कुराकानी-ईन्जिनियर किसन दत्त भट्टसँग

कुराकानी-ईन्जिनियर किसन दत्त भट्टसँग


‘नेपालीलाई हेर्ने दृष्टिकोण अत्यन्तै मर्यादित रहेको पाएँ’ -ईन्जिनियर किसन दत्त भट्ट(हङकङ विश्वविद्यालयमा ‘मास्टर अफ साइन्स इन अर्बान प्लानिङ’ विषयमा अध्ययनरत विद्यार्थी)

‘मास्टर अफ हृयुमन सेटलमेन्ट’ विषयमा विश्वव्यापी छात्रवृति (VLIR-Scholarship) प्रकृयामा छनौट भई बेल्जियमको ‘ल्युभन विश्वविद्यालय’मा एक वर्षे उक्त विषय अध्ययन गर्ने मौका पाएका तर सोही समयमा ‘एसिएन डेभेलेप्मेन्ट ब्याङ्कको जापान छात्रवृति कार्यक्रम’ (Asian Development Bank-Japan Scholarship Program) मा पनि छनौट भई दुई वर्षे ‘मास्टर अफ साइन्स इन अर्बान प्लानिङ’ विषयमा हङकङ विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएकोले हङकङ विश्वविद्यालयलाई ज्यादा प्राथमिकता दिएर यहाँ आफ्नो दुई वर्षे अध्ययनार्थ आएका किसन दत्त भट्ट, हङकङ विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीहरुका लागि छात्रवृतिमा उच्च शिक्षा हासिल गर्न पाउने प्रशस्तै अवसरहरु देखिए तापनि अन्य दक्षिण यसियाली मुलुकहरुका विद्यार्थीहरुका तुलनामा नेपाली विद्यार्थीहरु नगन्य मात्रामा देखिनुलाई नराम्रो मान्दछन् । एउटा निम्न मध्यम वर्गीय परिवारमा बैतडी जिल्लाको दशरथचन्द्र नपा, वडा नं ९, डुँगारा गाउँमा उ.से. काशीदत्त भट्ट र माता स्व. पार्वती देवी भट्टको कोखबाट माहिलो छोराको रुपमा जन्मिएका किसन दत्त भट्ट, ईन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसमा आर्किटेक्चरल ईन्जिनियरिङ विषयमा छात्रवृति (नियमित) अन्तर्गत छनौट भएका र पछि वि.सं. २०६० सालमा सोही क्याम्पसबाट आर्किटेक्चरल ईन्जिनियरिङ स्नातक तह (पाँच वर्षे पाठ्यक्रम) मा प्रथम श्रेणीमा उत्कृष्ट विद्यार्थी भएर पास भएका विद्यार्थी हुन् भने, नेपाल ईन्जिनियरिङ परिषदअन्तर्गत क्याटागोरी-ए आर्किटेक्चर समूहमा दर्ता भएको आर्किटेक्ट पनि हुन् । राजपत्राङ्कित तृतीय श्रेणी ईन्जिनियर पदमा पनि काम गरेका भट्ट, ईन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसका उत्कृष्ट भूपू विद्यार्थी तथा सोही क्याम्पसमा स्नातक तहको आर्किटेक्चर विषयमा उपप्राध्यापक थिए, जहाँको अनुभवबाट, नेपाली शिक्षापद्धतिमा केही कमजोरी रहेको र आगामी दिनहरुमा त्यसमा सुधार नगरिए अन्य मुलुकहरुका विद्यार्थीहरुसँग तुलनात्मक निक्कै पछाडि पर्नु पर्ने वाध्यता रहेको अहिले नै देख्ने यिनै ईन्जिनियरसँग उच्च शिक्षाको अध्ययन तथा छात्रवृतिका अवसरहरुसहित समसामयिक विषयमा मैले कुरा गर्न भ्याएको थिएँ । हङकङमा उच्च शिक्षा लिनका लागि विभिन्न मुलुकका विद्यार्थीहरु आइरहने क्रममा हाम्रा नेपाली विद्यार्थीहरुले पनि प्रशस्तै अवसरहरु पाउन सक्ने देखिएकोले ईन्जिनियर भट्टसँग यो विषयमा कुरा गर्दा सम्वन्धितहरुलाई चासो दिन सकिने सोचिंएको पनि यो अन्तर्वार्ताको ध्येय हो ।

0 नेपाली विद्यार्थीहरुको हङकङ विश्वविद्यालयमा कस्ता अवसरहरु देख्नुभएकोछ ?

