निराशालाई बिदा गर्दै नयाँ वर्षको स्वागत

निराशालाई बिदा गर्दै नयाँ वर्षको स्वागत


उपलब्धिपूर्ण भयो भनी देखाउने खास कुनै सन्दर्भ नछोडी वर्ष २०६६ पुरानो बन्न पुगेको छ । संविधानसभाको निर्वाचनपछि आशावादी बन्न पुगेका नेपाली जनता बितेको वर्षको सुरुताकै माओवादी दलले दर्शाएको हठ एवम् अराजनीतिक व्यवहारका कारण प्रचण्ड-नेतृत्वको सरकार पलायनताको बाटो रोज्न बाध्य बनेपछि खिन्न र आशङ्कित बन्न पुगे । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद कटवालबीच पन्पिएको कटुताको रापसँगै सुरु भएको विक्रमसम्वत् २०६६ अकस्मात् प्रचण्डले राजीनामा दिएपछि निकै तात्तिन पुग्यो । त्यसपछि बक्र बाटो लिएको राजनीति ँलिक’मा आउन नसकेको मात्र होइन राजनीतिक, आर्थिक, सामाजिक र सुरक्षाका दृष्टिले समेत मुलुक अस्तव्यस्त अवस्थाबाटै गुज्रिरहेको छ ।

दिगो शान्ति र पूर्ण लोकतन्त्रको संविधान लेखन हुने आशा जगाउँदै सुरु भएको वर्ष २०६६ त्यही आशालाई जलाउने प्रयत्न गर्दै बिदा भएको छ । बितेको सालले राजनीतिक बेमेल, सामाजिक अराजकता र असहिष्णुताको त्रास बढाएको छ भने भरोसाभन्दा भय बलियो भएको अनुभूति गराएको छ । इतिहास फेरिए पनि देशको दुःख नफेरिनुको पीडा कस्तो हुन्छ भन्ने बितेको सालले नेपाली जनतालाई पूरापूर अनुभूति गराएको छ भन्दा अत्युक्ति ठहरिँदैन ।

भनिन्छ, राजनीति सही ठाउँमा नरहेसम्म या राजनीतिले उपयुक्त बाटो नपक्रिएसम्म मुलुकका अन्य यावत् क्षेत्रले पनि फुल्ने, फल्ने र फस्टाउने अवसर पाउँदैनन् । विगत वर्षको मात्र उदाहरण लिएर भन्ने हो भने पनि नेपालको राजनीतिले आशा जगाउनेभन्दा पनि भएको आशा शिथिल तुल्याउने काम नै बढ्ता गर्‍यो । लोकतन्त्रको खिल्ली उडाउने मात्र नभई यसको भविष्यलाई नै धक्का दिने या धरापमा पार्ने सङ्केतहरू छोडेर गएको छ पुरानो वर्ष । निकै आशा गरिएका राजनीतिक दलहरू यसरी बिब्ल्याँटा र विफल देखिए कि निराशाको धमिलोपानी अझै धमिल्याउन उद्यत् देखिन्छन् उनीहरू । दलहरूसँग क्षमता नै नभएको या भएर पनि दर्शाउन नसकेका बग्रेल्ती उपमाका कारण पनि जनतामा निराशा व्याप्त हुन पुग्यो । मूलतः संविधानलेखन कार्यमा जिम्मेवार दलहरूले दर्शाएको उपेक्षाभाव र चरम लापरबाहीकै बीच गुज्रियो छैसठ्ठी साल । यस लापरबाहीको परिणामले वर्ष ०६७ को आरम्भदेखि नै नेपाल र नेपालीलाई कति पिरोल्ने हो, यस्तै अनुमान गर्दै नयाँ वर्षको स्वागत गर्नुपरेको छ । त्यसमाथि वर्षको अन्त्यतिर नेपालको राजनीतिमा ‘एक्ला अभिभावक’को हैसियत बनाएका काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानले यसै पनि अन्योल र आशङ्काबाट गुज्रिरहेको शान्ति-प्रक्रिया र नयाँ संविधानलेखन कार्यलाई थप अन्योलग्रस्त तुल्याइदिएको छ ।

सामाजिक जीवनका दृष्टिमा पनि दुःखद् रह्यो बितेको वर्ष । नेपाली समाजमा हर्ुकंदो अपराध प्रवृत्ति र गिर्दो मानवीय मूल्यलाई राम्रैसँग उजागर गरिदिएको छ वर्ष ०६६ ले । अपराधका निकै कहालीलाग्दा घटना यति सहजै घटे/घटाइएका देखिए कि यसले आमतप्कामा असुरक्षा र त्रासदीको गहिरो छाप छोडेको छ ।

त्यसो त हरेक वर्षको सुरुवात आशा र उत्साहसँगै हुन्छ । वर्ष ०६६ पनि आशा-उमङ्गकै साथ आरम्भ भएको हो । तर, वर्षान्तसम्ममा उत्साहको स्थान घोर निराशाले लिन पुग्यो । असफल वर्षका रूपमा बितेको ०६६ ले यसरी नकारात्मकता र निराशा दिए पनि यसलाई अब एउटा अनुभव या पाठका रूपमा लिनुको विकल्प छैन । प्रत्येक निराशा र नकारात्मकताको पनि एउटा आयु हुन्छ, तिनले एक न एक समय बिदा लिनैपर्छ र निराशाले बिदा लिनुको अर्थ आसाको उदय हो भन्ने मनन यस्तैबेला गर्नुपर्छ । यस मान्यताका आधारमा नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरौँ । विगतको निराशा र त्रासदीहरूलाई विस्मृतिको गर्तमा मिल्काउँदै नयाँ सालको थालनी गरौँ । नयाँ वर्ष २०६७ आरम्भ-अवसरमा सबैमा हाम्रो यही शुभकामना ।