहेको छ ।
हिजोसम्म महिला फुटबल भनेपछि नाक खुम्च्याउने एन्फाले अहिले आफ्नो धारणामा परिवर्तन गरेको छ । एघारौँ सागमा पुरुष फुटबल टोली पहिलो चरणबाटै बाहिरिएपछि हरेस खाएका थापाले महिला फुटबलको सहारा लिएको कतैबाट छुपेको छैन । थापाले महिला फुटबलको महत्व र आवश्यकतालाई आत्मसात् गर्दै बङ्गलादेशमा स्वर्ण पदक जिताउन गरेको प्रोत्साहनलाई सायदै कसैले बिर्सेको होला । अब महिला फुटबल पनि एन्फाको पहिलो प्राथमिकतामा परेको छ । हिजोसम्म अभिभावक भएर पनि अनाथजस्तै बनेको महिला फुटबलले अब एन्फाकै बगैंचामा फल्ने र फुल्ने अवसर पाएको छ । यो महिला फुटबलको विकासका लागि शुभसङ्केत पनि मानिएको छ । महिला फुटबलप्रति एन्फाको दृष्टिकोण आगामी दिनमा पनि यस्तै रहने हो भने महिला फुटबल टिम दक्षिण एसियाको सर्वश्रेष्ठ बन्नलाई धेरै समय नलाग्ने फुटबलप्रेमीको ठहर छ ।
अहिले महिला फुटबलको ब्याज खान धेरैले हानथाप गरिरहेका छन् । स्वयम् एन्फा पनि तँछाड-मछाड गर्दै आफूलाई त्यसमा घुसाउने प्रयत्न गरिरहेको छ । महिला फुटबललाई फलाउन, फुलाउन र यो अवस्थासम्म पुर्‍याउन कसको कति योगदान छ त्यसको बारेमा पनि चर्चा हुनु जरुरी छ । प्रायः मृतअवस्थामा पुगिसकेको महिला फुटबललाई तत्कालीन महिला फुटबल सङ्घकी अध्यक्ष गीता राणाले निभाएको भूमिकालाई सायदै कसैले बिर्सिएला । त्यसबेलाको विषम परिस्थितिमा पनि राणाले अधिराज्यभरिबाट महिला खेलाडी छनोट गरेर प्रशिक्षणका साथै आफ्नै स्कुल ग्यालेक्सीमा शिक्षाको समेत व्यवस्था गरेकी थिइन् । महिला फुटबलको स्तरवृद्धि र विकासका लागि लाखौँ रूपैयाँ व्यक्तिगत रूपमा खर्च गरेर राणाले पहिलोपटक महिला फुटबल लिगसमेत सञ्चालन गरेकी थिइन् । डेढ दशक पहिले नै मंगलादेवी लिग सञ्चालन गरेर महिला फुटबलको विकासका लागि अहम् भूमिका निर्वाह गर्ने राणाकै दरिलो आधारले महिला फुटबलको जग बलियो पारेको थियो । राणाको बहिर्गमनपश्चात् पुनः कोमामा पुगेको महिला फुटबललाई स्वर्गीय भाइकृष्ण केसीले सम्हालेका थिए । महिला फुटबललाई अगाडि बढाउन केसीले एन्फादेखि सञ्चारमाध्यमसम्म उत्तिकै महत्वपूर्ण भूमिका निभाएका थिए । आफ्ना चेलीहरूलाई एक दिन आफ्नो पनि दिन आउने कुरा बताउँदै हरेस नखान प्रेरित गरेका थिए । आज उनका चेलीहरूले उत्कृष्ट प्रदर्शन गर्दा र पदक जितेर मुलुकको गौरव बढाउँदा केसीको इच्छा साकार भए पनि उनको अनुपस्थिति भने खड्किएको छ । केसी महिला फुटबलका विज्ञ थिए । उनलाई विश्वास थियो- बलियो आधार पाएको खण्डमा महिला फुटबलले ठूलो फड्को मार्ने कुरामा ।
हालै बङ्गलादेशमा प्रथम साफ महिला फुटबल च्याम्पियनसिप सम्पन्न भएको छ । दक्षिण एसियाका आठवटै राष्ट्रले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको फाइनलमा नेपाल र भारत पुगेका थिए । दुई समूहमा विभाजन गरेर खेलाइएको उक्त च्याम्पियनसिपमा नेपालले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा आयोजक बङ्गलादेशलाई ३-० ले पराजित गरेर नेपाल फाइनलमा प्रवेश गरेको थियो । नेपालले फाइनलसम्मको यात्रा गर्ने क्रममा चार खेलमा ३४ गोल हानेर कीर्तिमानसमेत बनाएको थियो । नेपालले समूह चरणमा माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानलाई पराजित गरेको थियो । सो क्रममा कप्तान जमुना गुरुङले १० र अनु लामाले तीन ह्याटि्रकसहित ११ गोल गर्न सफल भएका थिए । समूह चरण र सेमिफाइनलमा महिला टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा भने खरो उत्रिन सकेन । चिरप्रतिद्वन्द्वी भारतसँगको लडाइँमा नेपाली चेलीहरूलाई भाग्यले साथ दिएन । विजयको मुखमा पुगेर पनि उनीहरूलाई छिर्के हान्ने काम ठुल्दाइले पुनः गर्‍यो । १-० को झिनो अन्तरले पराजित हुँदै महिला टोलीले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । निकै प्रतिस्पर्धात्मक रहेको उक्त फाइनल खेलमा भारतका लागि विजयी एक मात्र गोल स्ट्राइकर सुस्मिता मलिकले गरेकी थिइन् ।
यसरी एघारौँ सागपछि महिला टोली भारतसँग दोस्रोपटक फाइनलमा पराजित भएको छ । विजयका लागि सम्भावना पर्याप्त हुँदाहुँदै पनि महिला टोलीले भारतका अगाडि पुनः घुँडा टेकेको छ । आखिर परिणाम जस्तो आए पनि दक्षिण एसियाली मुलुकमा नेपाली महिला फुटबलको सम्भावना भने बढेर गएको छ । उनीहरूलाई निरन्तर रूपमा प्रशिक्षणमा राख्न सक्यो भने नतिजा सकारात्मक आउने प्रस्ट देखिएको छ । तर्सथ महिला फुटबलमै भए पनि बर्चश्व कायम गर्न सम्बन्धित निकाय एन्फा, राखेप र नेपाल सरकारले महिला टोलीको बारेमा सोच्नुपर्ने जरुरी भइसकेको छ ।
गणेश थापाको गर्जन, खेलकुदमा हलचल
प्रायः खेलकुदका थोरै कार्यक्रममा मात्र देखिने अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापा हालै गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा देखापरेका थिए । माओवादी पार्टीसँगको घनिष्टता र विशेष सम्बन्धका कारणले थापा १६औँ एसियाडमा एक मात्र पदक जित्ने दीपक महर्जनलाई सम्मान गरिने कार्यक्रममा उपस्थित भएका थिए । उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा एनेकपा माओवादीका स्थायी कमिटीका सदस्य एवम् खेलकुद विभाग प्रमुख टोपबहादुर रायमाझी थिए । मुलुकको प्रतिष्ठा बढाकोमा महासङ्घले दीपकलाई ५० हजार र प्रशिक्षक प्रचण्ड शर्मालाई १५ हजार प्रदान गरेको थियो । माओवादी सत्तामा हुँदा राष्ट्रिय खेलकुद परिषद्को समकक्षको रूपमा खोलिएको महासङ्घ सत्ता परिवर्तनसँगै ओझेलमा परेको थियो ।
एन्फा अध्यक्ष गणेश थापा र माओवादीबीच कस्तो आत्मीय सम्बन्ध छ यहाँ भनिरहनु नपर्ला । यसको उदाहरण यो कार्यक्रम हो भन्दा पनि अतिसयोक्ति नहोला । थापालाई बेलाबेलामा माओवादीनिकट भएको आरोप पनि लाग्दै आएको छ । माओवादीकै कारणले थापाको कुर्सी अहिलेसम्म नहल्लिएको भन्नेहरू पनि प्रसस्त छन् । थापाले के रणनीति अख्तियार गरेर यस्तो सुमधुर सम्बन्ध बनाए त्यो उनैलाई थाहा होला । तर, भन्नेहरूको मुख कसले थुन्न सक्छ ‘यो सबै पैसाको खेल हो’ भन्नेलाई । थापाले यो कुराको पूर्णरूपमा प्रतिवाद गर्दै आफू खेलकुद पदाधिकारी मात्रै भएको र कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएको सफाइ दिँदै आएका छन् । थापाले फुटबलको अध्यक्षको नाताले विभिन्न राजनीतिक पार्टीका नेताहरूसँग आफ्नो चिनजान र उठबस रहेको स्वीकार गरेका छन् । यसको अर्थ आफूलाई कुनै पार्टीको कार्यकर्ता या अन्य रूपमा हेर्न नमिल्ने थापाको कथन छ ।
