मनीषा -हात्ती आयो हात्ती आयो फुस्सा

मनीषा -हात्ती आयो हात्ती आयो फुस्सा


-राजन घिमिरे
बलिउडमा नै असफल भएपछि कलिउडतिर आइन् मनीषा कोइराला । भारतीय चलचित्र उद्योगका हात खाली हुने अवस्थामा आएपछि अब नेपाली सिनेमा खेलेर ‘ताली’ र ‘वाहवाही’ कमाउने उनको उद्देश्य यतिबेला ‘फेल’ खाएको छ । यो असफलताले मनीषाको क्यारियरमा मात्र असर पारेको छैन कि मनीषासँगको सम्बन्धको भरमग्दुर प्रयोग गरेर उनलाई चलचित्र ‘धर्मा’ मार्फत पुनः नेपाली सिनेमामा फर्काएर स्थापित गराउने चलचित्र निर्मात्री डा. दर्ुगा पोखरेल पनि असफल हुन पुगेकी छिन् ।
मनीषा कोइरालाले अभिनय गरेको चलचित्र भनेपछि हलमा दर्शकहरूको ठूलै भीड लाग्ने चलचित्र धर्माको युनिटको सोच र योजना नराम्ररी पछारिन पुगेको छ । नेपाली सिनेमा निरन्तर रूपमा हेर्ने, दर्शकहरूको प्रिय नायकद्वय राजेश हमाल र निखिल उपे्रतीलाई छायामा पारेर मनीषा कोइराला र आफ्नै छोरा सुयोग पोखरेललाई प्रचारप्रसारमा ल्याउँदा अन्ततः चलचित्र धर्माकी निर्मात्री डा. दर्ुगा पोखरल व्यावसायिक रूपमा पछारिन पुगेकी छिन् । त्यसो त पोखरेललाई नजिकबाट चिन्नेहरू यसो पनि भन्न थालेका छन्, ‘पैसा जति डुबे पनि दर्ुगा पोखरेललाई मतलब छैन । छोरोलाई हिरो बनाउनु थियो बनाइहालिन् ।’
कलाकारभन्दा पनि केवल छोरोलाई हिरो बनाउनतिर लाग्दा धर्मामा साँच्चिकै कलाकार राजेश हमाल र निखिल उपे्रतीसँग भने चलचित्रले काम लिन सकेको छैन । अर्कोतिर मनीषाले पनि खासै मन दिएर काम गरेकी छैनन् । ‘दर्ुगा दिदीले भनिहाल्नुभो खेलौँ न त’ भन्ने औपचारिक किसिमको मात्र अभिनय छ मनीषाको । साह्रै अल्छी गरेर अभिनय गरेकी छिन् मनीषाले भने उनको उपस्थितिको खासै अर्थ नै छैन चलचित्र धर्मामा । २० वर्षपछि नेपाली चलचित्रमा पुनरागमन भएकी मनीषाको चर्चा र हल्ला पहिले जति थियो सिनेमा हेरेपछि ‘हात्ती आयो हात्तीआयो फुस्सा’ सावित भएको छ । व्यावसायिक सोचले भन्दा पनि रहरले चलचित्र निर्माण गर्दा सिनेमामा देखापरेका कलाकारहरूबाट राम्रोसँग काम लिन नसक्नु नै अव्यावसायिक रूपमा चलचित्र निर्माण समूह चुक्न पुगेको छ ।

शर्मिलाको सौर्न्दर्य ँकान्छी’को जस्तै
‘बीस वर्षअगाडि यिनलाई मैले जस्तो देखेर चलचित्र कान्छीमा हिरोइन बनाएको थिएँ आज पनि यिनलाई मैले त्यस्तै देखेको छु,’ नायिका शर्मिला मल्लतिर हेर्दै उनका गडफादर अर्थात् चलचित्र कान्छीका निर्देशक बीएस थापाले यसै भने । ‘म राम्री होइन, मलाई हेर्ने हजुरको आँखा राम्रो,’ जति राम्री छिन् त्यस्तै मीठो जवाफ फर्काइन् शर्मिलाले ।
तीन सफल नेपाली चलचित्र माइतीघर, कान्छी र मायाप्रितीका निर्देशक बीएस थापा यतिबेला काठमाडौंमा हुनुहुन्छ । आफन्तको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आउनुभएका थापा यतिबेला ८२ वर्षको हुनुभयो भने यो उमेरमा पनि सिनेमा निर्देशन गर्ने उनमा जाँगर भने मरेको छैन । ‘सिनेमा भनेको सिर्जना हो । सिर्जना गर्ने मान्छेलाई उमेर र समयले छेक्दैन,’ थापाले भन्नुभयो, ‘अब चाँडै अर्को सिनेमा बनाउँदै छु र त्यो सिनेमामा पनि शर्मिलालाई नै बोल्ड भूमिका दिन्छु ।’ थापाको यो प्रतिबद्धता आउनासाथ छेउमा नै रहेकी शर्मिला मुस्कुराइन् र उनले पनि थपिन्, ‘म यो कुरामा आफूलाई भाग्यमानी ठान्छु कि कान्छी र मायाप्रितीमा मलाई उहाँले नै नायिका बनाउनुभएको थियो र अब बन्ने सिनेमामा पनि मलाई नै उहाँले नायिकाको रूपमा अनुबन्धित गर्नुभएको छ ।’
अहिलेका सिनेमा निर्माणको प्रक्रिया पटक्कै चित्त बुझेको रहनेछ निर्देशक थापालाई । हतारमा सिनेमा निर्माण गर्ने अति प्रतिफल राम्रो खोज्नेहरूको भीडले गर्दा सिनेमाहरूको स्तरमा विकास हुन नसकेको ठम्याइ उहाँको छ । ‘सिनेमा त पहिले टेबुलमा बन्नुपर्छ । अनि मात्र सुटिङमा जाने हो । तर, यहाँ गृहकार्यबिना नै सिनेमा निर्माण गर्ने तयारी गरिन्छ । त्यो पक्ष घातक हो,’ निर्देशक थापाको निचोड छ । चलचित्र कान्छीबाट शर्मिला मल्ललाई नायिका बनाएका थापाले माइतीघरबाट माला सिन्हालाई नेपाली सिनेमामा भित्र्याएका थिए भने रंगमञ्चतिर मात्र देखापर्दै आएका रवीन्द्र खड्कालाई चलचित्र मायाप्रितीमा उनले नै नायक बनाएका थिए ।

ँतिमीबिना बाँच्न सक्छु म’
गीत-सङ्गीत यतिबेला फराकिलो भएर अगाडि बढिरहेको छ । युवा पुस्ताहरू पनि यो क्षेत्रप्रति राम्रैसँग आकरि्षत भइरहेको छ । दैनिकजसो एल्बमहरू बजारमा आइरहेको अहिलेको समयमा अर्को एउटा गीति एल्बम पनि बजारमा आएको छ- तिमीबिना बाँच्न सक्छु म । रमेश पाठकको लोकदोहोरी गीति एल्बम ‘तिमीबिना बाँच्न सक्छु म’ मा साइड ए र बी गरेर जम्मा दुईवटा गीतहरू समावेश गरिएका छन् । जिनियस डिजिटल म्युजिकले यो एल्बमलाई बजारमा ल्याएको हो भने विष्णु माझी, रमेश पाठक, रामबहादुर कार्की र राजेश पाठकको आवाज सुन्न सकिनेछ यसमा ।