मन्त्रीको आँखा बल्ल खुल्यो -श्रीविक्रम भण्डारी

मन्त्रीको आँखा बल्ल खुल्यो -श्रीविक्रम भण्डारी


छानबिन कमिटी छानबिनमै सीमित
समयमा सही निर्णय गर्न नसक्ने र पछि पछुताउने आदत परेका खेलकुदमन्त्री गणेश नेपालीको आँखा बल्ल खुलेको छ । खेलकुदमा खेलकुद पदाधिकारीहरूले ताण्डप मच्चाउँदा पनि अनदेखी र अनसुनी गर्दै आएका मन्त्री नेपालीले बल्ल आँट देखाएका छन् । अवैधानिक ओलम्पिक कमिटीलाई कारबाही गर्ने उनको हैसियत नभए पनि आफ्नै मातहतमा रहेका पदाधिकारी, प्रशिक्षक र कर्मचारीले खेलकुदमा उपद्रो मच्चाउँदासमेत मन्त्री नेपाली चुप लागेर बसेका थिए । राष्ट्रिय खेलकुद परिषद्को विधानभन्दा माथि उठेर परिषद्को मानमर्दन गर्दासमेत मन्त्री नेपालीले ‘चुँ’ समेत गरेका छैनन् । अनुशासनहीनताको पोखरीमा राखेप निसासिइरहेको र छटपटिइरहेको अवस्थामा पनि उनका कदमहरू अहिलेसम्म अगाडि बढ्न नसकेको घामजस्तै र्छलङ्ग छ । अझ कारबाही गर्नुपर्नेहरूलाई कारबाही नगरेपछि मन्त्री नेपालीको खेलकुदमा दिन प्रतिदिन आलोचना भइरहेको छ ।
मन्त्री नेपालीको मौनताले शिखर चुमेपछि केही समय पहिले परिषद्कै पदाधिकारीहरू मन्त्रीलाई नै कारबाही गर्नुपर्ने आवाज उठाइरहेका थिए । ग्वान्झाउ एसियाड र मस्कट बीच खेलकुदमा खेलकुद पदाधिकारीहरू विवादमा परे पनि मन्त्रालयले उनीहरू म्ााथि कुनै कारबाही गर्न सकेको छैन । ग्वान्झाउ एसियाडमा नेपाली टोलीको टोली नेता भएर पनि मन्त्री नेपालीले भोग्नुपरेको पीडा र खेप्नुपरेको अपमानप्रतिसमेत मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । स्वदेशबाट हिरो बनाएर लगिएका मन्त्रीलाई विदेशमा जिरो बनाउनेहरूउपर पनि मन्त्रालयको कुनै ध्यानाकर्षण भएको छैन । खेलकुदको सर्वोच्च संस्था राखेपका अध्यक्षउपर गरिएको सुनियोजित षड्यन्त्रलाई पनि मन्त्रालयले गम्भीर रूपमा लिएको छैन । औकातै नभएको र सर्वोच्चले समेत अवैधानिक घोषणा गरिसकेको एनओसीले खुलेआम मन्त्री नेपालीको इज्जतको धर्ज्र्जी उडाउँदा पनि सम्बन्धित निकायले मौनता साँध्नु लाजमर्दो कुरा भएको छ ।
राखेपका पदाधिकारीले ग्वान्झाउमा मन्त्री नेपालीको तेजोबध भएको र विदेशमा राष्ट्रको छवि धुमलिँदासमेत मन्त्रालयले कारबाहीका लागि कुनै पहल नगरेको भन्दै मन्त्री नेपालीलाई दबाब दिएका थिए । सोही कुरालाई मध्यनजर गर्दै हालै खेलकुद मन्त्रालयलेे ग्वान्झाउ एसियाडमा नेपाली टोलीको कमजोर प्रदर्शन, अवैधानिक नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को विवादको बारेमा सत्यतथ्य जान्न एक छानबिन कमिटी बनाउने निर्णय गरेको छ । सो अवसरमा मन्त्री नेपालीले राखेप, एनओसी विवाद र एसियाडसँग सम्बन्धित सबै पक्षको बारेमा अनुसन्धान गरिने बताए । मन्त्री नेपाली वर्तमान अवस्थामा नेपालमा दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा देखिएको खुलासा गर्दै सर्वोच्चले वैधानिक घोषणा गरेको एनओसीसँग समन्वय गरिने बताए । नेपालको कानुनभन्दा कोही पनि माथि नभएको चर्चा गर्दै मन्त्री नेपालीले खेलकुद मन्त्रालयले सर्वोच्चको आदेशको पालना गर्ने बताए । त्यस्तै मन्त्री नेपालीले आफू ग्वान्झाउ एसियाडमा नेपाली टोलीको टोलीनेता भएकोले नेपालको कमजोर प्रदर्शनको जिम्मेवारी आफूले लिने बताए । उनले नेपालको कमजोर प्रदर्शनको बारेमा माफी माग्दै कसरी यस्तो भयो यसको बारेमा छानबिन कमिटीले विशेष रूपमा अध्ययन गर्ने बताए थिए ।