भट्ट : यसमा नेपाली विद्यार्थी भन्नाले, पहिलोमा, नेपालबाट अध्ययन भीसामा ‘अन्तर्राष्ट्रिय विद्यार्थी’अन्तर्गत पढ्न आउने र अर्कोचाहिँ, हङकङेली नेपाली विद्यार्थी अर्थात यहाँको नागरिक भन्ने बुझ्न सकिन्छ । यसमा खासगरी यहाँ स्थायी रुपमा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले काम गर्दै पनि पढ्न सक्ने अवसरहरु छन् । यहाँका विश्वविद्यालयहरु विश्वकै उत्कृष्टमध्येका मानिने गरेका छन् । शीप, विकास तथा शैक्षिक र बौद्धिक क्षमता विकास गर्न यहाँका विश्वविद्यालयहरु सर्वोपरि सावित भएका छन् । हङकङ विश्वविद्यालय यसै वर्ष टाइम म्यागाजिनको मापनमा विश्वको उत्कृष्ट अठारौँ विश्वविद्यालयमा परेको छ । साथै ‘Reader’s Digest Trusted Brands survey 2008′ मा पनि ‘Most Trusted University’ मा परेको हुँदा यहाँको शैक्षिक वातावरण अत्यन्तै राम्रो भएको मान्न सकिन्छ । शीपमूलक तथा सैद्धान्तिक र व्यावहारिक शिक्षा पद्धति अँगालेकोले नेपालीहरुले यहाँ पढेपछि काममा थुप्रै अवसरहरु प्राप्त गर्नु स्वाभाविक छ । यसमा मुख्यतया, हामी नेपालीहरुको कमजोर आर्थिक अवस्थाका कारण आफ्नै पूर्ण लगानीमा नेपालबाट यहाँ आएर पढ्न प्रायः औसत नेपालीलाई गाह्रो छ, त्यसमा पनि ‘अन्तर्राष्ट्रिय विद्यार्थी’को हैसियतले पढ्न आउने विद्यार्थीहरुलाई यहाँको नागरिकभन्दा अझ बढी महङ्गो पर्दछ । तर छात्रवृतिका पनि थुप्रै अवसरहरु छन् । त्यसमा आफूलाई पायक पर्ने विश्वविद्यालयअन्तर्गत विभिन्न विषयहरुमा छात्रवृति भएकाले पाउने सम्भावना धेरै नै हुन्छ । यसका लागि नेपाली विद्यार्थीहरुले जो मुख्यतया मास्टर वा पी.यच.डी. (Master/PhD) अध्ययन गर्न इच्छुक छन्, तिनले छात्रवृतिका अवसरहरु ज्यादा पाउने छन् ।

0 नेपाली विद्यार्थीहरुले छात्रवृत्तिमा यहाँ अध्ययनार्थ आउनका लागि गर्न सक्ने उपायहरु तपाईँको विचारमा के के होलान् ?

