इमान्दारितामा प्रतिवद्धता

इमान्दारितामा प्रतिवद्धता


यो समय त्यस्तो रहेन । समय कहिले पनि त्यस्तो रहँदैन । त्यस्तो नरहने समय, समयसापेक्ष भएर बेग्लिएको बेलामा तत्कालीन जीवन पनि सोअनुरुप नै बदलिएको हुन्छ । र यही बदलिएको जीवनमा हामी आफूलाई सापेक्ष बनाउनका लागि समयअनुसार आफू रहनसहनलगायतलाई ढाल्दिन्छौं अनि अब त्यही गर्ने र गरिने बेला आएकौ छ, खासगरी हामी नेपालीहरुले पनि ।

विश्वको तापमान क्रमशः बढ्दै गएको र त्यसको असर हामीले आम जीवनयापनमा पनि भोग्दै गइरहेका छौं । साँच्चै नै त्यो भोगाइ सरल र सरस रहेको छैन अनि असहज पनको दर अवश्य नै बढ्दै जाने छ । विश्वमा जंगलहरु मासिरहेका छन् र त्यसको फलस्वरुप पृथ्वी तातिनुको कारणहरुमध्ये एक त्यसैलाई मानिएको छ । पत्रपत्रिकाका विभिन्न पक्षहरु प्रत्यक्ष रुपमा जंगलसँग जोडिएको हुन्छ र त्यसैलाई कम गर्नका लागि सँसारमा डिजिटल पत्रिकाहरुको प्रयोग गरिएको छ जुन द्रुत गतिमा प्रयोगमा बढ्दै छ । विश्वलाई हरियालीपूर्ण बनाउने कार्यमा गरिने सानो व्यक्तिगत प्रयास पनि संक्षिप्त रुपमा अति नै सराहनीय प्रकृया हो ।

अनलाइन पत्रिकाको प्रचलनको प्रसिद्धी बढ्दो गतिमा छ भने समाचारको असरको हकमा पनि सो भरपर्दो र ताजा प्रमाणित हुँदै गएको छ । खासगरी लण्डनजस्तो विशाल सहरमा नेपाली हार्ड कपी पत्रपत्रिकाको भर पर्न निक्कै नै गाह्रो छ एकातिर भने समाचारहरु सँधै निक्कै नै बासी पनि हुने गरेको छ र त्यसलाई मध्येनजर राखेर हामीहरु एक ठूलो समुदायको रुपमा आफूलाई विस्तृत गरी मेरो यूके डट कम लिएर आएका छौं । हाम्रो मुख्य ध्येय भनेको यूकेबासी नेपालीहरु र तीहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने नेपाललगायत विभिन्न देशविदेशमा बस्ने अन्य नेपालीहरुलाई डिजिटल पद्धतिबाट एकअर्काको परिवेशसँग सुचारुपूर्ण समाचारको श्रोत बन्ने हो र त्यसैलाई प्रभावपूर्ण बनाउनका लागि समसामयिक घटना तथा विषयहरुमा विविध तर्क र दृष्टिका विचारहरुको सम्पाद गर्नु पनि हो ।

मेरो यूके डट कम परिवारको तर्फबाट हामी नेपाली समाजमा विश्वसनीयतालाई कायम राख्दै समाचारको भरपर्दो आधार बन्नै क्रममा आफ्नो गम्भीर प्रतिवद्धता व्यक्त गर्दछौं ।