खेलकुदका हरेक कार्यक्रममा छेपारोको झैं रंग फेर्दै आएका मन्त्रालयका सचिव सुशीलजंग राणा सो कार्यक्रममा राष्ट्रिय खेलकुद सङ्घमाथि बर्सिएका थिए । सचिव राणाले नियमविपरीत कार्य गर्ने कुनै पनि राष्ट्रिय सङ्घलाई मन्त्रालयले कारबाहीको घेरामा राखेको शंखनाद गरेका थिए । साथै सचिव राणाले एसियाडमा सहभागिता जनाएका सबै राष्ट्रिय सङ्घहरूलाई मन्त्रालयमा लिखित प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएका थिए । उनले खेलकुदमा विगतदेखि मच्चिँदै आएको भाँडभैलोलाई रोक्न अङ्कुशसमेत लगाइने बताए । विदेश यात्राका क्रममा खेलकुदमा निकै चलखेल हुने र ग्वान्झाउ एसियाडमा पनि यस्तै प्रकृति दोहोरिएकोले यस्तो गलत प्रथाको अन्त्य हुनुपर्ने आवश्यक भइसकेको बताएका थिए । राणाले एसियाडको अन्तिम समयमा राखेपका कर्मचारी र पदाधिकारीलाई राष्ट्रिय टोलीमा समावेश गरेर सम्बन्धित निकायले गैरजिम्मेवारी कार्य गरेको पनि सो अवसरमा बताएका थिए ।
ग्वान्झाउ एसियाडमा नेपालको कमजोर प्रदर्शनको बारेमा विश्लेषण गर्न र आगामी दिनमा नेपालको खेलकुदलाई कसरी योजनाबद्ध तरिकाले अगाडि बढाउन सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । नेपालको एसियाडमा कमजोर प्रदर्शनको बारेमा राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक नारायण यादवले प्रतिवेदन बुझाएका थिए । मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा बजेटको अभाव, कमजोर तयारी, नयाँ प्रविधिको अभाव र अत्याधुनिक खेल सामग्रीको अभावले गर्दा एसियाडमा नेपालको प्रदर्शन कमजोर भएको उल्लेख गरिएको छ । त्यस्तै राखेपका पदाधिकारीहरूले मन्त्रालय र राखेप आफ्नो ठाउँमा बस्न नसक्नु र अवैधानिक ओलम्पिक कमिटीको गैरजिम्मेवारीले गर्दा नेपालको प्रदर्शन कमजोर भएको आरोप लगाएका थिए । उनीहरूले यो सबै फसादको जड एनओसी भएको आरोप लगाउँदै यथाशीघ्र सर्वोच्चको आदेशलाई पालना गराउन मन्त्रालय लागिपर्नुपर्ने बताए ।
खेलकुदमा अहिलेसम्म थुप्रै छानबिन कमिटी बनिसकेका छन् । अहिलेसम्म ती कमिटीले गरेको काम कार्यान्वयन भएको पाइएको छैन । यहाँ त मन्त्रालयले आफू चोखिन यो निर्णय गरेको स्पष्ट रूपमा थाहा पाउन सकिन्छ । छानबिन कमिटी मन्त्रालयले बनाउने निर्णय गरे पनि उक्त कमिटी कहिले बनाउने र को-को रहने भन्नेबारेमा मन्त्रालयले कुनै जानकारी गराएको छैन । तर्सथ छानबिन कमिटीको नाममा नाङ्लो ठटाएर हात्ती तर्साउने काम मात्र भएको एक खेलकुद पदाधिकारीले बताएका छन् । उनले नेपालको खेलकुदमा अहिले कसैलाई कारबाही नभएको प्रस्ट पार्दै यो पनि छानबिन कमिटीमा सीमित हुने बताए ।

बल्लुको छक्का, अवैधानिक एनओसीलाई धक्का