भट्ट : नेपाली विद्यार्थीहरु अरुको दाँजोमा मिहेनती भएको देखिन्छ । यहाँ हङकङ विश्वविद्यालयमा छात्रवृतिका थुप्रै अवसरहरु छन्, जसमा विश्वविद्यालय छात्रवृति, सरकारी छात्रवृति तथा अन्य संघ-संस्थाहरुबाट प्रदान गरिने छात्रवृति मुख्य छन् । यसका लागि इच्छुक नेपाली विद्यार्थीहरुले हङकङ विश्वविद्यालयको वेब साइट www.hku.hk मा आफ्नो विषयअन्तर्गत सम्पूर्ण जानकारीहरु पाउनसक्छन् । त्यस्तैगरी एसिएन डेभेलेपमेन्ट ब्याङ्क, वर्ल्ड ब्याङ्क तथा अन्य अन्तर्राष्ट्रिय संघ-संस्थाहरुका वेबसाइट हेर्न आग्रह गर्दछु । खासगरी ‘एसिएन डेभेलेप्मेन्ट ब्याङ्कको जापान छात्रवृति कार्यक्रम’को लागि www.adb.org मा हेर्न सक्नुहुनेछ । हङकङ विश्वविद्यालयको ‘मास्टर साइन्स अफ अर्बान प्लानिङ र मास्टर अफ अर्बान डिजाइन’मा ‘ए.डी.बी.-जे.यस.पी.’ छात्रवृतिका अवसरहरु छन् । यसका लागि विभिन्न क्राइटेरियाहरु छन्, जसमध्ये इच्छुक विद्यार्थीहरु एसियाली विकास बैंकको सदस्य राष्ट्रको हुनुपर्नेछ, साथै राम्रो शैक्षिक योग्यता र अँग्रेजी भाषामा बोल्न, लेख्न र पढ्न राम्रोसँग जानेको हुनुपर्नेछ । साथै उक्त विषयहरुमा योग्य हुन ‘ए.डी.बी.-जे.यस.पी.’ले तोकेको निश्चित विषयमा कम्तिमा स्नातक तह हुनुपर्ने प्रावधान छ । त्यस्तै अन्य विषयहरुमा पनि थुप्रै छात्रवृतिका अवसरहरु छन् । जस्तै, ‘M. Phil, PhD’ मा विश्व विद्यालयले थुप्रै छात्रवृतिहरु प्रदान गर्दछ । यदि नेपालीहरुले रीतपूर्वक आवेदन दिए भने छात्रवृति पाउने सम्भावनाहरु धेरै देखिन्छ । यहाँ बङ्लादेश, श्रीलङ्का, पाकिस्तान, भारतबाट छात्रवृतिमा थुप्रै विद्यार्थीहरु आउने गरेका छन्, तर नेपालीहरु सूचनाको अभावमा होला सायद, यहाँ एकदम नगन्य मात्रामा पाएँ । त्यसैले सम्पूर्ण उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरुलाई खासगरी इन्टरनेटबाट विश्वविद्यालय र छात्रवृतिसम्वन्धी ज्ञान लिई निवेदन दिन मेरो आग्रह छ ।

0 यहाँको शिक्षा पद्धति र नेपालको शिक्षापद्धतिमा तपाईंले कस्तो फरक पाउनुभएको छ र कस्तो महसुस गर्नु भएको छ ?

भट्ट : प्रकाशजी, मलाई नेपालमा प्राध्यापन पेशामा केही अनुभव बटुलेको हिसाबले दुइटै ठाउँको वा भनौँ, विश्व विद्यालयहरुको शैक्षिक पद्धतिबारे खासगरी विश्वविद्यालय तहमा ‘Teaching Methodology’ मा रहेका केही भिन्नता केलाउने अवसरहरु पाएको छु । यहाँ हङकङ विश्व विद्यालयको खासगरी अर्बान प्लानिङ विषयमा अध्ययन गर्दा, शिक्षकभन्दा पनि विद्यार्थीको भूमिका बढी सकृय लाग्यो भने नेपालमा वास्तवमा शिक्षककै सर्वोपरि महत्व रहन्छ । मेरो भन्नुको अर्थ यहाँ शिक्षक एउटा ‘facilitator’ को रुपमा प्रस्तुत हुन्छन् र विद्यार्थीहरु निश्चित विषयमा आफैले समस्या पत्ता लगाउने, छलफल गर्ने अनि त्यसको समाधान खोज्ने र त्यसको निष्कर्षमा पुगी प्रस्तुत गर्ने गर्छन् । यस पद्धतिलाई हामी ‘Problem based Learning (PBL)’ भन्न सक्दछौँ । यसमा आफ्ना धेरै फाइदाहरु छन् :- ० विद्यार्थी बढी सकृय हुने, ० रचनात्मक शैलीको विकास हुने, ० समुदायमा काम गर्ने बानी बस्ने, ० अर्काको कुरा सुन्ने र मनन गर्ने, ० व्यक्तित्व विकास हुने आदि ।