‘तित्राको मुखै बैरी’ यो आख्यान र थापाको सम्बन्ध नङ र मासुको जस्तो छ भन्दा फरक नपर्ला । कार्यक्रम जसको भए पनि थापा राखेपको उछित्तो काढ्न पछि पर्दैनन् । उनले यस्तै हर्कत गणतान्त्रिक खेलकुद महासङ्घले गरेको सम्मान कार्यक्रममा पनि देखाए । थापाले उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राजनीतिक हस्तक्षेपमा मात्रै व्यस्त रहेको आरोप लगाउँदै आफूलाई राखेपप्रति कुनै विश्वास नभएको भन्दै आक्रोश पोखेका थिए । थापाले दुई-चार महिनाका लागि राजनीतिक नियुक्ति लिएर आउनेले राजनीतिक हस्तक्षेप गर्न नपाउने गम्भीर आरोपसमेत लगाएका थिए । साथै थापाले राखेपले स्पष्टीकरण माग्छ भन्दैमा आफू नडराउनेसमेत बताएका थिए । उनले कसलाई खुसी पार्न अनायासमै किन यत्रा ठूला कुरा गरे त्यो कसैले बुझ्न सकेको छैन । उनले सेभ द मिसनको विवाद र अवैधानिक ओलम्पिक कमिटीसँगको राखेपको झगडाको कुरा उठाउँदै राखेपलाई निचो देखाउनु अहिले चर्चाको विषय बनेको छ । थापाले पुरानो रिसलाई साँधेका हुन् भने त केही छैन, अन्यथा बेला न कुबेला राखेपमाथि जाइलाग्नुलाई खेलकुदका पदाधिकारीले अनौठो घटनाको रूपमा लिँदै स्वास्थ्य परीक्षण गर्न सल्लाह दिएका छन् ।
अहिले थापाको गर्जनले खेलकुदमा हलचल मच्चाएको छ । थापाले एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीसामुन्ने अहिले खेलकुदमा बोल्नका लागि पनि प्रतिबन्ध लागेको खुलासा गरेका थिए । थापाले दीपक विष्टको घटनाको स्मरण गराउँदै आफूले खेलाडीको हितमा बोल्दा झन्डै कारबाहीमा परेको बताए । तर, उनले त्यसबेला दीपकको पक्षमा बोल्नु खेलाडीको हितको पक्षमा मात्र नभई आफ्नो र ओलम्पिक कमिटीको स्वार्थ पनि लुकेको थियो । दीपकजस्तो खेलाडीको समर्थनमा बोल्नु आफ्नो स्वास्थ्यका लागि राम्रो हुनु एक पक्ष थियो भने अर्को ध्रुवबहादुरको एनओसीलाई समर्थन गर्नु । खेलकुदको सर्वोच्च निकाय राखेपलाई बाईपास गर्दै एनओसीले उठाएको उक्त गलत कदम थियो कि थिएन त्यसको बारेमा थापाले चिसो दिमागले सोचेमा उचित होला । हुनत राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय नियम, कानुन र संस्थालाई मान्दै आएका थापा र प्रधानले दीपकलाई बोकाबत्राट खसी बनाउनु स्वाभाविकै कुरा हो । खेलकुदमा काले काले मिलेर खाउFm भाले’को भूमिका निर्वाह गरिरहेका थापा र प्रधानको यो संगमलाई कसैले अनौठो रूपमा पनि हेरेका छैन् । तर्सथ थापाजी बोल्दाखेरि कहिलेकाहीँ आफूलाई पनि ऐनामा हेर्ने गर्नुहोस्, सायद वास्तविक छवि देख्नुहुन्छ कि –
बीबीसीको अवार्ड बेकह्यामलाई
विश्वका चर्चित प्लेमेकर डेभिड बेकह्याम हालै आइभटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । पूर्वकप्तान बेकह्यामलाई बीबीसीको खेलकुद व्यक्तित्वअर्न्तर्गत इंग्ल्यान्डका लागि गोलकिपरबाहेक सबैभन्दा बढी खेल खेल्ने खेेलाडी भएकोले उक्त सम्मान प्रदान गरिएको हो । बीबीसी खेलकुद व्यक्तित्व छान्ने सम्पादक कार्ल डोनरले बेकह्याम उत्कृष्ट खेलाडी हुनुका साथै मैदानभित्र र बाहिर दुवैतर्फ प्रेरणादायी भूमिका निभाएकाले छनोटमा परेको बताए । विश्वका चर्चित व्यावसायिक क्लबबाट खेलेर आफ्नो उत्कृष्ट प्रतिभा देखाएका बेकह्यामले सन् २००१ मा बीबीसीबाट वर्षको व्यक्तित्वसमेत घोषित भएका छन् । यो पुरस्कारबाट सम्मानित भएपछि बेकह्याम निकै खुसी र भावुक