हरेक स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने

हरेक स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने


उद्योग मन्त्रालयले मुलुकका हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ ।

सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो ।

हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिनुभयो ।

उक्त ग्राम स्थापनाका लागि १०० देखि २०० रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानीलगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ ।

उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ ।

के कस्तो उद्योग तथा व्यवसाय कुन स्थानीय तहमा उपयुक्त हुन्छ, त्यसको आधारमा ग्रामको विकास गरिन्छ । त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

यसका लागि एक हजार रोपनीभन्दा धेरै क्षेत्रफल आवश्यक हुन्छ । शहर बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्न सकिने योजना छ ।