शासन बदल्ने अधिकार जनतासँग : प्रधानमन्त्री देउवा

शासन बदल्ने अधिकार जनतासँग : प्रधानमन्त्री देउवा


– हेमशंकर सिंह

राजविराज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै जनताको अधिकार सुनिश्चित हुने भएकोले जनताले कम्युनिष्ट शासन नभई लोकतन्त्र रोज्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो लोकतन्त्रको रक्षा नै अहिलेको मुख्य आवश्यकता हो ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ले बिहीबार शम्भुनाथ नगरपालिकाको कठौनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– लोकतन्त्रले मात्र जनतालाई सबै अधिकार दिने छ ।

कम्युनिष्ट जिते देशमा कुनै पनि निर्वाचन हुँदैन, त्यसैले लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको पक्षमा बहुमत ल्याउनुपर्ने तर्क गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी मधेशी जनताको हितमा विकास गर्ने पार्टी हो, हाम्रो पार्टी जितेमा मधेशी जनताको भावनाअनुसार संविधान संशोधन हुन्छ, यसमा ढुक्क रहनुस् ।’ वाम घोषाणा पत्रमा मधेशी अधिकार सम्बोधन गर्ने कतै उल्लेख नरहेकोले मधेशी जनताले कांग्रेसलाई नै रोज्नुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेस सभापति देउवाले कम्युनिष्टसँग जनता हिजो पनि डराउने अवस्था रहेको र जिते भने भोलि पनि डराउने दिन आउने औंल्याउनुभयो । जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार भएकाले जनतादेखि नेता डराउने शासनको विपक्षमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार हनन हुने भन्दै उहाँले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको आरोप पनि लगाउनुभयो ।

यस क्षेत्रका जनताको भावना अनुसार शम्भुनाथ नगरपालिका कार्यालयको लागि जग्गा उपलब्ध गराउने, २५ शैय्याको अस्पताल र कठौना–पातो सडक पीच, शम्भुनाथ–गाईघाट सकड, हुलाकी सडकलगायतका कामहरु गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

सभामा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, कांग्रसे सप्तरी सभापति दिनेशकुमार यादवलगायतले आफ्ना धारणा राखेका थिए ।