नेपालमा कितावी ज्ञानमा सीमित र शिक्षकमा भर पर्नुपर्ने र बन्द कोठामा ‘Lecture based Methodology’ अलि बढी देखिन्छ, जसले विद्यार्थीहरुमा ‘Interaction and Communication’ को अभाव रहन्छ । त्यस्तैगरी यहाँको शैक्षिक पद्धतिमा सैद्धान्तिक अध्ययनको साथै व्यवहारिक ज्ञान र त्यसको कार्यान्वयनमा बढी जोड दिएको पाएँ भने नेपालमा सैद्धान्तिक पढाइ मात्रै देखिन्छ, कार्यान्वयन नगन्य मात्राको हुन्छ । यहाँ शैक्षिक सुविधाहरु पनि अत्यन्तै आधुनिक र चुस्त हुन्छन् । शिक्षक र विद्यार्थीहरु बीचको दुरी पनि साथीहरु जस्तै नजिकको देखिन्छ र आपसी ज्ञान आदानप्रदान पनि हुने गर्दछ । नेपालमा चाहिँ शिक्षकलाई विद्यार्थीले डरको दृष्टिले हेर्ने, समस्याहरुको बारेमा खुलेर भन्न नसक्ने देखिन्छ, जसले गर्दा विद्यार्थीहरुको व्यक्तित्व विकास र क्रियटिभिटीमा ठेस लाग्ने गर्दछ ।

0 हङकङेली नेपाली समुदायमा कत्तिको भिज्नु भएको छ र स्थानीय चाइनिज तथा अन्य मुलुकका सहपाठीहरुबीच आफूलाई नेपाली भनेर चिनाउनु पर्दा तिनका प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

भट्ट : यहाँको हङकङेली नेपाली समुदायमा घनिभूतरुपमा भिज्न नपाए पनि केही हदसम्म बुझ्ने र भिज्ने मौका पाएको छु र मेरो यहाँको बसाइबाट धेरै कुरा सिक्ने अवसर पनि पाएको छु । वीर गोर्खालीहरुले विश्वमै कमाएको ख्याति तथा नेपाललाई चिनाउन उहाँहरुले गरेको योगदान अत्यन्तै स्मरणीय छ । मेरो हङकङ विश्वविद्यालय आगमनको प्रथम दिनमा नै मेरा आदरणीय प्रोफेसरबाट नेपालीले विश्वमै कमाएको ख्यातिबारे चर्चा गर्दा मैले नेपालीलाई यहाँ हेर्ने दृष्टिकोण अत्यन्तै मर्यादित रहेको पाएँ । यो हामी सम्पूर्ण नेपालीहरुको लागि गौरवान्वित हुने कुरा हो । त्यसैगरी मेरा यहाँका स्थानीय हङकङेली चाइनिज सहपाठी तथा केही पश्चिमी मुलुकका सहपाठीहरु बीचमा आफ नेपाली भएको र यहाँ ‘ए.डी.बी.-जे.यस.पी.’ छात्रवृतिमा पढ्न आएको जनाउँदा उनीहरुले हामीलाई हेर्ने दृष्टिकोण अति नै सम्मानीय र आदरणीय पाएँ । साथै अध्ययनको क्रममा पनि हामी नेपालीहरु राम्रो कार्यकुशलता, हाम्रो इमान्दारिता र लगनशीलताले पनि हामीलाई हेर्ने उहाँहरुको दृष्टिकोण एउटा असल मित्रका रुपमा रहेको पाएँ । तर यीबाहेक यहाँका हङकङेली नेपाली समाजका केही नराम्रा पक्षहरुले पनि हाम्रो उही योगदान तथा लोकोक्ति (legacy) लाई असर पार्ने देखिन्छ । हाम्रो वीर पुर्खाहरुको कमाएको ख्यातिलाई हङकङेली युवा नेपालीहरुले काँधमा काँध मिलाई अगाडि हिँड्न नसकेको आभास भएको छ । यसमा सोच्नु पर्ने देखिन्छ । हङकङेली यवा नेपालीहरुले आफ्नो कामको सँगसँगै पढाइमा पनि निरन्तरता दिन सकेभने अवश्य नै नेपाली युवाहरुको बौद्विक तथा शैक्षिक क्षमता र आर्थिक अवस्था पनि माथि उकास्न यसले ठूलो सहयोग पुग्न सक्छ ।