बनेका थिए । बेकह्यामले फुटबल एउटा टिम गेम भएकोलेे साथीहरूको सहयोगबिना केही कुरा सम्भव नहुने बताए । यसका लागि उनले आफ्ना सहकर्मी साथीहरूलाई धन्यवाद दिँदै यो स्टेजमा उभिने सौभाग्य उनीहरूकै सहयोगले जुटेको बताएका थिए । बेकह्यामले आफ्नो मुलुक इंग्यान्डका लागि खेल्नु पाउनु आफ्नो सौभाग्य भएको बताउँदै सर बबी रोब्सनबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको उक्त अवसरमा बताए । उनले आफुले कल्पना गरेको र चाहेको जस्तो सम्मान पाउँदा खुसी लागेका बताए ।
सचिनले ब्रेडम्यानलाई पछारे
क्रिकेटमा कीर्तिमानमाथि कीर्तिमान बनाएका महान् खेलाडी सचिन तेन्दुलकरले अर्का कीर्तिमानी खेलाडी डन ब्रेडम्यानलाई पछि छोड्न सफल भएका छन् । यी दुवै खेलाडीमा को महान् भन्ने कुरामा लामो समयदेखि बहस चल्दै आएको छ । सचिनले हालै दक्षिण अफि्रकामा सम्पन्न भएको पहिलो टेस्टमा शतकको अर्धशतक अर्थात् ५०औँ शतक प्रहार गरेपछि ‘को महान् खेलाडी’ भन्नेबारेमा र्सर्वेक्षण गरिएको थियो । हालै अस्टे्रलियाको सिड्नी मरि्नङ हेराल्ड पत्रिकाद्वारा गरिएको र्सर्वेक्षणमा सचिनले ब्रेडम्यानलाई पछारेका थिए । उक्त र्सर्वेक्षणमा सचिनको पक्षमा ६७ प्रतिशत मत परेको थियो भने ब्रेडम्यानको पक्षमा मात्र ३३ प्रतिशत । सचिनसँगको भेटमा ब्रेडम्यानले सचिनको खेलले आफ्नो समय सम्झाउने भनेपछि यी दुवैमा को महान् भन्ने विषयले अझ चर्चा पाएको थियो । र्सर्वेक्षणमा सहभागीले सचिनले क्रिकेटका तीनै स्वरूपमा सर्वाधिक रन बनाएका र सबै क्रिकेट खेल्ने देशसँग उत्कृष्ट प्रदर्शन गरेका आधारमा सचिन महान् खेलाडी भएको घोषित गरेका थिए । स्मरण छ, सर्वकालीन महान् खेलाडी ब्रेडम्यानले इंग्ल्यान्डसँग मात्र टेस्ट क्रिकेट खेलेर ९९को औसतले रन बनाएका थिए । यो र्सर्वेक्षणमा २० हजार सात सय ६८ जनाले सहभागिता जनाएका थिए ।
सामुइल इटो अफि्रकामा उत्कृष्ट
क्यामरुनका चर्चित स्ट्राइकर सामुइल इटो चौथोपटक अफि्रकी वर्ष खेलाडीको पुरस्कार जित्न सफल भएका छन् । सन् २००३ देखि लगातार तीनपटक यो पुरस्कार जितेका इटोले पूर्वविजेता आइओरी कोस्टका डिडियर ड्रोग्बालाई पछि पार्दै चौथोपटक उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन् । अफि्रकी राष्ट्रिय प्रशिक्षकहरूले गरेको मतदानका आधारमा यो निर्णय गरिएको हो । गतसाता कायरोमा सम्पन्न अफि्रकी फुटबल महासङ्घको बैठकले यो निर्णय गरेको हो । अफि्रकी फुटबलमा निकै प्रतिष्ठित मानिने यो पुरस्कार राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत दिने गरिन्छ । दक्षिण अफि्रकामा सम्पन्न विश्वकपमा क्यामरुनको नेतृत्व गरेका कप्तान इटोले खासै प्रदर्शन गर्न नसके पनि अफि्रकी नेसन्स कपमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए । एक्लै आफ्नो टोलीलाई क्वाटरफाइनलसम्म पुर्‍याएका इटोले अफि्रकी नेसन कप सर्वाधिक गोल गरेर ऐतिहासिक कीर्तिमान पनि बनाएका छन् । इटालियन क्लब इन्टरमिलानबाट खेल्दै गरेका इटोले हालै आफ्नो क्लबलाई क्लब विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए । इन्टरमिलानले एकै सिजनमा क्लब विश्वकप, युरोप र इटालीको उपाधि जितेर कीर्तिमान बनाउन इटोले महत्वपूर्ण भूमिका निभाएका थिए ।