अमरेशले गरे अनौठा दाबी !

अमरेशले गरे अनौठा दाबी !


नेपाली काङ्ग्रेसका युवा नेता एवम् सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. अमरेशकुमार सिंहले मङ्सिर २१ गते हुने निर्वाचनमा आफू विजयी बन्ने विश्वास व्यक्त गरेका छन् । बाह्रबुँदे सम्झौता र त्यसयताका राजनीतिक प्रक्रियामा प्रचण्डसँग लामो सहकार्य गरेका अमरेशकुमार सिंहका विरुद्ध माओवादीले शिवपुजन राय यादवलाई खडा गरेको छ । विवादास्पद शिवपुजन ०६४ को निर्वाचनमा फोरमको तर्फबाट उम्मेदवार भई संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तर, कूटनीतिक राहदानी (रातो पासपोर्ट) बिक्री गरेको पाइएपछि उनी कानुनी कारबाहीमा परी सभासद् पदबाट पनि मुक्त भएका थिए । तिनै शिवपुजनलाई प्रचण्ड आफैं सर्लाही पुगेर माओवादीमा प्रवेश गराएका हुन् र यतिबेला अमरेशका विरुद्ध उम्मेदवार बनाइएका छन् ।

‘तपाईंसँग त प्रचण्डको मित्रवत् सम्बन्ध भएको बुझिन्थ्यो, तथापि प्रचण्डले शिवपुजनजस्ता व्यक्तिलाई माओवादीमा भित्र्याएर तपाईंकै विरुद्ध खडा गरियो त’ भन्ने प्रश्नमा डा. अमरेशको जवाफ छ, ‘जस्तो चरित्रको पार्टी छ त्यस्तै चरित्रका व्यक्ति माओवादीको उम्मेदवार बनेका छन् । वास्तवमा प्रचण्ड कसैका मित्र हुन् सक्दैनन्, उनी भष्मासुर हुन्, जो नजिक हुन्छ उसैलाई सिध्याउन खोज्छन् । प्रचण्ड कुनै राजनीतिक सिद्धान्तबाट ‘गाइडेड’ पनि छैनन् । यदि प्रचण्ड नैतिकता र सिद्धान्तबाट ‘गाइडेड’ थिए भने शिवपुजनजस्ता व्यक्तिलाई पार्टीमा ल्याएर मेराविरुद्ध अवश्य खडा गर्ने थिएनन् ।’

० शिवपुजन निकै बलिया छन् कि के हो ?
– होइन, यसलाई केही जातिवादीहरूले बोकेका छन् । सर्लाहीका जनता विकास चाहन्छन् र विकास अरू कसैबाट सम्भव छैन भन्ने जानकारी सर्लाहीवासीलाई छ । शिवपुजनलाई चौध हजार बढी मतान्तरले जित्ने विश्वास जनताले गरेका छन् ।

० ओहो ! त्यत्तिका मतान्तरले विजयी हुने विश्वासको आधारचाहिँ के हो नि ?
– मैले अहिलेसम्म गरेको काम र अब गर्ने कामको प्रतिबद्धताका आधारमा जनताले ठूलो मतान्तरले मेरो विजय हुने विश्वास गरेका हुन् । मैले अहिलेसम्म दशवटा विद्यालयको पक्की भवन, नौवटा सडकको कालोपत्रे गर्ने कार्यारम्भ, केही प्रहरी चौकीको भवन र पर्खाल निर्माण, सीटीईभीटीको भवन बनाउने प्रक्रिया आरम्भ, विद्युत्को सवस्टेसन निर्माण प्रारम्भ, आठवटा पक्की पुल निर्माण र चारवटा निर्माणको प्रक्रिया आरम्भ, एघारवटा माध्यमिक विद्यालयलाई एघारवटाकै दरले कम्प्युटर वितरण, हरेक प्रहरी चौकी र सशस्त्रको बेसक्याम्पमा ल्यापटप वितरण र प्रतीक्षालय निर्माण, पन्ध्रवटा मन्दिर निर्माण, बाह्रवटा चौतारा निर्माण, नापी तथा मालपोत कार्यालयजस्ता सेवा केन्द्र र राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना, सडकको दुवै किनारामा वृक्षारोपण, तेइस बिघा जमिनमा फलफूलको बिरुवा रोपण, साबिकको हरेक गाउँ विकास समितिमा सामुदायिक भवन निर्माण प्रक्रिया आरम्भ, पोखरीहरूको निर्माण र दुईवटा चिनी उद्योग स्थापना गराउनेजस्ता कार्य गरिसकेको छु । यसले जनतामा मलाई विकासप्रेमीका रूपमा स्थापित गराएको छ ।

० विकास गरेकै आधारमा जनताले मत दिँदैनन् भनिन्छ नि ?
– होइन, मेरो क्षेत्रका जनता विकास चाहन्छन्, विकासप्रेमी छन् । त्यसैले हामीकहाँ अन्यत्रजस्तो हुँदैन ।

० धेरै काम गरिसक्नुभएछ, अब नयाँ कामको प्रतिबद्धताचाहिँ के छ नि ?
– भविष्यमा हरेक दलित परिवारलाई एउटा ग्यास चुलो र एउटा सिलिन्डर उपलब्ध गराउने, हरेक किसानको खेतमा सिँचाइको व्यवस्था गर्ने, निर्वाचन क्षेत्रमा सुविधासम्पन्न सामुदायिक अस्पताल निर्माण गर्ने जहाँ गरिब तथा आमनागरिकको उपचार सम्भव होस्, हरेक साल कम्तीमा १०० जना गरिब तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने, दुवै चिनी मिललाई किसानमैत्री बनाउनेलगायतका मेरा कार्ययोजना छन् । मेरो भरोसा जनतामा छ र जनता पनि मैले केही गर्न सक्छ भन्नेमा विश्वस्त छन् ।