विप्लवलाई ‘शिखण्डी’ भन्दै ओलीले भने, ‘कुन बाटोमा हिँड्यौ विप्लव, कुन गन्तव्यमा पुग्ने हो ?’

विप्लवलाई ‘शिखण्डी’ भन्दै ओलीले भने, ‘कुन बाटोमा हिँड्यौ विप्लव, कुन गन्तव्यमा पुग्ने हो ?’


दुई तिहाई बुहमत ल्याउने दाबीका साथ बाम गठबन्धनका दुई प्रमुख सारथि केपी ओली र प्रचण्ड बुधबार गोरखामा आयोजित चुनावीसभालाई सम्बोधन गरेर साँझ राजधानीमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल नामक मिडियाकर्मीहरुको संस्थाले आयोजना गरेको साक्षात्कारमा समेत कुम जोडेर उपस्थित हुन भ्याए ।

साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुको गठबन्धनबाट कांग्रेस आत्तिएको र विभिन्न अटपटे व्यवहार गरेको दाबी गरे । कम्युनिष्ट सत्तामा पुग्यो भने बुढाबुढीलाई मार्छ भनी विगतमा कांग्रेसले हल्ला फैलाएको आरोप लगाउँदै उनले त्यस्तो आरोपकै बीच मनमोहन अधिकारीको सरकारले वृद्धवृद्धालाई भत्ता दिएर कम्युनिष्टप्रतिको भ्रम चिरिदिएको भन्दै एमाले तथा सँगै बसेका ओलीलगायत एमाले नेताहरुलाई मख्ख पार्ने चेष्टा गरे ।

कांग्रेस नेतृत्वको सरकारले बाम गठबन्धनका उम्मेदवारहरुमाथि छानीछानी सांघातिक प्रहार गरेर निर्वाचन नै बिथोल्न खोजेको आरोप पनि उनले लगाए । कांग्रेसका नेता एवं सरकारका मन्त्रीहरु नै आधारहीन तथा कपोलकल्पित भ्रम फैलाउन र निर्वाचन आचारसंहिता विपरीतका काममा उद्धत रहेको उनको कथन थियो । यस्तै, बुढी गण्डकी विद्युत आयोजना निर्माणको काम चिनीयाँ कम्पनीलाई दिने भनी आफ्नो सरकारको पालमा भएको सम्झौता खारेज गरेर देउवा सरकारले बाह्य समुदायलाई नेपालमा लगानी गर्नबाट भड्काउने काम गरेको भन्दै आपत्ति जनाए ।

निर्वाचनअघि नै एमाले र माओवादी पार्टी एक हुने भन्ने कुरा निर्वाचन भाँड्न चाहने तत्वले फैलाएको तर्क गर्दै उनले चुनावपछि मात्र पार्टी एकता गर्ने भनी पहिले नै टुंगिएको विषय भन्दै प्रस्ट्याए । अब दुई पार्टीबीचको एकतालाई आफूहरु (प्रचण्ड र ओली)ले चाहेर पनि रोक्न नसक्ने दाबी गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सरकार निर्वाचन रोक्न या सार्न सकिन्छ कि भनी विभिन्न छिर्के दाउमा लागेको आरोप लगाए । अब यो चुनाव कुनै हालतमा रोकिन नसक्ने भन्दै उनले कसैले रोकेमा अकल्पनीय परिस्थिति भोग्न तयार रहन चेतावनी दिए । यो चुनाव अघिपछिको जस्तो नभई असामान्य रहेको तर्क गर्दै उनले भने, ‘हामीले परिकल्पना गरेर यस्तो प्रणाली स्थापना गर्यौँ, अब यसलाई फलाउने फुलाउने दायित्व पनि हाम्रै हो । पहिले यस्तो शासन व्यवस्थाको अभ्यास नभएकोले थोरै असहज र अनौठो लाग्न सक्छ, तर चुनावपछि सबै सहज हुँदै जान्छ ।’

अब राणा र शाहहरुलाई दोष लगाएर पन्छिन नमिल्ने स्वीकारोक्तिका साथ विकास र सुशासन स्थापनाको दायित्व आफूहरुकै भएकोले जनताको साथ लिएर यो काम गर्ने उनले बताए । कसैले पनि बहुमत ल्याउन नसक्ने प्रकारको प्रणालीमा हामी छिर्यौँ, तर हामीबीचको गठबन्धनले अब बहुमतको सरकार बनाउने अवस्थामा हामी उभिएका छौँ भन्दै ओलीले कांग्रेस नेताहरुलाई सुध्रिन सुझाव दिए ।

उनले वर्तमान सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नराख्ने दाबी गर्दै अहिलेको सरकारले आफुखुशी सरुवा बढुवालगायत निर्णय गरेमा पछि बन्ने आफूहरुको सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिए ।

आफ्ना उम्मेदवारहरुमाथि भएको आक्रमणको सन्दर्भमा नेत्रविक्रम चन्द विप्लवको नाम लिएर ओलीले भने, ‘विप्लव भाइ, शिखण्डी बनेर किन उपद्रो मच्चाउन खोज्छौ ? सुध्र र सुधारको काममा लाग ।’ यात्री कविताको लयमा उनले थपे, ‘कुन बाटोमा हिँड्यौ विप्लव, कुन गन्तव्यमा पुग्ने हो ?…’

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको सभापतित्व र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको सञ्चालनमा भएको साक्षात्कार कार्यक्रममा एमालेका महासचिव इश्वर पोखरेल, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललगायत उपस्थित थिए ।