‘सबैको साथले काङ्ग्रेसको जित निश्चित’

‘सबैको साथले काङ्ग्रेसको जित निश्चित’


सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९, ज्यामिरे सुनखानीको सामान्य किसान परिवारमा जन्मिएका विकास तामाङ नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पार्टी वृत्तमा हक्की र निडर स्वभावका युवा नेताका रूपमा परिचित तामाङ नेपाली काङ्ग्रेसको केन्द्रीय पर्यटन विभाग सदस्य भइसकेका छन् । स्थानीय स्तरमा राजनीतिका अलावा सामाजिक अभियन्ताको समेत छवि बनाएका तामाङ आगामी मङ्सिर १० गते हुने प्रदेश सभा सदस्य पदका लागि सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश सभा ‘क’मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । राप्रपा (प्रजातान्त्रिक) सँगको सहकार्यमा उम्मेदवार बनेका तामाङ आफू विजयी हुनेमा निर्धक्क देखिन्छन् । विद्यार्थीकालमा नेपाल विद्यार्थी सङ्घमार्फत राजनीतिक यात्रा सुरु गरेका तामाङ पार्टीको बाह्रौँ र तेह्राँै महाधिवेशनमा क्षेत्र नं. ३ बाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि बनेका थिए । मेलम्ची–भोताङ सडक उपभोक्ता समिति, जलविद्युत् आयोजनाको परामर्शदातालगायत विभिन्न विकासका क्रियाकलापको नेतृत्व गरेको अनुभव पनि तामाङसँग छ । भूकम्प, बाढी–पहिरोजस्ता प्रकोपका बेला प्रत्यक्ष प्रभावित बस्तीमा पुगेर रोकथाम र राहत व्यवस्थापनको काममा समेत विगतमा उनले सक्रियता देखाएका छन् । निर्वाचन, उनको जित्ने आधार र समग्र जिल्लाको राजनीतिक अवस्थाको विषयमा प्रदेश सभा सदस्यका उम्मेदवार विकास तामाङसँग गरेको वार्तालाप :

नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्नुभएको छ, के छ तपाईंको क्षेत्रमा तपाईंको अवस्था ?
– मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति नेपाली काङ्ग्रेसले मलाई यस जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश सभा ‘क’मा उम्मेदवार बनाएर मलाई गहन जिम्मेवारी सुम्पेको छ । टिकटको दौडमा रहेका आदरणीय नेताहरूको भावनाको कदर गर्दै पार्टीले सुम्पिएको जिम्मेवारी पूरा गर्ने चुनौती म र पार्टीका सबै साथीहरूको काँधमा छ । स्वाभाविक रूपमा यस क्षेत्रमा हामीले जित हासिल गर्ने कुरामा दुईमत छैन । जनमतका आधारमा पनि हामी अगाडि हुन्छौँ । फेरि, नेपाली काङ्ग्रेस एक्लै पनि छैन, राप्रपा प्रजातान्त्रिक, राप्रपालगायतका लोकतान्त्रिक शक्ति हाम्रो साथमा रहेकाले पनि हामी जित्नेमा कुनै शङ्का छैन । जिल्लावासीले समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि लोकतान्त्रिक शक्तिको विकल्प नरहेको बुझेका छन् ।