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्मा फुट ल्याउन अवैधानिक ओलम्पिक कमिटीले चालेको चाल अहिले असफल भएको छ । एनओसीले राखेपलाई पुनः बाईपास गर्दै खेलेको घीनलाग्दो खेललाई राखेपका पदाधिकारीहरूले सामूहिक रूपमा प्रतिवाद गरेर उसको औकत देखाइदिएका छन् । ओलम्पिक चार्टरको धाक लगाउँदै खेलकुदमा आफ्नो अधिकार जताउन एनओसीले खेलेको फोहोरी खेलको अहिले नराम्रोसँग पर्दाफास भएको छ । अवैधलाई वैध बनाउन एनओसीले थापेको जालमा अहिले माछा नभएर भ्यागुतो परेको छ । अहिलेसम्म आफ्नो दुनो मात्र सोझ्याउँदै आएको एनओसीले यसपटक बडो उदारतापूर्वक सेभ द मिसनको जिम्मेवारी राखेपका सदस्य समिम मियाँ अन्सारी ‘बब्लु’ लाई बनाएर पत्राचार गरेको थियो । बब्लुलाई सेभ द मिसन बनाएर वैतरणी तर्ने एनओसीको कुटिल चाल अहिले दुस्साहसमा परिणत भएको छ । बब्लुले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै एनओसीको मनसायमा पानी हालिदिएका छन् ।
अहिलेसम्म सेभ द मिसनको विषयमा ओलम्पिक चार्टरको धाक लगाउँदै एकलौटी निर्णय गर्दै आएको अवैधानिक ओलम्पिक कमिटीले हाल ओमानको मस्कटमा सञ्चालन भइरहेको दोस्रो एसियन बीच खेलकुद प्रतियोगिताको ‘सेभ द मिसन’ समिमलाई बनाएको थियो । उक्त प्रतियोगितामा कुन खेललाई कसरी पठाउनेभन्दा पनि सेभ द मिसन तोकेर राखेपमा पत्राचार गर्नु आफैंमा हास्यास्पद थियो । दुरि्नयतपूर्वक राखेपको हर्ुमत लिन एनओसीले चालेको उक्त चालले केही समय खेलकुदमा नौलो तरङ्ग उत्पन्नसमेत गराएको थियो । हालै सम्पन्न ग्वान्झाउ एसियाडमा राखेपको छविलाई धुमिल्याउन कुनै कसर बाँकी नराखेको एनओसीले एक्कासि राखेपप्रति देखाएको सहानुभूतिले सबैलाई चकित पारेको थियो । राखेपलाई निचा देखाउन खेलमाथि खेल खेल्दै आएको एनओसीले यसपटक पनि सेभ द मिसनको बहानामा ठूलो माछालाई खाने प्रयत्न गरेको थियो । तर, यसपटक झिङेमाछाको चाललाई असफल पार्न राखेपका सम्पूर्ण पदाधिकारी सामूहिक रूपमा लागेका थिए । आखिर भयो पनि त्यस्तै, सामूहिक बलको अगाडि एनओसी अहिले मूसो सावित भएको छ । उसको कुदृष्टिबाट राखेप बच्न सफल भएको छ ।
अवैधानिक एनओसीले समिमलाई नै किन सेभ द मिसनको रूपमा चुनाव गर्‍यो त – अहिले यो प्रश्न खेलकुद परिसरमा चर्चाको विषय बनेको छ । खेलकुदमन्त्री गणेश तिवारी र राखेपका सदस्यसचिव हरिबाबु चौधरीसँगको घनिष्ट सम्बन्धका कारणले समिमलाई एनओसीले बलिको बोका बनाएको थाहा हुन आएको छ । आफ्नो स्वार्थसिद्ध राखेपका अन्य पदाधिकारीहरूबाट नहुने देखेपछि एनओसीले समिमलाई आफ्नो हात लिन विदेशको मोह देखाएका थिए । समिमलाई सेभ द मिसन बनाउँदा मन्त्री र सदस्यसचिवको धारणामा परिवर्तन आउने विश्वास लिएको एनओसीको चाल त्यसबेला विफल भयो जब समिमले आफू अवैधानिक एनओसीको गोटी नबन्ने पत्रकार सम्मेलनमा बताए । समिमले अवैधानिक एनओसीलाई नाङ्गेझार पार्ने क्रममा यो ठूलो षड्यन्त्र भएको बताएका थिए । कुनै जानकारीबिना एनओसीले सेभ द मिसन बनाएको पत्र पठाउँदा आफैं चकित भएको उनले सुनाए । आफूले त्यसलाई राखेपको विरुद्धमा अर्को षड्यन्त्रको रूपमा लिएको पनि स्पष्ट पारे ।
