डिभी चिट्ठा प्रणाली बन्द गर्ने पक्षमा किन उभिए ट्रम्प ?

डिभी चिट्ठा प्रणाली बन्द गर्ने पक्षमा किन उभिए ट्रम्प ?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् । गत मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताएको एएफपीले जनाएको छ । राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठा मार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै खारेज गर्नुपर्ने आवाज उठाएका थिए ।

अमेरिकाले दिइआएको यस्तो प्रवेशाज्ञा कार्यक्रममा पूर्ण रुपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहिलो सुरुवात यो डिभी बन्द गरेर गर्नुपर्ने प्रस्ताव आफूले मन्त्रिपरिषदमा गरेको उनको भनाई छ । उनले बुधबार ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् । आफूले यस नीतिका पक्षमा काम गर्न अमेरिकी अधिकारीहरुलाई आह्वान गरेको पनि उनले ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेका छन् ।

मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजनाको ज्यान जाने गरी गराइएको आतङ्ककारी हमलामा संलग्न नागरिक डिभीमार्फत अमेरिका पुगेको प्रमाणित भएको छ । अमेरिकी अधिकारीहरुले सो जानकारी बुधबारै सार्वजनिक गरेका हुन् । राष्ट्रपति ट्रम्पले यस्तो प्रणालीको सट्टामा बरु विदेशी नागरिक (आवेदक)को विशेषज्ञता, सिप र कुनै क्षेत्रमा उसको दक्षताको आधारमा अमेरिकी भिसा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनुपर्नेमा आफ्नो प्राथमिकता रहेको पनि खुलासा गरे । डिभी कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार विदेशी नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिने गरिएको छ ।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणमा निस्कने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।