0 तपाईं यहाँको स्थानीय नेपालीहरुले मूलधारमा प्रवेश गर्नको लागि वा आफूलाई यहाँको वर्षौं वर्षको सह जीवनयापनको अनुभवले आफ्ना अधिकारहरुको कसरी उपयोग गर्नुपर्दछ भन्ने ठान्नु हुन्छ ?

भट्ट : यसबारेमा नेपालीले यहाँको स्थानीय नागरिक सरहको सुविधा उपभोग गर्ने मान्यता पाएका छन्, यो अत्यन्तै खुशीको कुरा पनि हो र नेपालीहरु यहाँ केवल सामान्य दिनचर्या चलाउने काम मात्र हैन, उच्च शिक्षा लिनु पनि जरुरी देखिन्छ । यहाँ हङकङेली नेपालीले काम गर्दै पढ्न पाउने अवसरहरु विश्वविधालयहरुमा प्रशस्तै छन् । फुटेर होइन एकजुट भएर अगाडि बढ्नुपर्छ । हङकङ सरकारले हङकङलाई ‘Multiculturalism and Asia’s world city’ बनाउने अभियान थालेको छ । यसमा नेपालीहरुले पनि आफुलाई सवल सक्षम, र संस्कृतिको धनी भनेर चिनाउन मौका पाउन सक्छन् । सरकारको तर्फबाट नीतिगत रुपमा खासै भेदभाव रहेको पाइँदैन तर मुख्य कुरा हामी नेपालीहरुको सोंच, इच्छा-शक्त्ति, इमान्दारिता र विचारमा भर पर्दछ । यसमा हामी नेपालीहरुले आपसी वैमनष्य, भेदभाव र कलहहरुलाई त्यागेर ‘वसुन्दैव कुटुम्वकम’को हिसाबले काँधमा काँध जोडेर अग्रसरता लिनु जरुरी देखिन्छ । सीमित व्यक्तिहरुको फाइदा र अधिकारको लागिभन्दा माथि उठेर नेपाली संघ-सस्थाहरुले सम्पूर्ण हङकङली नेपाली समुदायलाई समेटेर एउटा सवल र सक्षम संस्थाका रुपमा उभिनु आवश्यक छ । यसो हुँदा ‘inclusiveness, democracy and participation’ ले भूमिका पाउँछ र यहाँका नेपाली समुदायले संघ-सस्थाहरुलाई हेर्ने दृष्टिकोण पनि फरक आउने छ । त्यसैले आफू राम्रो र सक्षम भए मात्र अधिकारहरुको पूर्ण प्रयोग गर्न सकिन्छ र मुलधारमा प्रवेश गर्न सजिलो हुन्छ, नत्र हामीलाई हाम्रो पछौटेपनले सँधै पछाडि धकेल्नेछ ।

0 तपाईलाई यहाँ नेपाली भाषामा विद्यार्थीहरुलाई सरकारी स्कुलमा पढाइँदैछ भन्ने जानकारी छ कि छैन ?

