जनताले ‘दमन बा’लाई ‘सम्मान’ र मलाई ‘मत’ दिन्छन्

– महेश बस्नेत

महेश बस्नेत भक्तपुर क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेको सरकारमा उद्योगमन्त्रीसमेत रहिसक्नुभएका बस्नेतसँग चुनावी सेरोफेरोमा केन्द्रित रहेर बबिता बस्नेतले गर्नुभएको कुराकानी ।

० तपाईं वाम गठबन्धनको उम्मेदवार, विगत १२ वर्षदेखि माओवादीकै प्रवक्ताझैँ गरी प्रस्तुत हुने व्यक्ति प्रतिस्पर्धीको रूपमा हुनुहुन्छ । वामपन्थीबाट तपाईंले बढी भोट तान्न सक्नुहोला कि उहाँले ?
– एमाले र माओवादीको सम्बन्ध भनेको सगोत्रीय सम्बन्ध हो । हामी पनि कम्युनिस्ट पार्टी हो, उहाँहरू पनि, नाम मात्रै फरक हो । वाम गठबन्धन बनाउँदा नै वाम एकीकरणसम्म गर्ने योजनाअनुरूप बनाइएको हो । यसको पछाडि विगत लामो समयदेखि अस्थिर राजनीतिको अन्त्य गर्ने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने हो । जनताको सुख, शान्ति र विकासलाई अगाडि बढाउने बृहत् लक्ष्य छ । दमननाथ ढुङ्गानाले हिजो माओवादीलाई सघाउनुभएको कुरा प्राविधिक भयो, हाम्रो गठबन्धन राजनीतिक, भावनात्मक सबै हो । त्यसले गर्दा वामपन्थी भोट उहाँलाई जाँदैन ।

० दमननाथ ढुङ्गाना २५ वर्षअघि सभामुख भइसकेको मान्छे, उहाँ राजनीतिमा आउँदा तपाईं जन्मिनु पनि भएको थिएन होला, या सानै हुनुहुन्थ्यो । उमेर, राजनीति सबै हिसाबले त्यति धेरै वरिष्ठ व्यक्तिसँग चुनाव लड्नुपर्दा कस्तो लागिरहेको छ ?
– दमननाथ बासँग चुनाव लड्न पाउनु मेरा लागि गौरवको कुरा हो । हाम्रो समाजमा सिनियरलाई सम्मान दिइन्छ । म पनि सम्मान गर्छु । हाम्रो समाजमा उमेरअनुसारको कामको विभाजन गरिन्छ । घरमा पनि हजुरबुबा, हजुरआमाले रेखदेख गर्ने, सल्लाहसुझाब दिने, उमेरमा आफूले गरेका अनुभव सुनाएर अरूलाई प्रोत्साहित गर्ने भूमिका हुन्छ । उमेर भएका हट्टाकट्टाले खेतालाको काम गर्ने चलन छ । हाम्रो सवालमा पनि उहाँले आफ्नो बेलामा गरेका अनुभव सुनाउने र मैले खेतालाको रूपमा काम गर्ने हो । मेरो काम गर्ने उमेर छ, उहाँको अनुभव बाँड्ने उमेर छ । खेतालालाई राम्रो गर है भनेर सल्लाह–सुझाब दिने उमेर छ । भक्तपुरका जनताले उहाँलाई सम्मान गर्दै भोटचाहिँ मलाई नै दिनुहुन्छ । मैले जितेपछि उहाँको सल्लाह–सुझाब लिन्छु । जितेर काम त मैले नै गर्ने हो ।

० भनेपछि फुर्तिलो खेतालोचाहिँ म नै हो भन्नेछ यहाँलाई ?
– अवश्य, मसँग एजेण्डा छन्, उमेर छ, काम गर्ने जोस–जाँगर छ । भक्तपुरवासीलाई काम गर्ने मान्छे चाहिएको छ । म कामबाटै चिनिएको मानिस हुँ । भक्तपुरका बासिन्दाको दुःखसुखमा मैले नै साथ दिन सक्छु भन्ने स्थानीयवासीलाई थाहा छ ।

० भक्तपुरमा यसभन्दा अगाडि काङ्ग्रेसले र त्यसअघि नेमकिपाले, दुवै स्थानीय थिए । दमननाथ ढुङ्गाना काठमाडौंको मान्छे, उहाँ पनि त त्यसै भक्तपुर पुग्नुभएको छैन होला नि चुनाव लड्न ? केही आधारहरू होलान् ।
– हेर्नुस्, भक्तपुर मात्र होइन जहाँका जनताले पनि सकेसम्म आफ्नै वरिपरिका, स्थानीय मानिस चाहन्छन् । उहाँले पुरानो मतलाई हेरेर आउनुभएको भए त्यो पनि धेरै परिवर्तन भइसकेको छ । भक्तपुर काङ्ग्रेसमा ठूलो अन्तरविरोध थियो । स्थानीयलाई दिँदा अन्तरविरोध झन् बढ्ला भनेर उहाँलाई टिकट दिएजस्तो लाग्छ । तर, भक्तपुर ‘कम्युनियल’ छ, आफ्नै ठाउँका मान्छेलाई भक्तपुरवासीले भोट दिन्छन् ।