वाम गठबन्धनका उम्मेदवारले भन्दा बढी मत ल्याउने आधार के–के छन् ?
– हाम्रो क्षेत्र आफैँमा नेपाली काङ्ग्रेसको राम्रो प्रभाव रहेको क्षेत्र हो । यही क्षेत्रमा पर्ने इन्द्रावती गाउँपालिकामा काङ्ग्रेसले स्थानीय निर्वाचनमै जित हासिल गरिसकेको छ । मेलम्ची नगरपालिकाका पनि काङ्ग्रेसले जितेका र प्रभाव राम्रो रहेका वडाहरू यस क्षेत्रमा समेटिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा पनि काङ्ग्रेसको उपस्थिति विगतको तुलनामा सशक्त बनेको छ । सहयात्री राप्रपा प्रजातान्त्रिकको पनि यस क्षेत्रमा राम्रो प्रभाव छ । फेरि मुलुकमा भएको वाम ध्रुवीकरणलाई नरुचाउने मतदाताहरू विकल्पको रूपमा लोकतान्त्रिक शक्तिको उदय चाहन्छन् । आममतदातालाई थाहा छ, मुलुकको हरेक परिवर्तन नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको छ । वामपन्थीहरूले मुलुकलाई अधिनायकवादतर्फ लान लागेकाले त्यसलाई निस्तेज पार्न पनि मतदाताले हामीलाई भोट हाल्नेछन् । हामीलाई मतदाताले वाम गठबन्धनका उम्मेदवारलाई भन्दा अत्यधिक मतले विजय गराउनेछन् । काङ्ग्रेसप्रति स्वस्फुर्त रूपमा उर्लेको जनलहरले पनि यसको पुष्टि गरेको छ ।

स्थानीय निर्वाचनको परिणामलाई हेर्दा वाम गठबन्धन बलियो देखिन्छ, साङ्गठनिक आधारमा तपाईंको बढी मत आउने अनुमान कसरी गर्न सकिन्छ ?
– स्थानीय निर्वाचनको मतलाई जोड्दा दुई वाम घटकको मत हाम्रोभन्दा केही बढी देखिन्छ । त्यतिबेला राप्रपाले आफ्नो मत संरक्षण गर्न नसकेकाले मात्र त्यस्तो परिणाम देखिएको हो । अहिले पशुपतिशमशेर जबरा स्वयम् मैदानमा भएकाले राप्रपाको मत अन्यत्र जाँदैन । फेरि मैले उनीहरू (वाम गठबन्धन) भित्र केही मान्छे यस्तो भेटेको छु जो गठबन्धनलाई स्वीकार्नै तयार छैनन् । तिनीहरूले हामीलाई सहयोग गर्नेछन् । म नाम त लिन्नँ, केही साथीहरूले मलाई सहयोग गर्ने वचन टेलिफोनमार्फत दिइसक्नुभएको छ । स्थानीय निर्वाचनभन्दा पछिल्लो समय काङ्ग्रेसप्रति आमनागरिकको मोह बढेको छ । अस्ति मात्रै चौतारा साँगाचोकगढीको सानुसिरुबारीमा काङ्ग्रेस प्रवेश गर्नेको लहरले पनि त्यसलाई पुष्टि गरेको छ । अतः यस क्षेत्रमा वाम गठबन्धनभन्दा हाम्रो मत बढी आउनेमा हामी ढुक्क छौँ ।

तपाईं उम्मेदवार बन्नुभएको क्षेत्रमा विगतमा तपाईंले राजनीति गरेकोभन्दा बढी भूगोल साबिकको २ नम्बर क्षेत्रबाट गाभिएको छ, यसले तपाईंलाई असर पु¥याउँदैन ?
– स्वाभाविक रूपमा म साबिकको क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधि बनेँ । तर, यसको मतलब मेरो राजनीतिक क्रियाशीलता त्यहीँ मात्र सीमित थिएन । साबिकको क्षेत्र नं. २ र जिल्लाभर म राजनीतिक गतिविधिमा सहभागी भएको छु । जिल्लाभरका मतदाताका सुखदुःखमा म साथै छु । अर्को कुरा, भूगोल मात्र राजनीतिको मूल आधार होइन, मूल आधार भनेको विचार हो । मतदाताले विकास तामाङलाई भन्दा पनि उसले बोकेको विचारलाई मत दिने हो । यतिबेला यहाँ मात्र होइन मुलुकभरका मतदाताले लोकतन्त्रको संरक्षणका लागि नेपाली काङ्ग्रेस र योसँग सहकार्य गरेका शक्तिलाई जिताउने अठोट गरेका छन् । तसर्थ असल विचारको अगाडि भूगोल गौण कुरा हो । यसले हामीलाई कुनै असर गर्दैन ।