भट्ट : यसबारेमा यहाँका हङकङेली नेपालीहरुसँगको सामान्य छलफलमा यहाँका केही विद्यालयहरुमा नेपाली विषयमा पनि अध्ययन गराइन्छ भन्ने सुनेको छु । तर पाठ्यक्रमको सन्दर्भमा कुरा गर्दा पाठ्यक्रमले targeted beneficiaries’ अर्थात उक्त विषय अध्ययन गर्ने बालबालिका र उनीहरुका अभिभावकलाई सन्तुष्ट पार्न सक्नुपर्दछ । यसको विकासको लागि यहाँका सम्पूर्ण नेपाली संघ-संस्थाहरु बुद्विजिवीहरु, अभिभावकहरु तथा अन्यको सहभागितामा व्यापक छलफल तथा वहस गरेर बनायो भने उक्त पाठ्यक्रम बढी दिगो, सफल र रचनात्मक हुन सक्छ । अझै यस सम्बन्धमा हामीले ‘Case study’ स्वरुप हाम्रो सन्दर्भ मिल्ने दुई तीन राष्ट्रहरुका पाठ्यक्रमहरुको अध्ययन गरी त्यसका फाइदा, वेफाइदा कमी-कमजोरीहरु केलाएर नेपाली यथार्तलाई पहिल्याउने गरी पाठ्यक्रम विकासमा उपयोग गर्न सकिन्छ, यसो हुँदा पाठ्यक्रम अझ उत्कृष्ट र समयसापेक्ष हुन सक्छ, । त्यसैले जनसहभागिता र साझेदारीलाई अंगाल्नु जरुरी देखिन्छ ।

0 तपाईँहरु अर्थात् अध्ययन भीसामा आउने विद्यार्थीहरुको उपस्थितिका बारे तपाईंलाई कत्तिको जानकारी छ ?

भट्ट : प्रकाशजी, यो एउटा महत्वपूर्ण कुरा गर्नु भो’ । यसको बारेमा भन्नुपर्दा हामी हङकङ विश्वविद्यालयमा पढ्ने व्यक्त्तिहरुबाहेक सम्पर्क पनि छैन र नेपाली विद्यार्थीहरु कतिको संख्यामा हुनुहुन्छ । हामीलाई थाहा छैन । यसमा मुख्यतया हङकङमा नेपाली विद्यार्थीको संगठन नहुनु एउटा ठूलो कमजोरी छ । साथै यसबारेमा हाम्रो महावाणिज्यदूतावासले चासो दिएको खण्डमा हङकङमा नेपालबाट अध्ययन भीसामा पढ्न आउने विद्यार्थीहरुको तथ्याङ्क राख्न सकिन्छ । त्यसो हुँदा नेपाली विद्यार्थीहरुलाई पर्न जाने केही समस्याहरुमा नेपाली दुतावासले समाधानको लागि पहल गर्न अत्यन्तै सजिलो हुन सक्छ भन्ने लाग्दछ । हङकङमा विद्यार्थी संगठनका लागि हामी अध्ययन भीसामा पढ्न आउने विद्यार्थीहरुबीच छलफल हुन जरुरी छ, यसमा दुतावासले यहाँका विद्यार्थीहरुको जानकारी उपलब्ध गराउन सक्यो भने हामीलाई अत्यन्तै सहयोग मिल्न जान्छ । म र मेरा सहपाठी प्रकाश रेग्मीले पोहोर साल हङकङ विश्वविद्यालयमा नेपाली विद्यार्थी संगठन खोल्ने योजना बनाएका थियौं तर नेपाली विद्यार्थीहरुको हङकङ विश्वविद्यालयमा न्यून-उपस्थिति र यहाँ कति जना नेपाली विद्यार्थीहरु पढ्दैछन् भन्ने यकीन तथ्य थाहा नहुँदा हाम्रो योजना तुहिन गयो तर हङकङमा नेपाली विद्यार्थीहरुका समस्याहरु समाधान गर्न ज्ञान आदान-प्रदान गर्न र अन्य सम्वन्धमा विकास गर्न विद्यार्थी संगठन हुनु जरुरी छ ।

0 तपाईँ आउनु भएको लगभग दुई वर्ष पुग्यो भन्नुहुन्छ, यहाँ त्यस अवधिमा दूतावास तथा अन्य नेपाली सँघ सँस्थाहरुबाट आयोजना गर्ने गरिएको राष्ट्रिय चाड-पर्वहरुमा कतै उपस्थित हुने मौका पाउनु भएको छ कि छैन ? दूतावासबाट तपाईंहरुले आड पाउनु भएको महसुस गर्नु भएको छ कि छैन ? दूतावाससम्वन्धी तपाईंको धारणा कस्तो छ ?