० भक्तपुर भौगोलिक रूपले मात्रै ‘कम्युनियल’ हो कि जातीय हिसाबले पनि ?
– ‘कम्युनियल’ मैले यस अर्थमा भनेको हो कि भक्तपुर उपत्यकाभित्रै रहेर पनि यसलाई दुर्गम क्षेत्रझैँ व्यवहार गरिएको छ । राज्यले भक्तपुरलाई अन्याय गरेको छ । सिंहदरबारबाट १३ किलोमिटर टाढाको भक्तपुर बत्तीमुनिको अँध्यारोजस्तो छ । विगतका जनप्रतिनिधिहरूको भूमिका संसद्मा नियमापत्ति गर्ने मात्रै रह्यो । विकासको पहलकदमी नै भएन । मजदुर किसान पार्टी नियमापत्तिमा सीमित भएपछि जनताले काङ्ग्रेसलाई जिताएर पठाए । काङ्ग्रेसको भूमिका पनि विकासमुखी भएन । भक्तपुरमा विकास गर्न सकिने धेरै आधार छन् । कतिपय कुरा गर्नै पनि छ । स्थानीय मान्छे नै भक्तपुरवासीले चाहन्छन्, आयातीत मान्छे चाहँदैनन् भन्ने अर्थमा मैले कम्युनियल भनेको हुँ । जातीय हिसाबले पनि हामीले प्रदेश सभा र प्रतिनिधिसभामा सन्तुलन मिलाएका छौँ । समावेशीलाई हामीले ख्याल गरेका छौँ । राज्यले अपनाएको समावेशी अवधारणालाई मैले सधैँ ख्याल गर्नेछु । नेवार समुदायभित्र पनि विविधता छ । विविधताभित्रको एकतालाई सम्मान गर्दै अगाडि बढ्नेछु ।

० भक्तपुरमा पार्टीभित्रको अन्तरविरोध अन्य जिल्लामा भन्दा बढी देखिन्छ । वाम गठबन्धन पनि अन्तरविरोधमुक्त छैन, तपार्इंलाई सहयोग पुग्छ नै भन्ने के छ र ?
– वाम गठबन्धनमा प्रारम्भमा विवाद भएको हो । चाँगुनारायण क्षेत्रको उक्त विवाद हाम्रा दुई अध्यक्ष बसेर मिलाइसक्नुभएकाले अब त्यस्तो समस्या छैन । हामी एकबद्ध छाँै । वामपन्थी मात्र होइन मलाई त गैरवामपन्थीको पनि भोट आउँछ ।

० यहाँले बा नै भनेर सम्बोधन गर्ने अनुभवी प्रतिस्पर्धी एकातिर हुनुहुन्छ, अन्य दलका प्रतिस्पर्धी पनि हुनुहुन्छ । भक्तपुरका मतदाताले तपाईंलाई नै मत किन दिने ?
– भक्तपुरका जनताले चाहेको विकास हो । हिजो–अस्ति भर्खरै म घरदैलोमा मत माग्न जाँदा कौसीमा बसिरहेकी दिदीलाई नमस्ते दिदी भनेँ । जवाफमा उहाँले बाटोमा लडिएला है भन्नुभो । यसको अर्थ बाटो गतिलो छैन, तिमीले जितेर बनाऊ है भनिएको हो । खानेपानीको समस्या छ । म मन्त्री हुँदा सकेको गरेँ । बाटोघाटो बनाएँ । मनोहरालगायतका करिडोर बनाइयो । सेटेलाइट सिटी घोषणा भएको छ । भूकम्पका बेला मेरो नेतृत्वमा राहतका कामहरू भए । मलाई मत दिनुपर्ने कारण मेरो ‘भिजन’ र काम नै हो ।

० तपाईंका मुख्य एजेण्डा के हुन् ?
– व्यवस्थित सुन्दर शहर, तीन नं. प्रदेशको राजधानी भक्तपुर हुनुपर्छ, प्रदूषणमुक्त र ग्रिन र सेटेलाइट सिटी मेरा एजेण्डा हुन् । नगरकोटदेखि डोलेश्वरसम्मको एरियालाई हामी धेरै कुरामा उपयोग गर्न सक्छौँ । भक्तपुरलाई मुलुकको सांस्कृतिक नगरी घोषणा गर्दै सोहीअनुरूपको काम गर्ने हो । सल्लाघारीमा नेपाल ट्रस्टको जग्गा छ, इँटाभट्टा, टायल कारखाना भएको ठाउँमा २ सय ५० रोपनी जग्गा छ । त्यहाँ हामी ३ नं. प्रदेशको संरचना बनाउन सक्छौँ । कसैले राम्रो, व्यवस्थित शहरमा बस्न चाह्यो भने अब त्यो भक्तपुर नै हुनेछ । धेरै खाली जग्गा भएको कारण पनि नयाँ शहर बसाल्न सजिलो छ । आत्मनिर्भर घर उद्यमशीलता पनि मेरो एजेण्डा हो । सडक सञ्जाल पनि व्यवस्थित बन्नेछ । सडक मुख्य विकास हो । भक्तपुर साक्षर जिल्ला हो, हामी यसलाई शिक्षित जिल्ला बनाउन चाहन्छौँ । शिक्षा, स्वास्थ्यलगायत जीवित संस्कृति मेरो एजेण्डा हो । भक्तपुर आएको पर्यटक भक्तपुरमा बस्ने अवस्था छैन, पर्यटकका लागि पाँचतारे होटेल धेरै योजना छन् ।

० अहिले यतिका धेरै योजना भए पनि चुनाव भएपछि प्रायः नेताहरूलाई अल्जाइमर लागेजस्तो हुन्छ, सबै बिर्सने…!
– होइन, हामी यो पूरा गर्न सक्ने अवस्थामा छौँ । स्थानीय निकाय र प्रदेश सरकारसहितको संयोजनमा यो काम गर्छौँ ।

महेश बस्नेतसँगको विस्तृत कुराकानी हेर्नुहोस्



प्रतिक्रिया