दोस्रो एसियन बीच खेलकुद प्रतियोगिताको सेभ द मिसन बनाएपछि एकाएक चर्चाको शिखरमा पुगेका समिमले यो घटनालाई अवैधानिक एनओसीको दुस्साहस भनेका छन् । घटना र विचार साप्ताहिकसँग कुरा गर्ने क्रममा समिमले आफूलाई एनओसीले चुन्नुको कारण राखेपमा फुट ल्याउनका लागि भएको आरोप लगाएका छन् । समिमले सेभ द मिसन छान्ने अधिकार राखेपलाई मात्र भएको स्पष्ट पार्दै अवैधलाई वैध बनाउन एनओसीले जानाजानी राखेपका पदाधिकारीहरूमा विवाद ल्याउन यस्तो हर्कत गरेको बताएका छन् । खेलकुदमा आफ्नो अधिकार जताउन एनओसीले यस्तो घृणित चाल चलेको खुलासा गर्दै राखेपको मान, सम्मान र प्रतिष्ठाका लागि आफू कसैसँग सम्झौता नगर्ने प्रस्ट पारेका थिए । राखेपसँगको खेलवाड आफूलाई सैह्य नहुने बताउँदै राखेपको इज्जतका लागि अवैधानिक एनओसीको चाललाई सफल हुन नदिने बताएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा राखेपको अस्तित्व र नीति-नियमहरू महत्त्वपूर्ण भएकोले आफूले नियमविपरीत कुनै पनि कदम नउठाउने समिमले बताए ।
वर्तमान अवस्थामा हार्ने गोरुको छेरुवा दाउको रूपमा प्रस्तुत भइरहेको अवैधानिक ओलम्पिक कमिटी खेलकुदमा वितण्डा मच्चाउन ज्यान छोडेर लागेको छ । मर्ने बेलामा कमिलाको प्वाँख आउँछ भनेझैं अहिले सोही अवस्थामा एनओसी पुगेको छ । ‘मर्ता क्या नही कर्ता’ भन्ने उक्तिलाई आत्मसात् गरेर हिँडेको एनओसीले गृह मन्त्रालयमा गरेको हारगुहार पनि निकै रोचक बनेको छ । कुनै सम्बन्ध नै नभएको ठाउँमा गोरु बेचेको साइनो गाँस्न खोज्दा एनओसीले आफ्नो सुरुवाल फुस्केको पत्तै पाउन सकेको छैन । जताततै हारगुहार गरेर थाकेपछि पुनरावेदन अदालतमा पुनरावेदनका लागि निवेदन दिएका एनओसीका पदाधिकारीहरूको अहिले हरिविजोग भएको छ । सय प्रतिशतमा एक प्रतिशतमा आफ्नो भाग्य अजमाएको अवैधानिक एनओसीले सर्वोच्चले आफैंले गरेको फैसलालाई उल्टाएर अघि बढ्ला भनेर सोच्नु साँढेको झर्ला र खाउँला जस्तै मात्र भएको छ । हेरौँ, सास छहुन्जेल आश हुन्छ भन्ने आशमा लागेका एनओसी पदाधिकारीहरूले भविष्यमा कस्तो रणनीति अख्तियार गर्छन्- त्यो प्रतीक्षाको विषय बनेको छ ।

खेलाडी र प्रशिक्षक सम्मानित
तीन महिनाअघि मात्रै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले ग्वान्झाउ एसियाडमा एक मात्र पदक जित्न सफल भएका दीपक महर्जनलाई हालै सम्मानित गरेको छ । बक्सिङको ८१ केजी तौल समूहमा दीपकले ग्वान्झाउमा कास्य पदक जितेका थिए । मुलुकलाई एक मात्र पदक दिलाएर राष्ट्रको गौरव बढाउनुको साथै सम्पूर्ण नेपालीको शिर अन्तराष्ट्रमा ठाडो पार्न सफल भएकोमा दीपकलाई सङ्घले सम्मानित गरेको थियो । त्यस्तै दीपकलाई पदक जिताउन अहम् भूमिका निर्वाह गर्ने बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई पनि सङ्घले सम्मान गरेको थियो । ग्वान्झाउ एसियाडमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई पहिल्यै सम्मान गर्ने घोषणा गरेको सङ्घ अहिले आफ्नो प्रतिबद्धतामा खरो उत्रिएको छ । सङ्घले खेलाडी महर्जन र प्रशिक्षक शर्मालाई नगद पच्चीस-पच्चीस हजार र ताम्रपत्र प्रदान गरेको थियो ।