भट्ट : प्रकाशजी धन्यवाद ! यहाँका असख्य नेपाली संघ-संस्थाहरुमध्ये फाट्टफुट्ट केहिले बेलामौकामा नियन्त्रणा पाउने गर्छन् । साथै दुतावासले पनि नेपाली चाँडपर्व अन्य उत्सवहरु मनाउन फाट्टफुट्ट बोलाउने गरेको छ । यसको लागि हङकङ विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरुको तर्फबाट यहाँ संघ-सस्था तथा महावाणिज्यदूतावासलाई धन्यवाद दिन चाहन्छु । परदेशमा बस्दा आफ्नो पढाइको व्यस्तता सँग-सँगै आफ्नो देश, समाज र परिवारबाट टाढा हुनुको पीडा बडो कठोर हुँदो रहेछ । यस्तो बेलामा आफ्ना नेपाली दाजुभाइ दिदीबहिनीसँग हाम्रा चाडपर्व मनाउन पाउनु हामी विद्यार्थीको लागि ज्यादै मै खुशीको कुरा हो । हामीले दूतावासलाई राम्रो अभिभावकसरह मानेका छौं । हामीजस्ता विद्यार्थीहरुलाई पर्न जाने समस्याहरुको सम्वन्धमा दूतावासले राम्रो भूमिका खेल्न सक्छ । यसका साथै दूतावासले यहाँका विश्वविद्यालयहरु र हङकङ सरकारसँग मिलेर नेपाली सँस्कृतिको प्रवर्द्धन गर्ने तथा अन्य क्षेत्रद्वारा नेपाललाई चिनाउने प्रयत्न गर्न सक्छ । गत वर्ष, भारतीय दूतावासको सहकार्यमा हङकङ विश्वविद्यालयमा ‘Indian Semester’ नै मनाएको उदाहरण भन्न चाहन्छु । यस्ता कृयाकलापले दुई देश बीचका साँस्कृतिक, शैक्षिक, तथा सामाजिक क्षेत्रमा टेवा पुग्ने र नेपाल र नेपालीलाई चिनाउने अवसर मिल्दछ । यस्ता कृयाकलापहरु यदि दूतावासले इच्छा भए हामी विद्यार्थीको तर्फबाट गर्न सक्ने सहयोग गर्न सँधै तत्पर छौं ।

0 अन्त्यमा, नेपाल डट यचकेको तर्फबाट आफ्नो व्यक्तिगत कुनै दर्शन प्रस्तुत गर्नुहोस् ।

भट्ट : प्रकाशजी, मैले यहाँको नेपाली समाज तथा यहाँका धेरै समाचारहरु कृयाकलापहरुबारे तपाईंकै वेबबाट थाहा पाउने अवसर पाएको छु । मलाई बोलाएर मैले जानेका बुझेका र भोगेका कुराहरु बोल्ने मौका दिएकोमा यसका लागि धेरै धेरै धन्यवाद छ । अन्त्यमा समयको परिवेशसँगै नेपालमा भएको नयाँ परिवर्तनले सम्पूर्ण नेपालीहरुको घर घरमा शान्ति तथा खुशी छाओस् साथै संविधान सभा सफल पारेकोमा सम्पूर्ण नेपाली जनताहरुलाई वधाइ पनि दिन चाहन्छु र यहाँका हङकङेली नेपालीहरुले आफ्नो कामको सँगसँगै शैक्षिक तथा बौद्विक क्षमताको विकास गर्न अझ बढी सफल र सुदृढ हुन तथा नेपालको विकासमा ठूलो योगदान पुर्‍याउन सकुन् भन्ने शुभकामना पनि दिन चाहन्छु । अन्तमा “जीवन केवल वसन्त होइन तर तुषारे शिषिर पनि हो, फूलको कालीन होइन तर सङ्घर्ष पनि हो” भन्ने हरफहरु दोहोर्‍याउन चाहन्छु ।