पहिलो चरणका मतपेटिकाको सुरक्षा होला त ?

पहिलो चरणका मतपेटिकाको सुरक्षा होला त ?


पहिलो चरणको निर्बाचन आइतबार ३२ जिल्लामा सम्पन्न भएको छ । निर्बाचन सम्पन्न भएपनि मतगणनाको कार्य भने मंसिर २१ गतेबाट मात्रै शुरु गरिने निर्बाचन आयोगले जानकारी दिएको छ ।

निर्बाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै एकसाथ मतगणना गर्ने निर्णय गरेको हो । तर आयोगले यस्तो निर्णय गरिरहँदा पहिलो चरणमा निर्बाचन भएका मतपेटिकाको सुरक्षामा भने चुनौती थपिएको छ ।

‘रात रहे अभ्राख पलाउँछ’ भनेझै यतिका दिनसम्म मतपेटिकाहरु सुरक्षित रहन्छन् की रहँदैनन् होला भन्नेमा उम्मेदवार मात्रै होइन् आम मतदातामा जिज्ञासा पैदा हुन थालेको छ ।

मतदान सकिएपछि मतदान अधिकृतले मुचुल्का तयार पारी उम्मेदवार, प्रतिनिधी तथा अन्य अधिकारीहरुको रोहोवरमा मतपेटिकाको मत खसाल्ने प्वाल बन्द गरी हरियो रङको सुरक्षणशील लगाएर हस्ताक्षरसहित सही छाप गरेका छन् । भने प्रयोग नभएका, फिर्ता भएका र मतपेटिकाबाहिर रहेका मतपत्रसहित सबै कागजात सुरक्षित गरी खामबन्दी गरेर त्यसमा पनि लाहाछाप लगाएका छन् ।

निर्बाचन आयोगका अनुसार मतपेटिका बन्द गर्दाको मुचुल्का अनुरुप मतपेटिका सुरक्षासहित मतगणनास्थलमा पुर्याइन्छ । प्रत्येक जिल्लाका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा लगेर राखिने निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन कार्यालयमा रहने मतपत्रको सुरक्षाको जिम्मा सुरक्षा निकायले लिएको छ । क्याम्प नै खडा गरेर २४ सै घन्टा सुरक्षाकर्मी खटिने छन् ।