हिजो टिकट लिने क्रममा पार्टीका अन्य नेताहरू पनि दौडमा थिए, सबैलाई उछिनेर टिकट पाउनुभएको छ, अन्य प्रतिस्पर्धीबाट सहयोगको अवस्था के छ ?
– स्वाभाविक रूपमा पार्टीले निर्णय गर्नुअगाडि सबै राजनीतिक व्यक्तिलाई टिकटको अपेक्षा हुन्छ । तर, जब पार्टीले निर्णय गर्छ त्यसपछि सबै नेता–कार्यकर्ताले निर्णयको पक्षमा माहौल सिर्जना गर्नुपर्छ । फेरि हाम्रो लोकतान्त्रिक संस्कार बोकेका पार्टीमा आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिइन्छ । मेरो सबै अग्रज एवम् सहकर्मी साथीहरूसँग प्रत्यक्ष संवाद भइरहेको छ । टिकटमा प्रतिस्पर्धा गर्ने–नगर्ने सबै साथीहरू पार्टी जिताउने अभियानमा सक्रियताका साथ लागिसक्नुभएको छ । म चुनाव जित्न जति उत्साही भएर लागेको छु त्योभन्दा बढी अन्य साथीहरू खट्न थालिसक्नुभएको छ । दुवै क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला सभापति र अन्य पदाधिकारी, सदस्य तथा पार्टीका शुभेच्छुक साथीहरूको सक्रियताले मलाई थप उत्साही बनाएको छ ।

राप्रपा प्रजातान्त्रिकसँगको सहकार्यले समग्रमा नेपाली काङ्ग्रेसलाई कस्तो फाइदा पुगेको छ ?
– सिन्धुपाल्चोकको सन्दर्भमा राप्रपा प्रजातान्त्रिक पनि एउटा राजनीतिक शक्तिको रूपमा स्थापित छ । वाम गठबन्धनपछि पार्टीले लिएको लोकतान्त्रिक गठबन्धनको निर्णयले जिल्लामा नेपाली काङ्ग्रेसको जितको सम्भावनालाई सुनिश्चितताको दिशामा अघि बढाएको छ । यो गठबन्धनकै कारण जिल्लाका ६ जना नै हामी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्ने निश्चित बनाएको छ ।

मतदाताले तपाईंलाई किन भोट दिने ?

– बढ्न लागेको वाम एकाधिकार र अधिनायकवादको विरुद्धमा लोकतान्त्रिक संस्कारको विकासका लागि नेपाली काङ्ग्रेस मैदानमा आएको छ । त्यो अधिनायकवाद मौलाउन नदिन तथा समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि मतदाताले हामीलाई मत दिनेछन् । साथै संविधान कार्यान्वयन, प्रदेशभित्रका सबै गाउँ जोड्ने पक्की सडक निर्माण, क्षेत्रीय चक्रपथ, ग्रामीण विद्युतीकरण लगायतका पूर्वाधार निर्माणका लागि हामीलाई मत दिनुहुनेछ । सुस्ताएको भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन तथा थप अनुदानको व्यवस्था गर्न, सहज रूपमा निव्र्याजी ऋणको व्यवस्था मिलाउन, कृषि, पर्यटन, जलस्रोतको विकासबाट स्थानीय तहमै रोजगारी सिर्जना गर्न, रोजगारमूलक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पु¥याउन, सबै वर्ग, क्षेत्र र समुदायको सशक्तीकरणका लागि प्रदेशमा नेपाली काङ्ग्रेस नेतृत्व सरकारको आवश्यक भएकाले उक्त आवश्यकता परिपूर्ति गर्न मतदाताले हामीलाई मत दिनुहुनेछ भन्ने विश्वास छ । साथै प्रदेश सरकार सञ्चालन र आमनागरिकलाई सहज रूपमा सेवा–सुविधा प्रदान गर्दै सिंहदरबारको अधिकार आमसमुदायको दैलोमा पु¥याउने नीति निर्माण गर्न पनि काङ्ग्रेस नेतृत्वमा मात्रै सम्भव भएकाले मतदाताले हामीलाई मतदान गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।

– किशोर बुढाथोकी