खेलकुदलाई संविधानमा र राज्यको प्रमुख अङ्ग बनाउने, खेलकुदमा रहेको अस्वस्थतालाई स्वच्छ पारेपछि मात्र देश सफल हुन्छ भन्ने मान्यता बोकेको खेलाडी तथा प्रशिक्षक सङ्घले भविष्यमा नेपाली खेलकुदको कायापलटका लागि ज्यान छोडेर लाग्ने कुरा महासचिव महेश महर्जनले बताए । महर्जनले राष्ट्रको गौरव बढाउने खेलाडी र प्रशिक्षकलाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्दै त्यसको शुभारम्भ सङ्घले गरेको बताए । खेलाडीलाई हौसला र प्रोत्साहन गर्न सक्यो भने आगामी दिनमा अझ उत्कृष्ट नतिजा आउने बताउँदै त्यसका लागि सम्बन्धित निकाय र खेलक्षेत्रलाई माया गर्नेहरूले तत्काल कदम अगाडि बढाउनुपर्ने कुरा व्यक्त गरेको थिए । सङ्घका अध्यक्ष नरेन्द्रमान श्रेष्ठले सङ्घले पहिलो पुरस्कारको रूपमा एसियाडमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई दिन पाउँदा निकै खुसी लागेको बताएका थिए । सो पुरस्कार राखेपका सदस्यसचिव हरिबाबु चौधरीले वितरण गरेका थिए ।
त्यस्तै नेपाल पौडी सङ्घले पनि बक्सर दीपक र प्रशिक्षक प्रचण्डलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । सदस्यसचिव चौधरीले दीपकलाई नगद बीस, प्रचण्डलाई दस हजार र प्रमाणपत्रबाट सम्मानित गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष समिम मियाँ अन्सारी, महासचिव जगतमान श्रेष्ठले दीपकले ग्वान्झाउ एसियाडमा पदक जितेर मुलुकको गौरव बढाएको बताएका थिए । मुलुकलाई पदकविहीन बन्नबाट बचाएको भन्दै दीपकलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रिय फुलकन्ट्याक्ट कराते पुसमा
नेपाल क्योकुसिन कराते-डो सङ्घको आयोजनामा आगामी महिना राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । १६औँ राष्ट्रिय पुरुष खुला तथा नवौँ राष्ट्रिय महिला तौल समूहका प्रतियोगिताहरू पुस २३ गतेदेखि शुभारम्भ हुनेछन् । प्रतियोगिताको बारेमा जानकारी दिँदै सङ्घका संस्थापक तथा सिहान जगत गौचनले यो प्रतियोगितामा पाँचै विकास क्षेत्रका एक सय १० जना खेलाडीले सहभागिता जनाउने बताएका थिए । प्रतियोगिताको आयोजना दशरथ रंगशालास्थित कवर्ड हलमा हुने बताउँदै गौचनले महिलातर्फ ५५ केजीमाथि र मुनि हुने बताएका थिए । प्रतियोगितामा प्रत्येक तौल समूहमा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । अनुमानित ११ लाख ५० हजार बजेट रहेकोे यो प्रतियोगिताको अवसरमा १६औँ एसियाडमा कास्य पदक विजेता दीपक महर्जन र ११औँ अल एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण पदक विजेता बज्रकुमार र्राईलाई सम्मानित गरिने भएको छ ।

जयकर स्मृति राष्ट्रिय टेनिस अर्को साता
नियमित रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आइरहेको जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता पुसको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । पुस ४ देखि ९ गतेसम्म सञ्चालन हुने नवौँ संस्करणमा पुरुष जुनियर र महिला जुनियरका १२ इभेन्ट समावेश गरिएको छ । दुई सय ५० खेलाडीले सहभागिता जनाउने यो प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । यो प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रहेको छ । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । मन जयकर टेनिस एकेडेमीको आयोजनामा सञ्चालन हुने यो प्रतियोगितामा पहिलोपटक जुनियर खेलाडीहरूले ठूलो रकम पुरस्कारस्वरूप पाउने छन् । उक्त कुराको जानकारी एकेडेमीका अध्यक्ष ज्योति राणाले गराएकी थिइन् ।